बलेवा: पर्यटन प्रबद्र्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्यालीको आयोजना गरिएको हो । साइकल र्यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गरे । उनले पर्यावरणको रक्षा र पर्यटन प्रबद्र्धनका लागि र्यालीको महत्वपूर्ण सन्देश रहेको बताए । साइकल र्यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताए । पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अवसरमा पोखरा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन र्यालीका लागि अनुरोध गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । ‘साइकल र्यालीको बागलुङमा मिलेर व्यवस्थापन गरेका र्छौं’, बागलुङ नगरपालिकाका कार्यबाहक नगर प्रमुख कोपिलामणि शर्माले भने, ‘पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँछन् भन्ने सन्देश र्यालीले दिनेछ ।’ साइकल र्यालीमा काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँ लगायतका जिल्लाबाट २ सय यात्रीको सहभागिता छ । पोखरादेखि सिधैँ मुस्ताङ जाने पर्यटकले यसपछि बागलुङको बाटो रोज्न सक्ने विश्वास लिइएको छ । विदेशी साइकल पर्यटक तथा अन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट दिइएको हो । साइकल र्याली बागलुङ कालिकाबाट सुरु भइ पर्वतको कुश्मा बजार हुँदै पोखराको विन्धवासिनी मन्दिर पुगेर समापन हुनेछ ।
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भोलिदेखि सुरु हुने नेपाल टी २० लिगको विजेताले ५५ लाख रूपैयाँ प्राप्त गर्ने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी गराउन शुक्रबार आयोजित प्रत्रकारसम्मेलनमा पुरस्कार राशी सार्वजनिक भएको हो। यस्तै, उपविजेता, तेस्रो र चौथो हुने टिमले क्रमशः ३०, १० र पाँच लाख रूपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच लाख र इमर्जिङ प्लेयरले एक लाख ८० हजार रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै, प्लेयर अफ दी म्याचले ४० हजार प्राप्त गर्ने आयोजकले बताएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पछिल्ला केही दिनहरूमा धेरै अन्योलका बीच भोलिदेखि सुरु हुने बताएका छन्। ‘पछिल्ला समय धेरै अन्योल भए, नेपाल टी २० लिग स्थगित–रद्द, हुने–नहुने अन्योलका बीच पनि हामीले सुरु गनेर्छौं,’ उनले भने। ‘घोषणा गरेकै दिन सही नियतले खेलाडीलाई आत्म निर्भर बनाउनु पर्छ भनेर गरिएको निर्णय थियो। एसोसिएटले ठूलो चुनौती फेस गर्नुपर्ने रहेछ,’ उनले भने, ‘क्यानको साधारण सभाले आठ वर्षका लागि विदेशी कम्पनीसँग सम्झौता गर्ने भनेर सुरु गरेका छौं। कानुनी जटिलताले न काम न तयारी गर्न सकिएन। मुद्दा दायर छ, लिग हुनुहुँदैन भनेर।’ यद्यपि, विभिन्न बाधा व्यवधानका बाबजुद पनि प्रतियोगिता आयोजना हुने उनले बताए। ‘साथीहरूले यो प्रतियोगिता हुनु हुँदै भनेर मुद्दा हाल्न कसैले बाँकी राखेनन्। क्यानले अदालतमा छिटो टुङ्गो लगाइदिन गर्यौं,’ उनले भने, ‘पलिहो संस्करण हो, तयारी गर्न दिइएन्, अवरोहहरू आए, भने जस्तो तयारी भएन। तर, सबै विदेशी खेलाडी आइरहँदा, हामी तयार भइरहँदा लिग रोक्नु ठीक हो त ? होइन, यसले क्रिकेटलाई समाप्त पार्छ भनेर कानुन सम्मत् अगाडि बढ्ने प्रतिबद्धता गरेका छौं।’ सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन आलुवालियाले यहाँसम्म आइपुग्न निकै कठिन यात्रा गर्नुपरेको बताए। ‘हामीले विश्व स्तरीय क्रिकेट आयोजना गर्न, र सोही स्तरका खेलाडी, प्रशिक्षक र टेन्किल टि ल्याउन खोजेका हौं,’ आलुवालियाले भने, ‘नेपालमा सम्भावना छ, भारतीय टिम १९९३ मा जस्तै छ। नेपाल एकदिन विश्वकप जित्न सक्ने टिम छ। तर, त्यसका लागि लगानी र भौतिक संरचना र व्यावसायिकता चाहिन्छ। त्यसैले हामी यहाँ छौं।’ नेपाल टी २० बाट चार पक्ष लाभान्वित हुने आलुवालियाले बताएका थिए। खेलाडी, क्यान, अर्थतन्त्र र बोर्डलाई फाइदा हुने उनको भनाई थियो। प्रतियोगिताको युरो स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने पनि उनले जानकारी दिए। फ्यानकोडले भारतमा इन्टरनेट र मोबाइल एपमा प्रत्यक्ष प्रशारण गर्नेछ। प्रतियोगिताको टाइटल स्पोन्सर वान् एक्स ब्याट कम्पनी रहेको उनले बताए। यस्तै, स्पोर्ट्स इन्टिग्रिटी सम्बन्धी कम्पनी स्पोर्ट्स राडारले खेलमा हुन सक्ने मिलोमतो जस्ता कुरामा निगरानी राख्ने आलुवालियाले बताए। यसअघि आज (शुक्रबार)देखि हुने तय भए पनि प्राविधिक कारण देखाउँदै क्यानले एक दिन पछाडि सारेको थियो। बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता पछाडि सरेको र नयाँ निर्देशक चयन भएको बताएका थिए।
गुल्मी: गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ। जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो। सुन्तला खानेमा ६ सहभागी भएका थिए। यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल भएका छन्। उनले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम सुन्तला खाएका थिए। उनले एक हजार नगद पुरस्कार पाएका छन्। त्यस्तै प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो चार सय ६० ग्राम, प्रेम पन्थले एक किलोग्राम तीन सय ४० ग्राम, कुशल पन्थले एक किलो ९० ग्राम, हरिप्रसाद कँडेलले नौ सय ६० ग्राम र रिजन पन्थले चार सय ८५ ग्राम सुन्तला खाएक थिए। सुन्तला बोकेर दोड्ने प्रतियोगितामा नौ जना सहभागी थिए। डोकोमा २० किलो सुन्तला बोकेर एक किलोमिटर बाटोमा दौड्दा प्रथम भीमकला भुसाल र आशा अर्याल भएका छन्। दोस्रोमा राधा पन्त र वर्षा पन्त साथै तेस्रो लक्ष्मी अर्याल र सावित्रा पन्थ भएका छन्। सुन्तला किसानलाई खेतीमा प्रोत्साहित, बजारीकरणको ‘ग्यारेन्टी’, स्थान विशेष पहिचानको कायम र कृषि पर्यटनलाई प्रवद्र्धन गर्नको लागि महोत्सव गरिएको आयोजक अनमोल किसान समूहका अध्यक्ष विष्णुप्रसाद पन्थले जानकारी दिए। सुन्तला खेतीको भू–अनुकूल विस्तार र विकास, स्वरोजगार आयआर्जनबाट हुनेछ भरपर्दो निकास भन्ने नाराका साथ सुन्तलाको प्रदर्शन, सुन्तलाबाट बन्ने परिकारको प्रदर्शनी र विभिन्न प्रतियोगिताका साथ महोत्सव गरिएको हो। छत्रकोटमा ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए। उनले सुन्तला महोत्सवबाट स्थान विशेष पहिचानसहित बजारीकरणमा सहयोग पुग्ने पनि बताएक छन्। विसं २०६० देखि सुन्तला किसानलाई आबद्ध गराएर अनमोल कृषि समूहले काम गरिरहेको छ। सुन्तला महोत्सवमा स्थानीय लाखे नाँच र पञ्चेबाजा लगायतको प्रतियोगिता राखिएको थियो। गुल्मीमा सुन्तला जोनमा दुई सय ६ वटा समूह सहकारी आवद्ध भई काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई सुन्तला जोनका कार्यालय प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिए। सुन्तला जोनले जिल्लामा प्राविधिक सहयोग, साना सिँचाइ, बगैँचा व्यवस्थापन र तालिमसमेत सञ्चालन गर्दै आएको छ। जिल्लामा सुन्तला जोन अन्तर्गत एक हजार एक सय पाँच हेक्टरमा सुन्तला लगाइएको छ। सोमध्ये चार सय १७ हेक्टरमा उत्पादन भइरहेको छ। गुल्मीमा कूल नौ सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए। जिल्लामा यसवर्ष कूल ६ हजार आठ सय ३९ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको छ। यसबाट रु २९ करोड ३७ लाख रुपैयाँ आम्दानी हुनेछ।
पोखरा: कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ याम्दी पुलसम्म पुष्ष्लाल मध्यपहाडी राजमार्गको टेण्डर आह्वान भएपछि स्थानीय आन्दोलित भएका छन् । स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाइएकाले विरोध गर्दै पोखरा १६ का बासिन्दाले पोखरा महानगरमा धर्ना दिएका हुन् । याम्दी पुलसम्म राजमार्गको रेखांकन बारेमा सूचना नै नदिएर राष्ट्रिय गौरवको आयोजनाको ३५.५ किलोमिटर कामको वातावरणीय प्रभाव मूल्याङ्कन र ( इआईए) अध्ययन पुरा नै नगरी टेण्डर आह््वान भएपछि आन्दोलित भएको आयोजना पीडित संघर्ष समितिका सचिव सन्दीप थापाले बताए । उनले माग सुनावाई नभए आगामी १३ गतेसम्म पोखरा महानगरपालिकाको कार्यालय अगाडि दैनिक बिहान ९ः३० देखि ११ः३० सम्म धर्ना दिने बताए । ‘राष्ट्रिय गौरवको आयोजना भनि पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना मादी गाउँपालिकाको भैसदेखि पोखरा महानगर १६ सम्म बन्ने भने टेण्डरको सूचना आयो, थापाले भने, ‘पोखरा महानगर १५ र १६ का स्थानीयसँग कुनै समन्वय नगरेर आयोजना अगाडी बढ्दै गर्दा जग्गाधनी, पर्यटकीय स्थल, विद्यालयलाई बेवास्ता गरि योजना अगाडी बढेको छ । यसको विरुद्ध हामी आजदेखि विरोध गर्दै धर्ना दिएका हौं । हामी हरेक दिन २ घण्टा आगामी १३ गतेसम्मै दिनेछौ ।’ आन्दोलित राजमार्ग आयोजना पिडित संघर्ष समितिले पोखरा महानगर १६ कार्यालयबाट सम्बन्धित सरोकारवालाहरुको भेला नै नबोलाई तत्कालिन वडाध्यक्ष जीवन आचार्यले आफु अनुकुलका स्थानीयको हस्ताक्षर संकलन गरि सिफारिस गरेको आरोप छ । राजमार्गको योजना अगाडी बढ्दा स्थानीयसँग समन्वय नै नगरी बन्द कोठामा बसेर नक्साङ्कन गरिएको छ । मध्यपहाडी राजमार्ग घना बस्तीमा किन ? व्यक्तिको घर नै नरहने र सुकुम्बासी बनाउन महानगर भित्र–भित्र राजमार्ग घुमाइएको हो?’ थापाको प्रश्न छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना नामाकरण भई मादी गाउँपालिका भैंसे–ज्याम्दु–मेलबोट, पानीघाट, आटीघर, अर्मलाकोट, कार्लाखोलापुल, महेन्द्र गुफा –चमेरे गुफा, बिसौनी–लामाचौर, जौबारी–याम्दी पुल सम्म २०७९/०९/१४ गते आयोजनाको टेण्डर प्रकाशित भएको छ । भिडियो:- पोखरा १६ स्थित राजमार्गको सम्पूर्ण भागको लागि आवश्यक पर्ने जग्गामा विरोध नभएको, कुनै मुआब्जा दिन नपर्ने , क्षतिपूर्ति समेत न्यून हुने भन्दै वडा कार्यालयले पुष्पलाल मध्यपहाडी राजमार्ग सडक योजना कार्यालय पर्वतलाई झुटा एवं गैर कानुनी व्यहोरा सिफारिस गरेको सँघर्ष समितिको आरोप छ । पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसी, पोखरा १६का तत्कालीन वडाध्यक्ष जिवनप्रसाद आचार्य, पुष्पलाल मध्यपहाडी राजमार्ग सडक योजना कार्यालय, पर्वत शाखाका प्रमुख नारायण दत्त भण्डारी एवं आयोजना निर्देशनालय बुद्धनगर काठमाडौैका प्रमुख हरिकुमार पोखरेलबाछ गैर कानुनी र गैर जिम्मेवारी पूर्ण रुपमा नागरिकहरुले पाउनुपर्ने सूचनाको हकलाई कुण्ठित गरेको राजमार्ग पिडित संघर्ष समितिका अध्यक्ष गोविन्द बहादुर बस्नेतले बताए । उनका अनुसार सँघर्ष समितिले काठमाडौंबाट प्रकाशित मिति २०७९÷०९÷१४ गते आइबी, नम्बर ०१–०७९÷०८० को टेण्डर विषय र सार्वजनिक सुनुवाई सम्बन्धमा मिति ०७९/०५२७ गते प्रकाशित राजमार्गको टेण्डरलाई तत्काल रोकी सहरी क्षेत्रमा नभई मध्यपहाडी राजमार्गको मर्म अनसार पोखरा महानगरपालिकाको ग्रामीण क्षेत्रलाई नयाँ विकल्प खोज्न सम्बन्धित निकायलाई खबरदारी समेत गरेको छ । भिडियो तथा तस्बिरहरु: अर्जुन गाहा मगर (सुशान्त)
काठमाडौं: करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गर्नुपरेको सो उद्योगले जनाएको छ । विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद ल्याई जडान गरिएको र सो उद्योगमा रहेको केही उपकरणको पनि मर्मतसम्हार पूरा गरी सिमेन्ट उत्पादनलाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ मङ्सिरदेखि व्यावसायिक रुपमा उत्पादन सुरु गर्दै आएको थियो । सो उद्योगमा अहिले दैनिक १२ हजारदेखि १६ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्ने गरिएको छ । हेटौंडा सिमेन्ट उद्योगको परिसरभित्र सो उद्योगले केही वर्ष अगाडि स्थापना गरी सञ्चालनमा ल्याइएको सिमेन्टको धुलो नियन्त्रण गर्ने उपकरणबाट केही महिनाअघिदेखि हेटौंडा नगर क्षेत्रभित्र सिमेन्टको धुलो सर्वसाधारणको घर, गोठ र खेतबारीमा पस्ने गरेको गुनासो थियो । धुलो बाहिर निस्किने प्रक्रियालाई नियन्त्रण गरिएको हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए । सो उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्ट हेटौँडालगायत काठमाडौँ, पोखरा, भैरहवा, धनगढी, नेपालगञ्ज, विराटनगरलगायत शहरमा बिक्री वितरण भइरहेको उनले बताए ।
काठमाडौं: प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न देशका विभिन्न भागबाट गोकर्णेश्वर उत्तरगया धाम क्षेत्रमा भक्तजन आएका छन् । बिहान ६ बजेदेखि नै भक्तजन गोकर्णेश्वर क्षेत्रमा पितृका नाममा श्राद्ध गर्न आउन थालेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष एवं मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए । मन्दिर क्षेत्रमा पितृका नाममा श्राद्ध, तर्पण एवं सिदादान गर्न आउने भक्तजनका लागि समितिले विशेष व्यवस्था गरेको जनाइएको छ । भक्तजनको भीडका कारण अहिले जोरपाटीबाट माथि जाने सडक जाम भएको छ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने परम्परा छ । सौरमास अनुसार माघे संक्रान्तिदेखि र चान्द्रमास अनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ । यसै आधारमा आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावती लगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ । दक्षिणायनको अन्तिम बिदाइका रुपमा आजको श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघर तिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीय रुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो । तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीष्ठका पूर्व सहप्राध्यापक श्रीराम सापकोटा बताउँछन् । “महालय परपक्ष र पितृ पक्षसमेत भनिने सोह्र श्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघर तिरका तीन तीन पुस्तालाई गरी छ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ”उनले भने । श्राद्ध भनेको श्रद्धा हो । शास्त्र अनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिएपनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तोमात्र भई विधि नपुग्ने गरेको धर्मशास्त्रविद्को तर्क छ ।
पोखराः बुकवर्म फाउन्डेसनले आयोजना गरेको नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण फेवातालको किनारमा जारी छ । नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण फेवातालको किनारमा आज (शुक्रबार) नेकपा एमालेका अध्यक्ष केपी ओली पत्रकार अखण्ड भण्डारीसँग गैरराजनीतिक( राजनीतिक बाहिरको जीवन) विषयमा १२ः१५ देखि १ः३० सम्म गफिने छन् । सन् २०११ मा काठमाडौंबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुन थालेको हो ।
पोखराः पोखरा महानगरपालिका ६ गौरीघाटस्थित सञ्चालमा रहेको होटल रानीवन आर्केडले अङ्ग्रेजी नयाँ वर्षमा नयाँ परिकार पस्कने तयारी थालेको छ । आर्केडले ‘नेपाली खाना, जिवन शैली र संस्कृतिको विश्वव्यापीकरण तथा आलिदेखि थालीसम्म’ नारासहित रैथाने खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ परिकारहरु ल्याउने भएको हो । रेवान पोखराद्धारा आयोजित २४ औं सडक महोत्सवको स्वागत गर्दै होटलको ४५ औं वार्षिकोत्सवको अवसरमा ७ प्रदेशको खाना एकै थलो चखाउने उदेश्यसहित नयाँ परिकार पस्कन लागेको आर्केडका सञ्चालक हरि बहादुर भुजेलले जानकारी दिए । उनले सडक महोत्सवलाई लक्षित गरेपनि परिकारको स्वाद भने भोलि (शुक्रबार) देखिनै पाहुनाहरुले चाख्न पाउँने बताए । उनका अनुसार गण्डकी प्रदेशको च्याङ्ग्राको मासु, च्याङ्ग्राको रगतको पकौडा, सुकुटी, लुम्बिनी प्रदेशको साँधेको सुन्तला, गुल्मीको चाकु, कर्णाली प्रदेशको खसीको कवाफ, सुदूरपश्चिम प्रदेशको हाँसको परिकारहरुको स्वाद लिन पाइनेछ । यस्तै प्रदेश नम्बर १ को कालो सुंगुरका विभिन्न परिकारहरु, साफ्टा, भक्का, मधेश प्रदेशको घोँघी, जलकपुरलगायतका माछाका विभिन्न परिकारहरु र बागमती प्रदेशको राँगाको सुकुटीलगायतका परिकारहरु र खल्पीको अचारहरुको स्वाद लिन पाइनेछ । सो परिकारहरुको पाकशास्त्री (सेफ) सन्दीप खत्री र तिल बहादुर गुरुङले तयार गर्ने सञ्चालक भुजेलले बताए । मेला अवधिमा स्पेशल अफर सडक महोत्सवको अवसरमा हरेक दिन स्पेशल अफर राखिएको आर्केडका प्रवन्धक निर्देशक भिमसेन भुजेलले जानकारी दिए । भुजेलका अनुसार पुष ८ गते एनिभर्सरी विशेष अफर, ९ गते क्रिसमस इभ अफर, १० र ११ गते स्ट्रिट फुडको स्वादसहित लाईभ बिबिक्यू अफर रहेको छ ।
पोखराः पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिनहरुलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग गरेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाई तथा लोकदोहोरी गायीका तथा डान्सर प्रीति आलेमगरको संयोजनमा संकलित रकम आज (बिहिबार) प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको सहयोगीदाता तेज बहादुर गुरुङ, अभियन्ता तथा गायीका प्रीति आले र फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले २२ जना दृष्टिविहिन नागरिकलाई प्रतिव्यक्ति ६ हजार ५ सयका दरले (१ लाख ४३ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका तेज बहादुर गुरुङले फाउण्डेशनको सामाजिक काममा आफुपनि सहभागी हुन पाएको बताउदै सहयोगीहरुलाई आभार प्रकट गरे । उनले फाउण्डेशनको कार्यको प्रशंसा गर्दै अन्य संस्थाहरुले पनि सकरात्मक कामको अनुशरण गुर्नपर्ने धारणा राखे । त्यस्तै देश तथा विदेशमा रहेका नेपालीको सहयोगमा रकम संकलन गरेर पहिलो पटक दृष्टिविहिन नागरिकहरुलाई आर्थिक सहयोग गरेको बताए । ‘फाउण्डेशनले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ, गुरुङले भने, पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिक गुजारा गर्ने दृष्टिविहिन नागरिकहरुलाई विभिन्न व्यक्तित्वको आर्थिक सहयोगमा उहाँहरुलाई सहयोग गर्न पाउँदा खुशी छौं । र सम्पूर्ण सहयोगीदाताहरुप्रति आभारी छु ।’ उनले फाउण्डेशनको सहयोग यथेष्ट नहुने तर्क राखे । ‘हाम्रो यो सहयोग तपाइहरुलाई यथेष्ट हुदैन तरपनि घाउमा सानो मलम लगाउ भन्ने हेतुले सहयोग गरेका हौं, उनले भने, ‘सडकमा तपाइहरुले गीत गाउनु कुनै भिक माग्नु होइन । आफ्नो प्रतिभा देखाउनु हो । त्यसैले प्रतिभाको कदर गर्दै सक्दो सहयोग गर्नु हरेक नागरिकको दायित्व हो ।’ उनले आगामी दिनमा दृष्टिविहिनहरुकै लागि वृहत कार्यक्रम नै आयोजना गर्ने प्रतिवद्धता जनाएका थिए । यस्तै अर्का अभियन्ता तथा लोकदोहोरी गायिका प्रीति आले मगरले सडकमा कला प्रदर्शन गरेर दैनिकी गुजारा गर्नु आफैमा उदाहरणीय कार्य भएको बताइन् । ‘तपाईहरुले सडकमा माग्न बसेको होइन, उनले भनिन्, तपाइहरुले कला प्रदर्शन गर्नुभएको हो । यस्तो अवस्थामा हामी तपाइहरुलाई केही सहयोग गरेर साथ दिन पाउँदा हामी एकदमै खुशी छौं ।’ उनले आगामी दिनमासमेत दृष्टिविहिनहरुको साथमै रहने प्रतिबद्धता जनाइन् । ‘यो कार्यक्रम एउटा उदाहरण मात्र हो । आगामी दिनमापनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं । फरक क्षमता भएका तपाइहरुलाई रहर हैन कहर हो त्यसैले तपाइहरुलाई सधै सम्मान गरिनुपर्छ ।’ उनले भनिन् । गीत गाएर गुजारा चलाउदै आएका दृष्टिविहिनसँगै आफुले गाएको एउटा भिडियो टिकटकमा भाइरल भएको स्मरण गर्दै भनिन्, ‘एउटा दृष्टिविहिन दाईसँग गाएको गीत टिकटमा धेरैले माया गर्नुभएको थियो । त्यहाँ आएको कमेन्टमा धेरै आर्शिवाद थिए । त्यसैले आर्शिवार्द उधारो राख्न हुदैन भन्ने सोचेर सहयोग अभियानमा जुटेकी हुँ ।’ उनले आगामी दिनमा दृष्टिविहिन नागरिकहरुलाई गीत रेकर्डिङ गर्न इच्छा लागेको खण्डमा आफुले सहयोग गर्ने बताउदै दृष्टिविहिनलाई सबैले सम्मानपूर्वक व्यवहार गर्न समेत आग्रह गरेकी थिइन् । यस्तै दृष्टिविहिन नागरिकको तर्फबाट बोल्दै हेमबहादुर परियारले राज्य र संघसंस्थाबाट उचित सहयोग नपाएको गुनासो गरे । ‘विभिन्न संघ संस्था तथा राज्यबाट विभिन्न क्षेत्रका नागरिकलाई सहयोग गरेको सुन्न सक्छौं तर हामी दृष्टिविहिन नागरिकलाई कसैले पनि वास्ता गर्दैनन्, परियारले भने, ‘आज हामीलाई प्रीति बहिनी र अमृत भाइले सहयोग गर्नुभएको छ । उहाँहरुप्रति हामी अत्यन्तै आभारी छौं ।’ आफुहरुको सडकमा गीत गाउनु रहर नभई बाध्यता रहेको उनले सुनाए । ‘सडकमा गाउनु हाम्रो रहर होइन, यो हाम्रो बाध्यता हो । त्यसैले कृपया हामीलाई अपहेलना नगर्नुहोला ।’ उनले भने । आर्थिक सहयोग कार्यक्रममा गायक मिलन लामा, सन्तोष बस्याल, लोक तथा दोहोरी गायक नेत्र गुरुङ, अमर धिताल लगायतको उपस्थिती रहेको थियो ।

