पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

काठमाडौं: सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजारले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले बढेर प्रतितोला एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ।  

चितवन:  देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोको समयमा पनि खुलाइने भएको छ । आउँदो शनिवार ३० गते र माघ १ गते दुई दिन दिउँसोको समयमा सडक खुला गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यो दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उहाँले जानकारी दिनुभयो । अहिले यो सडक खण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन पुग्ने गर्दछन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ । गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उहाँले बताउनुभयो । देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ । वेणीमा वारपार गर्न २२ वटा र्‍याफ्टिङको व्यवस्था गरिएको छ । दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई त्यही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ । समितिले एक सय ५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ । मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ । विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन् । गाडीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ । देवघाट जानेहरूलाई रामनगर हुँदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ । दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ ।पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ । मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

पोखरा:  कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा लेखनाथ पौडेल, उपाध्यक्षमा रामचन्द्र तिमिल्सीना, महासचिवमा चोक बहादुर गुरुङ, सचिवमा पूर्ण बहादुर थापा र कोषाध्यक्षमा सुदर्शन बाटाजुलाई सर्वसम्मत चयन भएका छन् ।  एसोसिएसनको सदस्यहरूमा रजनी चापागाईँ, ममता गुरुङ, दीपेन्द्रराज आचार्य, मीनराज तिमिल्सीना, नारायण प्रसाद अधिकारी चयन भएका छन् । शनिवार नै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले रोशन आचार्य र वीरेन्द्र आचार्यलाई सदस्यमा मनोनीत गरेको छ भने, बाबुलाल अग्रवाल र विकास भालोटियालाई आमन्त्रित सदस्यमा चयन गर्ने निर्णय समेत गरेको छ ।  यसअघि एसोसिएसनको २१ औँ साधारण सभा एवं ११ औँ अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसायीका समस्याहरू प्रति आफू जानकार रहेको बताए  । पोखरा महानगरपालिकाले यसअघि रहेको करको दरलाई घटाएको र व्यवसायमैत्री नीतिहरूको अवलम्बन गरेको उनले बताए । उनले भने, ‘व्यवसायीका समस्याहरू प्रति म जानकार नै छु, त्यस हिसाबले पनि यहाँलाई थाहा नै होला, हामीले सम्पत्ति कर घटाएका छौँ, व्यवसाय कर घटाएका छौँ, विज्ञापन कर खारेज गरेका छौँ, पार्किङ शुल्क खारेज गरेका छौँ, यद्यपि पार्किङ विषयमा थप व्यवस्थापन गर्न बाँकी छ ।’  महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने व्यवसायीतक समस्याहरूको समाधानका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । ‘हामीले अर्को ठुलो काम पनि गरेका छौँ, घर बहाल करको दरमा धेरै घटाइएको छ, १५ प्रतिशतबाट व्यक्तिको हकमा ४ प्रतिशत र व्यवसायीको हकमा ५ प्रतिशतमा घटाइएका छौँ । प्रमुख आचार्यले भने, ४ प्रतिशतमा झर्दा पनि घरधनीहरूले तिर्दैनन् भने त्यो कारबाहीका लागि योग्य हुन्छ ।’ घर बहालमा बस्नेले नै तिर्नु पर्ने अवस्थाको अन्त्यका लागि पोखरा महानगरपालिका सचेत रहेको उनले बताए । घर बहालका सम्बन्धमा दुई थरी खाता राख्ने प्रवृत्तिको अन्त्य जरुरी रहेको उनले बताए ।  कार्यक्रममा मादी गाउँपालिका वडा नं।४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य सुदि ओझा, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष यमनाथ तिमिल्सीना र साँघु मुख महेन्द्र पुल बजार समितिका अध्यक्ष नवराज कोइराला लगायतले बोलेका थिए ।  रजत उत्सव समेत मनाएको एसोसिएसनले सो अवसरमा विभिन्न सम्मानहरू समेत प्रदान गरेको छ । पुराना व्यवसायी सम्मान सिलसिला इम्पोरियमका प्रोप्राइटर ध्रुव बाटाजु, महिला उद्यमी सम्मान रजनी चापागाईँ र कपडा पत्रकारिता पुरस्कार युवा पत्रकार भीम थापालाई प्रदान गरिएको छ । एक दशक लामो समयदेखि पोखराको पत्रकारितामा क्रियाशील पत्रकार थापालाई नगद रु।११ हजार १ सय ११ सहित सम्मान पत्र र दोसल्ला प्रदान गरिएको हो ।  एसोसिएसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोला, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष नवीन नापित र सञ्चालन महासचिव धर्ममान सिंह भण्डारीले गरेका थिए ।   

पोखरा:  पोखरा महानगरपालिका वडा नं १९ ले वडा भित्रका दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेका परिवारलाई जग्गा धनी दर्ताको निस्शा वितरण शुरु गरेको छ। राष्ट्रिय भुमि आयोगको निर्देशिको अनुसुची ६को प्रयोजनको लागि  सुकुम्बासी समस्या समाधान आयोगको सिफारिस अनुसार त्यस वडाका ३ सय ८ परिवारलाई निस्सा वितरण शुरु गरिएको वडा सचिव श्रीराम पौडेलले जानकारी दिनुभयो। वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रमकाबीच वडाध्यक्ष पुष्पेन्द् पाण्डेले निस्सा वितरण कार्यको थालनी गर्नुभएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले सरकारले शुरु गरेको अभियानलाई सार्थक बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले पोखरा १९ मा कोही पनि भुमि हिन हुनुपर्ने अवस्था नआउने गरी आफुहरुले काम गर्ने बताउनुभयो। कार्यक्रममा एमाले पोखरा १९ का सचिव विकास गौतम, नेपाली कांग्रेसका विष्णु प्रसाद बास्तोला, वडा कार्यालयका सुर्य बहादुर नेपाली , वडा सदस्य दुर्गा देवी बस्नेत, विकास आचार्य, वडा सदस्य कल्पना सुनार लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव श्रीराम पौडेलले गर्नुभएको थियो। उक्त वडामा ३०८ जना भुमि हिन  दलित, भुमि हिन सुकुम्बासी,  र अव्यवस्थित बसोबास गरेका छन्। कार्यक्रममा निस्सा प्राप्त गरेकाले अव छिट्टै जग्गा धनी प्रमाण पुर्जा पाउने विस्वास व्यक्त गरेका छन्।

पोखरा:  अम्विका भागवत् फाउण्डेशन नेपालको तेस्रो साधारण सभा तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमको उद्घाटन गर्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थालाई दिगो बनाउँनका लागि साधनस्रोत, अर्थ र जनशक्ति आवश्यकता रहेको बताउनुभयो । उहाँले फाउण्डेशनेले छोटो समयमा महत्वपूर्ण कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । साथै संस्थालाई सफल बनाउनका लागि तन, मन, बचन र कर्मले लागि पर्नुपर्नेमा उहाँको जोड थियो । फाउण्डेशनले गर्दै आएको शान्ति मावि जुम्लेटीको कार्यक्रममा नेलम्बो नेपालले सहकार्य गर्ने घोषण समेत उहाँले गर्नुभयो ।  कार्यक्रममा मानार्थ सदस्यबाट सम्मानित व्यक्तित्व कुसुमकेशब पराजुलीले संस्थाले गरेका कामको खुलेर प्रशंसा गर्नुभयो । उहाँले संस्थासँग सहकार्य गरेर कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सहकार्य गरेर कार्यक्रम गर्न सकिने बताउनुभयो । संस्थाका संरक्षक अम्विका नेपाल, रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, डाँफे मनास्लु कृषि फार्मका अध्यक्ष दावा कुमार लामा, संस्थाका उपाध्यक्ष अम्विका भण्डारी, बाल सदस्य निश्चल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।  फाउण्डेशनका अध्यक्ष भागवत् नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव देवी श्रेष्ठ गर्नुभएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव देवी श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधवी नेपाल प्रस्तुत गर्नुभएको थियो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्थाले शान्ति मावि जुम्लेटी, आनन्द ज्योती मावि बेगनास र वह्म ज्योति आधारभूत विद्यालय भरतपोखरी गरी १ सय २२ जना विद्यार्थीलाई अध्ययनका लागि सहायत गर्दै आएको छ ।  

काठमाडौंः   काठमाडौंमा आज (आइतबार)देखि शुरु भएको सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विगागीय क्लब नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्  (राखेप)को कभर्डहलमा आज(आइतबार) भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले नयाँ बजार समाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।  पुलिसले २५–१०, २५–६ र २५–८ को सोझो सेटमा नयाँ बजार सामाजिक युवा क्लबलाई पराजित गरेको हो । जितसँगै समुह ‘ए’मा पुलिसले ३ अंक जोडेको छ, नेपाल पुलिस क्लबकी उषा भण्डारी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । यो समूहमा पुलिससँगै होङग्वान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब र नयाँ बजार रहेको छ ।   यस्तै आज नै भएको दोस्रो खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा त्रिभुवन आर्मी क्लबले कृष्ण सेकेन्डरी एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।  आर्मीले कृष्णमाथि २५–३, २५–५ र २५–१० को सेटमा पराजित गरेको हो । आर्मीकी सृष्टि खड्गी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् ।  पहिलो जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मीसँगै एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेन्डरी एकेडेमी रहेको छ । आज पुरुषतर्फ नेपाल पुलिस क्लब र न्युटन भलिबल एकेडेमी तथा त्रिभुवन आर्मी क्लब र दावाली मिलान क्लबबीच प्रतिस्पर्धा हुँदैछ । माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फ (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।  

काठमाडौं:  कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ । निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।

म्याग्दी:   गाउँघरमा हिजोआज नौमती बाजा लोप हुँदै जान थालेकाले सरोकारवालाहरूलाई चिन्तित तुल्याएको छ। अहिले धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा बिरलै देख्न सकिन्छ। पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा कला लोप हुन थालेको छ। प्रायःजसो पुरुषले मात्र बजाउने नौमती बाजा अहिले महिलाले पनि बजाउन थालेपछि बाजाको महत्व बढेको छ।   बेनी नगरपालिका–४ स्थित राक्सेका आमाहरूले बजाउने नौमती बाजा गाउँघरमा लोकप्रिय हुन थालेको छ। सो समूहका महिला नौमती बाजाका वाद्यवादन कर्नाल, सहनाई, नरसिङ्गा, झ्याली, मादल, दमाहा, ट्याम्को, ढोलकी सबै आफैँले बोक्छन्, आफैँले बजाउँछन्। यो समूहमा २५ देखि ५५ वर्षसम्मका महिला आबद्ध छन्। गाउँघरमा हुने विवाह, व्रतबन्धलगायतका कार्यमा उनै आमाहरू वाद्यवादनका सामग्री बोकेर पुग्छन्।  विवाह, व्रतबन्ध, धार्मिक कार्य र विभिन्न सभा समारोहमा प्रयोग गरिने नौमती बाजाको संरक्षणमा यहाँका आमाहरू जुट्न थालेका छन्। परम्परागत नौमती बाजा संरक्षणका साथै आमाहरूले राम्रो आम्दानीको स्रोत पनि बन्न थालेको छ।  नौमती बाजा बजाउन तीन वर्षअघि एक महिनाको तालिम लिएपछि आमाहरूले नौमती बाजा बजाउन पोख्त भएका हुन्। आमाहरूले नौमती बाजा संरक्षणका लागि नवजागरण आमा समूह गठन गरेका छन्। समाजमा हुने विवाह, व्रतबन्ध तथा धार्मिक कार्य र बेनीमा आयोजना हुने विभिन्न कार्यक्रममा  आमाहरूको नौमती बाजा नै पहिलो प्राथमिकतामा पर्छ। “सुरु–सुरुमा कर्नाल फुक्न कठिन थियो,” नौमती बाजा समूहकी माया शर्माले भन्नुभयो, “अहिले त राम्रोसँग कर्नाल फुक्न सक्ने भएकी छु। कर्नल फुक्न थालेपछि आजभोलि गाउँघरमा कर्नाले आमाको पहिचान बनेको छ।” विष्णु रसाइलीले नरसिङ्गा बजाउनुहुन्छ भने रुक्सना रुचाल ट्याम्को बजाउन सिपालु हुनुहुन्छ।  “बजाउँदा बजाउँदै अहिले त सिपालु भएको छु,” ट्याम्को बजाउने रुक्सनाले भन्नुभयो, “बाजामा नाच्नेहरूले लामो ताल लगाउँदा अलि कठिन हुन्छ। छोटो–छोटो तालमा त सजिलै बजाउन सक्ने भएकी छु।” “नौमती बाजा हाम्रो परम्परागत कला र संस्कृति हो, यसको संरक्षणमा पुरुषले चासो नदेखाएपछि हामी महिला जुटेका हौँ,” विष्णु रसाइलीले भन्नुभयो, “सिजनका समयमा भ्याइनभ्याइ हुन्छ। सबैतिरबाट माग आउने गर्छ।”  तीन वर्षअघि वडा कार्यालयले आमाहरूलाई एक महिने नौमती बाजासम्बन्धी तालिम दिएको थियो। तालिम पाएपछि आमाहरू अहिले नौमती बाजा बजाउन सिपालु भएका छन्। म्याग्दीमा मात्र होइन, आमाहरू बाजा बोकेर छिमेकी जिल्ला पर्वत, बागलुङ र ठूला सहर पोखराका साथै राजधानीसम्म पुग्ने गरेका छन्।  “विवाह, व्रतबन्ध र चौरासी पूजाको सिजनमा म्याग्दीका साथै ठूला सहरबाट पनि माग आउन थालेको छ,” नवजागरण आमाकी अध्यक्ष लक्ष्मी खत्रीले भन्नुभयो, “समाजमा नौमती बाजा लोप हुँदै जान थालेकाले हाम्रो पुरानो कला र संस्कृतिको संरक्षणमा आमाहरू जुटेका हौँ। समूहमा १० जना महिला छौँ, सबै जना बजाउन सक्ने भएका छौँ। हाम्रो बाजा बजाउने सीप देखेर टाढा–टाढाबाट पनि माग आउने गरेको छ।” हाम्रो यो अभियानमा घरपरिवारबाट पनि साथ सहयोग मिलेको छ, उहाँ बताउनुहुन्छ।  “जिल्लाभित्र १५ देखि २० हजारसम्म र बाहिर जानु परे ३० देखि ४० हजार रुपियाँसम्म समूहले दररेट तोकेको छ,” आमा समूहकी अध्यक्ष खत्रीले भन्नुभयो, “बाजा बजाएबापतको आधा रकम कोषमा राख्छौँ र आधा समूहका सदस्यले बाढेर लिने गरेका छौँ।” कोषमा जम्मा भएको रकम बाजा मर्मत सम्भार र नयाँ खरिद गर्न प्रयोग गरिने खत्रीको भनाइ छ।   

बागलुङ:  बागलुङको जैमिनी नगरपालिकाका तीनवटा वडाको संगमस्थल माईकोस्थान मन्दिर क्षेत्र हो। जैमिनी नगरपालिका वडा नं.–१० राङखानी, वडा नं.–४ सर्कुवा र वडा नं.–७ जैदीको माथिल्लो भागमा अवस्थित माईकोस्थान मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ।  माईकोस्थान मन्दिरदेखि करिब दुई किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत तथा गढी भवन संरक्षणको अभावमा भताभुङ्ग भएको छ। तत्कालीन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाका लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रूपमा परिणत भएको हो।  तत्कालीन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्राम स्थल, रानीको शयन कक्ष तथा पूजास्थल, चौपारी, सेनाले पहरादिने संरचना कतै पूर्ण रूपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको सर्कुवाका स्थानीय नरवीर थापाले बताउनुभयो।  त्यो समयमा सत्रु पक्षबाट बच्नका लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेष मात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ। तोपको नाल र पछाडिको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिनुभयो। माईकोस्थान क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालीन सेनाले निर्माण गरेका बङ्करहरू केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन्। सेनाले ओतका लागि निर्माण गरेका सत्तलको भग्नावशेष देख्न सकिने सचिव थापाको भनाइ छ। ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक सामग्रीहरू मासिँदै गएका छन्। हातहतियार चोरी भएको छ। “कोत क्षेत्र ऐतिहासिक स्थल हो,” सचिव थापाले भन्नुभयो, “अहिले एउटा तोप मात्रै बाँकी छ। तोप संरक्षण पनि चुनौती पूर्ण भयो।” तोपको पाङ्ग्रा र त्यसलाई बाँधिने साङ्लाहरू छैनन्। बाहिर प्रदर्शन गरेर राख्दा चोरी हुने डर भएपछि मन्दिर बनाएर राखिएको सचिव थापाको भनाइ छ। राजाले दरबार वरिपरि खेती गर्दै आएको जग्गामा कालोपाती, ऐँसेलुलगायतका बिरुवाको झाडी बनेको छ। दरबार, चौपारी जीर्ण भएका छन्।  सो दरबार क्षेत्रदेखि करिब एक सय मिटर पूर्वपट्टी रानीले घाम ताप्दै कपाल कोर्न निर्माण गरेको सत्तल जसलाई स्थानीय रानीले कपाल कोर्ने ढुङ्गाको नामले पहिचान गर्छन् त्यो संरचना पनि आधा भत्किएको थापाले बताउनुभयो।  उक्त ढुङ्गामा करिब पाँच जना आरामसँग बस्न मिल्ने छ। आफ्नो क्षेत्रमा अतिनै महìवपूर्ण ऐतिहासिक पूर्वाधार भए पनि त्यसको संरक्षण र प्रचारप्रसार अभावले गर्दा ओझेलमा परेको थापाको भनाइ छ। राज्यले ऐतिहासिक गढीको संरक्षण गरेर पर्यटन विकासमा ध्यान दिनुपर्ने थापाको जोड छ।  तीन वर्षअघि गण्डकी प्रदेश सरकारले साढे छ लाख रुपियाँ र वडा कार्यालयको दुई लाख रुपियाँ सहयोगमा सडक मार्गदेखि कोत भवन पुग्ने पक्की पदमार्ग र कोत क्षेत्रको तारबार गरेको थियो। कोतमा बडादशैँ र चैतदशैँमा विशेप पूजा हुन्छ।  अझै पनि खानेपानी, तारबार, झाडी सफा, पहुँचमार्ग विस्तार, ऐतिहासिक गढी संरचनाको पुनर्निर्माण तथा उत्थानको काम बाँकी छन्। गढी क्षेत्रको संरक्षण, पुनर्निर्माण, उत्थानका लागि राज्यले विशेष ध्यान दिन सके पर्यटन विकास हुनुका साथै इतिहासको अध्ययन स्थलका रूपमा विकास हुने स्थानीय जनप्रतिनिधि चक्रबहादुर थापाले बताउनुभयो।