कैलाली: कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका २ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको हो । बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा का दौल्याललाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकास जोशीले जानकारी दिनुभयो ।
पोखराः पोखराका राजनीतिक एवम् सामाजिक व्यक्तित्व बिष्णु प्रसाद बास्तोलाको निधन भएको छ । नेपाली कांग्रेस कास्कीका पूर्व सभापती ,पोखरा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस सञ्चालक समिति अध्यक्ष,पोखरा उपत्यका नगरबिकाश समितीका पूर्व अध्यक्ष एवं पोखरा महानगर वडानं ९ का पूर्व अध्यक्ष बिष्णु प्रसाद बांस्तोलाको आज बिहान करिव ४ बजे दुखद निधन भएको छ । बास्तोलाको आजै रामघाटमा अत्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको पोखरा महानगरपालिका ९ नयाँबजारमा आफ्नै निवासमा बिहान ४ बजे निधन भएको हो ।
पोखराः नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ। उहाँलाई सङ्घीय संसद् सचिवालयले मङ्गलबार सूचना जारी गर्दै निलम्बन गरेको हो। सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गर्नुभएको सूचनामा सो कुरा उल्लेख छ। गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर छ । उहाँविरुद्ध २०७५ माघ माघ २१ गते विशेष अदालतमा दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दा किनारा लागेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) ले राष्ट्रसेवकविरुद्ध दायर भएको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार गुरुङको प्रतिनिधि सभा सदस्य पद निलम्बन भएको सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।
पोखराः गण्डकी प्रदेशसभाको अधिवेशन १८ पुसका लागि बोलाइएको छ । मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १८ पुस दिउँसो ३ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सदस्यको शपथ आगामी बिहीबार हुँदैछ । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट शपथ लिँदैछन् । त्यसपछि उनले अन्य ५९ सांसदलाई शपथ ग्रहण गराउने तयारी छ ।
पोखराः सहारा क्लब पोखराले आयोजना गर्ने २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । क्लबले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशवराज बरालले बताए । ‘२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुष १४ देखि २३ सम्म सञ्चालन हुदैं छ, बरालले भने, प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी १० टिमको सहभागिता रहनेछ । यस पटक पुरस्कार राशीमा बृद्धि गरी १२ र ६लाख पु¥याएका छौं ।’ उनका अनुसार प्रतियोगिताको पुरस्कारमा २ लाख थप गरी प्रथम पुरस्कार १२ लाख र द्धितिय पुरस्कारमा १ लाख थप गरी ६लाख कायम गरिएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले २५ हजार, म्यान अफ दि म्याच प्रत्येक खेलमा ८ हजार र फाइनल खेलमा १० हजार, निष्पक्ष खेलाडी टिमलाई १० हजार पुरस्कार कायम गरेको छ । प्रतियोगितामा पहिलो संस्करण देखि नै मुख्य प्रायोजकमा रहँदै आएको हिमश्री फुड्स प्रा.लिले थप दश वर्ष सम्झौता गरिसकेको छ । प्रतियोगितामा कुल आम्दानी १ करोड ५९ लाख ५० हजार र खर्च १ करोड १३ लाख ५६हजार खर्च हुने अनुमान गरेको छ, भने करिव ४५ लाख ९४ हजार बचत हुन अनुमान गरेको छ । बचत भएको रकमले संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । एकेडेमीमा तेस्रो व्याचका १० जिल्लाका १३ जना प्रशिक्षार्थी रहेका छन् । प्रतियोगिता अवलोकन गर्न आयोजकले प्रि र क्वाटरफाइनलमा १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय कायम गरेको छ । भने भिआईपी तर्फको प्याराफिटमा प्रि र क्वाटरफाइनलमा २ सय, सेमिफाइनलमा ४ सय फाइनलमा ५ सय टिकटको दर कायम गरेको छ । प्रतियोगिता अवधिभर सिजनल टिकट रु २ हजार राखेको छ । पुष १४ देखि २३ गतेसम्म सञ्चालन हुने २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल, संकटा क्लब, चर्च ब्बाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, आयोजक सहारा क्लब र विदेशी क्लबमा भुटानी युवा खेलकुद क्लब मिनेसोटा संयुक्त राज्य अमेरिका रहेको छ । २१ औं संस्करणको प्रतियोगितामा नेपाल एपिएफ क्लब विजेता र मनाङ मस्याङ्दी क्लब उपविजेता भएका थिए । सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई सहारा क्लबले प्रदान गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलिका टिम सदस्य अनन्त तामाङलाई प्रदान गर्ने भएको छ । २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा खेलाडी तामाङलाई सम्मान गर्ने क्लबका महासचिव अधिकारीले बताए । यसअगाडी क्लबले भरत खवास, किरणकुमार चेम्चोंग, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्टलाई पुुरस्कृत गरी सकेको छ । पुरस्कार राशीमा रु १५ हजार ५ रुपैयाँ थप गरी ५० हजार ५ रुपैयाँ पु¥याएको छ ।
कास्की: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आज तेस्रो पटक कास्की कारागार पुगेका छन् । यसअघि दुइपटक राजनीतिक बन्दी भएर सजाय भोग्न पुगेका पोखरेल यसपटक बन्दीको अवस्था र कारागारको निरिक्षण गर्न पुगेका हुन् । सो अवसरमा बोल्दै उनले वि.सं २०३५ सालमा १ महिना र ०३६ सालमा साढे ८ महिना सोही कारागारमा जेल जिवन बिताएको स्मरण गरे । ‘त्यो बेला जेल जिवन बिताएको व्यक्ति प्रमुख प्रतिपक्ष दलको नेता पनि भयो र मुख्यमन्त्री पनि बन्यो, उनले भने, ‘यहाँ आउने योजना बनाइरहेको भएपनि समयको समायोजन हुन सकेको थिएन । ढिलै भएपनि आज अवलोकन गर्न भनेर आएको छु ।’ उनले सरकारको नेतृत्व तहमा पुग्ने प्राय नेताहरुले जेल जिवन भोगेको बताए । ‘अहिले सरकारको मुख्य तहमा हुने नेताहरु जेल जिवन नबिताएको सायद कमै होलान्, उनले भने, ‘तर नयाँ पुस्तामा त्यो नहोला । एउटा कुरा यो सत्य के रहेछ भने हामी जेलबाट बाहिर आएपछि त्यो जिवन भुल्दा रहेछौं यो कुरा म स्वीकार्छु ।’ उनले जेललाई सुधारगृहको रुपमा विकास गर्नुपर्ने धारणा राखे । ‘हामीले पनि यो क्षेत्रलाई छाडेर नयाँ स्थानमा आधुनिक र सुधारगृहको रुपमा बनाउन पर्ने हो तर पनि त्यो गर्न नसकेको अवस्था छ, मुख्यमन्त्री पोखरेलले भने, ‘तथापी उहाँहरु (कैदीबन्दी) लाई प्रत्यक्ष भेटौ भन्ने उद्देश्यकासाथ हामी यहाँ आएका हौं ।’ उनले विभिन्न मुद्धामा कैद सजाय भोगिरहेका कैदीबन्दीहरुलाई प्रत्यक्ष भेट गरेका थिए । उनले वैटिङ तथा भेटघाट कक्षबाट निरिक्षण सुरु गरेर हस्तकलाको समाग्री बनाउने स्थल, सैलुन, मेस, खेलक्षेत्र तथा कैदीबन्दीको निवास लगायतका क्षेत्रमा प्रत्यक्ष अवलोकन गरेका थिए । जेलर महेन्द्र बहादुर कुँवरका अनुसार कास्की कारागारमा हाल ३६ महिला ३ जना आश्रित बालबािलका छन् भने पुरुष ‘क’ ब्लकमा ३ सय ६३ र पुरुष ‘ख’ ब्लकमा ४ सय ९ जना कैदीबन्दी रहेका छन् । मुख्यमन्त्री पोखरेलसँगै गण्डकी प्रदेशका आन्तिरक मामिलामन्त्री दोबाटे विश्वकर्मा, कास्की जिल्ला अधिकारी टेक बहादुर केसी लगायतको टोली अवलोकनमा पुगेको थियो ।
कालीकोट: भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको हो । कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरु छन् । जिल्लामा चार सय २० मेगावाटको तिला–१, चार सय ४० मेगावाटको तिला–२, चार सय ८० मेगावाटको फुकोट कर्णाली र १६ मेगावाटको पादमघाट जलविद्युत् आयोजनाले निर्माणका लागि ऊर्जा मन्त्रालयबाट अनुमति पाएका छन् । यी सबै आयोजना बनेका एक हजार पाँच सय ५६ मेगावाट विद्युत् उत्पादन क्षमता राख्छन् । यसको उत्पादनले कालीकोटको मात्र समृद्धिको आधार तयार नपारेर देशकै समृद्धिका आधारका रुपमा विकास सहयोग दिने देखिन्छ । जिल्लामा थुप्रै अन्य जलविद्युत् आयोजना बन्ने ठाउँहरु भए पनि तिनीहरुको उपयोगिता हुन सकेको छैन । कूल चार सय ८० मेगावाट विद्युत् उत्पादन क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए), निर्माणका लागि स्वीकृति र विद्युत् उत्पादनका टेष्ट टनेल खोल्ने काम भइसकेको छ । यो आयोजनाको निर्माणको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको ऊर्जा उत्पादन कम्पनी लिमिटेडले लिएको छ । आयोजनाको विस्तृत डिजाइन, अध्ययन, आयोजनाका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पूरा भइसकेको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए । “फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रायः सबै काम पूरा भइरहेको छ”, उनले भने, “लगानीको मोडालिटी टुङ्ग्याउन बाँकी रहेको छ ।” आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म करिब एक हजार रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट कालीकोट जिल्लाका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका प्रभावित हुनेछन् । यस आयोजना निर्माण भएमा जिल्लावासीले शेयर पाउनाका साथै रोजगारीको सिर्जनासमेत हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । “यो राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएका छौँ । आयोजना निर्माणको काम अगाडि बढ्दा स्थानीयवासी निकै उत्साहित भएका छन्”, उनले भने । आयोजनाका लागि रु ९२ अर्ब तीन करोड लाग्ने अनुमान गरिएको छ । निर्माण थालेको पाँच वर्षमा आयोजना पूरा गर्न लक्ष्य राखिएको छ । सान्नी त्रिवेणी गाउँपालिका–३ लुसाबाट एक किलोमिटर लामो र ११ किलोमिटर व्यास डाइभर्सन सुरुङमार्फत कर्णाली नदीलाई सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोलामा झारिने आयोजनाले जनाएको छ । जिल्लाको तिला नदीमा बन्ने तिला–१ र २ जलविद्युत् आयोजनाको क्षमता आठ सय ६० मेगावाट क्षमताको रहेको छ । तिला–१ को विद्युत् उत्पादन क्षमता चार सय २० मेगावाट र तिला–२ को चार सय ४० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । खाँडाचक्र नगरपालिका–२ मा तिला–१ जलविद्युत् आयोजना निर्माण हुनेछ भने तिलागुफा नगरपालिका–५ खल्लामा तिला–२ जलविद्युत् आयोजना निर्माण हुनेछ । दुवै आयोजनाको निर्माणको जिम्मा एससी पावर कम्पनीले कम्पनीले लिएको छ । नेपाल विद्युत् प्राधिकरणले तिला–१ र तिला–२ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौताका लागि समझदारी भइसकेको छ । दुई जलविद्युत् आयोजनाको काम भने अहिले अगाडि बढ्न नसकेको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताए । यी आयोजनाबाट कालीकोटका तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने विद्युत् निर्माण एसी पावर कम्पनीका आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए । दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), आयोजनाको विस्तृत अध्ययन (डिपिआर) भइसकेको र आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम बाँकी रहेको आयोजनाले जनाएको छ । कालीकोटमा उत्पादन भएको विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माण हुने भएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान हुने भएको हो । प्राधिकरणले कालीकोटमा फुकोट कर्णाली जलविद्युत् आयोजना, तिला–१ र २ लगायत माथिल्लो कर्णालीमा निर्माण हुने जलविद्युत् आयोजना निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान गर्ने तयारी थालेको कर्णाली प्रदेशसभाका सदस्य दुर्गबहादुर रावतले जानकारी दिए । उनले भने, “यो चार सय केभी प्रसारण लाइन कालीकोट तथा कर्णालीका माथिल्लो भागमा बन्ने जलविद्युत् आयोजनाका लागि निर्माण हुन लागेको हो ।” प्राधिकरणले चार सय केभी प्रसारण लाइन जडानका लागि कालीकोटमा जग्गा खरिद गरिसकेको र लाइन जडानको अध्ययन पनि भइसकेको जनाएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माणका लागि करिब रु १६ अर्ब लगानी लाग्ने प्राधिकरणले जनाएको छ । कालीकोटमा निर्माण हुने यी आयोजना बनेमा कालीकोट तथा कर्णालीको सम्बृद्धि आधार हुने स्थानीयले बताएका छन् । यी आयोजनाबाट कालीकोटका हजारौँ युवायुवतीले रोजगारी, विद्युत्मा लगानी गर्ने अवसर पाउनेछन् । जलविद्युत् आयोजनाले कालीकोट जिल्ला र कर्णाली प्रदेशका लागि समृद्धिको आधार रहेको यसको विकास गर्नका लागि अहिलेका स्थानीय, प्रदेश र सङ्घीय सरकारले कामको थालनी गर्नुपर्ने सान्नीले बताए । “जलविद्युत्का ठूला आयोजना बन्नु कालीकोट र कर्णाली प्रदेशका लागि गौरवको विषयमा हो”, त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले भने । जिल्लामा सञ्चालन रहेको निर्माण कार्य थालिएका दर्जनौँ लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा छन् । जिल्लाका झन्डै २० मेगावाट उत्पादन हुने सक्ने लघु जलविद्युत् आयोजनाहरू रकम अभाव, स्थानीयको विवाद र मर्मतसम्भारको अभावलगायत कारणले अलपत्र अवस्थामा छन् । तिलागुफा नगरपालिका फाइमहादेव नाग्मगाडस्थित ५७ किलोवाट, नरहरिनाथ गाउँपालिकाको माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला लघुजलविद्युत् आयोजना, ३० किलोवाट क्षमताको तिलागुफा नगरपालिकाको छाप्रेस्थित वालिगाड खोला लघु जलविद्युत् आयोजना, तीन किलोवाट क्षमता भएको चिल्खायाको घट्टेखोला लघुविद्युत् आयोजना विद्युत् बलेर पनि मर्मतसम्भारको अभावमा बन्द भएका छन् । त्यस्तै ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडीगाड लघु जलविद्युत् आयोजना, ३० किलोवाटको बालिगाड खोला लघु जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजना रकम अभावका कारण सञ्चालनमा आउन सकेका छैनन् । शुभकालिका गाउँपालिकाकै घट्टेगाड जलविद्युत आयोजना (१८ किवा), थिर्पुगाड जलविद्युत् आयोजना (२० किवा), साना लघुजलविद्युत् आयोजना (१५ किवा), नरहरिनाथ गाउँपालिकाको माल्कोट लघु लघुजलविद्युत् (३० किवा) आयोजनाहरु काम अगाडि बढेको भए पनि रकम अभावका कारण काम सुरु हुन सकेको छैन । हाल पाँच सय किलोवाटको सान्नीगाडको साना जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । महावै गाउँपालिकाको गेलास्थित ७० किलोवाट क्षमताको भ्याकुनेगाड जलविद्युत् आयोजना, पचालझरना गाउँपालिकाको ७० किलोवाटको लाफा गाउँ लघुजलविद्युत् आयोजना, ५० किलोवाट क्षमता भएको शुभकालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना पनि सञ्चालनमा आउन सकेका छैनन् । यस्तै भर्ता, तिलागुफा नगरपालिकाको एक सय किलोवाट क्षमता भएको बच्चुगाड लघुजलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट औलाखोला लघुजलविद्युत् आयोजना खिन, ५२ किलोवाट क्षमता भएको बालीगाड लघुजलविद्युत् आयोजना सुकाटिया अलपत्र अवस्थामा रहेका छन् ।
काठमाडौं: मन्त्री क्वाटरमा बस्नका लागि ५ मन्त्रीले आफू बस्ने घर छनौट गरेका छन् । ललितपुरको पुलचोकस्थित मन्त्री क्वाटरमा बस्नका लागि उनीहरूले घर छानेर सर्ने तयारी गरेका हुन् । मन्त्री क्वाटर जान २ जना उपप्रधानमन्त्रीसहित अन्य ३ मन्त्रीले तयारी गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, मन्त्रीहरू राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारीले आफू बस्ने घर हेरेर सर्ने तयारी गरेका हुन् । उनीहरूले बुधवार क्वाटर सर्ने तयारी गरेका छन् । मन्त्री क्वाटरबाट अधिकांश पूर्व मन्त्रीले सामान सारेका छन् भने केही पूर्व मन्त्रीको सामान सार्न बाँकी रहेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले क्वाटर छोडेका छन् । ललितपुरको भैसेपाटीमा बनिरहेको मन्त्रीहरूको नयाँ आवासस्थल निर्माण सम्पन्न नभएकोले पुलचोकमा रहेको क्वाटरमा नयाँ सरकारका मन्त्रीहरू बस्दैछन् । मन्त्री क्वाटरमा बस्ने मन्त्रीहरूका लागि आवास, फर्निचर, खानेपानी, इन्टरनेट लगायतको सुविधा हुने गरेको छ भने किचेनका सामान र सिरक डस्ना लगायतका कपडा भने उनीहरू आफैँले व्यवस्था गर्नुपर्ने हुन्छ । मन्त्रीमण्डलमा रहेका २५ जना मन्त्रीका लागि सरकारी तवरबाट आवास सेवा दिने व्यवस्था रहेको छ । पुलचोकमा रहेको मन्त्री क्वाटर कम्पाउण्डभित्र १९ वटा छुट्टा छुट्टै घर रहेको छ जहाँ १९ जना मन्त्रीले मात्र बस्न पाउँछन् । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने भएकोले अन्य मन्त्री तथा राज्यमन्त्रीले भने भाडाको घरमा बस्नुपर्ने हुन्छ । उनीहरूका लागि घरभाडा, खानेपानी र इन्टरनेटका लागि रकम भुक्तानी गर्ने व्यवस्था छ । आफैले घर खोजेर बस्ने मन्त्रीका लागि घरबेटीसँगको सम्झौता पत्रका आधारमा मासिक ४० हजारसम्म घरभाडा, खानेपानी र इन्टरनेटको बिल अनुसार भुक्तानी गर्ने व्यवस्था रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय मन्त्री आवास तथा भवन निर्माण शाखा प्रमुख कुमार घिमिरेले रातोपाटीलाई जानकारी दिए । त्यसरी छुट्टै घर भाडामा लिएर बस्ने मन्त्रीले एक पटकका लागि सुरक्षा पोष्ट लगायत आवश्यक पूर्वाधार निर्माणका लागि थप २ लाख रुपैयाँ पाउनेछन् ।
काठमाडौं: काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

