पाेखरा: नेकपा एमालेबाट गण्डकी प्रदेशसभामा खगराज अधिकारी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । आज बसेको बैठकले अधिकारीलाई सर्वसम्मत चयन गरेको एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्रीले जानकारी दिए । ससदीय दलको नेता भएसँगै अधिकारी मुख्यमन्त्री हुने निश्चित भएको एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्रीले बताए । ‘सिनारियो क्लियर छ, उनले भने, ‘बालकोटमा आज भएको सहमति अनुसार गण्डकीमा हाम्रो सिट पुग्छ । कमरेड अधिकारी मुख्यमन्त्री बन्नुहुन्छ ।’ संसदीय दलको नेताले मुख्यमन्त्रीमा दाबी गर्ने प्रावधान रहन्छ । केही क्षण अघिसम्म शक्तिशाली देखिएको सत्ता गठबन्धन एकाएक टुटेपछि नेपाली कांग्रेस कमजोर हुँदा अब अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । गण्डकीमा सरकार गठन गर्न आवश्यक ३१ मध्ये एमाले र नेकपा माओवादी केन्द्रसँग ३० सदस्य छन् भने बालकोट सहमतिअनुसार राप्रपाकाे मत पनि जाेडिनेछ । राप्रपाको गण्डकी प्रदेशमा २ सिट रहेको छ ।
पोखरा: पृथ्वीनारायण क्याम्पसमा आजदेखि अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । खेलकुदमा करिब १ हजार विद्यार्थीको सहभागिता हुने भएकाले क्याम्पस परिसरमा छुट्टै रौनक देखिएको छ । नेपालकै दोस्रो ठुलो आंगिक कलेजको रुपमा परिचित पोखरा महानगर १ स्थित पृथ्वीनाराण क्याम्पसले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई निरन्तरता दिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एउटा कलेजले यति ठुलो प्रतियागिताको आयोजना गर्नु प्रशंसनीय कार्य भएको जनाए । ‘मानव जीवनमा खेलकुदको महत्व अपरिहार्य छ’ मेयर आचार्यले भने ‘खेलकुदले शारीरिक, मानसिक र मनोविज्ञानमा समेत प्रत्यक्ष प्रभाव पार्दछ, तपाईहरु पनि खेलकुदमा सहभागिता जनाउनुहोला ।’ यस्तै, क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले कोरोना महामारीले २ वर्ष खेलकुद बिथोलेपछि पुनः सुरु गरेको जानकारी दिए । विद्यार्थीहरु भोलीको दिनमा विभिन्न क्षेत्र पुग्नेछन् भन्दै कोइरालाले खेलकुदबाट पनि देशको शिर उँच्चो राख्न सकिने बताए । ‘अध्ययनले मानसिक चेतको विकास गर्छ भने खेलकुदले शारीरिक विकास र अनुशासनमा सघाउ पुग्छ’ उनले भने ‘भोलीका दिनमा खेलकुदलाई पनि करिअर बनाउन सकिन्छ ।’ प्रतियोगिताको एथ्लेटिक्सतर्फको ५ किमी सडक दौड भने सम्पन्न भएको छ । दौडमा छात्र छात्रा गरी जम्मा ५३ जनाले सहभागिता जनाएका थिए । छात्रतर्फ व्यवस्थापन संकाएका सञ्जोक घर्ति मगरले १७ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान, व्यवस्थापन संकायकै विवेक तिलिजाले १८ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै दोस्रोे र व्यवस्थापन संकायकै आकाश थापाले १८ मिनेट ५३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भए । त्यस्तै छात्रातर्फ व्यवस्थापन संकायका अनिशा भणडारीले २५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरे, व्यवस्थापनकै अञ्जु गिरीले २५ मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र मानविकी संकायका सुशिला शाहीले २६ मिनट २४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल रहे । विजेतालाई त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका प्रमुख प्रा.डा. विनिल आचार्यले मेडल प्रदान गरेका छन् । प्रमाणपत्र र नगद राशी भने समापन कार्यक्रममा दिइने क्याम्पस प्रशासनले बताएको छ । प्रतियोगिता १४ गतेसम्म चल्नेछ ।
पोखराः नेपाल डेरी एसोसिएशनले देशभर दैनिक दूध बिक्रीबाट ६ करोड रुपैयाँ सहरबाट गाउँ प्रवाह गरेको बताएको छ । पोखरामा बसेको नेपाल डेरी एसोसिएनशनको दोश्रो केन्द्रीय समितिका बैठकले सहरबाट गाउँमा दैनिक दुध बिक्रीबाट ६ करोड रुपैयाँ प्रवाह गरेको अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् । अध्यक्ष दाहालका अनुसार बजारमा आउने दूध फर्मल सेक्टरमा लेभलिङ भएर १७ प्रतिशत र खुल्ला ३३ प्रतिशत दूध बजार आउने जानकारी दिए । ‘नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ, ३१ लाख लिटर बजारमा आउँछ बाँकी ३१ लाख दुध उत्पादनकर्ताले प्रयोग गर्छन्, अध्यक्ष दाहालले भने, ‘डेरी सेक्टरबाट वार्षिक १ अर्ब रुपैयाँ बढी राजस्व संकलन हुन्छ भने दैनिक ६ करोड बढी रकम सहरबाट गाउँ प्रवाह हुन्छ ।’ कुल गाहस्र्थ उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको अध्यक्ष दाहालको भनाई छ । ‘रोजगारीको हकमा किसान तहमा ६ लाख कृषक परिवार आवद्ध छन्, उनले भने, ‘उद्योगस्तरमा करिब ४० हजार बढीले रोजगारी पाएका छन् । कुल उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान छ ।’ नेपाल डेरी एसोसिएनशनका अनुसार २०५५ सालमा स्थापना भएको संस्थामा देशभरका ३ सय बढी उद्योग आबद्ध रहेका छन् । गण्डकीमा भित्रन्छ दैनिक ४० हजार लिटर नेपाल डेरी एसोसिएशनले गण्डकी प्रदेशमा दैनिक ४० हजार लिटर दूध आयात भएको बताएको छ । नेपाल डेरी एसोसिएशनको दोश्रो बैठकले गण्डकी प्रदेशमा दैनिक ४ लाख लिटर दूध उत्पादन भएपनि अन्य प्रदेशबाट देनिक ४० हजार दूध आयात हुने डेरी एसोसिएशनका महासचिव हेमचन्द्र खनालले बताए । ‘गण्डकी प्रदेशमा कच्चा दूध उत्पादन दैनिक ४ लाख उत्पादन हुुन्छ, गण्डकीमा दैनिक ४० हजार आयात हुँदा २० हजार निर्यात हुन्छ, महासचिव खनालले भने, ‘गण्डकीमा उत्पादनमा हुने दूध औपचारिक रुपमा डेरीमा ६५ हजार र अनौपचारिक रुपमा खुल्ला रुपमा ७० हजार दूध खपत हुदैं आएको छ ।’ गण्डकी प्रदेशमा डेरी एसोसिएशनमा ( अनुज्ञा पत्र प्राप्त ) गरेका १९ वटा, घरेलु डेरी उद्योग (अनुज्ञा पत्र प्राप्त नभएका ) ६५ वटा, साना डेरी उद्योग (अनुज्ञा पत्र प्राप्त) १२ वटा, मझौला डेरी उद्योगहरु ( अनुज्ञा प्राप्त) ५ वटा र ठुला डेरी उद्योगहरु ( अनुज्ञा पत्र प्राप्त ) ४ वटा र ५ सय वटा डेरी पसल रहेको नेपाल डेरी एसोसिएशनले जनाएको छ । नेपाल डेरी एसोसिएशनले उद्योग तह तर्फ १ हजार जना, डेरी पसल,फर्म, सहकारीमा १ हजार ५ सय, उत्पादन क्षेत्रमा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको दाबी गरेको छ । किसानको घरसँगै सम्पूर्ण दूग्ध क्षेत्रमा ५० हजारलाई अप्रत्यक्षरुपमा जागिर दिएको र सहरबाट करिव २ करोड रुपैयाँ प्रवाह भइरहेको एसोसिएशनले जनाएको छ । गण्डकी प्रदेशमा दूध उत्पादन निर्भरको अवस्थामा करिव ३० प्रतिशत दूध अपुग भइरहेको नेपाल डेरी एसोसिएशनका महासचिव खनाले बताए । नेपाल डेरी एसोसिएशनले पोखरामा दोश्रो बैठक बस्दै दूधको मूल्य बढाउनुपर्ने, धुलो दूधको मूल्य निर्धारण गर्नुपर्ने र बैंकको ब्याज कम गर्न माग गरेको छ ।
काठमाडौंः विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको उनले बताए । सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौँबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ । झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरुपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको कोइरालाले बताए ।
काठमाडौंः नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै मौलिक जातीय पहिरनमा सजिएर आएका २६ जनाले १४ मातृभाषामा शपथ लिइरहँदा चार जात छत्तीस वर्णको फूलबारीकै भान भएको थियो । त्यसो त अघिल्लो प्रतिनिधिसभाका ४६ सदस्यले पनि ११ मातृभाषामा शपथ लिनुभएको थियो । विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावाई संरक्षण एवं प्रवद्र्धनका साथ वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद अन्त्य गर्दै समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गर्ने प्रतिबद्धताका साथ जारी भएको संविधानले उक्त अवसर जुटाइदिएको हो । जुम्लाकी विनिता कठायत, भोजपुरकी दुर्गा राई, पर्साका प्रदीपकुमार यादव, मोरङकी सोनु मूर्मू, सुनसरीका अशोककुमार चौधरी, धादिङका बिना लामा, चितवनका कल्पना मियाँलगायत नवनिर्वाचित सदस्य आ–आफ्नो जातीय वेशभूषासहित सदनमा आएर मातृभाषामा शपथ लिनुभएको हो । उहाँहरुले आ–आफ्नो क्षेत्र र समुदायबीचमा सीमित वेशभूषा र भाषा नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न सर्वोच्च निकाय संसद्मा आएर देखाउन र सुनाउन पाएकामा गौरवको अनुभव भएको भनी खुसी व्यक्त गर्नुभयो । धनुषाबाट प्रतिनिधित्व गर्ने जनमत पार्टीका सांसद अनिता साह भन्नुहुन्छ, “हाम्रो क्षेत्रको पहिरन, बोलीचाली, भाषा बेग्लै छ, त्यस्तालाई राष्ट्रियस्तरमा ल्याएर सबैले हेर्न, सुन्न र देख्न पाउने अवसर मिल्यो, राष्ट्रिय सञ्चारमाध्यमले सबैलाई यो दृश्य देखाइदियो ।” उहाँले अरुका पहिरन र भाषा हामीले देख्यौँ, हाम्रो अरुले देख्न र सुन्न पाउनुभयो यो निकै खुसीको कुरा हो भन्नुभयो । निर्वाचनबाट गठन हुने राज्यका सबै तहमा नेपालको संविधानले आत्मसात गरेको समानुपातिक समावेशी सिद्धान्तले विविधतायुक्त प्रतिनिधित्वको सुनिश्चिता प्रदान गरेको छ । यसबाट हाम्रा राष्ट्रिय गानका श्रष्टा व्याकुल माइलाको परिकल्पना ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली, सर्वभौम भई फैलिएका मेची–महाकाली’ भनेझैँ हाम्रो प्रतिनिधिसभा सप्तरङ्गी बन्न पुगेको छ । यसैबीच सदनमा ३३ प्रतिशत महिला प्रतिनिधिसहित समाजका विभिन्न क्षेत्र तथा तह र तप्कालाई समेट्ने उद्देश्यले आत्मसात गरिएको समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा भने प्रारम्भदेखि नै प्रश्न उठ्दै आएको छ । संविधान निर्माणका बेला समानुपातिकमात्र लेखेर हुन्न पूर्ण समानुपातिक चाहिन्छ भन्ने दल र व्यक्तिबाटै पनि अहिले यो प्रणालीको दुरुपयोग भएको भनी आलोचनात्मक प्रतिक्रिया आएको पाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० र समानुपातिक निर्वाचन दुवै प्रणाली अवलम्बन गरिएको छ । मुलुकमा भएका पछिल्ला निर्वाचन अभ्यासमा प्रत्यक्षतर्फ पुरुष र समानुपातिकतर्फ महिला भन्ने देखाएको छ । यसो हुनुमा निर्वाचन प्रणालीको दोष नभई राजनीतिक दलबाट उम्मेदवार छनोटप्रतिको बुझाइमा त्रुटि रहेको राजनीतिक दलका नेताहरू नै बताउनुहुन्छ । प्रतिनिधिसभा सदस्यको मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा यसपटक प्रत्यक्षतर्फ नौ महिला सदस्यले आफ्ना बलिया प्रतिस्पर्धीलाई पराजित गरी विजयी हुनुभएको छ । प्रत्यक्षतर्फ महिला उम्मेदवार छनोटलाई ठूला दल भनिएकैबाट पनि कन्जुस्याइँ गर्ने प्रवृत्तिले प्रत्यक्ष पुरुष तथा समानुपातिक निर्वाचन प्रणाली महिलाको भन्ने भान हुन पुगेको छ । जनआन्दोलन २०६२÷६३ को उपलब्धिका रूपमा दलहरूबीच सहमति भई यो निर्वाचन प्रणाली अपनाउने सुनिश्चिता गरिएको थियो । समानुपातिक निर्वाचन रुपान्तरणकारी र अग्रगामी भएको जनाउँदै दलहरूले यस प्रणाली अपनाउँदा निर्वाचनलाई खर्चिलो र भड्किलो हुनबाट रोक्ने विश्वास गरिएकामा पछिल्ला समयमा उम्मेदवार छनोटमै आफन्त र पैसाको मोलतोलमा परेको भनी गुनासो गरिएको छ । समानुपातिक निर्वाचन प्रणाली अपनाउँदा राजनीतिक दल विशेषले भोट प्राप्त गर्ने भएकाले व्यक्ति विशेषको खर्च नहुने मात्र नभई कसैको प्रभाव र दबाब नपर्ने धारणा राखिएको थियो । त्यसो त प्रत्यक्ष निर्वाचनबाट चुनिएर आएका तुलनामा समानुपातिकबाट चुनिएर आएका सांसदले आफूलाई दुई नम्बरको व्यवहार भएको भनी गुनासो गर्दैै आएको पनि सुनिएकोे छ । पछिल्ला निर्वाचनको नतिजाले एकाधबाहेक प्रत्यक्षतर्फ पुरुष र त्यस्तै समानुपातिकतर्फ महिला बन्न पुगेको छ । जनताले नपत्याएका तथा कहिलै चुनाव नजित्ने नेतृत्वको प्रभावमा मात्र त्यो प्रणालीमा अटाउन थालेको गुनासो यत्रतत्र सुनिएको छ । समानुपातिक प्रणालीबाटै भए पनि सोनु मूर्मू ९सन्थाल० विनिताकुमारी सिंह, छिरिङ लामा, बिना लामा, प्रदीपकुमार यादव, विनिता कठायत, कल्पना मियाँ, अशोककुमार चौधरी, दुर्गा राईलगायतको उपस्थितिले प्रतिनिधिसभालाई रङ्गीचङ्गी तुल्याएको छ । उहाँहरुमध्ये कतिपय लामो राजनीतिक जीवनयात्रा पार गरेर यहाँ आइपुग्नुभएको छ भने केही व्यक्तित्वको प्रभावले सदनमा प्रवेश पाउनुभएको हो । नवप्रवेशी सांसदले कानुन निर्माणका अतिरिक्त स्वास्थ्य, शिक्षा, रोजगारी, सुशासन र जनजीविकाका प्रश्नलाई प्रभावकारीरूपमा उठाएर इतिहास रच्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । संविधानमा लेखिएका मौलिक हक अधिकारका विषय कानुन बनाएर कार्यान्वयन गर्नेमा आफूहरूको जोडबल रहने उहाँहरूले प्रतिक्रिया दिनुभएको छ ।
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गर्नुभएको थियो । पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन् । त्यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत दलका शीर्षनेताहरूले द्विपक्षीय, बहुपक्षीयरूपमा छलफल जारी राखेका छन् । गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको गठबन्धनका शीर्षनेताको बैठकमा आगामी सरकार गठन सम्बन्धमा सकारात्मक छलफल भएको र आज बिहान पुनः बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । हालै सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा ९एमाले० ७८, नेकपा ९माओवादी केन्द्र० ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा ९एकीकृत समाजवादी० १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ ।
काठमाडौंः पूर्व मन्त्री एवम् बुद्ध एअरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बुद्ध एअरले आज विज्ञप्ति निकालेर बस्नेतको निधन भएको जनाएको हो । भोजपुरको दिङ्गला साल्मामा १९८४ साल साउन २७ गते जन्मिएका बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएलबी अध्ययन गरी सरकारको विभिन्न उच्च पदमा रहेर काम गर्नुभएको थियो । उहाँ सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत हुनुभएको थियो । उहाँले ७० वर्षको उमेरमा बुद्ध एअर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत् जोड्ने कार्यको सुरूवात गर्नुभएको थियो ।
काठमाडौैः क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले राससलाई जानकारी दिनुभयो । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उहाँले सुनाउनुभयो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०७९ आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साज सज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।
पोखराः नेपाल लिट्रेचर फस्टिभलको तेस्रो दिन एउटा सेसन थियो-‘महाभारादेखि कञ्चनजङ्घासम्म ।’ सेसनमा थिए लेखक तथा पत्रकारद्वय मोहन मैनाली र वसन्त बस्नेत । कार्यक्रमको सहजकर्ता थिए पत्रकार विराट अनुपम । अघिल्लो वर्ष पत्रकार बस्नेतले उपन्यास ‘महाभारा’ बजारमा ल्याए । ‘तपाईंले पुस्तकमा ३८ पटकसम्म महाभारा शब्द ल्याउनुभएको छ। यसप्रतिको प्रेम के हो?’ विराटको प्रश्न थियो । वसन्त भन्छन्, ‘महाभारा औपचारिक रुपमा धेरै प्रयोग गरिन्न। यो मान्छेको जीवनशैलीमा भिजेको छ । यो लोकल प्रचलितबाट ल्याएको शब्द हो ।’ पहाडमा बस्ने मान्छेलाई संस्कृतिबाट बढी राम्रो सुनिन्छ । लोकल प्रचलितबाट ल्याउने हो भने । मोहन मैनालीलाई ‘महाभारा’बाट देखिने दृश्यबारे सोध्छन्। मोहन आकाशबाट हेर्दा महाभारा फरक देखिने बताउँछन् । ‘महाभाराबाट सिधा अगाडि देखिने जुन हिमाल छन्, कन्चनजंगादेखि कुम्भकर्णसम्म । त्यो जोडिएजस्तो लाग्थ्यो। तर माथिबाट चाहिँ हेर्दा धेरै ठाउँ खाली देखिँदो रहेछ। तलबाट जस्तो राम्रो दखिने रैनछ ।’ आफूले प्लेनबाट शरत ऋतुको बेलामा महाभारा हेर्दा सुन्दर देखिएको पनि उनी स्मरण गर्छन् । विराट वसन्तलाई प्रश्न गर्छन्, ‘बाँचेको महाभारा र लेखेको महाभारामा के फरक छ ? इलाममा बसेको महाभारा र काठमाडौंबाट हेरेको महाभारमा के फरक?’ वसन्त आफूले किताबमा लेखेको ‘महाभारा’ हिजोआज नपाउने बताउँछन्। ‘म महाभारा क्षेत्रमा पुग्दा कतिपय चिज यस्तो छ, जसलाई महत्व नदिई त्यसको महत्व स्थापित भएको थियो। पात्रबाट हेर्दा डुक्पा कोही थिएन, सुक्मती कोही पनि थिएन । विशुद्ध कल्पना थियो पात्र। कति कुरा देखेको भोगेको, कति कुरा निर्मित यथार्थ हो,’ उनी भन्छन् । मोहन धेरै स्थान पुगिसक्दा पनि कन्चजंगा पुगेका छैनन्। विराट सोध्छन्, ‘तपाईं कन्चनजंगा पुग्न किन भ्याउनुभएन?’ मोहन आफ्ना पुराना यात्राताकाका समयमा पर्कन्छन्। उनलाई करिअरका सुरुवाती दिनमा मनास्लु जाने अवसर आयो। ‘एकजना भरिया टेप बोकाएर लानुपर्यो । मेरा सिनियरहरू १ सय १ तयार थिए। भोज भएको ठाउँमा खान नपाएका मान्छे मुख मिठ्याएर बसेगरी म बसेको थिएँ। धन्न सिनियरले राम्रो काम पाउनुभयो र जान्न भन्नुभयो। त्यसपछि मैले पाएँ । पहिलो पटक त्यहाँ गएर फर्केपछि म नियरहरूभन्दा अगाडि भएँ । मैले छाडेपछि मात्र अरु सिनियर जान पाउनुभयो,’ मोहनले सम्झिए । विस्तारी थुप्रै ठाउँमा आफूले घुम्न पाएको मोहनले बताए। कतिपयले मोहनलाई सोध्छन्, ‘यसरी धेरै घुमेर पैसा कसरी ल्याउँछौं? विदा कसरी लिन्छौ?’ मोहन आफू जहाँ घुमे पनि कामैको शिलशीलामा घुम्ने बताउँछन्। बरु जहाँबाट घुमेको छु त्यहाँबाट पारिश्रमिक पनि लिने उनी सुनाउँछन् ।

