म्याग्दी: हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारको सडक शनिबार पखालिएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अगुवाइमा बेनी नगरपालिका–७ र ८ नम्बर वडा पर्ने बजार क्षेत्र पखालिएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा पुस २८ देखि माघ ७ गतेसम्म हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को पूर्वसन्ध्यामा बजार सरसफाइस्वरुप बजार क्षेत्रको धुलो पखालिएको नगरप्रमुख केसीको भनाइ छ । सुन्दर नगरी बेनी बजारको सुन्दरतालाई अझै मजबुत बनाउन बजार क्षेत्रमा सरसफाइ गरिएको उहाँले बताउनुभयो । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको जमघट म्याग्दीमा हुने र बेनी नगरपालिका क्षेत्रमै बढी बसाइ हुने हुँदा पनि बजारको सुन्दरतालाई ध्यान दिइनु आफूहरूको दायित्व रहेको उहाँले जानकारी दिनुभयो । वि.सं. २०६० मा पहिलो पटक भएको महोत्सव त्यसपछि २०६३, २०६५, २०६८, २०७१ र २०७४ मा भएको र अहिले सातौँ पटक आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उद्योग व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौँ भन्ने नारासाथ आयोजना गर्न लागिएको महोत्सवको तयारीस्वरुप बेनी नगरपालिकाले दमकल उपलब्ध गराएर बजार पखाल्ने काम भएको उहाँको भनाइ छ । नगरपालिकाको सहयोगमा नगरप्रमुख केसीले नै बजार सरसफाइमा खटेर पर्यटन प्रवर्द्धन गर्ने तथा पाहुनाको सत्कारमा नगरपालिका कति जिम्मेवार तबरले लागेको छ भन्ने उदाहरण नगरप्रमुखले पेस गर्नुभएको म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । पुस २७ देखि हुने म्याग्दी महोत्सवमा एक लाख ११ हजार एक सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको खुल्ला लोकदोहोरी गीत प्रतियोगिता हुँदैछ । त्यस्तै गण्डकी प्रदेश भित्रका स्थानीय तह स्तरको पुरुष भलिबल एवम् खुल्ला महिला भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, महिला पुरुष छेलो, महिला पुरुष लाठो तान्ने प्रतियोगिता एवम् मौलिक रत्यौली प्रतियोगिताको पनि आयोजना गरिएको म्याग्दी महोत्सवका मूल संयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कटुवालले बताउनुभयो ।
बारा: तराईमा शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि बारा, पर्सा र रौतहटलगायतका जिल्लामा अधिकांश सामुदायिक तथा निजी विद्यालयमा बिदा दिइएको छ । चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित हुन थालेको तथा बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विभिन्न जिल्लाका पालिकाहरूले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् । यता चिसोको बिदालाई एउटा सामुदायिक विद्यालयले बिद्यार्थीहरुको जिउ, ज्यानको डर नमानी चार दिनको बिदालाई सदुपयोग गर्दै (टुर) भ्रमणमा निस्केका छन् । तराईका जिल्ला भन्दा पहाडमा गर्मीको महसुश हुने गरेको भ्रमणमा गएका कलैया उपमहानगरपालिका–१३ स्थित रहेका नेपाल राष्ट्रिय आधारभूत विद्यालय बलिरामपुरका प्रधानाध्यापक अवधकिशोर गिरीले बताउनुभयो । यातायात, बास, खाना, खाजा बापत प्रति विद्यार्थी एक हजार ५ सय रकम उठाउँदा ८४ हजार भएको र बाँकी रकम करिब ८० हजार विद्यालयबाट खर्चमा व्योहोरिने छ । कक्षा ७ र ८ का ५६ जना छात्रछात्रा तथा ८ जना शिक्षक र अन्य सहयोगी गरी ६८ जना एउटै बसमा सवार भई चार दिनको बिदामा पोखरा, मनकामना, सौराहा, देवघाटलगायतका ठाउँमा भ्रमणमा निस्केको उहाँले जानकारी दिनुभयो । कठ्याग्रिदो चिसोबाट बाँच्न बिना काम घर बाहिर ननिस्कन चिकित्सक तथा मौसम विभागले पटक पटक आग्रह गरे पनि त्यसको प्रवाह नगरी प्रधानाध्यापक गिरीले बिद्यार्थीहरुलाई उचालेर भ्रमणमा गएको कार्य अहिले उचित नभएको वडा अध्यक्ष राजेश महथा खत्रीले बताउनुभयो । एउटै गाडीमा सिट सङ्ख्या भन्दा दोब्बर सवार भई चिसोमा किन भ्रमण गएको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोरिक यादव र प्रधानाध्यापक गिरीले जवाफ दिने हो, वडाध्यक्ष खत्रीले बताउनुभयो । कलैया उपमहानगरपालिकामा ७२ वटा सामुदायिक तथा ३४ वटा निजी विद्यालयमा समेत जाडो बिदा दिइएको छ । जाडोमा के, कसले के गरी रहेको बारेमा अभिभावकहरूले पनि जानी राख्नु विषय रहेको छ । सबैको जिम्मेवारी मैले एक्लै गरेर पनि सम्भव हुन नसक्ने कुरा रहेको शिक्षा शाखा संयोजक प्रह्लाद वर्णवालले भन्नुभयो । चिसो बिदामा बालबालिकालाई केही नहोस् भनी बिदा गरिएको छ, कोठा वा घरभित्र पठनपाठनमा समस्या सिर्जना हुने, तर, खुल्ला आकाश मुनी टुर, भ्रमण गर्न बच्चालाई पैसा दिने र घुम्दा केही नहुने यस्ता गैर जिम्मेवारी पूर्ण कार्यमा अभिभावकहरूले सहयोग गर्ने गरेका उहाँले बताउनुभयो । भ्रमणको जानकारी मलाई थाहा नभएको तथा जानकारी आएमा मैले स्वीकृत नगर्ने थिए । अब, कसरी सो विद्यालयका प्रधानाध्यापक गिरीले साना साना बालबालिकालाई पहाडको भ्रमण गर्न निस्केका हुन, उसैले जवाफ दिने हो, हुन त, निजी विद्यालयहरूले पनि पालिका प्रमुखको केही कमीकमजोरीका कारण पालिकाको आदेश अटेर गर्दै आएका शिक्षा संयोजक वर्णवालले भन्नुभयो ।
वालिङ: विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आउनुभएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आउनुभएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन हुनुहुन्छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीकी ६६ वर्षीया अर्यालले गाउँको नजिकै पोखरीचौरमा रहेको महेन्द्र देववाणी आधारभूत विद्यालयमा शिक्षिकाको रुपमा २९ वर्ष सेवा गर्नुभयो । शिक्षण पेसाबाट अवकाश हुनुभएकी अर्यालको अहिलेको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ । विद्यालयमा जसरी बालबालिकालाई माया गरेर शिक्षा दिइयो त्यसरी नै सुन्तलाका बोटलाई स्याहारसुसार नियमित गरेकै कारण पनि आम्दानीको मुख्य स्रोतको रुपमा सुन्तला भएको उहाँ बताउनुहुन्छ । घरको आँगन, डिल तथा आसपासका बारी तथा कान्लामा सुन्तला लटरम्म फलेका छन् । घर वरिपरि रहेको सुन्तला बगैँचा पहेँलपुर छ । झट्ट हेर्दा जोकोही पनि मन आनन्दित र प्रफुल्लित हुने गर्छ । विगत वर्षको तुलनामा यस वर्ष सुन्तला अत्यधिक फलेकाले पनि बोटले फल धान्न नसकेर हाँगा लाछिएका छन् । केही बोटलाई एक दुई वटा टेका दिइएको छ । सुन्तला पाक्न थालेसँगै बर्सेनि यहाँ व्यापारी बगैँचा नै ठेक्का लिन आउने गरेका छन् । यस वर्ष पनि उहाँले ठेक्कामार्फत रु चार लाखको सुन्तला बिक्री गरिसक्नुभएको छ । बाँकी सुन्तला अहिले बोटबाट नै फुटकररुपमा बिक्री भइरहेको छ । पुतलीबजारको जैँसीडाँडामा शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका सुन्तला उत्पादक किसानले सुन्तला भण्डारण गर्ने गरेका छन् । अहिले प्रतिकेजी रु ९० देखि सयमा बिक्री हुँदै आएको सुन्तलाको मूल्य बढी पार्न शीतभण्डारमा राख्ने चलन बढ्दै गएको छ । अर्यालको सुन्तला बगैँचामा उत्पादन भएको सुन्तला स्थानीय बजारसहित पोखरा, काठमाडौँ, बुटवललगायतका बजारमा बिक्री हुँदै आएको छ । सुन्तलाको मूल्य बढी पार्न अहिले शीतभण्डारमा सुन्तला उहाँले राखिसक्नुभएको छ । “अहिले फुटकरमा प्रतिकेजी रु ९० देखि सयमा सुन्तला बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “दुई महिनापछि शीतभण्डारबाट झिकेर सुन्तला बिक्री गर्दा प्रतिकेजी झण्डै रु दुई सय पर्छ ।” सुरुका वर्षमा सुन्तलाका बोट नै कम भएकाले उत्पादन थोरै भयो । आम्दानी पनि थोरै भयो । केही वर्षदेखि निरन्तर सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी हुँदै आएको अर्याल दाबी गर्नुहुन्छ । सुन्तलाका नयाँ बोट थपिएकाले आगामी वर्षबाट उत्पादन बढ्नेछ । अनि आम्दानी पनि स्वभाविक बढ्ने विश्वासमा उहाँ हुनुहुन्छ । विसं २०४२ मा दुई सुन्तलाका बोट रोपेको सम्झना उहाँलाई छ । परीक्षणका लागि रोपेका बोटले केही वर्षपछि राम्रो उत्पादन दिन सुरु गरेपछि उहाँ व्यावसायिकरुपमा अगाडि बढ्नुभयो । “सुरुमा रोपेका दुई वटा बोटबाट राम्रो उत्पादन भएपछि सुन्तलाको सम्भावना देखेर बर्सेनि बोट थप्दै सुन्तला बगैँचा विस्तार गर्दै गएँ”, उहाँले भन्नुभयो, “अहिले सुन्तला बगैँचामा दुई हजार बढी सुन्तलाका बोट छन् जसमध्ये आधा बोटमा सुन्तला फलिरहेका छन् । आधा बोट नयाँ छन् ।” अर्यालले अझै दुई सय नयाँ बोट लगाउन तयारी गर्नुभएको छ । कूल ३६ रोपनी क्षेत्रफलमा अहिले सुन्तला बगैँचा फैलिएको छ ।
काठमाडौँ: यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ९०० ले मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ रहेको महासंघले जनाएको छ । यो साता पहिलो कारोबार दिनदेखि नै बढ्न थालेको सुन सोमबार स्थिर रहेर लगातार ४ दिनसम्म बढेको थियो । आइतबार र सोमबार तोलामा १ लाख १ हजार ७०० रहेको सुनको मूल्य मंगलबार ९०० र बुधबार २०० ले बढेको थियो । यस्तै, बिहीबार पनि २०० ले बढेर तोलामा १ लाख ३ हजा १०० पुगेको सुन शुक्रबार केही घट्दै रोकिएको हो । यसैगरी, यो साता चाँदीको मूल्य भने घटेको छ । महासंघले गत सातको शुक्रबारको तुलनामा यो साताको शुक्रबार मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार घटेर १३ सय ६५ रुपैयाँमा आइपुगेको छ ।
धनगढी: कैलालीमा कपडा पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ को पच्चीस घर बजारमा स्थानीय लक्ष्मण चौधरीले सञ्चालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले शनिबार राति २ बजे चौधरीले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा दुई वटा कोठा, पसलमा रहेका लत्ता, कपडासहितका सामान जलेर नष्ट भएको बताए । इलाका प्रहरी कार्यालय बहुलियाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताए । आगलागीको कारण नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक: नक्कली अमेरिकी डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । बाह्रबिसे नगरपालिका–३ का २१ वर्षीय सोमबहादुर डुम्जन, २३ वर्षीय दिवस डुम्जन, बाह्रबिसे नपा–४ का २३ वर्षीय वर्षीय शेरबहादुर तामाङ र त्रिपुरा सुन्दरी गाउँपालिकाका २८ वर्षीय देवा डुम्जनलाई अमेरिकी डलर देखाएर ठगी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । ठगीमा संलग्न एक जना भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ रुपियाँ अमेरिकी डलर, ६ हजार २१० नेपाली रुपियाँ, ८ बन्डल कागजको नक्कली नोट, पाँच थान मोबाइल, ३ थान गुलेली बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर तथा सङ्गठित अपराध सम्बन्धित कसुर मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दी: म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहु घाट नदीमा निर्माणाधीन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ । तुण्डी पावर कम्पनीले दुई वर्षअघि ३७.५ मेगावाट क्षमताको राहु घाट मंगले र यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहु घाट जलविद्युत आयोजनाको निर्माण थालेको थियो । दुवै आयोजना निर्माणलाई कम्पनीले एकसाथ अगाडी बढाएको छ । आयोजना स्थल भौगोलिक रूपमा विकट मानिएको रघुगंगा गाउँपालिका ७ चिम खोलामा पर्दछ । भीर पहरा फुटालेर आयोजना स्थलसम्म पहुँच मार्ग निर्माण पश्चात् दुवै आयोजनाको काम धमाधम अघि बढेको छ । कम्पनीले आयोजनाको सुरुङ,बाँध स्थलमा हेडवक्र्सका संरचना र विद्युत गृहको निर्माणलाई तीव्रता दिएको तुण्डी पावर कम्पनीका इन्जिनियर इन्द्र ढकालले जानकारी दिनुभयो । दुवै आयोजनामा एक हजार जना दक्ष जनशक्ति र उपकरणहरू परिचालन गरेर निर्माण कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । भौगोलिक रूपमा विकट क्षेत्रमा आयोजना निर्माण गर्दा समस्या र चुनौती भए पनि लक्ष्य अनुसार निर्माण कार्य सन्तोषजनक रहेको उहाँको भनाई छ । राहु घाट मङ्गलेको पाँच हजार तिन सय मिटर सुरुङ मध्य अहिले सम्म दुई हजार चार सय मिटर सुरुङ खन्ने काम सकिएको छ । ‘दुई वटा अडिटबाट सुरुङ खन्ने काम भएको छ,कम्पनीका इन्जिनियर ढकालले भन्नुभयो ‘अबको ११ महिनाभित्र सुरुङ ब्रेकथ्रु गर्ने लक्ष्य राखेका छौँ ।’ वडा नम्बर ८ कुइनेमंगले र ७ नम्बर वडा चिम खोलाको सिमाना बन्दी घाटमा आयोजनाको बाँध स्थल रहेको छ । चिम खोलाको बगर खोलाको दोभान मलाङमा रहेको विद्युतगृहको निर्माणका लागि जग खन्ने काम थालिएको आयोजनाले जनाएको छ । समग्र रूपमा आयोजनाको अहिलेसम्म ४४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर ढकालले बताउनुभयो । आगामी ३० महिनाभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको उहाँको भनाई छ । यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहु घाट जलविद्युत आयोजनाको निर्माणलाई पनि सँगसँगै अगाडि बढाइएको उहाँको भनाई छ । ६ हजार तिन सय मिटर लामो सुरुङ मध्य तिन हजार एक सय मिटर सुरुङ खन्ने काम सकिएको हाई हिमालय कन्स्ट्रक्सन इन्जिनियर जीवन लामाले बताउनुभयो । दुई वटा अडिटबाट सुरुङ खन्ने काम भइरहेको उहाँको भनाई छ । राहु घाट मङ्गलेको विद्युतगृहबाट निस्केको पानीलाई सिधै यो आयोजनाको सुरुङमा हालेर दग्नामको पुछारमा रहेको विद्युतगृहमा पानीलाई ३६२ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने छ । दग्नामको पुछारमा रहेको विद्युतगृह निर्माणका लागि कात्तिक देखि पहरा कटान थालिएको छ । आगामी दुई महिना भित्रमा पहरा कटान सकेपछि विद्युतगृहका संरचना निर्माण थालिने निर्माण कम्पनी हाइ हिमालय कन्स्ट्रक्सन साइड इन्चार्ज भुवनाथ अधिकारीले बताउनुभयो । विद्युतगृह निर्माणका लागि क्रसर प्लान्ट निर्माण,दुई वटा एक्स्काभेटर लगायतका उपकरण र जनशक्ति परिचालन गरिएको छ । यो आयोजनाको अहिले सम्म ३७ प्रतिशत भौतिक प्रगति भएको तुण्डी पावर कम्पनीका इन्जिनियर ढकालले बताउनुभयो । आगामी तिन वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने कम्पनीले लक्ष्य राखेको छ । दुवै आयोजना निर्माणका लागि आयोजना प्रवर्द्धक कम्पनीले रामेछाप शेर्पा कन्स्ट्रक्सन,हाई हिमालय हाइड्रो कम्पनी र साउथ एसियन इन्फास्ट्रक्चरसँग ठेक्का सम्झौता गरेको छ । दुवै आयोजनाको अनुमानित कुल लागत करिब ७ अर्ब रहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभीए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाले मौवा फाँट–दग्नाम–दर्मीजा–चिम खोला हुँदै बाँध निर्माण स्थलसम्म दुई वर्ष अघि पहुँच मार्ग निर्माण गरेको थियो ।
बागलुङ: बागलुङको गलकोट नगरपालिका–३, हटियाको समपोखरामा रहेको समपोखरा ताल सुन्दर छ तर यहाँ दर्शक आकर्षित छैनन्। हटिया बजारदेखि करिब सात किलोमिटरमाथिको समथर ठाउँ समपोखरामा रहेको ताल प्रचारप्रसार र संरक्षणको अभाव छ। यस क्षेत्रमा पानीका मुहानको प्रमुख स्रोत समपोखरा ताल हो। पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटकीय महत्व बोकेको तालको संरक्षण तथा प्रचारप्रसार हुन सकेको छैन। संरक्षण गर्न नसक्दा ताल पुरिएर विगतको क्षेत्रफल घट्दै जान थालेको स्थानीय जयबहादुर दर्जीले बताउनुभयो। ताल ५० मिटर लम्बाइ र १५ मिटर चौडाइ क्षेत्रमा फैलिएको छ। विगतमा उक्त ताल अझै ठूलो क्षेत्रमा फैलिएको थियो। बर्खाको भेलले ल्याउने माटो ढुङ्गाले तालको गहिराइ पनि पुरिएको दर्जीले बताउनुभयो। उहाँले भन्नुभयो, “पहिले–पहिले तालले एक मान्छे डुब्याउँथ्यो, अहिले भल जति सबै यसमा पर्दा कम्मरसम्म पानी आउँछ।” समपोखरा ताल तल्लो बस्तीका लागि पानी मूलको रिचार्ज सेन्टर (पुनर्भरण केन्द्र) हो। तालमा पानी कम हुँदा ताल तल रहेका पानीका मूल सुक्ने तथा पानी कम आउने गरेको स्थानीय सन्तबहादुर खत्रीको भनाइ छ। ताल समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा छ। समपोखरा वरपरको जङ्गलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो हो। गलकोट मन्दिरदेखि दुई किलोमिटरको दूरीमा रहेको ताल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएको गलकोट नगरपालिका–३ का वडाध्यक्ष फमबहादुर खत्रीले बताउनुभयो। तालको मौलिकता नमासिने तथा मूलमा क्षति नपुग्ने गरी त्यसको क्षेत्रफल वृद्धि तथा संरक्षणका लागि आवश्यक संरचना तयारको योजना बनाएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो। उक्त तालमा पानीको स्रोत तालभित्रैकै मूल हुन्। “यो प्रकृतिको अनुपन उपहार हो,” वडाध्यक्ष खत्रीले भन्नुभयो, “कृत्रिम तालमा रमाउने पर्यटकलाई प्राकृतिक ताल देखाउने योजना छ। राज्यले प्राकृतिक सम्पदाको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ। यस क्षेत्रमा माओवादी सशस्त्र द्वन्द्व सुरु हुनुपूर्व चैतेदशैँमा ठूलो मेला लाग्ने गरेको थियो। द्वन्द्वको समयमा रोकिएको मेला अहिलेसम्म सुरु गर्न नसकिएको खत्रीले बताउनुहुन्छ। समपोखरा ताल पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना छ। परापूर्वकालमा यस क्षेत्रमा देवीदेवताको आश्रयस्थल रहेको स्थानीय बताउँछन्।
गलकोट: भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो । दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा पठनपाठन गराइएको भने हैन । कक्षाकोठा अभावका कारण जनता प्राथमिक विद्यालयका विद्यार्थीले खुला आकाशमुनि पठनपाठन गर्न बाध्य छन् । बाढी पहिरोका कारण केही पर काफ्ले भन्ने स्थानमा रहेको विद्यालय भवन भत्किएपछि दुई वर्षअघि सार्वजनिक चौरमा विद्यालय सारिएको थियो । दुई वर्षदेखि अस्थायी छाप्रोमा समस्याका बीच पठनपाठन भइरहेको विद्यालयको केही कक्षा खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी श्रीसले जानकारी दिनुभयो । “तीन वर्षअघि भिरालो जग्गामा भएको विद्यालय पहिरोको जोखिममा पर्यो, विद्यालयको चार कोठे भवन भासिएर पढाउनै सकिएन, पहिरोको समस्याले दुई वर्षदेखि विद्यालय नजिकैको सार्वजनिक चौरमा अस्थायी छाप्रोसहित पठनपाठन गर्न थालिएको हो, साघुँरा टिनको छाप्रोमा पढाउन निकै समस्या छ”, प्रधानाध्यापक श्रीषले भन्नुभयो, “अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे विद्यालय भवन बनाउन अस्थायी छाप्रोको केही भाग हटाएपछि तीन वटा कक्षाका विद्यार्थीलाई प्राङ्गणमै पठनपाठन गराइन्छ । दुई वटा कक्षाका विद्यार्थीलाई अस्थायी टहरामै पठनपाठन गराइन्छ ।” विद्यालयमा १ देखि ५ कक्षासम्म ३१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षाकोठाको अभाव भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तत्कालका लागि दुई वटा पक्की कक्षा कोठा बनाइने र अर्को वर्ष थप दुई कक्षा कोठा माग गरिएको छ । कक्षाकोठा बन्न समय लाग्ने भएपछि अझै एक वर्ष विद्यालयमा विद्यार्थीलाई पठनपाठन गराउन समस्या भइरहने विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष पदम छन्त्यालले बताउनुभयो । “यो वर्ष दुई वटा कक्षा कोठा निर्माण हुन्छन्, थोरै विद्यार्थी भएकाले कक्षाकोठालाई बाँडेर पढाउन सकिन्छ तर त्यो असारसम्म बनिसक्नेछ । त्यसबेलासम्म पुन अस्थायी छाप्रोमा विद्यार्थीलाई राखिन्छ”, छन्त्यालले भन्नुभयो “विद्यार्थीलाई खुला आकाशमुनि पढाउनु हाम्रो रहर हैन, तत्कालै अस्थायी छाप्रो सार्नका लागि प्राङ्गणमा पढाइएको हो, पक्की भवन बन्ने स्थान खाली भएपछि अस्थायी छाप्रो अन्यत्रै बनाइन्छ ।” छन्त्यालका अनुसार विद्यालयको भौतिक अवस्था नाजुक हुँदै गएपछि विद्यार्थीको सङ्ख्यामा समेत क्रमशः कमी हुँदै आएको छ । विद्यालयमा पक्की शौचालय निर्माण भइसकेको र शुद्ध खानेपानीको व्यवस्थापन भइसकेको छ । जाडो याममा प्राङ्ग्रणमा घाम ताप्दै पठनपाठन गराउन सहज भए पनि बर्खाको समयमा समस्या भएको विद्यालयका शिक्षक थम्मन श्रीषले बताउनुभयो । ठूलो पानी पर्दा अस्थायी टहरामै पानी पस्ने हुँदा पठनपाठन प्रभावित हुने गरेको छ । संयुक्त कक्षा सञ्चालन गर्न विद्यालय बाध्य भएको शिक्षक श्रीसले बताउनुभयो । विद्यालयको समस्या समाधानका लागि पक्की भवन निर्माण गर्न राष्ट्रपति शैक्षिक सुधारमार्फत बजेट आएर काम थाल्न लागिएको बताउँदै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले भवन बनेपछि कक्षा कोठाको अभाव टर्ने बताउनुभयो ।

