पोखरा: पर्वतीय दिवसको अवसरमा अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् । उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना आवश्यक रहेको उनको भनाइ छ । ‘विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल भ्रमण वर्ष प्रभावित भएको सन्दर्भमा नेपालको समग्र पर्यटन विकासका लागि नयाँ पर्यटन रणनीति तथा एकीकृत कार्ययोजना आवश्यक देखिन्छ ।’ पर्यटन विकासमा रणनीति आवश्यक रहेको भनाइ राखेका पुनले विशेषगरी पर्वतीय पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि भूमिका खेल्ने विचार उपराष्ट्रपति पुनले राखे । ‘यसमा पनि हाम्रो पर्यटनको मेरुदण्डको रुपमा रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ । पर्वतीय पर्यटन केवल आरोहणमात्रै होइन, यो पर्वतीय क्षेत्रमा बसोबास गर्नेहरुको भाषा, संस्कार, संस्कृति तथा जीवन बुझ्ने र उनीहरुको आर्थिक–सामाजिक जीवनमा रुपान्तरण ल्याउन योगदान पु¥याउने माध्यम पनि हो,’ उनले भने । ‘डिसेम्बर ११’लाई लक्षित गरि प्रत्येक वर्ष आयोजना हुने यस महोत्सव दुई दिन चल्ने छ । आज महोत्सवको पहिलो दिन विभिन्न खेल तथा कार्यक्रमहरु भएका छन् । छेलो हान्ने प्रतियोगितादेखि धनुषवाणको खेल भएको थियो । ‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ र पोखरामा तीनवर्षमा दोब्बर पर्यटनक भित्र्याउने विषयमा छलफल कार्यक्रम पनि भएको थियो । ‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ विषयक कार्यक्रममा चारजना महिला आरोही वक्ता थिए । आरोही लाक्पा फुटी शेर्पा, पुर्णिमा श्रेष्ठ, फुन्जो लामा र फुरदिकी शेर्पाले कार्यक्रममा बोले । विषयममाथि छलफल गर्दै चारै आरोहीको एकै स्वर थियो–वातावरण र हिमाल संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो । आफूले चढिसकेको हिमाल चढ्न पुनः पुगेकी पूर्णिमाले चारवर्ष यता जलवायु परिर्वतनका कारण हिमाल हिउँविहीन हुन लागेको बताइन् । उनका अनुसार समयमै यसविषयमा गम्भीर नबने सेताम्मे हिमालहरु कालो पथरको रुपमा परिणत हुनेछन् । ‘हिमाल पहिलाभन्दा पग्लीराखेको छ । चारवर्ष धेरै परिवर्तन देखेँ । विशेषगरि खुम्बुक्षेत्रमा धेरै परिवर्तन देखेँ । यसलाई सिरियस इस्युका रुपमा लिएन भने दिन प्रतिदिन हिमाल कालो पथर बन्दै जानेछ,’ आरोही पूर्णिमाले भनिन् । यस्तै विलासिन पूर्ण एक्सपेडेसन कम्पनीको सेवाले पनि हिमालको वातावरणमा असर पु¥याएको बताउँछिन्, अर्की आरोही फुरदिकी शेर्पा । ‘आइसफल हटाएर चउर बनाएर एजेन्सीहरुले सुविधा दिएछ । ठुलोठुलो कम्पनीहरुले त्यस्तो नगरे हुन्थ्यो । काठमाडौँको ट्याक्सीले त्यती काम पाउँदैन जति हाम्रो क्षेत्रमा हेलीले पाउँछ,’उनले भनिन् । पहिलो कार्यक्रमपछि पोखरामा तीनवर्षभित्र कसरी दोब्बर पर्यटन भित्रयाउन सकिन्छ विषयमा छलफल भएको थियो । छलफलमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डको निर्देशक धनञ्जय रेग्मी सहभागी थिए । छलफल कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटक भित्रयाउन ठूलो भूमिका खेल्ने विचार राखे । संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवस ‘वुमन मुभ माउन्टेन्स्’को नारासहित मनाउने निर्णय गरेको छ । उद्घाटन समारोहमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । भोलि महोत्सवको अन्तिम दिन यसै विषयमा छलफल कार्यक्रम हुँदैछ ।
पोखराः कास्कीको मादी गाउँपालिका २ ताङतिङमा स्थानीयलाई मध्यनजर गर्दै वडा कार्यालयको समन्वयमा निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । पोखरा रानीपौवास्थित आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी गाउँपालिका २ को समन्वयमा हिमालय मिलनमा एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको हो । नागार्जुङ स्वास्थ्य चौकीका प्रमुख हरिबहादुर गुरुङले सो स्वास्थ्य शिविरमा १ सय ७३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको जानकारी दिए । उनका अनुसार शिविरमा ४७ जनाले सामान्य प्रयोगशाला परिक्षण, ६० जनाले भिडियो एक्सरे तथा इसिजी र बाँकी ४८ जनाले अन्य सेवा लिएका थिए । ‘आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी २ वडा कार्यालयको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो, गुरुङले भने, ‘यसबाट स्थानीयहरु एकदमै लाभांवित हुनुभएको छ ।’ सो कार्यक्रममा बोल्दै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले शहरमुखी अस्पताल सेवालाई ग्रामीण भेगमा पुगेर शिविरको आयोजना गरेको भन्दै आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटललाई धन्यवाद व्यक्त गरे । उनले उक्त शिविरबाट स्थानीहरु लाभांवित भएको बताए । गुरुङले आगामी दिनमासमेत सामाजिक उत्तरदायित्व बहन गर्ने बताउदै विभिन्न सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बताएका थिए । यसैगरि कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा. अमृत केसीले ग्रामीण भेग तथा गाउँघरमा नियमित स्वास्थ्य जाँच नहुने भएकाले स्वास्थ्य सेवालाई गाउँ केन्द्रित गरेको धारणा राखेका थिए । निशुल्क स्वास्थ्य शिविरमा जटिल प्रकारको रोग कसैमा पनि नदिखिएको र शिविरमा सहभागीहरुलाई निशुल्क औषधी वितरण गरिएको मादी २ का वडा अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार उक्त शिविरमा मृगौला रोग विशेषज्ञ डा. अमृत केसी, हाड जोर्नी तथा नसारोग विशेषज्ञ डा. भिम सिग्देल, पेट, छाटी तथा मुटु रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, सर्जन डा. परिवर्तन बराल र रेडियोलिष्ट डा. नवराज पौडेलले स्वास्थ्य जाँच गरेका थिए । कार्यक्रममा मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ तथा वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
पोखराः नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस् आदिवासी जनजातितर्फः पुरुषः देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई । महिलाः नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा खसआर्यतर्फः पुरुषः रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही महिलाः मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल थारुः आश्माकुमारी चौधरी, शान्ति चौधरी दलितः ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा मधेशीः गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया मुस्लिमः सराज अहमद खान
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालको हरेक सवालमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि सञ्चार जगतले उल्लेखनीय योगदान दिएको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १६ औं साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले प्रेसमाथि अंकुश लगाउने काम कहि कतैबाट पनि हुन हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको स्पष्ट पारे । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताका लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । राज्यका कानून कार्यान्वयनमा पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अंगहरु सचेत हुने उनले बताए । सरकारले गरेका जनहित विपरीतका गतिविधिमा सधैं खबरदारी गर्न र कलम चलाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना कहरमा मिडियाले खेलेको भूमिका कहिल्यै भुल्न नसकिने बताए । पत्रकारले जनताको मन जितेर काम गर्नुपर्नेमा जोड दिंदै उनले गण्डकी प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको स्पष्ट पारे । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलले पोखराको पत्रकारिताले देशमा नै हलचल गर्ने बताए । राज्यले प्रेस स्वतन्त्रतालाई अझै पनि संकुचित बनाउने प्रयास गरिरहेको भन्दै यसका लागि महासंघले खबरदारी गर्नुका साथै पत्रकारको हक हित र सुरक्षामा विशेष ध्यान दिने स्पष्ट पारे । विकास र पत्रकारिता संगसंगै अघि बढ्ने भएकाले गुणात्मक पत्रकारिताका लागि राज्यको ध्यान जानुपर्नेमा उनले जोड दिए । श्रमजीवी पत्रकारले ऐन कानूनले तोकेको पारिश्रमिक नपाउने अवस्थामा अझै कायम रहेकाले यसका लागि महासंघले खबरदारी गरिरहेको बताए । पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघसंग सधंै साथमा रहने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विना सिलवाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पूण्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा लगायतले बोलेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना कहरले सञ्चार क्षेत्रमा ठूलो असर पुर्याएको बताइन् । पत्रकार महासंघले कास्कीका पत्रकारहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै महासंघको गरिमालाई उचो बनाउने काम गरिरहेको उनले स्पष्ट पारिन् । आफ्नो कार्यकालमा पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि महासंघले ध्यान दिएको भन्दै अध्यक्ष भण्डारीले आगामी दिन पनि यस कार्यक्रमलाई महत्व दिने प्रतिवद्धता जनाइन् । महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद तिमल्सेनाले धन्यवाद ज्ञापन र कार्यक्रम सञ्चालन सचिव माधव प्रसाद बरालले गरेका थिए । विभिन्न प्रस्ताव पारित साधारणसभाले नेपाल पत्रकार महासंघ कास्की शाखाले संस्थागत सुशासन र पारदर्शिता कायम गर्दै सदस्यता शुद्धिकरणलाई निर्ममताका साथ कार्यान्वयन गर्ने, न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराउन सबै सञ्चार गृहसंग अपिल गर्दैै निरन्तर अनुगमन र खबरदारी गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता पूर्णरुपमा पालना गर्नका लागि सबै पत्रकारहरुलाई अपिल गर्दै आचारसंहिता पालना भए, नभएको अनुगमन गरि आगामी साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्ने, पत्रकार महासंघको सचिवालय अपांगमैत्री बनाउने र कास्कीमा सञ्चालित सञ्चारगृहलाई अपांगमैत्री बनाउन आग्रह गर्ने साधारणसभाद्वारा प्रस्ताव पारित गरिएको छ । यस्तै, महासंघका पदाधिकारी तथा सदस्यहरुले बैठकमा प्रस्तुत भएका एजेण्डामाथि लिखितरुपमा छलफलमा सहभागी हुने, बैठकमा उपस्थित हुन नसकेमा अर्को बैठकमा स्पष्टिकरण दिनुपर्ने र बिना जानकारी लगातार तीन वटा बैठकमा उपस्थित नभएमा कार्वाहीको प्रक्रिया अघि बढाउने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । प्रस्ताव समितिमा प्रकाश ढकाल, सन्देश श्रेष्ठ, रोहितराज पराजुली, खीमा गुरुङ, गौरव त्रिपाठी र सुरेश रानाभाट रहेका थिए । साधारणसभामा प्रस्तुत भएको सचिव माधवप्रसाद बरालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण दवाडीको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो ।
पोखराः पोखरा महानगगर पालिका वडा नं २ बाग्लुङ बसपार्क स्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न १८ का वडा अध्यक्ष शिब प्रसाद तिमिल्सनिाले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गरे । उनले “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्यर सिद्धान्तमा रहेर अगाडी बढ्नु पर्ने” बताएका छन । आगामी दिनमा समेत सहकारीले स्थानियहरु सगँ हातेमालो गर्दै, निम्न आय स्रोत रहेका शेयर सदस्यहरुको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे । पोखरा महानगर पालिकाका सहकारी सल्लाहकार विज्ञ दिपक प्रसाद आर्चायले कोभिड–१९ को असरबाट प्रभावित शेयर सदस्यह्रलाई उपलब्ध गराएको राहत होस वा संस्थाका सदस्यहरुलाई संस्था आफैले वितरण गरेको राहत सहयोग होस् सबै उल्लेखनिय रहेको र सामाजिक क्षेत्रमा समेत संस्थाका सञ्चालकले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे । नेपाल सरकारले लागु गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि व्याज नलिन आग्रह गरे । पोखरा महानगर पालिका वडा न ६ का निर्वतमान वडा अध्यक्ष तथा पहारी कुल संरक्षण समितिका सचिब जगत बहादुर पहारीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने कुरामा जोड दिए । सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष नारायन पहारीले आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पुजिलाईलाइ गाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजना गरि सदस्यहरुको सुखी सम्वृद्दि बनाउने आफ्नो परिकल्पना रहेको सुनाए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८/७९ मा ३ करोड ६९ लाख ३ हजार शेयर पूँजी तथा ६ करोड ५८ लाख ९४ हजार ३ सय ५ रुपैया १७ पैसा बचत निक्षेप गरेको जानकारी दिए । त्यसैगरी ८ करोड ९९ लाख ३४ हजार १ सय २६ रुपैंया ३४ पैसा कर्जा लगानी रहेको सहकारीमा जम्मा १ हजार १ सय ४ जना शेयर सदस्य रहेको जानकारी गराए । संस्थाका सदस्य ममता पराजुलीले सहकारीका सात सिद्धान्त वाचन गरी सुभारभ्भ गरिएको कार्यक्रममा संचालक सदस्य दिपेन्द्र राई स्वागत मन्तब्य र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रेमराज पहारी, कोषाध्यक्ष उत्तम सेवक कार्की र सचिव कृष्ण तिमिल्सिनाले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको अवसरमा असल ऋणी, असल बचत कर्ता र संस्थामा निरन्तर सेवा अवधी गरेकी उतृष्ट कर्मचारी लाई सम्मान गरेको थियो । कार्यक्रममा शेयर सदस्यह्ररुलाई सेलवेज डिपाटमेन्टल स्टोरमा समान खरिद गरेबापत १५ प्रतिशत र डाक्टर्स डेन्टल किल्लीनिकको सेवा लिएमा ४० प्रतिशत सम्म छ्टको ब्यवस्था रहेको जानकारी दिए ।
काठमाडौंः नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिपछि पदाधिकारीसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाएको हो । ३२ मध्ये २९ जना महिला रहेका छन् भने पुरुष तीन जना मात्रै रहेका छन्। ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण कांग्रेसबाट तीन जना पुरुषमात्रै समानुपातिक सांसद बन्ने भएका हुन् । जसमा विमलेन्द्र निधि, जीवन परियार र डा। प्रकाशशरण महत चयन भएका छन् । आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ भने सांसद चयन हुन सकेनन् । समानुपातिक सांसदका लागि छनोट भएका २९ जना महिला प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमतीसमेत रहेकी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती पनि परेका छन् । कांग्रेसले खस आर्यबाट प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ । आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ। दलितबाट जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्। मधेशीमा विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन्। यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।
पोखराः राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ । प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा.ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल । निशा डाँगी, विनिता कठायत चयन भएका छन् । त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका हुन् ।
काठमाडौंः समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरुले प्राप्त गरेको समानुपातिक सिट सङ्ख्याको अन्तिम सूची आजसम्म बुझाउन निर्देशन दिएको थियो । केही साना दलले समानुपातिक सूची टुङ्गो लगाइसकेका छन् भने ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुङ्ग्याएका छैनन् । लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिक सांसदको सूची तयार गरेर निर्वाचन आयोगलाई बुझाइसकेको छ । लोसपाको केन्द्रीय समितिको बैठकबाट निर्णय भई शुक्रबार आयोगलाई समानुपातिक सांसदको सूची बुझाइसकेको पार्टीको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार लोसपाका तर्फबाट मधेस प्रदेशमा रुपाकुमारी यादव (मधेसी महिला) र रमिता प्रधान (मधेसी अल्पसङ्ख्यक महिला) तथा लुम्बिनी प्रदेशमा मेमा वेल्वासे केसी (खस आर्य महिला) को नाम समानुपातिकका लागि आयोगमा पठाइएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार सिट जितेको लोसपाले समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । लोसपाले मधेस प्रदेशमा सात र समानुपातिकतर्फ दुई सिट जितेको छ भने लुम्बिनीमा एक सिट गरी प्रदेशमा कूल १० सिट पाएको छ । यस्तै जनमत र नागरिक उन्मुक्ति पार्टीले समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । प्रतिनिधिसभामा एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट जितेको छ । पार्टीले प्राप्त गरेको समानुपातिकतर्फको सूची आयोगलाई बुझाइएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा आठ सिट जितेको छ । जसपाले पनि टुङ्गो लगाउँदै यता समानुपातिक सांसदको टुङ्गो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार चयनका लागि बैठकमा छलफल चलिरहेको सो पार्टीका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । जसपाले प्रतिनिधिसभामा सात र समानुपातिकतर्फ पाँच गरी १२ सिट जितेको छ । त्यसैगरी प्रदेशमा सबैगरी २० सिट जितेको छ ।
पोखराः कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको घोषणा गरिएको थियो । यस क्षेत्रका तत्कालीन राखी, लेखनाथ, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर नगरपालिका घोषणा गरिए पनि यस क्षेत्रको पहिचान हुन नसकेको वास्तविकता त्यसै बेलादेखि चासो र चर्चामा रहेको यहाँका अगुवा बताउँछन् । नगरपालिकाको घोषणासँगै यस क्षेत्रको पहिचान एवं संस्थागत प्रयासलाई अपरिहार्य ठान्दै गरिएका विभिन्न कार्यमध्येको महत्वपूर्ण प्रयास लेखनाथ उद्योग वाणिज्य सङ्घ रहेको सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य बताउनुहुन्छ । नगरपालिकाको घोषणा हुनुअघि यस क्षेत्रभित्रका हालका पोखरा महानगरपालिका वडा नं २६, २७, २८, २९, ३०, ३१ र ३२ मा खासै गन्न लायकका उद्योग सञ्चालनमा नआएका अवस्थामा क्रमशः उद्योग व्यवसाय बढ्दै गएको यहाँका स्थानीय सम्झनछन् । सुरुमा लेखनाथ क्षेत्रमा तोरी, तेल, चकलेट, खाद्यान्न कुटानी, पिसानी फर्निचर आदि उद्योग सञ्चालनमा आएकोमा पछि विस्तारै बिस्कुट, चाउचाउ, साबुनलगायतका उद्योग थपिँदै गएको हो । तत्कालीन समयमा यहाँका मुख्य व्यापारिक केन्द्रमा शिशुवा, अर्घौ पौवा, बूढीबजार, बेगनासाताल, गगनगौँडा, सातमुहाने, राजाको चौतारा रहेका थिए । सात तालको सहरका रुपमा तत्कालीन समयदेखि नै चर्चामा आए पनि यहाँका ताल पर्यटकीयरुपमा उपयोग हुन सकेका थिएनन् । कर्माचार्यका अनुसार यिनै वास्तविकताका बीचमा नगरपालिका घोषणा पछि यहाँका उद्योगी व्यवसायीले लेखनाथमा उद्योग वाणिज्य सङ्घको आवश्यकता महसुस गरेका थिए । निरन्तरका छलफलसँगै सङ्घ गठन गर्ने कुरामा एकमत भएका व्यवसायीले २०५४ साल असार ३० गते शनिबार बिहान पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा विचित्रमोहन भट्टराईको बगैँचामा भोगटेको बोटमुनि भएको भेलाबाट चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा लेखनाथ उद्योग वाणिज्य सङ्घको तदर्थ समिति गठन गरेका थिए । पछि सोही समितिलाई विधिवत् दर्ता गरिएको थियो । सङ्घ स्थापनाको रजत वर्षसम्म आइपुग्दा त्यसबीचमा यसले उद्योग व्यवसाय क्षेत्रको विकासमात्र नभई समग्र लेखनाथको पहिचानलाई कायम गराउन उल्लेख्य भूमिका खेलेको छ । सङ्घकै अगुवाइमा यहाँको प्रवद्र्धनसँगै स्थानीय उत्पादनको बजारीकरणलाई जोड दिँदै सुरु गरिएको लेखनाथ महोत्सव १८ औँ संस्करणसम्म आइपुगेको छ । प्रत्येक वर्षको चिसो मौसमको पारिलो घाममा गरिने महोत्सवको समयमा खुल्ने सुन्दर मनमोहक हिमालले कास्की र आसपासका मात्र नभई पोखरा घुम्न आउने पर्यटकलाई पनि लठ्याउने गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले बताउनुभयो । सामान्यतः पुसको दोस्रो सातादेखि एक हप्ताभन्दा बढी गरिने यस महोत्सवलाई लेखनाथवासीले सुरुदेखि नै साथ र सहयोग गर्दै आएको उहाँले बताउनुभयो । “लेखनाथ क्षेत्रका सर्वसाधारणले यो महोत्सवलाई अपनत्व गरेका कारण पनि यो महोत्सवको पनि महोत्सव बनेको हो”, उहाँले भन्नुभयो, “यस वर्ष पनि पुसको ७ गतेदेखि १८ गतेसम्म तालचोकमा महोत्सव गर्ने गरी तयारी गरेका छौँ ।” लेखनाथ महोत्सवमा विभिन्न कला सांस्कृति झल्किने नाचगानकोे प्रस्तुतिसँगै स्थानीय उत्पादन र एकै ठाउँबाट घरायसी प्रयोगका धेरै सामग्री किन्न पाउने भएका कारण यसप्रतिको आकर्षण र विश्वास बर्सेनि बढ्दै गएको सङ्घका महासचिव उपेन्द्रराज सुवेदी९राजु०ले बताउनुभयो । पन्ध्र वर्षअघि सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवमा एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास भइरहेको उहाँले बताउनुभयो । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ गरिँदै आइएको महोत्सवले उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पु¥याउँदै आएको छ । महोत्सवमा बचत हुने रकमबाट प्रदर्शनीस्थल र सङ्घको भवन स्तरोन्नति, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास एवं बेगनासताल, रुपाताललगायतका तालको पर्यटकीयस्थलको प्रवद्र्धन गर्न खर्च गरिने उहाँले बताउनुभयो । सुन्तला महोत्सवबाट लेखनाथ महोत्सवको सुरुआत भए पनि यस क्षेत्रका हंसपुर, भरतपोखरी, थुम्कीलगायतका स्थानमा रोगका कारण सुन्तला मासिनु यतिखेर चुनौतीका रुपमा देखिएको छ । सङ्घले स्थापनाकालदेखि विभिन्न संस्थासँगको सहकार्यमा २०६२–२०६६ मा स्थानीय आर्थिक विकास कार्यक्रम, २०६४–२०७३ मा एक गाउँ एक उत्पादन कार्यक्रम, २०७०–२०७२ मा एक जिल्ला एक उत्पादन कार्यक्रम र व्यवसाय प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ । सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घबाट २०५८ सालमा ‘घ’ वर्गबाट उत्कृष्ट सम्मान प्राप्प्त गरेको छ भने २०५९, २०६०, २०६१ र २०६४ सालमा ‘ग’ वर्गको उत्कृष्ट सम्मान पाएको छ । त्यस्तै २०६४ सालमा ‘क’ वर्गमा क्षेत्र वृद्धि भएको सङ्घ २०७५ सालमा ‘क’ वर्गबाट र २०७७ सालमा ‘क’ वर्गबाट महासङ्घ गण्डकी प्रदेश उत्कृष्ट सम्मान प्राप्त गरेको छ । सङ्घ स्थापनाको साढे दुई दशक यहाँको पहिचानका लागि महत्वपूर्ण सावित भएको अध्यक्ष आत्रेयको भनाइ छ । “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य आधार बनाएर यहाँका विभिन्न सङ्घ संस्था, आमा समूह, टोल विकास, आर्थिक तथा सांस्कृतिक समूह आदिसँग सहकार्य र समन्वय गर्दै लेखनाथको समृद्धिका लागि सङ्घ निरन्तर लागि रहेको छ”, उहाँले भन्नुभयो । लेखनाथ क्षेत्रका धार्मिक, सांस्कृतिक, शैक्षिक, साहित्यिक, पुरातात्विक पर्यटकीयस्थलको संरक्षण र प्रवद्र्धन गर्दै यहाँका मठ मन्दिर, कोट भञ्ज्याङ, तालतलैया, दुन बेसी, खेलमैदान नदीनाला आदिको पहिचान संरक्षण र विकाससँगै पर्यटकीयरुपमा जोड्ने लक्ष्यका साथ सङ्घ लागिरहेको उहाँले बताउनुभयो । सङ्घकै अग्रसरतामा बेगनास ताल पारीको बराह मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट तथा कार्यक्रम स्वीकृत भएको जानकारी दिँदै अध्यक्ष आत्रेयले करिब रु १० करोड लागतमा सम्पन्न हुने परियोजना सम्पन्न गर्न सङ्घ लागिरहेको बताउनुभयो ।

