पोखरा: पोखरामा आयोजना हुने दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता तयारी पुरा भएको आयोजकले जनाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पौष १९ गतेबाट २३ गते सम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । कुल १४ वटा इभेन्टमा ३७ जना खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिएका छन् । प्रतियोगितामा गल्र्सतर्फ १५ ब्वाइजतर्फ २२ खेलाडीहरुको सहभागिता रहेका मध्ये पोखराका ८ र अन्य खेलाडी पोखरा बाहिरका रहेको पौडेले बताए । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गल्र्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् भने यू–१२ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले जनही नगद रु ८ हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्ने प्रतियोगिताकी संयोजक प्रिती बरालले जानकारी दिएकी छन् । त्यस्तै यू–१४ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले समान जनही नगद रु १२ हजार, उपबिजेताले समान जनही नगद रु ६ हजारसहित मेडल प्राप्त गर्ने छन । यू–१६ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सय तथा ब्वाईज तथा गल्र्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु १५ हजार उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्ने संयोजक बरालले जानकारी दिएकी छन् ।
काठमाडौँ: तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्हीँ’ बजारमा आएको छ । ओेएसआर डिजिटलबाट शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन । प्रतिक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन । गायक प्रकाश लामा र गायिका बिना घलेको आवाज रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन । अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त भिडियोलाई नरेन मोक्तानले कोरियोग्राफी, बिक्रम मोक्तानले छायांकन, राजेन्द्र मोक्तानले कलर गरेका हुन । भिडियोको तामाङ मेगास्टार कुमार मोक्तान र रोहनी लामाको आवाज रहेको छ ।
धनगढी: मजदुरी गर्न भारत गएका कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्काका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशस्थित मेरठमा उनीहरूको कोठामा मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा गोप्काका चन्ने भुल, उहाँकी श्रीमती कुमारी भुल र पाँच वर्षीया छोरी अञ्जली रहेको वडा अध्यक्ष डवलबहादुर दियाकोटी बोहराले जानकारी दिनुभयो। पुस १७ गते मृत्यु भएका मृतक सबैको शव मङ्गलबार नेपाल ल्याइएको हो। रेलमा प्रयोग गरिने कोइला राति कोठामा बालेर सुतेको बेला निसास्सिएर मृत्यु भएको भनिए पनि घटना शङ्कास्पद रहेको वडा अध्यक्ष बोहराले बताउनुभयो। उहाँका अनुसार चन्नेको शरीर र हातमा घाउ देखिएको छ। यसैगरी, मुख पनि बाङ्गिएको छ। शरीरमा देखिएको घाउ र भारतीय प्रहरीले उपलब्ध गराएको फोटो हेर्दा हत्या भएको जस्तो देखिएको वडा बोहराले बताउनुभयो। मृतक भुल परिवार गरिबीको कारण भारतमा काम गर्दै आएका थिए। भुल मेरठमा काम गरेको छ र सात वर्ष भएको वडा अध्यक्ष बोहराले बताउनुभयो। आमाबुबासहित बहिनीको मृत्यु भएपछि घरमा रहेको तीन बालबालिकाको बिचल्ली भएको छ। घरमा दुई छोरी र एक छोरा रहेका छन्। उनीहरूलाई हजुरबुबा आमाले स्याहारी रहेको जनाइएको छ। मृतक तीनै जनाको मङ्गलबार अन्त्येष्टि गरिएको छ। यसैबीच, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले यदि परिवारलाई घटना शङ्कास्पद लागेको भए छानबिनको लागि भारतीय प्रहरीलाई त्यहीँ भन्नु पर्ने बताउनुभयो। ‘घटना भारतमा भएकाले छानबिन भारतीय प्रहरीले नै गर्ने हो’, उहाँले भन्नुभयो,‘यदि, त्यस्तो लागेको थियो भने परिवारले त्यहाँको प्रहरीलाई भन्न सक्नु पर्दथ्यो। त्यसो नगरी शव ल्याइसकेका रहेछन्।’
काठमाडौं: सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार दिनभर उतारचढाव देखिंदा अन्तिममा बजार परिसूचक नेप्से ३.०३ अंकले गिरावट भएर २०६१.०६ अंकमा बन्द भएको छ । गत बिहीबार ५६ अंक, आइतबार र सोमबार समान १७ अंकले बढेको नेप्सेमा मंगलबार भने करेक्सन भएको हो । व्यापार, लघुवित्त, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि बैंकिङ, बीमा सहित अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि समान्य घटेको छ । लघुवित्त उपसूचक २.४४ प्रतिशत, व्यापार उपसूचक २.८९ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.६ प्रतिशतले वृद्धि भएको छ ।यता वित्त कम्पनी र जीवन बीमा उपसूचक भने १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । उतारचढावबीच नेप्सेमा सामान्य गिरावट भएपनि कारोबार रकम भने सोमबारको भन्दा बढेको छ । आइतबार ४ अर्ब नाघेको कारोबार रकम सोमबार २ अर्ब ९६ करोडमा झरेको थियो । तर, मंगलबार भने कारोबार रकम बढेर ३ अर्ब ४५ करोड ८० लाख ९० हजार पुगेको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४३ करोड १९ लाख ६४ हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको ९ करोड ६६ लाख ९५ हजार र शिवम् सिमेन्टको ९ करोड ४९ लाख १३ हजारको कारोबार भएको छ। मंगलबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने १०७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार श्वेतगंगा हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै नेरुडे लघुवित्तको सेयरमूल्य ७.७३ प्रतिशतले वृद्धि भएको छ । यता वीन नेपाल लघुवित्तको सेयरमूल्य ५.५९ प्रतिशतले गिरावट हुँदा बोटलर्स नेपाल तपाईको सेयरमूल्य ५.५४ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ३.४४ प्रतिशतले गिरावट भएको छ ।
बाँके: माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन । यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । गाउँगाउँमा रातभर आगो बाल्न दाउरा सङ्कलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको पाइन्छ । चामलको पिठोबाट ढिक्री पकाउने, अनदीको जाँड, रोटी, भातलगायत मिठामिठा परिकारको जोहो गर्ने गरिन्छ । माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गरिन्छ । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गरिन्छ । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन रहेको राप्ती सोनारी गापा खैरेहनीका लहान थारुले बताए । उक्त समुदायमा माघीको रौनकमा खानपिन सँगसँगै आफनो वेषभूषामा नाचगान र संस्कृति झल्कने खालका प्रस्तुति पनि गरिन्छ ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उनले आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दावी गरेका छन् । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको बालेनले दावी गरेका छन् । बालेनले समयमा खर्च विवरण बुझाउँदा बुझाउँदै ७ लाख ५० हजार जरिवाना तिर्न लगाउने, स्थानीय चुनावमा भाग लिने देशभरका १ लाख २३ हजार उम्मेदवारलाई एकमुस्ट जरिवाना गर्ने र ६ महिनाभित्र नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी गरेको निर्णय बदरको माग गरेका छन् । त्यस्तै यो मुद्दाको किनारा नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।
नेपालगञ्ज: बाक्लो हुस्सु र कुहिरोले भिजिविलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । विहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरु र सङ्घीय राजधानी काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् । जहाज अवतरण र उडानका लागि भिजिविलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लाहरुलगायत राजधानीका लागि कुनै पनि उडान नभएको विमानस्थलले जनाएको छ । कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदुरपश्चिमको बाजुरा, बझाङ्गका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिविलिटी नपुग्दा दिउँसो २ बजेसम्मका सबै उडान रद्द गरिएको विमानस्थल टावरका अफिसर महेन्द्र बहादुर सिंहले बताउनुभयो । मंगलबार विहानैदेखि ६ सय मिटर मात्र भिजिविलिटी रहेकाले पहाडी जिल्लाहरुका सबै उडान रद्द गर्नुका साथै राजधानीका पनि हालसम्मका सबै उडान रद्द गरिएको उहाँले बताउनुभयो । नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदुरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० वटा र काठमाडौँका लागि १५ वटासम्म उडान हुने गरेका छन् । यहाँबाट काठमाडौं, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गरेको छ । यसैगरी, केही दिनयता शुरु भएको शितलहर र चिसोका कारण बाँके र बर्दियाको जनजिवन अस्तव्यस्त छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई चिसोले सबैभन्दा बढी समस्या पारेको छ । चिसोकै कारण धेरै मजदुरले काम पाएका छैनन् ।
गण्डकी: पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित नवीन टोल विकास संस्थामा आबद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे । जलविद्युत् आयोजनाका निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर) चढेर शिला शालिग्रामसम्म पुग्ने लक्ष्य राखेपनि उनीहरू त्यहाँ पानीको सतह घटाइएका कारण जल यातायातबाट लक्षित गन्तव्यमा भने पुग्न सकेनन् । उक्त टोलीसहित सो दिन अन्य ठाउँ ठाउँबाट आएका पर्यटक जल यातायात चढेर शिला शालिग्राम पुग्न नसकेपनि केही समय छोटै दुरीमै भए पनि जल यातायातको राम्रैसँग अनुभव लिए । समय समयमा मर्मतका साथै वर्षातमा पानीको बहाव बढ्दा जल यातायात नचल्ने भए पनि थाहा नहुँदा टाढाबाट आएका पर्यटक निराश बनेर फर्कने शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका सुपरभाइजर कृष्ण क्षेत्रीले बताउनुभयो । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मुर्मी आँधी मुहानदेखि पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म रमणीय दृश्य अवलोकन गर्दै सात किलोमिटरको दूरीमा विगत १९ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । जल यातायात सेवाले दक्षिण पर्वतको विहादी र पैँयू गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुनुका साथै यसले यहाँको पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान गरेको छ । “हाल तीनवटा स्टिमरबाट पर्यटकलाई सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “एउटामा ८० जनाको दरले एक पटकमा दुई सय ४० जनालाई जलविहार गर्ने व्यवस्था मिलाएका छौँ ।” जल यातायात सेवा सञ्चालनले चार घण्टाको यात्रा आधा घण्टामा सीमितभएको स्थानीय रमेश सुवेदीले बताउनुभयो । “स्टिमर सेवा सञ्चालनले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासी धेरै लाभान्वित बनेका छन्”, उहाँले भन्नुभयो, “यसबाट यस क्षेत्रको पर्यटकीय विकासमा विशिष्ट योगदान पुगेको छ ।” सुवेदीका अनुसार जल यायातायातकै कारण आउने पर्यटकका कारण यहाँको आर्थिक गतिविधि चलायमान भएको छ । पछिल्ला समयमा बाँध आसपासका क्षेत्रमा होटेल तथा अन्य पूर्वाधार पनि विकास भएको बताउँदै उहाँले प्रत्येक दिन करिब पाँच सय जनासम्म बस्ने क्षमताका होटेल सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । जल यातायातबाट पर्वतको सेतीवेणीस्थित विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न जान सकिने भएकाले यो धार्मिक पर्यटनको गन्तव्य पनि बनेको छ । काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इन्जिन जडान गरेर बनाइएका स्टिमरमा चढ्दा पानी जहाजकै झल्को आउने तनहुँको बन्दीपुरबाट घुम्न पुगेका निकेश श्रेष्ठले अनुभव सुनाउनुभयो । “स्टिमर चढ्दा सानो पानी जहाजको झmभल्को आउँदो रहेछ”, उहाँले भन्नुभयो, “जलयातायातको अनुभवका लागि यो महत्त्वपूर्ण बनेपनि टाढाबाट आउनेका लागि सञ्चालनमा आए नआएको थाहा नहुँदा समस्या पर्ने रहेछ ।” जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट विसं २०६२ मा स्वीकृति लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको हो । विगतमा १२ वटासम्म साना तथा ठूला स्टिमर निरन्तर सञ्चालन आएपनि अहिले भने तीनवटा मात्र सञ्चालनमा छन् । सुपरभाइजर क्षेत्रीका अनुसार शिला शालिग्रामसम्मको दुईतर्फी यात्राका लागि ४०० रुपैयाँ निर्धारण गरिएको छ । मिर्मीदेखि सेतीबेनीसम्म एकतर्फी पुग्न ३० देखि ४५ मिनेट जलयात्राको समय लाग्ने उहाँले बताउनुभयो । कालीगण्डकी जलयातायात समग्र गण्डकी प्रदेशका लागि महत्त्वपूर्ण पर्यटकीय गतिविधि बन्ने भएकाले यसलाई थप व्यवस्थित गर्नुपर्ने देखिएको भ्रमणका क्रममा पुग्नुभएका नवीन टोल विकास संस्था पोखरा–३२ का अध्यक्ष पुष्पराज शर्मा पौडेलले बताउनुभयो । “जल यातायातको राम्रो प्रवर्द्धन गर्न सकेमा यो महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयो, “जलाशयसम्म पुग्नका लागि बाटो लगायतका पूर्वाधारलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ ।” सिद्धार्थ राजमार्गको गल्याङस्थित जिरो किलोमिटरबाट १७ किलोमिटर दूरीमा यातायातका साधनमार्फत जलाशय पुग्न सकिन्छ ।
काठमाडौं: ब्राजिलका महान् फुटबलर पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिने भएको छ । ८२ वर्षीय पेलेको गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । अन्तिम संस्कार अघि पेलेको पार्थिव शरीरलाई सोमबारदेखि अन्तिम श्रद्धाञ्जली दिन ब्राजिलको साओ पाउलोस्थित सान्तोस क्लबको रङ्गशालामा राखिएको छ । पेलेले दुई दसकभन्दा बढी समय सान्तोस क्लबबाट खेल्नुभएको थियो । २४ घण्टाको श्रद्धाञ्जली सभापछि पेलेको अन्तिम संस्कार गरिने बताइएको छ । पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो पनि साउपाउलो पुग्नुभएको छ । श्रद्धाञ्जली कार्यक्रममा इन्फान्टिनोले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताउनुभयो । उहाँले फिफाका हरेक सदस्य राष्ट्रले पेलेको सम्मानमा कम्तीमा एउटा रङ्गशालाको नाम पेलेको नामबाट राख्न आग्रह समेत गर्नुभएको छ । पेलेको वास्तविक नाम एड्सन अरान्तेस दो नासिमेन्तो हो । पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ प्रशंसकहरू दुई घण्टा बढी लाइनमा बसेर सान्तोस रङ्गशाला पुगेका थिए । पेलेको अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाको पनि सहभागिता रहने छ । तीन पटक फिफा विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १८५८, १९६२ र १९७० को विश्व कप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गर्नुभएको छ । पेलेले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गर्नुभएको छ । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । रोयटर्स

