पोखरा: देशको पुर्वदेखि पश्चिमी कुनासम्म आठवटा सहरहरुमा भब्य प्रस्तुती दिएर गृहमैदान आइपुगेको नेपथ्यले सँधैजस्तै न्यानो पोखरेली माया जुटाउन सफल भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रको यसै मैदानमा अघिल्लोपटक ब्याण्ड उपस्थित हुँदा लगातारको झरीकै बीच पनि उल्लेख्य दर्शक पानीमा रुझेरै कन्सर्ट हेर्न आइपुगेका थिए । यसपाला भने विहानैदेखि हिमाल देखिनेगरि सफा आकाश पाएको पोखराले ब्याण्डलाई अझ गतिलो स्वागत ग¥यो । आफ्नो माटोमा आइपुग्दा प्रारम्भकै दिन सम्झँदै ब्याण्डले पहिलो गीत ‘आँगनै भरि हिउँ नै झरे, आरु फूल है टिपि राख्नू’ गाएर सुनाएको थियो । नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले झण्डै ३३ वर्षअघि याङ्जाकोटमा रचना गरेको यो गीत ब्याण्डकै पहिलो सिर्जना थियो । यसरी स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३२ वर्षमा गरेको यात्राका झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो । दोश्रो प्रस्तुती ‘भेँडाको ऊनजस्तो’ लाङटाङतिरको संकलन थियो । अर्थात् अब गुरुङहरुको वस्तीबाट केहि पूर्वतर्फ तामाङहरुको क्षेत्रमा कार्यक्रमले प्रवेश गर्यो । पोखराबाट उदाएको यो ब्याण्ड यतिन्जेल सिंगो नेपालकै साझा सम्पत्ति बनिसकेको छ। त्यसैले त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट संकलन गरिएका भाकाहरुलाई रक धुनसँग जोडेर यसले नेपाली पहिचानको कोशेलीका रुपमा संसारलाई सुनाउँदै आइरहेको छ । तेश्रो गीत फेरि स्थापना कालतिरकै पुरानो ‘छेक्यो छेक्यो देउराली डाँडा’ थियो । यो त झनै ब्याण्डलाई स्थापित गराउने सिर्जनाको रुपमा सबैले चिनेको गीत । ब्याण्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको शुक गुरुङ सिर्जित यो गीतमा पोखरेली दर्शकहरु अझ रमाए । अब भने पोखरेलीहरुसँग अमृतले साक्षात्कार गर्ने पालो आइपुग्यो । ‘विहान झलमल्ल हिमाल देखेर म पोखराको मान्छेको धेरै दिनदेखिको न्याश्रो मेटियो’ अमृतले यसरी यस ठाउँसँगको आफ्नो सामिप्य प्रकट गर्नासाथ विशाल दर्शक घेरा खुशीले उत्तेजित भएको थियो । उनले तमाम दर्शकका साथसाथै ब्याण्डलाई यसरी प्रस्तुतीको मौका जुराइदिने मानव सेवा आश्रमलाई धन्यवाद ब्यक्त गरे । त्यसपछि उनले आफ्नो थातथलो नछाड्न आव्हानका साथ गाउँ जाने र रोदीमा बसेर गाउने अनुरोध गर्दै सुरुगरेः ‘खान्न म त लामपाते सुरती लाउँ कि नलाउँ जुग जाने पिरती’ त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएको थियो । यस गीतमा अमृतले ‘घर हाम्रो पोखरा’ भनेर गाइरहँदा दर्शकदीर्घामा पनि जताततै तन्नेरीहरु ‘घर हाम्रो पोखरा’ भनेर चिच्याइरहेको देखिन्थ्यो । ‘हाम्रो पोखरा त सुन्दर छँदैछ,’ अमृतले दर्शकहरुलाई भने, ‘अन्यत्र पनि सुन्दर ठाउँले भरिएको यो देश घुम्ने मौका नछाडौं है ।’ अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः ‘शिरफूल शिरैमा वनफूल वनैमा हिउँको फूल धौलासिरिमा’ कार्यक्रम अवधिभर अमृतले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो । यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो । ‘सबैतिरबाट आएर हामी यो पोखरामा बस्यौं । हाम्रा बाजे बराजुले यहाँ बजार बनाए । हामीले यसलाई सहर बनायौं । हाम्रा भावी पुस्ताले अझ विशाल महानगर बनाउनेछन्,’ यसअघि सरकारी विद्यालयहरुकै निम्ति पोखरामा पाँचपटक आफूलाई प्रस्तुत गरिसकेका उनी भनिरहेका थिए, ‘त्यो भावी विशाल महानगर कस्तो बनाउने भन्ने विषयमा हामीले आजैबाट ध्यान पु¥याउनु जरुरी छ ।’ त्यो भावी महानगर मानवीयताले भरिएको बनाउने हो भने आजैबाट आ–आफ्नो ठाउँबाट गच्छे अनुसारको दान गर्ने संस्कारको विकास गर्न उनले पोखरावासीसँग आव्हान गरे । कार्यक्रममा अमृतले लाहुरेहरुबाट भित्रिएको गीत ‘नैनाताल’ गाउनुअघि मुलुकले भोग्नुपरेको युवा पुस्ताको पलायनबारे चिन्ता प्रकट गरेका थिए । ‘हाम्रा बाउ बाजेहरु धेरैजसो रहरले लाहुरे भएका थिए । तर, हिजोआज करैले पनि नेपाली तन्नेरीहरु विदेशिनुपर्ने भएको र यो संख्या दिनदिनै बढ्दै गइरहेको छ,’ उनले दर्शक दीर्घामा हेर्दै अनुरोध गरे, ‘यहाँ आउनुभएका गण्डकीका ठूलाबडाहरुले रोजगारीको अवसर सिर्जना गरेर तन्नेरीहरुलाई आफ्नै ठाउँमा बस्ने वातावरण बनाइदिनुस् है ।’ प्रत्युत्तरमा दर्शकदीर्घाबाट समर्थनको ठूलो आवाज आएको थियो । यसअघि मुलुकभर यात्रागरेर आएको गुरुङ र उनको टोलीलाई आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गरेका थिए । त्यसैगरि कन्सर्टको अघिल्लो दिन सोमबार मात्रै पोखरा–२५को हेम्जा बाबियतारास्थित ‘मानव सेवा आश्रम’मा नेपथ्य टोलीले भ्रमणगरेको थियो । त्यतिबेला अमृतले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरुलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए । त्यस अवसरमा नेकपा एमालेको प्रदेश संसदीय दल प्रमुख खगराज अधिकारीलगायतका नेताहरुले पोखराबाट उदाएको नेपथ्यले सिँगो नेपाली पहिचानका लागि दिएको योगदानको चर्चागरेका थिए । मंगलबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा नयाँबजारस्थित मैदानमा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः ‘भर्खरै चुनाव सकिएको छ । घर–घर विभाजित भएको छ । तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ । हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ । हामीले गाउँ गाउँमा अस्पताल पु¥याउनका निम्ति जोडिनै पर्छ ।’ धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो । कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो । दर्शक दिर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरुको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो । कन्सर्ट हेर्न आएका साना नानीहरुलाई भने मञ्चको ठीक अगाडि सुरक्षित तवरले रमाउन सक्नेगरि बन्दोबस्त मिलाइएको थियो । कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए । संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्टले पोखरामा लगातार नवौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘यो सहरबाटै जन्मेको नेपथ्यले मुलुकभरि मानवताको उज्यालो फैलाउने संकल्प बोकेको मानवसेवा आश्रमसँग मिलेर सहकार्य सुरुगरेको छ,’ उनले भने, ‘यो अठोटलाई आज देखिएको पोखरेली दाजुभाइ दिदीबहिनीको मायाले थप बलियो बनाएको छ ।’ मानव सेवा आश्रमसँग युवा पुस्तालाई जोड्न भरमग्दुर प्रयास चलिरहेको बेला यो कन्सर्टले त्यो उद्देश्यमा सघाउ पु¥याउने विश्वास पनि उनले प्रकट गरे । पोखराको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् बुधबार काठमाडौंतर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित भृकुटीमण्डपमा नेपथ्य पुस १६ गते शनिबार प्रस्तुत हुँदैछ । यसरी मंसिर १६ गते बिराटनगरबाट सुरुभएको मानवताको लागि नेपथ्यको देशब्यापी यात्रा ठीक एक महिना लगाएर पुस १६ गते सम्पन्न हुनेछ ।
पाेखरा: गण्डकी प्रदेशसभामा आज आयोजित सपथ ग्रहण समारोहमा ३ जना सभासद्ले मातृभाषामा सपथ लिएका छन् । मातृभाषामा सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ नेपाली कांग्रेसका सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका हुन् । उल्लेखित ३ सहित ५६ जनालाई प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । प्रदेशमा कूल ६० सभासद् रहेका छन् । जेष्ठ सदस्य बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिएका थिए ।
पोखरा: लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले सहारा एकेडेमीका लागि २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई रकमको चेक हस्तान्तरण गरे । सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तराता दिने सञ्चालक सिग्देलले बताए । लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका मुख्य प्रबन्धक तथा बजार व्यवस्थापन विभाग प्रमुख दिपक खनाल, छोरेपाटन शाखाका प्रवन्धक प्रकाशचन्द्र पहारी, न्यूरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, लेकसाइड शाखाका प्रवन्धक महेन्द्र कुमार श्रेष्ठ, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी, क्लबका निवर्तमान अध्यक्ष केशव वहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतले बैंक र एकेडेमीका बारेमा जानकारी दिएका थिए । एकेडेमीमा हाल १३ जना विपन्न परिस्थितिका बालकहरु छन् । सहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जनाए ।
पोखरा: तराई विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले पहिलो पटक संस्कृति मेला २०७९ आयोजना गर्ने भएको छ । पोखरा विश्वविद्यालयले इतिहासमै पहिलो पटक संस्कृति मेला २०७९ को आयोजना गर्न लागेको एक समारोहको आयोजना गर्दै जानकारी दिएको हो । मेलामा नेपालका चर्चीत हास्य कलाकार आदर्श मिश्राको प्रस्तुतिसँगै सुपर सिक्स क्रिकेट प्रतियोगिता, अनलाइन संस्कृति भिडियो प्रतियोगिता, संस्कृति हाजिरी जवाफ प्रतोयोगिता, संस्कृति वक्तृत्वकला,टग अफा वार ,ट्रेजर हंट प्रतियोगिता,फ्ल्याश मोव, सरसफाइ कार्यक्रम र सरस्वति पुजाको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरु रहने समारोह संयोजक शंकर शाहले बताए । यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा किरु इन्जिनियरिङ कन्सलटेन्सी, गोल्ड प्रायोजक भेनस इंटरनेशनल कन्सलटेंसी,स्पेसल प्रायोजकमा होटल सत्कार , रोबर्ट इनभेस्टमेन्ट ,२०–२०रेस्टुरेन्ट ,लियो क्लब अफ़ जनकपुरधाम,अन्नपूर्ण ल्याब, फारेस्ट स्पोर्ट्स अरेना,सेज बिजनेस इंटरप्राइजेज् ,सामाजिक केन्द्र नेपाल ,गोदार मार्ट र सिल्वर प्रायोजकको रूपमा ईदु हब एज्युकेशन फाउंडेशन रहेका छन्। यस संस्कृति मेला २०७९ को पुर्व कार्यक्रमहरु पौषको तेस्रो हप्ता देखी सुरु हुने र माघ १२ गते सरस्वति पुजाको दिन समापन गरिने कार्यक्रमका डायरेक्टर ज्ञानेन्द्र त्रिपाठीले जानकारि दिए ।
काठमाडौंः बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा नेपालका कोपिला उप्रेती र कमला पुनको जोडी महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा उज्वेकिस्तानकी सतिभोलदिभा र जमोलोभाको जोडीलाई २–० को सोझो सेटमा हराएर फाइनलमा पुग्न सफल भएको हो । कोपिला र कमलाको जोडीले २१–१२ र २१–१४ को सेटमा हराउन सफल भयो । यसअघि कोपिला र कमलाको जोडीले लिग चरणमा उज्वेकिस्तानकी सुल्तानबोइभा र कुचकोरोभाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा तथा दोस्रो खेलमा बंगलादेशकी अख्तर र खातुनमाथि २१–१८ र २१–१८ को सोझो सेटमा हराएर पोल विजेता बनेको थियो । फाइनल आज नै हुने टोलीका व्यवस्थापक जुनु पुनले जानकारी गराइन् । नेपालले श्रीलंकाको जोडीसँग खेल्नेछ । यस्तै पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल सुनारको नेपालको जोडी आफ्नो पोलमा लगातार तेस्रो जित निकाल्दै पोल विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज (बिहीबार) भएको पोलको अन्तिम खेलमा मानबहादुर र दिलको जोडीले बंगलादेशका नुर नावी र सेफ उद्धिनको जोडीलाई २१–८ र २१–१४ ले पराजित गर्दे पोल ‘ए’ को विजेता बनेको हो । मानबहादुर र दिलको जोडीले पहिलो खेलमा बंगलादेशका विश्वास पाभेलको जोडीमाथि २१–१८ र २१–१९ को सेटमा जित निकाल्दा अर्को खेलमा माल्दिभ्सका अहमेद र सामेलको जोडीलाई १७–२१, २१–१४ र १५–९ को सेटमा जित निकालेको थियो । पुरुषतर्फ बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको छ । महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोली रहेका छन् ।
पोखरा: अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी छ । अब सञ्चालनका लागि तीन दिन मात्र बाँकी छ । तर विमानस्थल सञ्चालनको पूर्व सर्त मानिएको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइड मानिएको थियो । जहाज उडानका लागि आवश्यक डाँडा कटान भइसकेको छ भने पोखरा महानगरपालिकाको ल्याण्डफिल साइटको भने टुंगो छैन । त्यसोत महानगरले १० औं कार्यपालिका बैठकबाट तीन महिनाका लागि पोखरा ३२ स्थित लामेआहालमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यद्यपी स्थानीयबासिन्दा भने त्यो निर्णयप्रति असन्टुष्टी जनाउँदै विरोधमा छन् । त्यसैले यतिबेला पोखरा महानगरपालिकाको सडक किनार नै डम्पिङ साइट बनेको छ । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड लगायतको सडक किनारमा फोहोरका डंगुरहरुले आतंक मच्चाएको छ । ‘फोहोरको अल्पकालिन व्यवस्थापनका लागि विभिन्न वडामै पनि खोजिरहेका छौं । र निर्णय भएअनुसार लामेआहालमा मै तीन महिनाका लागि लाने भनिएको छ । विरोध आएपनि अहिले धेरथोर कुरा मिलिसकेको छ, पोखरा महानगरपालिकाका प्रवक्ता एवम् पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘ त्यसैलेपनि अहिले फोहोर उठ्न सकिरहेको छैन । त्यसैले सडकमा भएका फोहोरहरुको व्यवस्थापनलाई केही दिन लाग्न सक्छ ।’ उनले दिर्घकालिन व्यवस्थापनका लागि पनि महानगर लागिरहेको बताए । ‘अहिले हामी अल्पकालिन लक्ष्यमा छौ । विमानस्थल सञ्चालनका लागि पनि सरसफाई गरेका थियौं, तिमिल्सिनाले भने, ‘त्यसकै केही फोहोरहरुपनि सडक किनारमा देखिएका छन् । यसको व्यवस्थापन एक/दुई दिनमै हुन्छ ।’ पोखरा महानगरपालिकाको तथ्याङ्क अनुसार दैनिक करिब १ सय ८८ टन फोहोर उठ्छ तर केही दिन उक्त फोहोर व्यवस्थापन हुन नसक्दा सडक किनार नै डम्पिङ साइट बन्ने देखिन्छ । हेरौँ सुनगाभाकर्मी अर्जुन गाहामगर (सशान्त) को लेन्सबाट महानगरको ‘डम्पिङ साइट’
काठमाडौं: प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे अनभिज्ञता प्रकट गरेको छ । यसबारे आफूहरुले बुझिरहेको सचिवालयका सदस्यहरु बताउँछन् । प्रचण्डको सामाजिक सन्जाल ह्याण्डलिङको जिम्मा पाएका सूर्यकिरण शर्माले भने, ‘मैले हेर्ने गरेको अध्यक्ष प्रचण्डको व्यक्तिगत ट्वीटर हो । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको पनि छैन । कसले, किन अकाउन्ट लक्ड गर्यो हामी बुझ्दैछौं ।’ कांग्रेस सभापति शेरबहादुर देउवा पछि प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्टमा प्रचण्डकै फोटो अपडेट गरिएको छ । प्रचण्डको फोटो अपडेट पनि आफूहरुबाट नभएको शर्माले बताए । प्रचण्डको सचिवालयका अर्का एक सदस्य शिव खकुरेलले पनि ट्वीटर अकाउन्ट लक्ड हुनुको कारणबारे बुझिरहेको बताए । ‘हामी हिजो बेलुकामात्रै बालुवाटार आएका छौं, सबै कुरा मिलाउनै बाँकी छ,’ खकुरेलले भने, ‘यसबारे पनि बुझ्दैछौं ।’
गैरागाउँ: भूकम्पले पालको बास बस्न बाध्य डोटीको पूर्वीचौको–३, गैरागाउँकी १५ वर्षीया देवी भुललाई महिनावारी हुँदा छाउछाप्रोमा बस्न निकै कठिन छ। देवी भुलको छाउछाप्रो च्यात्तिएको प्लास्टिक र परालले बेरबार पारेर बनाइएको छ। फलेकमाथि एकसरो लुगाले चिसोमा रात कटाउनु देवी भुलको बाध्यता छ। गैरागाउँ खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ। गाउँमा खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरको समेत डर हुन्छ। देवता रिसाउने र थप अनिष्ट हुने डरले भूकम्पपछिका दिनमा महिनावारी हुँदा अलग्गै बस्नुपर्ने प्रथालाई महिलाले अझ कडाइसाथ पालना गर्न थालेका छन् । स्थानीय जयराम भूलले भन्नुभयो, “केही दिनअघि मात्र छाउगोठ नजिकै सर्प देखिएको छ। यदि देउता नरिसाएको भए पुस महिनामा कसरी सर्प आयो। छाउपडी नमान्ने कुरा त हामी सोच्नै पनि सक्दैनौँ।” महिनावारी हुँदा बस्नका लागि परम्परागत रूपमा बनाइएका छाउगोठ भूकम्पका कारण भत्किएका छन्। हालै निर्माण गरिएका छाउगोठ हावा लाग्दासमेत उडाएर लैजाने किसिमका छन्। एक जनाले खुट्टा तानेर सुत्नसमेत नमिल्ने ठाउँमा महिनावारी हुँदा तीनरचार जनाले कोचिएर प्रत्येक महिना पाँच दिनसम्म बस्नु परेको स्थानीय मनिदेवी बोहराले बताउनुभयो। बोहराले भन्नुभयो, “पहिलाका छाउगोठमा त भित्रै आगो बाल्न मिल्ने त हुन्थ्यो आजभोलि आफू मात्र बस्न मिल्ने गरी बनाएका छौँ। छाउ हुँदा साह्रै समस्या हुन्छ। खुट्टा तानेरसमेत सुत्न सकिँदैन।” भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिक्षालगायतका जनचेतनामूलक क्रियाकलापको आवश्यकता रहेको छ। देउता रिसाउने र गाई–भैँसीले दूध नदिने डरले महिनावारी हुँदा, महिलालाई दूध, दहीलगायत पोसिलो खानेकुरा दिइँदैन। महिनावारी हुँदा ओढ्ने र ओछ्याउनेसमेत अलग्गै हुन्छ। पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपतिदेवी खड्काले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणलगायत विकासका लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो। राज्यले छाउपडी प्रथालाई अपराध मानेको छ। मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १० दफा १६८ को उपदफा–३ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भन्ने कुरा उल्लेख गरिएको छ।
पोखरा: स्पेनिस बि डिभिजन क्लब कासेरेन्यो सीपीले गण्डकी ११लाई ३–० ले पराजित गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा कासेरेन्यो खेलाडी कारमेलो, बेरमु र स्पेनका पूर्व राष्ट्रिय खेलाडी माइकल कारलेरोले एक–एक गोल गर्दै जित हासिल गरेका थिए । कारमेलोले २३ औं मिनेटमा, माइकलले ३५ औं मिनेटमा र दास्रो हाफ इन्जुरीको समयमा बेरमुले तेस्रो गोल गर्दै जित सुनिश्चित गरका हुन् । गण्डकी ११ को टिमलाई अनिल गुरुङले कप्तानी गरेका थिए । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि मैदान उत्रिएका थिए । उनी डिफेन्डरको जिम्मेवारी सम्हाल्दै खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको थियो । उक्त टोलीले बिहीबार काठमाडौं(११ सँग काठमाडौं दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछन् ।

