पोखराः पोखरा महानगरपालिका १६ माथिल्लो दीपमा करेन्ट लागेर श्रम गुरुङको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ दीपमा आज बिहान ९ः३० बजेको समयमा दुई तलाको घरको छतमा करेन्ट लागेर १९ वर्षीय गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । घरको छतमा नजिकैको हाईटेन्सन लाइनको करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचार लागि मणिपाल शिक्षण अस्पताल पु¥याइए पनि १० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नुपरेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन । विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहालले पेन्सन खुवाउन नसकिएको बताए । विश्वविद्यालयले गत आर्थिक वर्षमा रु २८ अर्ब बजेट विश्वविद्यालय सभाबाट पारित गरेको थियो भने सरकारले रु नौ अर्ब बजेट दिएको उनले जानकारी दिए । विश्वविद्यालयले रु १० अर्ब तलब र भत्ता तथा रु चार अर्ब पेन्सनमा खर्च गर्दै आएको रजिष्ट्रार दाहालले बताए । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा।धर्मकान्त बास्कोटाले विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको दरबन्दी रहेकोमा सरकारले १३ हजार जनाका लागि मात्रै तलब भत्ता पठाउने गरेको बताए । कार्यक्रममा पूर्व उपकुलपतिहरू प्राडा तीर्थराज खनियाँ र केदारभक्त माथेमा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतका वक्ताले विश्वविद्यालयले समयअनुसार परिमार्जन गर्न नसकेको धारणा राखे । विश्वविद्यालयले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा विद्यार्थीहरु उच्च शिक्षाका लागि बिदेसिन बाध्य भएको उनीहरूको भनाइ थियो । सम्मेलनले एशोसिएशनको नयाँ कार्य समिति चयन गर्नेछ । कार्यक्रममा ग्लोबल आइएमइ बैंकले डिजिटल बैंकिङसम्बन्धी कक्षासमेत सञ्चालन गरेको थियो । सम्मेलनमा एसोसिएसनका महासचिव प्राडा ऋदिशकुमार पोखरेलले संगठनका गतिविधि समेटिएको प्रतिवेदन तथा कोषाध्यक्ष डा कुश्मिला आचार्यले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पोखराः आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा संकटा क्लब र भुटनिज युथ एससी अमेरिका उपाधीका लागि भिड्ने भएका छन् । पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा भुटनिज युथ एससी अमेरिकाले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो । संकटाले साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । दश खेलाडीमा सिमित चर्च ब्वाइजविरुद्ध भुटनिज युथले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको छ । रोजित प्रजापतिले भुटनिज टोलीका लागि गोल गरेका थिए । आशिष चौधरीले रातो कार्ड पाउँदै मैदान छाडेपछि चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । पहिलो खेलमा भुटनिज युथले मनाङ मस्याङ्दी क्लबलाई हराएको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गरेको छ । आज (बिहीबार) प्रदेश कार्यालयले प्रेस विज्ञप्ति निकाल्दै पौष २५ गते अपरान्हको ४ बजे सम्म दावी पेश गर्नको लागि आह्रवान गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा९१० बमोजिम कुनै पनि दलको स्पष्ट बहुत प्राप्त नभएकोले संविधान २०७२ धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्य मन्त्री नियुक्ती गरिने छ ।’
धनगढी: आफूलाई बैङ्क तथा वित्तीय संस्थाको हाकिम बताउँदै कैलाली, कञ्चनपुरमा ठगी गर्दै आएका नटवरलाल भनिने ३५ वर्षीय पदमराज भट्टलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। दार्चुलाको लेकम गाउँपालिका–१ का भट्टलाई वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरेको हो। सशस्त्र प्रहरीका भगौडासमेत रहेका उनले डर, त्रास देखाएर ठगी गर्दै आएका थिए। यसैगरी, विभिन्न प्रलोभन देखाएर ललाई फकाई महिलाको अश्लील भिडियो बनाउने र उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए। उनी यसअघि पनि विभिन्न अपराधमा कारागार बसिसकेका व्यक्ति हुन्। नटवरलाल भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँले भट्टबाट ठगिएका पीडितलाई प्रमाणसहित जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आउनसमेत अनुरोध गर्नु भएको छ।
गोरखा: नेपाली सेनाल गोरखादेखि काठमाडौंसम्मको पद यात्रा सुरु गरेको छ । गोरखाका राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सेनाले पदयात्रा सुरु गरेको हो । बिहीवार एक कार्यक्रमका बीच गोरखा दरवारको हनुमान भञ्याङ चौताराबाट पदयात्रा सुरु गरेको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए । यो पदयात्रालाई सेनाले एकीकरण पदयात्रा नाम दिएको छ । उपसेनानी बम बोगटीको नेतृत्वमा ३० जनाको टोली यात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वी नारायण शाहले तत्कालिन समयमा खडा गरेका नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको गणपती विष्टले जानकारी दिए । उनका अनुसार गोरखा दरवारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुदै काठमाडौ पुग्ने छ । ‘यो टोली गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुदै बोर्लाङघघाट पुगेर धादिङको शिवदल गणलाई टर्च र झण्डा बुझाएर फर्कन्छ’ विष्टले भने । त्यसपछि धादिङको टोलीले नुवाकोटमा टर्च र झण्डा जबरजंग गणलाई बुझाउछ र नुवाकोटले काठमाडौको कालीध्वज गणलाई बुझाउँछ । काठमाडौंको टोलीले २६ पुसमा बालाजु बाइपासमा रहेको सार्दुलजंग गुल्ममा टर्च र झण्डा हस्तान्तरण गर्ने छ । उक्त टर्च र झण्डा हेडक्वार्टर हुदै २७ पुसमा हनुमान ढोका लगिने छ । पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वद्र्धन र प्रवद्र्धन गर्ने नेपाली सेनाको कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको गणपति बिष्टले बताए । राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न केही बर्षदेखि पदयात्राले निरन्तरता पाउँदै आएको उनले जानकारी दिए । पदयात्रामा सहभागी टोलीलाई बिहीबार एक कार्यक्रमका बीच टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ । नेपाली सेनाका पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दीपककुमार वानियाँले उपसेनानी बम बोगटीलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै पृतनापति बानियाँले राष्ट्रिय एकताको सन्देशसँगै पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ पदयात्रा गरिएको बताए । गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले इतिहास संरक्षणका लागि सेनाले सुरु गरेको पदयात्रा महत्वपूर्ण रहेको बताए । यस कार्यमा नगरपालिकाले पनि साथ दिदै आएको बताउदै उनले थपे, ‘पर्यटन प्रवद्र्धनका लागि यही पुस २७ बाट ठुलोआँगनमा पृथ्वीनारायण शाहकालीन पोशाकमा नेपाली सेनाको परेड पनि सुरु हुन्छ ।’ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एकीकरण मार्ग प्रवद्र्धनका लागि सुरु गरिएको पदयात्राको प्रशंसा गरे । इतिहास संरक्षणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै उनले निरन्तरताका लागि सबैको सहयोग आवश्यक पर्ने धारणा राखे । नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटाले पदमार्गमा पर्ने पाटी, पौवा एवं चौताराहरुको संरक्षण गर्नुपर्ने बताए ।
वालिङ: वडा प्रहरी कार्यालय वालिङबाट सोमबार भागेका बलात्कारका आरोपि एकलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका– ७ का २४ वर्षीय रमेश क्षेत्री प्रहरीलाई लडाएर भागेका थिए । क्षेत्रीलाई वालिङ नगरपालिका –४ को जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएकोे वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । क्षेत्रीलाई स्याङ्जाका एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो । जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका क्षेत्रीलाई जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ लैजाने क्रममा कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीरबहादुर सुनार लडेर घाइते हुनुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको उनले बताए ।
पोखराः पृथ्वीनारायण क्याम्पस र पोखराको एक पराजुली परिवारले दावी गरिरहेको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा पुनः चर्चामा आएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पुलसेक्टर पोखरा कास्कीको चलानी नम्बर १५४ को पत्रानुसार पोखरा १ र ११ जोड्ने जग्गा विवादित जग्गामा बन्ने भएपछि पुनः चर्चामा आएको हो । पृथ्वीनारायण क्याम्पसमा माथिल्लो तहरा ४२८–१३–१ रोपनी जग्गा क्याम्पसमा नाम दर्ता छ भने तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गामा रत्नाखर पराजुली परिवारले दावी गर्दै आएको छ । क्याम्पस प्रशासनले विवादित जग्गामा पुल बनाएर भुमाफियाहरुले जग्गा कब्जा गर्न खोजेको भन्दै पुल निर्माण तत्काल रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा र जिल्ला प्रशासन कार्यालय कास्कीमा निवदेन समेत दिएको छ । क्याम्पसको तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा भने २०३२ सालको नापी फिल्ड बुकमा ‘त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पसको दाबी’ उल्लेख भई कित्ताकाट भएको र उक्त जग्गा क्याम्पसको नाममा दर्ता हुने क्रममा रहेको क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले बताए । ‘क्याम्पसको विकासको विरोधी होइन, पुल आवश्यक भए क्याम्पसको जग्गाबाट बनाउन आग्रह गरिएको हो, क्याम्पस प्रमुख कोइरालाले भने, विवादित जग्गाबाट पुल निर्माण गरेर केही व्यक्तिहरुलाई लाभ पुग्ने उद्धेश्यले निर्माण कार्य अगाडी बढाएकोमा आपत्ति हो ।’ क्याम्पस प्रशासनले विवादित जग्गाबाट नभई क्याम्पसको केही भुभागबाट पुल निर्माण गर्न अनुरोध गरेको क्याम्पस प्रमुख कोइरालाको भनाई छ । क्याम्पसले त्यस जग्गामा वृक्षारोपण, तारबार तथा टेण्डर गरी घाँस विक्री गर्दै आएको छ ।

