पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

 तनहुँ:  तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा सडक अवरुद्ध भएको छ ।   पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो।   आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ। आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घन्टा लाग्ने अनुमान गरिएको प्रहरी कार्यालयले बताएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधान सडकमा अलपत्र परेका छन् ।

पोखरा:  पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ निर्माण गरिएको छ । करिब डेढ करोड रुपैयाँ लागतमा रानीमहल स्वरुपमा निर्मित दुईतले भवन निर्माण पूरा भएको हो । १० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसको आन्तरिक सजावटमा अझै कम्तीमा एक करोड लाग्ने अनुमान छ । पाल्पाली चिनारीहरु ढाका, करुवा लगायत कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउने उद्देश्यले पाल्पा हाउस प्रालिले यो संचालनमा ल्याउन लागेको हो । कम्पनी अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाली उत्पादनहरु अब यहाँबाट एकैथलोमा उचित मूल्यमा उपलब्ध गराइने बताए । यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने उनको विश्वास छ । नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले पहल थालनी गरेका हुन् । पाल्पा हाउस सम्भवत आगामी माघ पहिलो सातादेखि औपचारिक संचालन गर्ने लक्ष्य रहेको समाजका पूर्व अध्यक्षसमेत रहेका कम्पनी अध्यक्ष घिमिरेले बताए । समाजका अध्यक्ष रेशम थापाले आर्थिक गतिविधिसँगै पर्यटन पर्यटनमा यसले विशेष महत्व राख्ने बताउँछन् । पाल्पाली समाज पोखराले बिस्तारै बृहत् रुप लिंदै गएको उनको भनाइ छ । समाजले नै सहकारी जन्मायो, साथै पाल्पा हाउससँगसँगै पाल्पाली कोलोनी पनि छिट्टै संचालनमा ल्याउने थापाले बताए । न्यूरोडस्थित भाटभटेनी सुपरस्टोर आडैमा रहेको पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन् । यहाँ १७ ओटा सटरमध्ये ९ ओटा बुकिङ भइसकेको संचालकमध्येका एक जगदीश गौतमले बताए । पाल्पाली ढाका, करुवा, तरकारी, फलफूलका अलावा पाल्पाली स्वाद हाँसको छोइला, मिसमास, चुकाउनी, बटुक समेत यहाँ संचालन हुने रेष्टुरेन्टका परिकार हुने छन् ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता समेत हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको संयोजक मन बहादुर गुरुङले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न साँस्कृतिक कार्यक्रम राखिएको भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए । ‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउनका लागि साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं । सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको छ ।’ –उनले भने । स्थानीय स्तरमा उत्पादित परम्परागत प्राङ्गारिक खानाका परिकार तथा कोदोको परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने क्लवका अध्यक्ष गुरुङले बताए ।   महोत्सवको मुख्य आकर्षण फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद ३५ हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।   पर्यटक आवासको लागि गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावापानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ ।   सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुछ«े लगाएतका हिमालहरु नजिकै प्रस्टरुपमा देख्न सकिन्छ ।

पोखरा:   नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) ले ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत टोली चितवन पुगेर विभिन्न गतिविधि गरी पोखरा फर्केको छ ।    पर्यटन क्षेत्रमा टेवा पु¥याउनका लागि पोखराका पर्यटन व्यवसायी र विभिन्न पेसा व्यावसायमा आवद्ध उद्यमीहरु चितवन पुगेका थिए । सो कार्यक्रम शुक्रबार शनिबार भएको थियो ।  कार्यक्रम अन्र्तगत शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीहरु बिच फेलोसिप नाईट भएको २ दिनसम्म हुने नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीले जानकारी दिए । उक्त फेलोसिप नाईटमा नेपालको पर्यटन क्षेत्रमा कसरी टेवा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । ‘हामीले पहिलो दिन चितवन दासढुंगामा भेला भएका उद्यमीहरुसँग कसरी पयर्टन क्षेत्रमा जोडिन सकिन्छ भनेर सल्लाह गरेका छौं,’ उनले भने, ‘हामीसँग नाट्टाको प्रदेश अध्यक्षहरुसहित विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीहरु सहभागी हुनुहुन्छ ।’  कार्यक्रमको दोस्रो दिन शनिबार तनहुँ र चितवनमा रहेको देवघाटधाम भ्रमण गरेको थियो । नाट्टा छिट्टै पर्यटन क्षेत्रको विकासका लागि उद्यमी सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।  संस्थामा सदस्य एवम् कार्यक्रम संयोजक गणेश पोखरेलले आफूहरुको पूर्व निर्धारित कार्यक्रम अनुसार नै छिमेकी प्रदेशका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिए । यस कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउन र कसरी पर्यटनलाई अरु क्षेत्रसँग जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाउन सघाउने उनले बताए ।  कार्यक्रममा सहभागी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जुनसुकै क्षेत्र पर्यटनसँग जोडिने भएका कारण सबै क्षेत्रका उद्यमीहरु बिच सहकार्य हुनुपर्ने बताउँछन् । नाट्टाले सबै क्षेत्रका उद्यमीहरु भेला गरी फेलोसिप गराएर सह्रानीय काम गरेको उनले बताए । ‘हामी उद्यमीहरु कुनै न कुनै माध्यमबाट पर्यटनसँग जोडिएका हुन्छौं,’ उनले भने, ‘हामी हामी बिच चिनजान र सहकार्य हुनु आवश्यक थियो । नाट्टाले जुन काम गरेको छ त्यो सह्रानीय छ ।’  टोलीमा संस्थाका सदस्य, विभिन्न व्यावसायमा आवद्ध उद्यमीसहित ३० जनाको सहभागिता थियो । नाट्टाले पोखरा र नेपालको पर्यटन प्रवद्र्धनलाई मूर्त रुप दिन सन् २००८ देखि प्रमोशनल टुर पनि गर्दै आएको छ ।   

बागलुङ:   बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा योजना परेका छन् । यी सबै प्रदेश तथा सङ्घीय सरकारबाट अनुदान प्राप्त योजना हुन् । जिल्लाको १० वटै पालिकामा योजना परेका छन् । सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् । जिल्लामा सहजरुपमा सिँचाइको व्यवस्थापन गर्न सरकारले हरेक वर्ष करोडौँका योजना पार्दै आएको छ ।  यस वर्ष केन्द्र सरकारले रु सात करोड ५७ लाख र प्रदेश सरकारले ११ करोड ६७ लाख ३० हजार बजेट विनियोजन गरेको छ । दशवटै पालिकामा सहजरुपमा सिँचाइको व्यवस्थापन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको छ । जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग मात्रै समथर भूभाग भएको हुँदा सबै क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न कठिन देखिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले जानकारी दिनुभयो । उहाँले यस कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आए पनि जनताको चाहनाअनुसार काम हुन नसकेको बताउनुभयो । “अहिलेसम्म बागलुङमा खेतीयोग्य जमिनको २० प्रतिशत मात्रै सिँचाइ गर्न सकेका छौँ, जिल्ला भौगोलिकरुपमा विकट छ, खेतीयोग्य जमिन धेरै ठाउँमा छरिएर रहेको हुँदा जनताले चाहेअनुसार सिँचाइको व्यवस्थापन हुन सकेको छैनँ”, ओझाले भन्नुभयो । बागलुङमा सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पु¥याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उहाँले बताउनुभयो । सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । गत वर्ष पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष छ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि यस वर्ष जिल्लामा धान उत्पादनसमेत बढेको पाइन्छ । गत वर्ष १८ हजार तीन सय ५४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार छ सय ९० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बागलुङ नगरपालिका–४ का टीकाराम सापकोटाले जिल्लामै बढी धान फेदीमा उत्पादन हुने भन्दै यहाँ सिँचाइको राम्रो व्यवस्थापन नहुँदा हरेक वर्ष धान उत्पादनमा कमी आएको बताउनुहुन्छ । सापकोटा भन्नुहुन्छ, “यहाँ यति ठूलो धान फल्ने फाँट छ, तर सिँचाइको समस्या छ, कुलो सानो छ, खेतीयोग्य जमिन धेरै भए, धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, कहिले त आकाशे पानीको भरमा खेतमा धान रोप्नुपर्ने अवस्था हुन्छ ।” स्थानीय यामबहादुर केसीले खेतीयोग्य जमिनमा सिँचाइको राम्रो प्रबन्ध नहुँदा परनिर्भर बन्नुपरेको बताउनुभयो । केसीले खोलाबाट खेतसम्म ल्याउने कुलो राम्रो नहुँदा किसानलाई बाली लगाउने बेला सिँचाइकै पिरलो हुने बताउनुहुन्छ । धान, मकै र गहुँ यस क्षेत्रमा राम्रो उत्पादन हुने भए पनि सिँचाइ अभावका कारण हरेक वर्ष उत्पादन घट्दै गएको उहाँको भनाइ छ ।  “हाम्रो गाउँ ठाउँमा बालीनाली निकै राम्रो हुन्छ, पहिले–पहिले सिँचाइको समस्या थिएन, अहिले मान्छे बढ्दै गएपछि खेती गर्ने ठाउँ पनि बढेको छ, पहिले निर्माण गरेका कुलो अहिले साँघुरा भए”, केसीले भन्नुभयो ।   बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।

राँझा:  बाँकेको कोहलपुरमा शनिबार राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय  कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए । उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

काठमाडौंः    फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा छ । सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । अर्जेन्टिनाका कप्तान ३५ वर्षका लिओनल मेस्सीका लागि यो अन्तिम विश्व कप हो । उनकै नेतृत्वमा अर्जेन्टिनाले गएको वर्ष कोपा अमेरिकाको उपाधि समेत जितेको थियो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा तथा फ्रान्सले सन् २०१८ र १९९८ मा विश्व कपको उपाधि जितेका थिए । यसपालि जितेमा फ्रान्सले लगातार दोस्रो पटक जितेर उपाधि रक्षा गर्नेछ । साथै लगातार उपाधि जित्ने दोस्रो देश पनि बन्नेछ । विश्व कप इतिहासमा ब्राजिलले सन् १९५८ र सन् १९६२ मा उपाधि जितेको रेकर्ड छ । ब्राजिल पाँच पटकको विश्व कप उपाधि विजेता टोली हो । तर यसपालि ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो । यो विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।

काठमाडौंः   फिफा विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २-१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो । पराजित मोरक्को चौथो भएको छ । क्रोएसियाको जितमा जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक/एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौंँ मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको नवौँ मिनेटमा नै दारीले गोल गरी मोरक्कोलाई बराबरीमा ल्याए । क्रोएसियाका सोरिसिचले खेलको ४२ औँ मिनेटमा गोल थपे । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल हुन सकेन । सेमिफाइनलमा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३-० गोल र मोरक्को साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो । उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् ।

काठमाडौंः   निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको कार्यालयमा अलगअलग रूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकीकुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो । ती टोलीबाट प्रदेशगत निर्वाचनको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेशप्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था छ । आयोगले गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष समग्र निर्वाचनको प्रतिवेदन पेस गरेको थियो ।