पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखरा:  पोखरा महानगरपालिका वडा नं.५ को आयोजनामा भएको महिला लक्षित पाठेघरको मुख तथा स्तन क्यान्सर छनोट सम्बन्धि निशुल्क शिविरबाट ३ सय ७ जना महिलाहरु लाभान्वित भएका छन् । वडा कार्यालयको खर्चमा बुधबार भएको कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा ५ ले सहजीकरण गरेको थियो । हरेक महिलाहरुको स्वास्थ्यमा वडाको ध्यान केन्द्रीत रहेको वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । ‘उपचारभन्दा पहिला आफ्नो स्वास्थ्यको बारेमा थाहा पाउन आवश्यक छ । रोग लाग्न भन्दा रोग लाग्न नदिनु नै हाम्रो उद्देश्य हो ।’ वडावासीलाई स्वास्थ्य सचेतना गराउन वडाले कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो । स्थानीय तह मार्फत यस्तो कार्यक्रम पोखरा महानगरमै पहिलो पटक भएको र वडा ५ बाटै शुरु गरिएको वडाध्यक्ष बरालले बताए । वडाकै बजेटबाट शिविर सञ्चालन भएको बरालले जानकारी दिए । निशुल्क स्वास्थ्य चेकजाँजबाट ३ जनाको भिआइए सस्पेक्टेड देखिएको र ४५ जनाले औषधि लिनुपर्ने देखिएको शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदीले जानकारी दिए । वडावासीको हितमा हुने यस्ता कार्यक्रलाई निरन्तरता दिने प्रतिवद्धता शिविर संयोजक तथा वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले बताइन् । स्वस्थ वडाको रुपमा विकास गर्न वडा अगाडी बढिरहेको संयोजक क्षेत्रीले बताइन् । शिविरलाई स्वास्थ्य महाशाखा महानगर प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो ।

तनहुँ:  व्यास नगरपालिका ५ स्थित मगर गाउँ चुदेरलाई ‘एकीकृत नमुना बस्ती’ बनाउने तयारी थालेको छ ।  रोट्रयाक्ट क्लब अफ होनोलुलू हुवाई अमेरिकाले एकीकृत नमुना बस्ती बनाउने तयारी थालेको हो ।   यसअघि उक्त क्लबले चुदेरमा करिब ८० लाखको लागतमा खानेपानीको योजना सम्पन्न गरिसकेको छ ।    गत २७ गते आयोजित कार्यक्रमकाबीच सो गाउँलाई एकीकृत नमुना बस्तीको रुपमा विकास गर्नका लागि गुरुयोजना बनाइने दातृसंस्था क्लबका प्रतिनिधिले सुनाएको स्थानीय विकास थापामगरले बताए । ‘अमेरिकाको हुवाइबाट आएको रोट्रयाक्ट क्लब अफ होनोलुलूले हाम्रो गाउँमा खानेपानीको प्रोजेक्ट सम्पन्न गरिसकेको छ । र हामी लाभाविंत भइसकेका छौं, थापामगरले भने, हस्तान्तरण पहिल्यै भएपनि अहिले दोस्रोपटक उहाँहरु आउनुभएको थियो । त्यही कार्यक्रममा यो गाउँलाई एकीकृत नमुना बस्ती बनाउन डिपिआर तयार गर्ने बताउनुभएको थियो ।’   थापामगरका अनुसार अहिले सो गाउँमा २२ घरधुरी छ ।    उनले खानेपानीको योजना सम्पन्न भएपश्चात अवलोकन र सँस्कृति आदानप्रदान गर्नका लागि अमेरिकाबाट आएको रोट्रयाक्ट क्लबले कृषि विज्ञानसम्बन्धिसमेत तालिम प्रदान गरेको बताए । ‘हाम्रो गाउँमा रोटरी चुदेर खानेपानी योजनाको अवलोकन, संस्कृतिको आदानप्रदान र शिक्षासम्बन्धि कार्यक्रम र एडल्ट साइन्स लिट्रेसी लिएर आउनुभएको थियो, उनले भने, ‘सोही अवसरमा स्थानीयलाई कृषिसम्बन्धि केही सीपमुलक तालिम पनि दिनुभएको थियो ।’      उनले उक्त क्लबको प्रतिबद्धतामा स्थानीय सरकारसमेत सकरात्मक रहेकोे बताए । ‘हाम्रौ गाउँमा पानीको समस्या थियो । त्यो हल भइसकेको छ । विद्युत पनि छदैछ अब बाटो हो त्यो पिच हुन तत्काल सम्भव नभएपनि वडासँग समन्वय गरिरहेका छौं । त्यसलाई के कसरी व्यवस्थित बनाउन सकिन्छ त्यो बारे वडाले पनि सहयोग गर्ने कुरा छ ।’ उनले भने ।   उनले सो गाउँमा मगर जातिमात्रै रहेका बताउदै संस्कृतिलाई संरक्षण गर्न विभिन्न कार्यक्रम नै सञ्चालन हुदै आएको सुनाए । ‘हाम्रो गाउँमा मगरहरुको मात्रै बस्ती छ । संस्कृतिलाई जिवन्त राख्न विभिन्न प्रयासहरु गर्दै आएका छौं ।’ थापामगरले भने ।   त्यसैगरि व्यास नगरपालिका ५ का वडाध्यक्ष विश्व कुमार श्रेष्ठ (हिमाल) ले चुदेरको पर्यटकीय सम्भावना रहेको बताउदै नमुना बस्ती निर्माणको योजना सकरात्मक रहेको बताए । ‘चुदेरको पर्यटकीय सम्भावना अत्याधिक छ, उनले भने, ‘त्यहाँको सँस्कृति जिवितै छ । अहिले आधारभूत पूर्वाधारहरु सबै छन् । त्यसैले पनि गाउँमा फर्किनेहरु पनि हुनुहुन्छ ।’      दातृनिकायको सहयोग आवश्यक रहने बताउदै वडाध्यक्ष श्रेष्ठले चुदेरको विकासको लागि वडाको तर्फबाट आफुले सधै पहल गर्ने बताए । उनका अनुसार सो रोट्रयाक्ट क्लबले व्यास नगरपालिका ५ को जनजुक्त शाही विद्यालयमा माइक्रोस्कोप र उदय माविमा विज्ञानका उपकरण सहयोग गरिएको थियो ।   चुदेर गाउँमा गत २७ गते सम्पन्न कार्यक्रममा रोट्रयाक्ट क्लब अफ होनोलुलू हुवाई अमेरिका, रोट्रयाक्ट क्लब अफ दमौली, आस्था जे रिसर्च एण्ड डेभलभमेन्ट सेन्टरका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।   

पोखरा:  सराङ्गकोट बहुउद्देशयीय सहकारी संस्थाले १६ औँ वार्षिक उत्सवको अवसरमा राम मन्दिर जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गरेको छ । सस्ंथाले यस वर्ष वार्षिक उत्सवको अवसरमा त्रिदीवसीय कार्यक्रम अन्र्तगत स्वास्थ्य सेवा, विधार्थीहरुलाई न्यानो कपडा र जेष्ठ नागरिक केन्द्र गगनगौँडालाई भौतिक सामाग्री वितरण गरीएको संस्थाको उपाध्यक्ष वसन्त बहादुर बाँनियाले बताए । संस्थाले स्थापनादेखि समुदाय केन्द्रित रेडियो सराङ्गकोटको प्रसारण, आर्थिक कारोबार मार्फत ७० करोडको कुल कारोबार मार्फत बचत तथा ऋण सङ्गै सदस्यहरु केन्द्रित सामाजिक उत्तरदायित्वका रचनात्मक क्रियाकलापहरु गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । राममन्दिर जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष ,सस्ंथाका सल्लाहाकार अर्जुन बहादुर बस्नेतको सभापत्तित्वमा भएको कार्यक्रममा, संस्थाको सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सह सचिव माया कुमारी शर्मा, सल्लाहाकार इन्द्रकमल मानन्धर, संचालक सदस्य आरती श्रेष्ठ, महिला समिति सदस्य राधिका थापा, व्यवस्थापक सुरेन्द्र थापा, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगाएतले संस्थागत भनाई राखेका थिए ।  

पोखरा: पोखरामा जारी ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत मावि तह र प्लस टु (कक्षा ११–१२)तह जारी बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गतनै  भलिबल, फुटबल र एथलेटिक्सतर्फका फाइनल खेल बिहिबार सम्पन्न हुने प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जानकारी दिएकी छन् ।  भलिबल, एथलेटिक्सतर्फका केही इभेन्ट र फुटबलको फाइनल खेल बिहिबार आयोजना हुने संयोजक लामिछानेले बताइन् । बिहिबार पोखरा रंगशालमा १७ औं प्याब्सन स्पोर्टस मिटको ट्रफी विजेता विद्यालयको समेत टुङ्गो लाग्ने संगै विजेता विद्यालयहरुलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको प्याब्सन कास्कीले जनाएको छ ।   

गण्डकी: सामुदायिक वनको दिगो विकाससंगै मुलुकको समृद्धिको आधार बनाउनु पर्नेमा आज पोखरामा आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्धारा आयोजित दिगो वनको निती व्यवस्थापनमा स्थानीय, उद्यम र  विकास सम्वन्धी अन्तर सम्वाद कार्यक्रमकका बक्ताहरुले प्राकृति श्रोतलाई आयआर्जन र रोजगारसंग जोड्दै गरिबी न्यूनिकरणमा जुट्नु पर्नेमा जोड दिएका हुन ।  अप्ठेरो सरकारी नितीका कारण अमुल्य वन पैदावार उपयोग विहिन हुने र वर्षेनी विदेशी काठ आयातमा अरवौ रुपैया वाहिरिने अवस्थाको अन्त्य हुनु पर्नेमा जोड दिंदै बक्ताहरुले यसका लागि तीनै तहका सरकार र सामुदायिक वन समुह बीच सहकार्यको खाँचो औल्याए । वनको संरक्षण सम्वद्र्धन र उपयोग गर्दै आएका उपभोक्तालाई सर्वसुलभ तरिकाले वनपैदावारको प्रयोग र विक्री वितरणमा समेत सहज वातावरण तयार गरेर वनमा आधारित उद्योग स्थापना गर्नु पर्नेमा सहभागिले सामुहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।  सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव बिर्खबहादुर शाहीले सरकारीतर्फबाट संरक्षण गर्न नसकेपछि उपभोक्तालाई हस्तान्तरण गरिएका सामुदायिक वनहरु यतिखेर हराभरा भएको उल्लेख गर्दै अव यसलाई आयआर्जनको माध्यम बनाउनुको विकल्प नभएको बताउनुभयो । काठजन्य वस्तु, जडिवुटी, कार्वन व्यापार, इको टुरिजम, आर्थिक सामाजिक र वन्यजन्तु व्यवस्थापनमा आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सवैको साथ र सहयोगको खाँचो औल्याउनुभयो । कार्यक्रममा महासंघका सचिव ठाकुर भण्डारीले संँघीय वन नियमावलीले सामुदायिक वनको पैदावार उपयोग र उद्यम सञ्चालनमा अप्ठेरो परिस्थिति सिर्जना भएको बताउँदै प्राकृति श्रोतलाई समृद्धिसंग जोडन सर्वसुलव कानूनी व्यवस्था हुनुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य सचिव डा. सिन्दु ढुंगानाले दिगो वन व्यवस्थापन र अन्तराष्ट्रिय वन विज्ञ डा. गंगाराम दाहालले वन र भूमि स्वामित्वका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष घनश्याम पाण्डे,महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी लगायतले प्राकृतिक श्रोतको भण्डार वन श्रोतलाई भरपुर उपयोग गर्दै समाजका आदिवासी जनजाति तथा स्थानीय उपभोक्ताको जिविकोपार्जनको माध्येमकारुपमा विकास गरिनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका तीनै तहका पदाधिकारी तथा प्रतिनिधि, प्रदेश अन्तर्गत विभिन्न जिल्लाका डिभिजन बन कार्यालयका अधिकृत, आदिवासी जनजाति महासंघ लगायतको सहभागिता रहेको थियो ।  

पोखरा:  ‘मानवताका लागि सांगीतिक’ भन्ने नारासहित देश दौडाहामा रहेको नेपथ्यले आगामी पुष १२ गते पोखरामा कन्सर्ट गर्ने भएको छ । आयोजकका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अपह्रान्ह ४ बजे कन्सर्ट सुरु हुनेछ ।  मानव सेवा आश्रमले भवन निर्माण तथा कोष स्थापनार्थ नेपथ्यको टोली साँगीतिक यात्रामा रहेको पोखराको प्रचारप्रसार संयोजक दिनेश शर्माले बताए ।   उनका अनुसार अहिलेसम्म नेपालको चर्चित सांगीतिक समूह नेपथ्यका अमृत गुरुङले विराटनगर, वीरगञ्ज, हेटौँडा र नारायणघाटमा प्रस्तुती राखिसकेका छन् भने आज (बिहिबार) नेपालगञ्जमा हुदैछ ।  सांगीतिक यात्रामा रहेको नेपथ्यले नेपालगञ्जपछि पुष ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल, १२ गते पोखरा र १६ गते काठमाडौंमा कन्सर्ट गरेर साँगीतिक यात्रा समापन गर्ने शर्माले बताए ।  उनका अनुसार टिकटदर १ हजार कायम गरिएको छ भने इसेवा, खल्ती, फोन पे मार्फत टिकट बुकिङ गर्न सकिने छ । आश्रमको भवन निर्माणार्थ कन्सर्ट पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा बाबियतरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी जग्गामा  निर्माणाधिन भवन सम्पन्न गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको पोखराका प्रचारप्रसार संयोजक दिनेश शर्माले बताए । उनका अनुसार देश दौडाहामा रहेको सांगीतिक समुह नेपथ्यको कन्सर्टबाट संकलित रकम आश्रमको भवन निर्माणमा खर्च गरिने छ ।  उक्त भवन निर्माणलाइ पूर्णता दिनका लागि मानवताका लागि संगीत भन्ने नारासहित देश दौडाहामा रहेको उल्लेख गरे । ‘अहिले बनिरेको भवनलाई पूर्णता दिनका लागि नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिएको हो, उनले भने,  ‘अन्य शहरमा जस्तै पोखरामा आयोजना हुने कार्यक्रमबाट दर्शकको राम्रो साथ समर्थन प्राप्त हुनेछ ।’ यसैगरि मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले पोखराको कन्सर्टमा करिब ८ हजार दर्शकको अपेक्षा रहेको सुनाए । ‘पोखरा नेपथ्यको होमटाउन पनि हो, त्यसैले सबैभन्दा बढी करिब ८ हजार जति दर्शकको अपेक्षा गरेका छौ, उनले भने, ‘त्यसबाट सबै खर्च कटाएर २५ लाख जति बचत गरेर भवन निर्माणमा खर्च गर्ने योजना बनाएको छौ ।’ निर्माणाधिन भवनमा हालसम्म ५ करोडको काम सम्पन्न भइसकेको छ । तिमिल्सिनका अनुसार ४८ कोठासहितको तीन तले भवन निर्माण हुनेछ । सो भवनको एक कोठा निर्माण सम्पन्न गर्न ५ लाख १ हजार १ सय ११ रुपैयाँ लाग्ने उनले बताए । ‘एउटका कोठा बन्न करिब ५ लाख लाग्छ अहिलेसम्म केही संस्था र दाताहरुले कोठा निर्माण गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ ।’ उनले भने । उक्त भवन निर्माण भइसकेपछि करिब २ सय जनालाई सेवा प्रदान गर्न सकिने उनले बताए ।  तिमिल्सिनाका अनुसार हाल देशैभर गरेर झण्डै एक हजार ६ सय सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् ।  हेटौंडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले हालसम्म १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । गण्डकी प्रदेशको गोरखा, लमजुङ, बागलुङ र कास्कीमा गरि ४ जिल्लामा मानव सेवा आश्रमले सेवा दिइरहेको छ । पोखरामा भएको मानवसेवा आश्रममा १०२ पुरुष र ६३ जना महिला गरी १६५ जना आश्रित छन् ।

पोखरा:  पोखराको गण्डकी मेडिकल कलेजमा क्याथ ल्याब स्थापना भएको छ । कलेजले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेको हो ।    क्याथ ल्याव स्थापनासँगै गण्डकी मेडिकल कलेजमा हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । हृदय रोग उपचार केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार उद्घाटन गर्नुभयो । पोखरा र आसपासका मुटुका विरामीलाई पोखरामा नै उपचार सेवा दिने उद्देश्यले क्याथ ल्याव स्थापना गरेर हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याएको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार अब मुटु रोगसहित कुनैपनि उपचारका लागि काठमाडौं वा विदेश जान नपर्नेगरी जिएमसीले उपचार थालेको हो । क्याथ ल्याबबाट पोखरा र आसपासका विरामीले बेलैमा उपचार लिन सक्ने अस्पतालका ह्दय रोग उपचार केन्द्रका प्रमुख डा.मधु रोकाले बताउनुभयो ।उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई मेडिकल शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभयो । कलेजका प्राचार्य डा.रवीन्द्रप्रसाद श्रेष्ठले ३ सय बेड क्षमताबाट सुरुवातमा आएको कलेजमा हाल ५ सय ५० बेड, ८ सय कर्मचारी र ९ सय विद्यार्थी अध्यनरत रहेको जानकारी दिनुभयो । हाल अस्पतालबाट दैनिक ७ सय देखी ८ सय विरामीले सेवा लिदै आएको बताइन्छ ।   कलेजमा एमविविएस, विडिएस, विएसि नसिङ, विपिएस, एमएलटि, बि फार्मेसी लगाएतका शैक्षिक कार्यक्रममा पढाइ हुँदै आएको छ ।

जुम्ला:  बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन् । केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन् ।  सिञ्जा गाउँपालिका–५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा राखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाउनुभएको छैन । उनले भने, “वर्षाले कर्णाली राजमार्ग बन्द भएपछि जुम्ला बजार ल्याउँदा पनि स्याउ बिक्री हुन सकेन ।” बजारीकरण गर्न नसक्दा नोक्सान बेहोर्नुपरेको रावलको भनाइ छ ।  जुम्ला विमानस्थलमा स्याउ बेच्न आएकी गेठीचौर गाउँपालिका–३ की उमादेवी अधिकारी बिक्री नहुँदा समस्या भएको बताउँछिन्। उनले भनिन्, “स्याउ खरिद गर्नेको सङ्ख्या कम छ । घरबाट दुई घण्टा हिँडेर बजारमा स्याउ ल्याए पनि बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुन्छ ।”  स्याउ उत्पादन बढ्यो जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिए । गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये नौ हजार मेट्रिक टन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । यसअघि व्यवसायीले प्रतिकिलो रु ५० देखि रु ५५ मा स्याउ खरिद गरी रु ६७ देखि रु ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसान त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी धर्मसिंह कठायतले बताए ।  जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौँसम्म पुगे पनि जुम्लीले उचित बजार मूल्य नपाएको यहाँका स्याउ किसानको गुनासो रहेको छ । “मैले प्रतिकिलो रु ५० मा स्याउ किनेर ढुवानी खर्चसहित रु ६० मा नेपालगञ्ज पुर्याए । तर प्रतिकिलो रु ३० मा बिक्री गर्न बाध्य भएँ ।” कोहलपुरमा शीतभण्डार नहुँदा स्याउ सस्तो बेच्नुपर्ने बाध्यता आइलागेको कठायतको भनाइ छ ।

पोखराः  साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे । खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत अर्को गोल थपेको थियो । साविक विजेता फ्रान्सले यस जितसँगै उपाधि रक्षाका लागि फाइनलमा अर्जेन्टिनासँग भिडन्त पक्का गरेको छ । खेलको सुरुवाती समयमा नै फ्रान्सले अग्रता लिएको थियो । मोरक्कोले खेलअघि मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको थियो भने २० मिनेट नबित्दै कप्तान रोमन साइसको साथ पनि निरन्तर पाउन सकेन । दुवै डिफेन्डर चोटका कारण बाहिरिनु परेको थियो । पछि परेको मोरक्कोले लगातार आक्रमण बुन्दा फ्रान्सले पनि केहि अवसर पाएको थियो । दोस्रो हाफमा मोरक्कोले पाएको अवसर पटक पटक सदुपयोग गर्न नसक्दा फ्रान्सले अग्रता कायम राख्यो । खेलाडी परिवर्तन गर्दै फ्रान्सले अग्रता दोब्बर पारेपछि मोरक्को खेलमा फर्कने सम्भावना पातलिएको थियो । अन्त्यसम्म पनि मोरक्कोले आक्रमणमा अवसरको सदुपयोग गर्न नसक्दा हार बेहोर्न पुग्यो । खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सुन्दर गोलमा परिणत गरे । गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भलीमा गोल गरेका थिए । १७ औं मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरिंदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५ औं मिनेटमा जिरुडले नै गोलरक्षक र डिफेन्डर पोजिसनमा नरहँदा बललाई पोस्टको दिशा दिन सकेनन् । पहिलो हाफको अन्तिम मिनेटमा मोरक्कोलाई खेल बराबरी गर्न पोस्टले छेक्यो । एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्केको थियो । दोस्रो हाफको ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्यो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे । किलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र ४ डिफेन्डर बिट गर्दै गरेको प्रहार मुआनीको अघि आएपछि उनले पहिलो टचमै गोल गरे । फ्रान्सले अब उपाधि रक्षाको लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । फाइनल आइतबार हुनेछ । एजेन्सीको सहयोगमा