पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

नवलपरासी:  नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । “गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ”, उनले भने, “गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।”  जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा उल्लेख छ । “आलु उत्पादनका हिसाबले नवलपरासी ९बर्दघाट सुस्तापूर्व० आत्मनिर्भर रहेको छ”, प्रमुख लामछिानेले भने, “यो वर्ष समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ ।” मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताए ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकामा व्यावसायिकरुपमा आलु खेती गर्ने गरिएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ । उक्त केन्द्रले कृषि समूहमा आलु खेती प्रवर्द्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको थियो ।  

पोखराः   पोखरा–९ नयाँ बजार प्रर्दशनी केन्द्रमा सञ्चालन भएको २२ औं समृद्ध स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा रोटेपिङबाट खसेर गम्भीर घाइते भएकी २२ वर्षीय अस्मिता लिम्बुको मृत्यु भएको छ ।  गण्डकी मेडिकल कलेजमा उपचाररत लिम्बुको आज (बुधबार) १२ः१० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।  समृद्ध स्टील्स राष्ट्रिय औधोगिक मेलामा अवलोकनका लागि गएका लिम्बुसहित तीन युवती रोटेपिङको डम्बा अनियन्त्रित हुँदा खसेको थिए । 

वीरगञ्ज:  पर्सामा एक विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो । बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो । प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनाबारे बुझ्दा सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट भएको थियो । मंगलबार राति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने विषयमा विवाद भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै विवाद हुँदा दुलाहा साबिर, काका जादुल राउत गद्दी लगायतले कुटपिट गरेको स्थानीयले बताएका छन् । सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । ‘विवाहमा नाच्ने विषयमा विवाद हुँदा कुटपीट भएको देख्नेहरु छन्’, उनले भने ‘मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

पोखरा:   पोखरा जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् । बिजुक्छेले २ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । बिजुक्छेले प्रतिस्पर्धी सोमनाथ बराललाई १ सय २५ मतले हराएका हुन् । बरालले १ सय ४४ मत ल्याए । निर्वाचन मंडलका अनुसार ४ सय १३ मत खसेकोमा १४ मत बदर भएको हो । अध्यक्ष विजुक्छे सहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ । सदस्यमा अर्जुन श्रेष्ठ, ईन्द्रप्रसाद पौडेल, कृष्णप्रसाद तिमिल्सिना, गणेशबहादुर अधिकारी, धुव्रराज चालिसे, नम्रता बराल, युवराज पराजुली, रंगिला पौडेल आचार्य, राजेन्द्र पहारी, विजयराज आचार्य र शोभामोहन पौडेल चयन भएका हुन् ।         

गण्डकी:   पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे चार दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ ।  यस विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्धएयरले आवश्यक तयारी गरिरहेको उक्त एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले राससलाई जानकारी दिनुभयो । उडान अनुमतिका लागि बुद्ध एयरले सम्बन्धित निकायमा निवेदन दिइसकेको उहाँले बताउनुभयो । एयरलायन्सले पोखराबाट पहिलो उडान पोखरा–बनारस–पोखरा गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।  “हामी उडानको लागि लगभग तयारीमा छौँ, पोखरा–बनारसको उडानको अनुमति माग्नुका साथै त्यसअघि परीक्षण उडानका लागि पनि अनुमति मागिएको छ”, उहाँले भन्नुभयो ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिनुभयो । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ ।       उडान सञ्चालनकै तयारीस्वरुप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटानकार्य सकिएको उहाँले जानकारी दिनुभयो । धावनमार्गको ‘अप्रोच’मा पर्ने डाँडाको ४० मिटर डाँडा काटेर समतल बनाउने गरी बाँकी २४ मिटर काट्ने काम पनि तीव्र रुपमा चलिरहेको उहाँले बताउनुभयो । “जनवरी १ मा बिहानैदेखि पोखराबाट हुने सबै उडान ९हेलिकोप्टर र अल्ट्रालाइट बाहेक० पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने गरी तयारी भएको छ”, जोशीले भन्नुभयो ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारी भइरहँदा पोखरेली पर्यटन व्यवसायी यसले पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताउँछन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकीय नगरी पोखराको सिधैँ विश्व बजारमा सम्पर्क हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । आगामी दिनमा विदेशबाट पर्यटकहरू सिधैँ पोखरा आउनसक्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने बताउनुभयो । पोखरामा दैनिक २० हजार भन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवाशको सुविधा दिन सकिने बताउँदै उहाँले विमानस्थल सञ्चालनसँगै यससँग जोडिएका सडक लगायतका पूर्वाधारमा विशेष ध्यान दिनु जरुरी रहेको बताउनुभयो । “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आगामी दिनमा पोखरा र गण्डकी प्रदेशका विभिन्न जिल्लाका उत्पादनलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिन्छ”, उहाँले भन्नुभयो ।  पोखरामा विभिन्न देशबाट आउने पर्यटक साहसिक पर्यटनलाई पनि लक्षित गरेर आउने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष धर्म पन्थीले बताउनुहुन्छ । पोखराहुँदै अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण आधार शिविर, धवलागिरि पदमार्ग, मर्दी पदमार्ग आदिमा पर्यटक जाने गरेको बताउँदै उहाँले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा र यससँग जोडिएका पर्यटकीय गतिवधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको पर्यटनका लागि बरदान सावित बन्ने नेपाल टुर एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय सहरका रुपमा स्थापित गर्ने बताउँदै उहाँले विमानस्थल सञ्चालनसँग जोडिएका अन्य पूर्वाधारको विकास तथा विस्तारमा राज्यको ध्यान जानु जरुरी रहेको बताउनुभयो । पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको विमानस्थल निर्माणका अभियन्तामध्येका एक विश्वशङ्कर पालिखे बताउनुहुन्छ ।           अभियन्ता पालिखेका अनुसार विमानस्थलको निर्माणका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ देखि सङ्घर्षका कार्यक्रम सुरु गरेको थियो ।       विमानस्थल निर्माणका लागि पोखरेली जनताको लामो सङ्घर्षको इतिहास जोडिएको उहाँले बताउनुभयो । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको थियो ।      निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो । करिब तीन हजार ७०० रोपनी क्षेत्रफलमा निर्मित विमानस्थलमा न्यारोबडी एयर बस तीन सय २० र बोइङ सातसय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ ।      यस विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ । धावन मार्ग दुई हजार पाँचसय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् । विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएपछि गत चैतमा चिनियाँ निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै नेपाललाई हस्तान्तरण गरेको थियो । तथ्याङ्क अनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् ।

पोखराः     घडीमा बिहानको १० बज्यो, कार्यालय सहयोगीले घण्टी बजाए । विद्यार्थीहरु विद्यालयको प्रांगणमा प्राथनाका लागि लाइनमा बसे ।  प्राथना लागि लाइनमा १२ विद्यार्थी मात्र सहभागी थिए । कुनै समय १ सय ६६ जना  विद्यार्थीहरुले भरिने प्रांगणमा अहिले १२ जना विद्यार्थीहरु मात्र बिहानको प्रार्थनामा उभिए ।  उल्लेखित दृश्य हो, कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकस्थित लान्द्रुक आधारभुत विद्यालयको । बालबिकाश केन्द्र हुँदै कक्षा ५ सम्म पढाई हुने विद्यालयमा भर्ना भएका सबै विद्यार्थी विद्यालयमा भने आउँदैनन् ।  दुईवर्ष कोरोना भाइरसका कारणका गाउँ फर्किएका विद्यार्थीहरु यसै विद्यालयमा आएर अध्ययन गरेपनि अहिले उनीहरु पुनः शहरका विद्यालय नै फर्किएको लान्द्रुक आधारभुत विद्यालयका प्रधानाध्यापक नारायणदत्त त्रिपाठीले बताए ।  अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकका प्रायः विद्यालय पोखरा लगायतका सहरमा अध्ययनरत छन् । यहाँबाट अर्काे विद्यालय टोल्कामा रहेको हिमालयन माध्यमिक विद्यालय हो । जहाँ पुग्न करिब १ घण्टा हिँड्नुपर्छ ।  ‘कक्षा ५ देखि माथि पढ्न हिमालयन माविमै जानुपर्ने बाध्यता छ’ त्रिपाठीले भने ‘गाउँपालिकाले रिङरोडको अवधारणा अगाडी सारेको छ । योजना सम्पन्न भए गाउँमा स्कुल बस हालेर विद्यालयलाई मर्ज गर्ने सोचेका छौं ।’ त्रिपाठीका अनुसार योजना सम्पन्न भएपछि विद्यार्थीहरुलाई केही सहजता हुनेछ ।    विद्यार्थीहरु कम भएको कारण नै बालबिकास र कक्षा एकका विद्यार्थीहरुलाई एकैठाउँमा राखेर अध्यापन गराउँदै आएको प्रधानाध्यापक त्रिपाठीले बताए । ‘विद्यालयमा यस वर्ष भर्ना भएका विद्यार्थीको संख्या जम्मा १८ जना हो, प्रधानाध्यापक त्रिपाठीले भने, ‘भर्ना भएका सबै विद्यार्थीहरु विद्यालयमा आउँदैनन्, जसकारण बालबिकास केन्द्र र कक्षा एकका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर अध्यापन गराउँदै आएका छौं ।’ उनका अनुसार बालबिकास केन्द्रमा ३ जना, कक्षा १ मा २ जना,कक्षा २ मा ३ जना, कक्षा ३ मा ६जना कक्षा ४ मा ४ जना र कक्षा पाँचमा ३ जना भर्ना भएका छन् । कक्षा ५ मा ३जना विद्यार्थी भर्ना भए विद्यालय नआउँदा कक्षा बन्द अवस्थामा रहेको छ ।   लान्द्रुक आधारभुत विद्यालयका प्रधानाध्यापक त्रिपाठीले सहरीकरणको समस्याले गाउँको विद्यालयमा विद्यार्थीहरुको संख्या कम भएको भनाई व्यक्त गरे ।  ‘गाउँ अलि विकट नै छ, ढुवानी खर्च महंगो छ,पर्यटन हिसाब बाहेक अन्य क्षेत्रमा गाउँ पछाडी छ,  उनले भने, ‘गाउँबाट शहर झर्नेको संख्या कम छैन्, बैदेशिक रोजगारीको पनि गाउँको प्रमुख समस्या हो ।’ श्रीमान् विदेश गए छोराछोरी पढाउन सहर झर्ने प्रचलनको असर गाउँमा परेको उनको गुनासो छ । ‘यहाँमात्र हैन गाउँका अन्य विद्यालयमा पनि संख्या न्यून छ’ उनले जनाए ।  विद्यार्थीहरुलाई आवासिय शिक्षामा जोड दिन सके गाउँबाट शहरमुखी अध्यापन अन्त्य हुने प्रधानाध्यापक त्रिपाठीको भनाई छ ।  ‘नेपालमा दोहोरो शिक्षा प्रणाली नै प्रमुख समस्या देख्छु, धनी पुँजीपति र सामान्य परिवारका छोराछोरीले पढ्ने विद्यालय फरक छ, उनले भने, ‘सबैलाई समान शिक्षा दिन आवासिय विद्यालयसँगै २४ घण्टा विद्यार्थीहरु शिक्षकको निगरानीमा राख्नसके यसबाट विद्यार्थीहरुले लाभ पाउनेछन् ।’ २०२१ सालमा स्थापना भएको विद्यालयको केही विद्यालय क्षेत्रको केही पुर्वाधार परिवर्तन भएपनि विद्यार्थीको संख्यामा भने केही वर्षदेखि संख्या घट्दो क्रममा रहेको छ । अहिले विद्यालय भवन रहेको जग्गा २०४५ सालमा गुरुदत्त र इन्द्रकला पौडेलले निशूल्क दान गरेका हुन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका ७ मा आधारभुत तहका ५ वटा र एक माध्यमिक तहसम्मका विद्यालय रहेका छन् ।  पहिले विद्यार्थी अहिले शिक्षक  जलकबहादुर पौडेल लान्द्रुक आधारभुत विद्यालयका निजि स्रोतका शिक्षक हुन् । कक्षा ५ सय सम्म लान्द्रुक आधारभुत विद्यालयमा अध्ययन गरेका पौडेल अहिले सोहि विद्यालयमा अस्थायी शिक्षककारुपमा कार्यरत छन् ।  कक्षा ५ पछि  ६ देखि १० सम्म टोल्कास्थित हिमालयन माविबाट एसएलसी पास गरेका पौडेलले  उच्च शिक्षा र स्नातक तहको पढाई पोखराबाट पुरा गरेपछि विगत १५ महिनादेखि लान्द्रुक आधारभुत विद्यालयमा गणित र विज्ञान विषय पढाउँदै आएका छन् ।  स्यानीय कमल गुरुङले गाउँको विद्यालयमा गुणस्तरीयता शिक्षा नभएको भन्दै अभिभावकहरु शहर केन्द्रित विद्यालयमा विद्यार्थी भएको बताए ।  ‘गाउँको विद्यालय हो, हामीले पढ्ने समयमा १ सय ६० बढी विद्यार्थीहरु हुन्थ्ये, अहिले किन विद्यार्थी भएनन् भन्ने प्रश्न कसैले गरेनन्, गुरुङले भने, ‘गाउँको विद्यालयमा नै गुणस्तरीय शिक्षा प्रदान गर्न केही स्थानीयले आफ्नै खर्चमा शिक्षक समेत राखे त्यसलाई सही सदुपयोग गर्न सकिएन ।’  सोहीकारण अभिभावकहरु गुणस्तरीय शिक्षाको लागि शहर केन्द्रित भएको बताउँदै उनले गाउँमा निम्नवर्गीय परिवारका विद्यार्थीमात्र रहेको सुनाए ।   

काठमाडौंः    कांग्रेसको संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि  नै मतदान सुरु गर्ने भनिए पनि केहीबेर ढिलो गरी सुरु भएको छ । बिहान १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार हुनुहुन्छ । देउवा दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नु भएको छ ।   थापा पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ । यस्तै, अहिले यो चुनावले नै भावी सरकार गठनसहित समग्र राष्ट्रिय राजनीतिक जोडिएकाले पनि अन्य राजनीतिक पार्टी र नेताहरुले  पनि चासोका साथ हेरेका छन् । कांग्रेसमा दलको नेता निर्वाचित हुनु भावी प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदार हुनु हो । यस्तै, कांग्रेस सभापति देउवाले दलको नेताको चुनावपछि शक्ति बाँडफाँडको विषयमा छलफल गर्ने बताएका कारण सत्तागठबन्धनमा रहेका दलले चासो दिएका छन् । अहिले कांग्रेसको संसदीय दलमा ८९ सांसद रहेकाले बहुमतका लागि ४५ मत चाहिन्छ । विधानमा ५० प्रतिशत मत पाएपछि मात्रै दलको नेता चयन हुने व्यवस्था छ । अंकगणितअनुसार संस्थापन पक्षसँग सुविधाजनक बहुमत देखिन्छ । तर, दुवै पक्ष एक–अर्को समूहमा रहेका सांसदको समर्थन जुटाउने र मत बढाउने रणनीतिमा केन्द्रित छन् । ८९ मतदातामा संस्थापनमा ५४ र इतर समूहमा ३५ सांसद देखिन्छन्  ।   महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलसमेतको समर्थनमा थापा दलको नेताको उम्मेदवार बनेपछि सभापति देउवामाथि चुनौती थपिएको छ । देउवालाई रामचन्द्र पौडेल, प्रकाशमान सिंह र पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताको समर्थन छ । संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारीलाई राजनीतिमा रूपान्तरणको सन्देशका रुपमा पनि लिइएको छ ।

पोखराः   २२ औं आहा ! रारा पोखरा गोल्डकपमा १० टिमको टुंगो लागेको छ । यही पुस १४ देखि २३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि भएको छ । सहारा क्लब पोखराले यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त गरेकोमा १३ गतेको मैत्रीपूर्ण खेलका कारण २ दिन पछि सरेको हो । त्यसैले यसअघि १२ टिम भनिएकोमा १० टिमको छिनोफानो भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए । प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएसस्सी, मछिन्द्र, नेपाल प्रहरी फुटबल क्लब,  संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् । गत वर्षको विजेता एपिएफ र उपविजेता मनाङ मस्याङ््दी क्लब हुन् ।  प्रतियोगितामा विजेताले १२ र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख वृद्धि गरिएको हो । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो । बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेको सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । यस्तै, सहारा क्लब हङकङले ३ लाख सहयोग उपलब्ध गराउने छ । प्रतियोगिताबाट आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ उद्देश्यका मोफसलको चर्चित सहारा क्लब पोखराले संचालन गर्ने यो प्रतियोगितामा विगतमा झंै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ ।   

पोखरा:   एघारौं पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटोेग्राफी पार्टनरको रुपमा साथ दिने भएको छ । आगामी पुष २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रालिले आधिकारिक फोटोग्राफीको जिम्मा पाएको हो ।   मंगलबार एक कार्यक्रमकाबीच मयुरटाइम्स न्युजका संचालक प्रविन मगर र एघारौ पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।    सो अवसरमा वोल्दै मयुरटाइम्स न्युजका संचालक प्रविन मगरले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटोग्राफीमार्फत महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।   पोखरा महोत्सव आफैमा ब्राण्ड र यसले गर्ने सामाजिक काममार्फत सम्पूर्ण पोखरेलीको मन जित्न सफल भएकाले आफ्नो संस्थाले पोखरा महोत्सवको फोटोग्राफी पार्टनरको रुपमा काम गर्न पाउदा खुसी लागेको मगरको भनाइ रहेको थियो ।     त्यस्तै पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटोग्राफीको माध्मबाट संचित गर्न आफुहरु यसअघिको महोत्सवहरुमा सफल भएको बताउदै मयुरटाइम्सलेसमेत त्यसलाई निरन्तरता दिन आग्रह गरे ।    पोखरा महोत्सवको सम्पूर्ण गतिविधीहरुआयोजकको पेज तथा मयुरटाइम्स न्यूज र लोडिङ नेपालको पेजबाट हेर्न सकिने बताइएको  छ ।