काठमाडौं: नर्थ क्यारोलाइना, अमेरिका । कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा निकै पर शुक्रवार अर्कै राज्यमा समाएको थियो । सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ । सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी आउँदा लामिछानेको मृत्यु भइसकेको जनाइएको छ । चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ ।
पोखराः सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न गठित समितिमा उपप्रधानमन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङ सदस्य छन् ।
पोखराः सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । निर्धारित समयमा २–२ को बराबरीको खेलमा अतिरिक्त समयको अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि भ्रमणकारी टोली भुटनिज युथ एससी अमेरिकालाई ३–२ ले हराउँदै संकटाले दोस्रो पटक उपाधि जितेको हो । अतिरिक्त समयको २७ औं मिनेटमा दुई विदेशी खेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनिलले गोल गर्दै संकटालाई जित दिलाएका हुन् । मेसुके ओलामाउ अघि बढाएको बललाई स्टेफन बिनोङले निकालेको पासमा सुनिलले गोल गरेका हुन् । सुनिल यहि सिजन लिग च्याम्पियन मछिन्द्र एफसी छाडेर संकटामा आबद्ध भएका थिए । पोखरा रंगशालामा त्यसअघि निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । संकटाले पहिलो हाफमै लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा खेल अतिरिक्तमा धकेलिएको हो । ३५ औं मिनेट भित्रमै संकटाले २ गोलको अग्रता बनाएको थियो सुरज ज्यू ठकुरीले आठौं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएका थिए । निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पुजन थापामगरले रोकेका थिए । तर त्यहि बल रिबाउन्ड हुँदा सुरजले गोल गरेका हुन् । विदेशी मेसुके ओलामोउले ३५ औं मिनेटमा गोल गर्दै संकटाको अग्रतालाई दोब्बर पारेका थिए । कप्तान सुनिल बलको कर्नरमा मेसुकेले गोल गरेका थिए । त्यसको दुई मिनेट पछि (३७ औं मिनेट) मा रेने सान्टिलोनले गोल गर्दै भुटनिज युथलाई खेलमा फर्काएका थिए । विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक मोडमा लगेका थिए । सहारा क्लब पोखराको आयोजित प्रतियोगिताको विजेताले संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६ लाख रुपैयाँ प्राप्त गरेको छ। सुनिल बने सर्वोत्कृष्ट खेलाडी संकटा क्लबका कप्तान सुनिल बल आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । सर्वोत्कृष्ट खेलाडी घोषित सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले उनलाई स्कुटरको साचो हस्तान्तरण गरेका थिए । व्यक्तिगत अवार्डमा पनि विजेता संकटाकै खेलाडीको दबदबा रह्यो । टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयुष घलान उत्कृष्ट मिडफिल्डर, स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड, मेसुके ओलेमोउ उच्चकर्ता र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए । भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्ट रक्षक घोषित भए । धरान एफसी फेयर प्ले टोली चुनियो ।
काठमाडौं: काठमाडौं नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हराएपछि काठमाडौंं प्लेअफमा पुगेको हो । काठमार्डौं तालिकाको चौथो स्थानमा रह्यो । हारसँगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । फार वेस्ट यसअघिनै बाहिरि सकेको थियो । फार वेस्टले दिएको एक सय ८८ रनको विजय लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४६ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान उपुल थरंगाले ३६ रन बनाउनुभयो । प्रतिश जिशीले ३४, सिद्धान्त लोहनीले २८ र सुमित महर्जनले १४ बनाउनुभयो । बलिङमा फार वेस्टका लागि दुर्गेश गुप्ता र कप्तान हशमतुल्लाह शाहिदीले दुई दुई विकेट लिनुभयो । करण केसी र प्रकाश जैशीले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो । फार वेस्टका कप्तान शाहिदीले ६७ रन बनाउनुभयो । विनोद भण्डारीले ५९, राशिद खानले १४ र करण केसीले अविजित ११ रन बनाउनुभयो । बलिङ पोखराका लागि अभिमन्यु मिथुनले दुई तथा प्रतिश जिशीले एक विकेट लिनुभयो । यससँगै लिगको प्लेअफ समिकरण पूरा भएको छ । लुम्बिनी अल स्टार, जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सले यसअघिनै प्लेअफमा स्थान बनाईसकेका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
काठमाडौं: बुटवलको बेलबासमा एक जनाको हत्या भएको छ। स्थानीय केही युवाहरूको समूहले आक्रमण गर्दा स्थानीय ५५ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल बुटवल–१३ जितगढी नागरिक टोलका हुन्। केही दिनयता उत्पन्न घरायसी विवादले उग्र रूप लिँदा यमप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका दुई छोराहरू दिवस र दिपेश घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा शुक्रबार साँझ यमप्रसादको घर गई ५र७ जनाको समूहले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका यमप्रसादको बेलबासस्थित एडमण्ड सिटी अस्पतालमा मृत्यु भएको हो। घरायसी विवादपछि बिहीबार दिपेशले प्रहरीमा मौखिक उजुरी दिएका र घरमै मिल्ने भनेपछि निवेदन फिर्ता गरेका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले शुक्रबार छलफल गर्ने भन्दै घरमा पुगेको ५र७ जनाको समूह एक्कासि कुटपिटमा उत्रिएपछि घटना भएको बताए। उक्त समूहको आक्रमणबाट बेहोस भएका यमप्रसादलाई तत्काल अस्पताल पुर्याइएको थियो। लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरिएको थियो। प्रहरी नायब उपरीक्षक थापाले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको र संलग्न अरूको खोजी भइरहेको जानकारी दिए।
काठमाडौं: नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले भगवान राजकुमार स्मृति पुरस्कार लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई प्रदान गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । यस्तै शाखाले पत्रकार प्रवीणराज जोशीलाई अग्रज पत्रकार सम्मानसहित नगद ५ हजार रुपैयाँ प्रदान गरेको छ । मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट नविना खबुर्जा श्रेष्ठ र क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट कविता थापा पुरस्कृत भएका छन् । उनीहरुले जनही २५ सय रुपैयाँ पाएका छन् । पुरस्कृत चारै जना पत्रकारलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमाणपत्र र नगद प्रदान गरे । सो अवसरमा पत्रकार महासंघ भक्तपुर शाखाले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका १४ जना सदस्यलाई सम्मान गरेको थियो ।
स्याङ्जा: स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता गरेको साढे आठ वर्षमा पुल निर्माण भएको हो । तीन वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्नेगरी नयाँ बाटो, रुबिना, मना जेबीले २०७१ साल असार १० गते ठेक्का सम्झौता गरेका थिए । निर्माण कम्पनीले नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन श्रीमहल पुलचोकसँग पुलको ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलले स्याङ्जाको कालिगण्डकी –१ कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका –१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका –१ रिडी जोडेको छ । देशकै पहिलो र नयाँ पुल भएकाले डिजाइन गर्न, काम सम्पन्न गर्न समय लागेको निर्माण व्यवसायी महेन्द्र अधिकारीले बताउनुभयो । पुल निर्माण कार्य ढिलाइ हुँदा यहाँका नागरिक निराश बने पनि निर्माण सम्पन्न भएपछि अहिले हर्षित बनेको गाउँपालिका वडा १ का वडा अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । पुल निर्माण सँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको बताउँदै लामिछानेले सोलार बत्तिका कारण दिनमाभन्दा रातमा पुल राम्रो मनोरम देखिएको बताउनुभयो । थाहा पाउने जोकोही तीनमुखे झोलुङे पुलमा आउनेगरेको बताउँदै लामिछानेले दैनिक संयौले फोटो खिच्ने र सेल्फि खिच्नेगरेको उहाँले बताउनुभयो । कालिगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर तीन जिल्लाको मध्य भागको दुरीमा बनाइएको छ । पुलको मध्यभागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न ५९.१३ मिटरको दूरी पार गर्नुपर्छ । मध्यभागबाट तीन तिरबाटै जोड्दा पिलर १७७.४ मिटर रहेको छ । मुख्य पिलर जमिनमुनी १६ मिटर वेल फाउण्डेन गरी थप १२ मिटरमा वाकवे निर्माण गरिएको छ । वाकवेबाट २५.२३ मिटरको उचाइको टावरमा लठठा कसिएको छ र एक मिटर १५० सेमीमा ढलान गरी रेलिङ राखिएको छ । रेलिङ हेर्न र हिँड्नको लागि नभई सोलार प्रयोजनका लागि बनाइएको छ ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बस चढेर पाटन पुग्नुभएको छ । शनिबार राष्ट्रपति भवनबाट साझा बसमा चढेर राष्ट्रपति भण्डारी त्यहाँस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि पाटन पुग्नुभएको हो ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले तीन नमुना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नमुना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो । कामपाले चालु आवमा नमुना विद्यालयको लागि रु एक करोड बजेट विनियोजन गरेको थियो । विशेष गरी नमुना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश हुनुपर्छ । तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले उक्त रकम कुन शीर्षकमा खर्च गर्ने भनी तयार पारेको प्रस्ताव कामपामा बुझाइ सकेका छन् । अब प्रस्तावअनुसार काम भयो भएन भने कामपाले अनुगमन गर्नेछ । कामपाका नमुना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाको बारेमा पठनपाठन गराइने तयारी छ । नमुना विद्यालयअन्तर्गत कन्या माध्यमिक विद्यालयमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्ने भन्नेबारे अध्ययन गराइन्छ । त्यसैगरी संस्कृत विद्यालयमा सहरी खेती कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ । जुन हाम्रो दैनिक जीवनमा उपयोगी हुनसक्छ । सहरमा प्रशस्त खुला स्थान छैन थोरै ठाउँमा पनि कसरी कृषि कार्य गर्न सकिन्छ भन्ने बारे सिकाइन्छ । त्यस्तै, भानु माविमा भने कला र संस्कृतिको विषयमा पठनपाठन गर्ने तयारी रहेको छ । पछिल्लो समय कलाको आवश्यकता यसको संरक्षणजस्ता विषय यसमा समावेश हुनेछन् । जसको लागि ललितकलासँग समन्वय गरेर अघि बढ्ने तयारी कामपाको रहेको छ । हाल कामपामा ८९ वटा सामुदायिक विद्यालय छन् । जसमा ५९ माध्यमिक विद्यालय छन् भने ३० प्राथमिक विद्यालय छन् जसमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

