पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखराः   कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने सडकखण्ड अवरुद्ध भएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।  पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनले वडा कार्यालय र स्थानीयको पहलमा सडक खुलाउन पहल भइरहेको बताए ।  ‘सिक्लेस जाने सडकखण्डको खिलाङ, चिप्ली गाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा झरेकाले अहिले बाटो बन्द छ, उनले भने, ‘हिजो बेलुकीपख सुख्खा पहिरो झरेको रहेछ । अहिले एक्सभेटरले ढुङ्गा फुटाइरहेको छ । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा साँझसम्म सडक सञ्चालनमा ल्याउने गरि काम भइरहेको छ ।’ मंगलबार अपह्रान्ह करिब ४ बजे  झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको स्थानीय डम्मर गुरुङले जानकारी दिए ।   स्थानीय मादी गाउँपालिका ६ को सडक निर्माणको ठेकेदारको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । 

पोखराः पोखराकै पुरानो सामुदायिक क्याम्पसमा नाम दरिएको पोखरा बहुमुखी क्याम्पस आज आफ्नै नवनिर्मित भवनमा सरेको छ । र, सोही भवनमा क्याम्पसले धुमधामसँग ३६ औं वार्षिकोत्सव मनायो ।    नयाँबजारमा लामो सयमसम्म सञ्चालनरत क्याम्पस पञ्जेबाजा र झाँकीसहित शान्तिवनमा सरेको छ । साताव्यापी कार्यक्रमको आयोजना गरेको क्याम्पसले आज विशेष कार्यक्रमको आयोजना गरी मनाएको हो ।    कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले क्याम्पस परिवारसँगै आफु पनि हर्षविभोर भएको बताए ।    ‘पोखराकै इतिहास बोकेको क्याम्पसले धेरै दुख खेप्यो’ मन्त्री थापाले भने आज दुलही भित्रिए झैं क्याम्पस नयाँ भवनमा भित्रिएको देख्दा म साँच्चै खुशी छु ।’ उनले आजको दिनलाई गौरवको दिन भन्दै आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्न सदैव तयार रहेको उल्लेख गरे ।    ‘तपाइहरु कुनै पनि काम सुरु गर्नुहोस्, पुरा गर्ने जिम्मा हामी लिन्छौं’ भन्दै थापाले अब क्याम्पसको पाठ्यक्रममा प्रयोगात्मक र समायानुकुल विषय थप गर्न आग्रहसमेत गरे ।    क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस आफ्नै भवन सर्नुमा सम्पूृर्ण पोखरेलीको साथ र सहयोग रहेको टिप्पणी गरे । ‘म यतिबेला समितिका पूर्वअध्यक्षहरुलाई सम्झन चाहन्छु, सम्बन्धित निकायलाई धन्यवाद दिन्छु’ लालचनले भने ‘र, सम्पूर्ण मनकारी संस्था र सहयोगी हातहरुलाई धन्यवाद दिन चाहन्छु ।’     सोहीक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले छत्तीसौं वार्षिकोत्सव ‘विशेष’ भएको धारणा राखिन् । भौतिक संरचनाको अभावमा नवीन विषय थप गर्न समस्या भइरहेको उल्लेख गर्दै पराजुलीले आगामी शैक्षिकसत्रदेखि क्याम्पसले थप संकाय सुरु गर्ने जनाइन् ।    ‘सबैको साथ, सहयोग रह्यो’ पराजुलीले भनिन् ‘विभिन्न संस्था, चन्दादाताप्रति आभार व्यक्त गर्दछु, क्याम्पस प्रशासन, सञ्चालक समिति, विद्यार्थी, प्राध्यापकको योगदान अनुकरणीय छ ।    उक्त अवसरमा क्याम्पसले चन्दादाताहरुलाई सम्मान गरेको छ भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।    कार्यक्रममा शिक्षासेवी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, अभिभावक एवं शुभचिन्तकहरुको भव्य उपस्थिति रहेको थियो ।    क्याम्पसमा हाल बिहानी सत्रमा मानविकी एवं व्यवस्थापन संकायमा पठनपाठन भइरहेको छ । 

स्याङ्जाः   नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले मतगणना चाँडो सुरु गर्न आग्रह गरिएको जानकारी दिनुभयो । स्याङ्जा र बाजुरामा विधिवत्रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको उहाँको भनाइ थियो ।  पार्टीका उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताउनुभयो । स्याङ्जा क्षेत्र नं २ मा शान्तिपूर्णरुपमा मतदान भएको उहाँको भनाइ छ । उपसभापति गुरुङले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न चाँडो निर्देशन दिने विश्वाससमेत व्यक्त गर्नुभयो । 

बागलुङः   काठेखोला गाउँपालिका–५ रामकोटधाममा यही मङ्सिर २२ देखि २८ गतेसम्म आयोजना हुने बिहुँकोट धार्मिक महोत्सवको तयारी तीव्र पारिएको छ ।  कोरोना महामारीका कारण गत वर्ष रोकिएको उक्त महोत्सव यसपालि हुन लागेको हो । त्यहाँस्थित परमानन्द संस्कृत गुरुकुल पुनः सञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिने महोत्सवका मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजले जनाएको छ ।  समाजका अध्यक्ष देवीलाल कँडेलका अनुसार विगतको सशस्त्र द्वन्द्वताका रामकोटधामको गुरुकुल पाठशाला बन्द हुने पुगेको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा उक्त गुरुकुल सञ्चालनमा आएको थियो । महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ वटा विभाग गठन गरी कामको जिम्मेवारी दिइएको अध्यक्ष कँडेलले बताउनुभयो । महोत्सवमा देशभरबाट सन्त, महात्माहरुको उपस्थिति रहने जनाइएको छ ।  महोत्सवमा स्थानीय संस्कृतिको झाँकी प्रदर्शनी, हेलिकप्टरबाट पुष्ट वृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्कीर्तन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम हुनेछन् । महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको सहभागिता रहने जनाइएको छ । महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च हुने अध्यक्ष सुवेदीको भनाइ छ । “महोत्सव सुरु नहुँदै रु ६५ लाख जति जुटिसकेको छ, त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ”, उहाँले भन्नुभयो । गुरुकुल पुनः सञ्चालनको उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएकाले देशविदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ । बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको हो । संस्कृत पाठशाला पुनः सञ्चालन भएमा सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । रामकोटधामका प्रधान संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक पर्यटनको प्रवद्र्धन र संस्कृत पाठशाला सञ्चालानार्थ आयोजित महोत्सवमा सबैले सहयोगको हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।  उहाँले वैदिक सनातन धर्म, संस्कृति जोगाउन सबै कस्सिनुपर्ने बेला आएको बताउनुभयो । पछिल्लो समय धार्मिक गन्तव्यस्थलका रुपमा विकास भइरहेको रामकोटधामको प्रचारप्रसारमा पनि महोत्सव सहयोगी बन्ने उहाँको भनाइ छ । रामकोटधाम परिसरमा कलात्मक त्रिपुरेश्वर महादेव मन्दिर र गण्डकी प्रदेशकै ठूलो शिवलिङ्गसमेत छ ।  त्यस धाममा बर्सेनि ज्येष्ठ ११ मा रथयात्रासँगै महामेला गर्ने प्रचलन छ । यस्तै बालाचतुर्दशी, शिवरात्रिलगायत पर्वमा पनि धार्मिक अनुष्ठानहरु चल्छन् । वैदिक विधिद्वारा दैनिक पूजाआजा हुने भएकाले रामकोटधाम श्रद्धालुको रोजाइमा छ । सदरमुकाम बागलुङ बजारदेखि २० किमी सडक यात्रामा त्यहाँ पुग्न सकिन्छ ।

पोखरा:  सहारा क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको आहा! रारा गोल्डकपको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले आगामी १० वर्षका लागि सम्झौता थप गरेको छ । पोखरामा मंगलबार आयोजित हस्ताक्षर कार्यक्रममार्फत २०५८ सालदेखि मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हस्ताक्षर गर्दै सम्झौता समयावधि १० वर्षका लागि बढाइएको हो । उक्त सम्झौता अनुसार सहारा क्लब पोखरालाई हिमश्री फुड्स प्रालिले पहिलो ३ वर्षमा १८ लाख,  दोस्रो ३ वर्षमा २१ लाख, तेस्रो ३ वर्षमा २४ लाख र ०८८ सालमा २७ लाख रुपैयाँका दरले रकम सहयोग गर्नेछ । भने पहिलो २ वर्षको किस्ता स्वरुप ३० लाख प्राप्त भइसकेको छ ।  सो अवसरमा बोल्दै प्रालिका निर्देशक किरण केसीले उत्पादनसँगै सहारा क्लबको समाजसेवमा थप १० वर्ष जोडिन पाएकोमा खुशी व्यक्त गरे । ‘सहारा क्लब प्रतियोगिता मात्र होइन समाजसेवामा पनि जोडिएको छ । त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार हर्षिद छौ । र यो साथ १० वर्षका लागि थप गरेका छौं ।’ यसैगरि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले सहारा क्लबलाई सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘रंगशालामा प्रतियोगिता गर्न चाहाने सबै संस्थालाई स्वागत छ’ उनले भने, ‘नाफामूलक गर्छु भन्नेलाई सहयोग गर्न सकिदैन । तर समाजसेवाका लागि खेलकुद विकासको लागि काम गर्नेहरुका लागि रंगाशालाको गेट सधै खुल्ला छ । तर सरसफाई र संरक्षणमा ध्यान दिनुपर्छ ।’  आहा! रारा गोल्डकपको ब्राण्डमा थपियो ‘पोखरा’    आहा! रारा गोल्डकप २२ औं संस्करणमा आइपुग्दा नाममा परिवर्तन गरिएको छ । २०५८ बाट क्याराभान गोल्डकप फुटबल प्रतियोगिताबाट अगाडी बढेको गोल्डकप २२ औं संस्करणमा आइपुग्दा मोफसलकै बहुप्रतिष्ठित प्रतियोगिता भएको ठहर गर्दै प्रतियोगिताको नाम परिवर्तन गरिएको हो । क्लबका अनुसार अब उक्त प्रतियोगिताको नाम ‘आहा ! रारा पोखरा गोल्डकप’ भएको  छ ।  क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरि पोखरालाई स्पोर्टस् (खेलकुद) हबको रुपमा परिचित गराउने उद्धेश्यसहित ब्राण्डमा ‘पोखरा’ थप गरिएको स्पष्ट पारे  ।  उनले मुख्य प्रायोजकको रकम वृद्धि भएको बताउदै पुरस्कार राशीमापनि केही बृद्धि गरिने जानकारी दिएका थिए । यस पटकको २२ औं संस्करणको प्रतियोगिता आगामी पुष १२ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । सहारा क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा हाल ३० जना आश्रित छन् ।

गलकोटः   बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका(१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ ।  झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिने क्रम जारी छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षभित्रै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्नेगरी झुलुङ्गे पुल निर्माण सुरु भएको थियो ।  कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरणको मात्रै काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो ।   “बागलुङ र म्याग्दी जिल्ला जोड्ने झोलुङ्गे पुलको  निर्माण सकिएको छ”, खड्काले भन्नुभयो “पुल हस्तान्तरणको प्रक्रियामा पुगेका छौँ, पुल निर्माण सम्झौता अनुसारको सबै काम सम्पन्न गरेका छौँ ।” सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडाँैले म्याग्दीको बेनी नगरपालिका(१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडँुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो । कुडुँलेदेखि रत्नेचौर जोड्ने उक्त झोलुङ्गे पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ । उक्त पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टिएको बागलुङ नगरपालिका(४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले जानकारी दिनुभयो ।  पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दुध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने क्षत्रीको भनाइ छ ।  गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो । पुल निर्माण गर्नका लागि बागलुङतर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो ।  म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ ।  बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने  स्थानीयवासीको भनाइ छ । बेनीको रत्नेचौर र बागलुङको कुडुँले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकोमा यसवर्ष पुल निर्माणसँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको स्थानीयवासी  टेकबहादुर रावलले जानकारी दिनुभयो । पुल निर्माणसँगै बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । रत्नेचौर, ज्यामरुककोट लगायतका स्थानीय बासिन्दा प्रशासनिक कामका लागि मात्रै बेनी जाने र अन्य आर्थिक कारोबारका लागि बागलुङ आउने भएकाले सहज हुने भएको छ ।

म्याग्दीः   मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।  मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो रु एक सय २० देखि ३० भएको छ । सरदर प्रतिकिलो रु एक सय १० का दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् । जसअनुसार निकासी भएको स्याउको मूल्य रु ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८।५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताउनुभयो । “बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो”, उहाँले भन्नुभयो, “अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।” कुल पाँच सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ । मुस्ताङको पाँचवटै स्थानीय तहमा एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११।३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताउनुभयो । यसैगरी मुस्ताङमा कुल स्याउ उत्पादनमध्ये यस वर्ष चार सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ । जसमध्ये २२ हेक्टरका बगैँचाले उत्पादन दिइरहेका छन् । यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङका विभिन्न छवटा चिस्यान गृहमा करिब ७० मेट्रिक टन स्याउ भण्डारण गरेर राखिएको बताउनुभयो । फागुन–चैतको बेसिजनमा शीतभण्डारको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ जोन कार्यक्रमअन्तर्गत एक सय २५ वटा सहकारी÷समूह÷निजी फार्मका कार्यक्रम सञ्चालित छन् । कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि व्यापारी स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन् । भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन् । समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस जातका स्याउखेती भएको छ ।  उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीले स्याउ कोशेलीका रूपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छवटा उद्योग छन् ।

पोखरा:   राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ ।        विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका साथ सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “यान्त्रिक उडानको प्रतिवेदन १५ दिनभित्र आएपछि सार्वजनिक गरिनेछ ।”        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । एरोथाई कम्पनीको जहाजले यही मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरेको थियो । यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षणका लागि गरिन्छ । यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तराष्ट्रिय अभ्यास छ ।        क्यानले आगामी पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । प्राधिकरणकको राष्ट्रिय गौरवका आयोजना निर्देशक बाबुराम पौडेलले यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिन्छन् र पोखरा गन्तव्यमा उडान गर्नसक्छन् ।”           पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले आफूहरु विमानस्थल सञ्चालनको तयारीमा लागेका र कुनै पनि किसिमका कमजोरी हुन नदिन विमानस्थल प्रतिबद्धताका साथ लागेको बताउनुभयो । हाल विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ । अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी एक महिनाभित्र पूरा हुने उहाँले जानकारी दिनुभयो ।           तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’  पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।        ठेकेदार कम्पनी उमा एण्ड गाल्भा जेभीसँग वैशाखसम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमामनस्थल सञ्चालनका लागि चुनौतिका रुपमा रहेको ल्यान्डफिल साइटमा मङ्सिर १८ बाट फोहर फाल्न बन्द गर्ने जानकारीसहितको पत्र पोखरा महानगरपालिकाले विमानस्थल आयोजनालाई पठाइसकेको छ । हाल विमानस्थलबाट दुई किमि टाढा रहेको ल्यान्डफिल साइट रिट्ठेपानी डाँडा कटानबाट निस्किएको माटोले पुर्ने काम भइरहेको महानागरले जनाएको छ ।   पहिलो उडान बुद्ध एयरको      नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । यसका लागि बुद्ध एयरले क्यानसमक्ष उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । जसअन्तर्गत पोखरा विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।      विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्छ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।

बागलुङः   गएको सोमबार बिहान ९ः३१ को साइतमा पौँदेलीले न्वागी खाए । धानबाली भित्र्याएपछि बर्सेनि मङ्सिरको पहिलो साता पौँदीमा न्वागी खाने चलन छ । भर्खर भित्र्याइएको नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर खाइन्छ न्वागी । पौँदीवासी न्वागीको संस्कृतिलाई पर्वका रुपमा मान्छन् । न्वागी खाएलगत्तै मेला लगाउने परम्परा छ । यसपाली भने चुनावले मेला पछाडि धकेलिएर शनिबारदेखि सुरु भएको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेले जानकारी दिनुभयो । “न्वागी खाएको दिनदेखि नै मेला सुरु गर्ने तयारी भए पनि चुनावका कारण केही दिनपछि सार्नुप¥यो”, उहाँले भन्नुभयो, “न्वागी पौँदी क्षेत्रको एतिहासिक पर्व हो, यसको परम्परा जोगियोस् भनेर मेलालाई संस्थागत रुप दिएका छौँ ।” बागलुङ(गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा सयौँ वर्षदेखि न्वागी पर्व मनाइँदै आएको छ । मङ्सिर १ देखि ७ सम्ममा ज्योतिषले निकालेको शुभमूहर्त अनुसार न्वागी खाने चलन रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । त्यसपछि दुई÷तीन दिनसम्मै न्वागी खाने गरिएको उहाँको भनाइ छ । गुल्मीको मुसिकोट नगरपालिकाको नेटा, पौँदी अमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे । कर्णाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको कथन छ । “यकिन र लिखित इतिहास त छैन, तर यो पर्व सयौँ वर्षदेखि चल्दै आएको हो”, अध्यक्ष घिमिरेले भन्नुभयो, “पौँदी क्षेत्रमा धान खेती धेरै हुने भएकाले तत्कालीन राजा÷रजौटाले न्वागीको परम्परा बसालेको हुनुपर्छ ।” स्थानीयवासीको भनाइमा तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए । छत्रुगुठीका रुपमा रहेको उक्त खेतमा उब्जाउ भएको धान भित्र्याएपछि पहिलो परिकारका रुपमा न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ । त्यसपछि उक्त क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन् । आफन्त, इष्टमित्रलाई समेत घरमा निम्ता गरेर न्वागी खुवाउने चलन छ ।  पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ । धान खेत नभएकाले पनि न्वागी खाएर पर्व मनाउँछन् । न्वागी खाएपछि मात्र नयाँ चामल प्रयोगमा ल्याउन पाइने मान्यता छ ।  समितिका सचिव विष्णुप्रसाद आचार्यका अनुसार पहिले त्यस क्षेत्रकै ठूलो मेलाका रुपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो । मेला भर्न बागलुङ र गुल्मीका गाउँगाउँबाट मानिस पौँदी झर्थे । पछिल्लो समय बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा मेला लाग्दै आएको छ । समयानुकूल मेलाकोस्वरुप फेरिँदै आए पनि स्थानीयवासी अझैपनि मौलिकता जोगाउन लागिपरेका छन् । खेल, कला, संस्कृतिको उत्थान र व्यापार प्रवद्र्धनमा मेलाले टेवा पु¥याइरहेको आयोजकको भनाइ छ । लोकभजन, सोरठी, दोहोरी, सराय, लाखे नाचलगायत पम्परागत संस्कृति झल्काउने नाच र झाँकी यसपालिको मेलाका आकर्षण हुन् ।  दर्शक तान्न भलिबल जस्ता लोकप्रिय खेलदेखि राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिलाई पनि जोडिएको छ । कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमलाई मेलामा समेटिएको छ । मेला शुक्रबारसम्म चल्नेछ ।