पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

 सुर्खेत:  सुर्खेत वीरेन्द्रनगरको मध्यभागमा अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्दथ्यो । त्यसयता घडीका सुई घुम्दैनन् । वीरेन्द्रनगरको पहिचानका रूपमा रहेको घण्टाघरको चारवटै घडी बिग्रिएका छन् । कुनै पनि घडीले समयको जनाउ दिँदैनन् । मर्मतमा कसैले ध्यान नदिँदा मिठो धुनसँगै समयको जनाउँ दिने यी घडी अहिले चल्दैनन् । बाह्र वर्षअघि घण्टाघरका घडीमा टिङटिङ टिङटिङ आवाज आउँथ्यो । सोही आवाज सुनेर कति बज्यो भनेर थाहा पाउँथे । बाटो हिँड्ने बटुवा, घण्टाघर हेर्न पुगेका पर्यटक र स्थानीयले समय सहजै थाहा पाउँथे तर घण्टाघरको चार दिशामा रहेका चार घडीका सुईले १२ वर्षदेखि कहिल्यै समय फेरेका छैनन् । घडी सधैँ स्थिर छन्, सुई जाम भएर समय सधैँ उही देखाइरहेका छन् । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । घण्टाघर रहेको स्थानमा उद्यान छ । घण्टाघरको माथिबाट वीरेन्द्रनगर उपत्यकाको ९० प्रतिशतभू–भाग दृश्यावलोकन गर्न सकिन्छ । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल बिताइसके । उहाँहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सक्नुभएन । यसपटकको स्थानीयतह निर्वाचनमा पनि मतदाताले ‘घण्टाघरको सुई कहिले घुम्छ ?’ उम्मेदवारसँग प्रश्न गरेकै हुन् । विसं २०४५ मा चीन सरकारको सहयोगमा घण्टाघर निर्माण गरी जडान गरिएका चार वटा घडी बिग्रिएको वर्षौैं भएको छ । प्रदेशमुकाम रहेको वीरेन्द्रनगर नगरपालिका–६, मा रहेको घण्टाघरका घडीले समय देखाउन छाडेपछि अहिले पर्यटकीय स्तम्भका रुपमा रहेको घण्टाघरकै पहिचान हराउन थालेको ६५ वर्षीय बेदुराम केसीले बताउनुभयो । वीरेन्द्रनगर उपत्यकाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेको घण्टाघरको सुई बन्द हुँदा घण्टाघरकै पहिचान सकिन थालेको बताउँदै उहाँले भन्नुभयो, “नाम घण्टाघर भएर के गर्ने, घडीको सुई सर्दै सर्दैनन् । घडीमा टिङटिङ आवाज बजे कम्तीमा कति बज्यो भनेर आन्दाज त हुन्थ्यो । अहिले मोबाइलको जमाना भए पनि घडीको महत्व छुट्टै छ ।” वीरेन्द्रनगर नगरपालिका–६, का ७१ वर्षीय लालवीर चपाईले पहिले साक्षर नभएका मानिसका लागि घण्टाघरका घडीको महत्व छुट्टै रहेको बताउनुभयो । “घण्टाघरमा प्रत्येक घण्टामा धुन बज्थ्यो र घडीको सुई घुमेको थाहा हुन्थ्यो । घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिने अवस्थामा पुगेको थियो । नयाँ घडी राख्ने कुरा सुनेको छु”, उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँको काँक्रेविहार, देउतीबज्यै र बुलबुलेपछि घण्टाघर नै पर्यटकीय गन्तव्य हो । “उतिबेला सबैले घडी किनेर लगाउन सक्दैन्थे । पहिला घडीको घण्टीले समयको अड्कल दिन्थ्यो, अहिले दिन र रात भन्ने मात्र आँकलन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “घण्टाघरको घडीको ध्वनिले कुनै बेला बेग्लै आनन्द दिन्थ्यो ।” अहिले सबैको हातहातमा घडी छन् । समय हेर्न मोबाइल फोनलगायत अन्य साधन पनि छन् तर घण्टाघरको समय हेर्दाको सम्झना गर्ने पनि उत्तिकै छन् । वीरेन्द्रनगर–१३ लामीडाँडाका छविलाल सार्कीले पहिले घण्टाघरका घडी राम्रोसँग चले पनि लामो समयदेखि सबै घडी बन्द रहेको बताउनुभयो । “दिउँसो १२ बजे ठूलो धुुन सुनिन्थ्यो, अनिमात्र हामीले १२ बज्यो भनेर थाहा पाउँथ्यौँ”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “बाटोमा हिँड्ने बटुवाले पनि घडीको धुन सुनेर कति बज्यो भन्ने थाहा पाउँथे ।” घण्टाघरको संरक्षण गर्ने जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि हालसम्म संरक्षणमा उचित ध्यान नदिँदा अस्तित्व नै सङ्कटमा परेको उहाँले बताउनुभयो । मजदुरी गर्नेका लागि पनि घण्टाघरको सुई र घण्टी महत्वपूर्ण रहेको वीरेन्द्रनगर–६ कै बास्मती भण्डारीले बताउनुभयो । “घण्टाघरले काम जाने र फर्कने समयको ख्याल हुन्थ्यो”, उहाँले भन्नुभयो, “घण्टाघरको सुई चल्दासम्म सुर्खेत बजारभरि आवाज सुनिन्थ्यो ।” विसं २०७७ मा परेको चट्याङले घण्टाघरको संरचनामा क्षतिसमेत पु¥याएको छ । भेरी नदीमा पक्की पुल निर्माण सकिएपछि त्यहाँ बचेको निर्माण सामग्रीबाट चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यभागमा घण्टाघर बनाइदिएको हो । घण्टाघर निर्माणपछि यहाँका पर्यटकीय गतिविधिले समेत फड्को मारेको केसीले बताउनुभयो । नगरवासीले पटकपटक घण्टाघरका घडी चलायमान गराउनुपर्ने माग राख्दै आएका थिए । त्यसो त घण्टाघर घुम्न आउने सयौँ पर्यटकलाई त्यहाँ रहेका चारवटा घडीले कहिल्यै सही समय देखाएनन् । घण्टाघर हेर्न आउने सयौँ पर्यटक टावरमा चढेर सुर्खेत उपत्यका नियाल्दै खिन्न भएर प्रश्न गर्छन्, “यति राम्रो उपत्यका नियाल्न शिर चढाउने घण्टाघरका सुईले कहिले चल्लान् र सही समय देखाउँलान् ?” नगरवासीले राख्दै आएको उक्त माग भने अब पूरा हुने चरणमा देखिएको सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घकै पहलमा वीरेन्द्रनगर नगरपालिकाले रु १२ लाखको लागतमा पुराना घडी हटाएर नयाँ घडी जडानको काम गरिरहेको छ । घडी जडान भएपछि घण्टाघरका घडीले १२ वर्षपछि अब सही समय दिनेमा नगरवासी ढुक्क छन् । पुराना घडी मर्मतसम्भार हुन नसकेपछि विदेशबाट नयाँ घडी मगाएर जडान कार्य सुरु भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले नयाँ घडी जडान गर्न प्राविधिक टोलीले घण्टाघरका पुराना घडीलाई विस्थापित गरी नयाँ जडान गर्ने तयारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत तिवारीले नयाँ घडी जडान गर्नका लागि प्राविधिक टोलीले तीव्रताका साथ काम गरिरहेको जानकारी दिनुभयो । घण्टाघरमा राखिने चारवटा घडी भारतबाट ल्याइएको र विश्वकै सबैभन्दा राम्रो कम्पनी अमेरिकन टेक्नोलोजीका घडी भएको पनि उहाँको दाबी छ । वीरेन्द्रनगर उपत्यकाकै एक प्रमुख विशेषताका रुपमा रहेको घण्टाघर सुर्खेत जिल्लाको प्रमुख पर्यटकीयस्थल मात्र नभई कर्णाली प्रदेशकै पहिचानका रूपमा विकास गर्न सकिने स्थानीय बताउँछन् । पर्यटकीय गन्तव्यका रुपमा रहेको घण्टाघर उद्यान यहाँ घुम्न आउनेका लागि पहिलो गन्तव्यका रुपमा समेत रहेको छ ।

निकै चर्को राजनीतिक सरगर्मीबीच प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग्रेजी नयाँ वर्षको शुभसाइत पारेर निकै उल्लासपूर्ण माहोलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्नुभएको छ। तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा उत्साहित हुँदै उहाँले ठूला परियोजनामा लगानी गर्न चीनसँग आग्रहसमेत गर्नुभयो। नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनको उपस्थिति रहेको समारोहमा प्रचण्डले नेपालमा चीनको लगानी बढाएर नेपालीको समृद्धिको आकाङ्क्षा पूरा गर्ने विश्‍वास व्यक्त गर्नुभयो। चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसारको डिजाइनमा निर्माण गरिएकाले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्किएको र नेपालको राष्ट्रिय गौरवको प्रतीक भएको बताउनुभयो। उहाँले घुमाउरो गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईकै एक परियोजना भएकोसमेत भन्न भ्याउनुभयो। चिनियाँ कार्यवाहक राजदूतले सन् २०२३ बीआरआई परियोजनाको एक दशक भएको र दुई राष्ट्रप्रमुखको निर्देशनमा बीआरआई सहकार्यलाई फलदायी नतिजामा पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। विमानस्थल उद्घाटनको अघिल्लो दिन चिनियाँ दूतावासले ट्विट गर्दै ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना’ भएको दाबी गरेको थियो। चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआईअन्तर्गतको परियोजना भएको बताएको यो पहिलो पटक हो। यसअघि पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गतको परियोजना भएको बताइएको थिएन। प्रचण्ड प्रधानमन्त्री बनेसँगै चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआईअन्तर्गतको परियोजना भन्‍नु संयोग मात्र मान्‍न सकिँदैन। जस्तो संयोग– ‘नेकपा एमालेको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बनेसँगै लामो समयदेखि बन्द रहेका चिनियाँ नाका खुल्‍नु र केरुङ–काठमाडौँ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली नेपालमा आउनु’ रहेका छन्। नेपाल–चीनबीच बीआरआईसम्बन्धी सम्झौता हुनुभन्दा तीन वर्षपहिले सम्झौता भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कसरी बीआरआईअन्तर्गतको परियोजना हुन्छ भन्‍ने प्रश्‍न उठिरहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच २२ मे २०१४ (८ जेठ २०७१)मा विमानस्थल निर्माणसम्बन्धी ठेक्का सम्झौता भयो। त्यसको करिब दुई वर्षपछि २१ मार्च २०१६ (८ चैत २०७२)मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल र चिनियाँ सरकारको एक्जिम बैङ्कबीच २१ करोड ५९ लाख अमेरिकी डलरमा सम्झौता भयो। ५ जुन २०१६ (२३ जेठ २०७३)मा नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच अनुदान सम्झौता भयो। एक्जिम बैङ्कले ३१ मे २०१७ (१७ जेठ २०७४)बाट ऋण प्रवाह थालेपछि ११ जुलाई २०१७ (२७ असार २०७४)बाट पोखरा विमानस्थलमा निर्माणको काम थालियो। नेपाल–चीनबीच १२ मे २०१७ मा बीआरआईसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो। बीआरआई सम्झौता हुनुअघि नै सबै प्रक्रिया पूरा गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कसरी बीआरआईअन्तर्गतको परियोजना हुनसक्छ ? के चिनियाँ लगानीमा बनिरहेका सबै परियोजना बीआरआईअन्तर्गतकै परियोजना हुन् ? नेपाल–चीनले बीआरआईअन्तर्गत छुट्याएका नौ परियोजनाको सूचीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छैन। अर्कोतर्फ बीआरआईसम्बन्धी मूल सम्झौता भने अझै गोप्य नै राखिएको छ।  एकातर्फ चीनले पोखरा विमानस्थललाई बीआरआईअन्तर्गतको परियोजना भनेको छ भने अर्कोतर्फ यसको सञ्‍चालनको विषयलाई लिएर श्रीलङ्काको होम्बनटोटा बन्दरगाहसँग तुलना गर्दै सेतो हात्तीको सङ्ज्ञा दिइएको छ। आठ महिनाअघि तामझामसहित सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग हाल एउटा पनि अन्तर्राष्ट्रिय उडान तालिका छैन। यसरी देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले काम नपाइरहेको समयमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल कसरी सञ्‍चालन हुन्छ र यसले कहिले चिनियाँ ऋण चुक्ता गर्न सकिन्छ भन्दै प्रश्‍न उठ्न थालेका छन्। चिनियाँ ऋण लगानीमा बनेको श्रीलङ्काको होम्बनटोटा बन्दरगाह घाटामा गएर ऋण लगानी भुक्तानी गर्न नसकेपछि ९९ वर्षका लागि चिनियाँ कम्पनीले भाडामा लिइरहेको छ। यस्तै अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने त होइन भन्दै संशय पैदा भएका छन्। होम्बनटोटा बन्दरगाहको वास्तविकता  श्रीलङ्काको दक्षिणी क्षेत्रमा पर्ने होम्बनटोटा सहरनजिकै बनाइएको कोलम्बोपछिको दोस्रो ठूलो बन्दरगाह हो। विश्‍वको २५औँ व्यस्त बन्दरगाहमा पर्ने कोलम्बो बन्दरगाहको दबाब कम गर्ने र अन्तर्राष्ट्रिय बजारसम्मको ढोका खोल्‍ने उद्देश्यले श्रीलङ्का सरकारले होम्बनटोटा बन्दरगाह निर्माण गर्ने निर्णय गरेको थियो। यसका लागि जुन २००२ मा क्यानेडियन कम्पनी एसएनसी लाभालिनले सम्भाव्यता अध्ययन गरेर ५ मार्च २००३ मा प्रतिवेदन बुझाएको थियो। १।५ मिलियन अमेरिकी डलर लगाएर गरिएको सम्भाव्यता अध्ययनका लागि ७५ प्रतिशत क्यानेडियन अन्तर्राष्ट्रिय विकास नियोगले र बाँकी २५ प्रतिशत एसएनसी लाभालिनले लगानी गरेका थिए। उक्त प्रतिवेदनअनुसार तीन चरणमा निर्माण कार्य गरिने र कुल लागत १.७ बिलियन अमेरिकी डलर हुने बताइएको थियो। प्रतिवेदनमा श्रीलङ्का बन्दरगाह प्राधिकरण र ‘बिल्ड ओन अपरेट ट्रान्सफर’मार्फत निजी लगानीसँग संयुक्त काम गर्न सकिने सुझाएको थियो।  तर बन्दरगाह प्राधिकरणले भने उक्त प्रतिवेदन विस्तृत नभएको र नयाँ अनुसन्धान नभएको भन्दै खारेज गरिदियो। त्यसपछि सन् २००५ मा डेनमार्कको कम्पनी रम्बोलले सम्भाव्यता अध्ययन गरी सन् २००७ मा प्रतिवेदन सार्वजनिक ग¥यो। रम्बोलले पनि क्यानेडियन कम्पनीको जस्तै निष्कर्ष निकाल्यो। उक्त प्रतिवेदनले पनि कुनै नयाँ निष्कर्ष निकाल्‍न नसकेको भन्दै महिन्द्र राजापाक्षे सरकारले चिनियाँ कम्पनीलाई यसको जिम्मा लगायो।  चीनसँगको सम्बन्ध सुधार र श्रीलङ्काको विकासका लागि भन्दै महिन्द्र राजापाक्षे नेतृत्व सरकारले सन् २००७ मा चिनियाँ एक्जिम बैङ्कसँग बन्दरगाह निर्माणका लागि ऋण सम्झौता गर्यो। १.२६३ बिलियन अमेरिकी डलर ऋण लिन श्रीलङ्का तयार भयो। उक्त ऋणमध्ये ३५७ मिलियन अमेरिकी डलर छ प्रतिशत र बाँकी ऋण दुई प्रतिशत ब्याजदरमा प्राप्त ग¥यो। ऋण फिर्ताको अवधि भने लामो थिएन, जसको परिणामस्वरूप ग्रेस अवधि पूरा भएपछि उच्च ऋण किस्ता थपिँदै गएका थिए। चाइना हार्बर इन्जिनियरिङ कम्पनीले सन् २००८ मा काम सुरु गरेको थियो र सन् २०१० मा पहिलो चरणको काम सम्पन्‍न भयो। सन् २०१२ मा दोस्रो चरणको काम सुरु गरिएको थियो। परियोजनाको पहिलो चरण पूरा भएपछि सन् २०११ देखि बन्दरगाह सञ्चालनमा ल्याइएको भए पनि सन् २०१६ सम्म घाटा बढ्दै गयो। श्रीलङ्काको संसदीय समितिमा पेस गरेको विवरणअनुसार हम्बनटोटा बन्दरगाहको सञ्चित घाटा सन् २०१६ सम्म ४६.७ बिलियन श्रीलङ्काली रुपी (लगभग ३०० मिलियन अमेरिकी डलर) पुग्यो।  एकातिर श्रीलङ्कालाई चिनियाँ ऋणको किस्ता भुक्तानी गर्नुपर्ने दबाब भयो भने अर्कोतर्फ बन्दरगाहको घाटा पनि बढ्दै गयो। श्रीलङ्काले छ प्रतिशत ब्याजदरको ऋणको किस्ता भुक्तानी गर्न नसकेपछि यसलाई सहुलियत ऋणमा परिवर्तन गर्न चीन सरकारलाई आग्रह ग(यो। दुवै सरकारको सहमतिपछि बन्दरगाह प्राधिकरणले बन्दरगाहको चिनियाँ अपरेटरसँगको सम्झौता रद्द गर्यो। सन् २०१७ मा श्रीलङ्काले चीनसँग हम्बनटोटा विकास तथा नियन्त्रण गर्ने आयोजनाका लागि १.१२ बिलियन अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ।  ९९ वर्षका लागि गरिएको उक्त सम्झौताअनुसार ७० प्रतिशत बन्दरगाह चिनियाँ मर्चेन्ट पोर्ट होल्डिङ कम्पनी र बाँकी ३० प्रतिशत श्रीलङ्का बन्दरगाह प्राधिकरण मातहत रहने सम्झौता गर्न श्रीलङ्का बाध्य भयो। महत्वपूर्ण कुरा उक्त सम्झौताबाट आउने रकम चिनियाँ ऋण भुक्तानीमा गर्न नपाइनेसमेत प्रावधान गरिएको थियो। उक्त बन्दरगाह कुनै पनि सैन्य प्रयोजनका लागि प्रयोग नगरिने र केवल व्यापारिक प्रयोजनका लागि मात्रै प्रयोग गरिने सहमति भएको थियो। चीनले उक्त बन्दरगाहलाई सामरिक रणनीतिका लागि प्रयोग गरिरहेको छ भने अहिले बेल्ट एन्ड रोड पहलको महìवपूर्ण हिस्साको रूपमा व्याख्या गर्न थालेको छ।  गत सेप्टेम्बर पहिलो साता चिनियाँ जासुसी पानीजहाज ‘युआन वाङ–५’ होम्बनटोटा बन्दरगाहमा पुगेको छ। बन्दरगाहको ठूलो हिस्सा चिनियाँ नियन्त्रणमा रहेको र श्रीलङ्काले बन्दरगाह निर्माणको ऋण चुक्ता गर्न सङ्घर्ष गरिरहेको समयमा चिनियाँ जासुसी पानीजहाज ‘युआन वाङ–५’ होम्बनटोटामा पुगेको हो। भारतले उक्त जासुसी जहाज होम्बनटोटामा पुगेको भन्दै आपत्ति जनाए पनि श्रीलङ्काको केही जोर चलेन।  यसबाट के सिक्ने ? बन्दरगाह निर्माणका लागि ऋण उपलब्ध गराएदेखि श्रीलङ्काको सार्वभौम क्षेत्रमा चिनियाँ जहाज पुगेसम्मका घटनाक्रमबाट पाठ सिकेर निकै सजगताका साथ निर्णय गर्नुपर्ने हुन्छ। विदेशी ऋण लिएर विकास निर्माण गर्दा आउन सक्ने परिणामबारे पनि गम्भीर हुन आवश्यक छ। श्रीलङ्कासँग चीनले सन् २०१७ मा सम्झौता गर्दा बन्दरगाहमा नियन्त्रण कायम गरेन, यससँगै नजिकैको १५०० एकड जमिन औद्योगिक क्षेत्रका लागि नियन्त्रणमा लिएको छ। नेपालका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘सेतो हात्ती’ बन्‍ने त होइन भन्दै प्रश्‍न उठेका छन्। नेपालले पनि २० वर्षका लागि २१ करोड ५९ लाख अमेरिकी डलरमा ऋण लिएको हो। पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्‍ने बताइएको छ तर अझै केही प्राविधिक पाटा सल्टाउन बाँकी रहेका कारण अन्तर्राष्ट्रिय उडान सुरु हुन भने समय लाग्‍ने बताइए पनि हालसम्म उडान सुनिश्‍चित हुन सकेको छैन। बुद्ध एयरले भारतका विभिन्‍न सहरमा उडान भर्नका लागि भारत सरकारसँग अनुमति माग गरेको भए पनि भारतले कुनै चासो देखाएको छैन ।  त्यसबाहेक हिमालयन एयरलाइन्स, फ्लाई दुबई, कतार एयरवेज र नेपाल एयरलाइन्सले नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालनका लागि चासो देखाएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिन एउटा मात्रै पनि उडान भर्ने व्यवस्था मिलाउन सकेको भए आशा जाग्‍न सक्थ्यो। त्यसकारण समयमै ऋण भुक्तानी गर्ने प्रबन्ध मिलाउँदै विमानस्थललाई व्यस्त राख्ने विषयमा सरकार र सम्बद्ध निकाय चनाखो हुन आवश्यक छ।    

काठमाडौं:  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समय अघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ । श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ । आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति पाइने व्यवस्था हुने भएको सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले बताए । उनका अनुसार योसँगै अब सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरी श्रम स्वीकृति लिनका लागि भौतिक रुपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यालाई हटाउँदै अनलाइनमार्फत नै सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको जनाउँदै श्रम कार्यालय विराटनगर र जनकपुरबाटसमेत सहज रुपमा सेवा लिन अनुरोध गरेको छ । कम्प्युटर प्रणालीबाट नै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको छ । त्यसैले श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन दिएर बिना झन्झट सेवा लिन मन्त्रालयद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय श्रम मन्त्रालय र यस मातहतका निकायबाट प्रदान हुने सेवालाई छिटो र सरल रुपमा लिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरिएको जनाइएको छ । अनलाइनमार्फत नै नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सफल भएकै कारण वैदेशिक रोजगार विभागले लिभिङ विथ आइसिटी नामक संस्थाबाट सर्वोत्कृष्ट पुरस्कारसमेत पाएको श्रम मन्त्रालयको उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै मन्त्रालयले उक्त विज्ञप्तिमार्फत आउँदा दिनमा समेत थप सुधारको प्रक्रिया अघि बढाउने जनाएको छ ।

पोखरा:  अंग्रेजी नयाँ वर्ष २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण पोखरा १८ सराङ्कोट र तोरीपानीबाट हुदै आएको प्याराग्लाइडिङ उडान अब मान्द्रेढुंगाबाट हुने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि कन्ट्रोल एयर स्पेसमध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइलभित्र पर्ने भएकाले मान्द्रेढुंगाबाहेक सराङ्कोट र तोरीपानी क्षेत्रलाई बन्द गरिएको हो ।   नागरिक उड्ययन प्राधिकरणले नेपाल हवाई खेलकुद सघं (ना) लाई पत्र पठाउँदै सराङ्कोट र तोरीपानीको रुट बन्द गर्न निर्देशन दिएको प्याराग्लाइडिङ व्यवसायी तथा नाका पूर्व महासचिव बलराम आचार्यले बताए ।    उनका अनुसार अब पोखरा महानगरपालिका २४ मान्द्रेढुंगाबाट प्याराग्लाईडिङ उडान हुनेछ भने शंखपुर पामे क्षेत्रमा अवतरण हुनेछ । यद्यपी यसअघि पनि मान्द्रेढुंगा क्षेत्रबाट उडान हुदै आएको थियो । तर सराङकोट, पहिलो प्राथमिकतामा र तोरीपानी दोस्रो प्राथमिकतामा रहदै उडान हुदै आएको थियो । ‘सराङ्कोट १ नम्बरमा, २ नम्बरमा तोरीपानी र तेस्रोमा बल्ल मान्द्रेढुंगा थियो, व्यवसायी आचार्यले सुनगाभा न्यूजसँग भने, ‘अब १ र २ नम्बरकै प्याराग्लाइडिङ जोन बन्द गर्ने पत्रपछि मान्द्रेढुंगाबाटै गर्ने भएका छौं ।’   उनले पहिलेको उडान क्षेत्रबाट करिब ४ किलोमिटरको दुरीमा स्थानान्तरण भएको सुनाए । ‘पहिलेको ठाउँबाट करिब ४ किलोमिटर पर हो मान्द्रेढुंगा । त्यहाँबाट उडेपनि ल्याण्डिङ पामेक्षेत्रमा हुन्छ ।’ आचार्यले भने ।   उनका अनुसार यतिबेला मान्द्रेढुंगामा पूर्वाधार निर्माणाधिन भएकै कारण केही दिनका लागि प्याराग्लाइडिङ बन्द छ । ‘अहिले मान्द्रेढुंगामा पूर्वाधार बन्दै छ, उनले भने, ‘त्यही भएर केही दिनका लागि बन्द छ । एक÷दुई दिनमै अब सञ्चालनमा आउँछ ।’    सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङ उडान सुरु गरिएको थियो । तर सन् २००० देखिमात्र कम्पनी स्थापना गरेर व्यवसायिक उडान भएको थियो ।   हालसम्म आइपुग्दा नेपाल हवाई खेलकुद सघं (ना) मा ६० प्याराग्लाइडिङ कम्पनी आवद्ध छन् भने ३ सय ५० प्यारापाइलटले उडान अनुमतिपत्र लिएका छन् ।

काठमाडौं:  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धनमा आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत हुनुहुन्छ । आज अन्तरिम आदेशबारे निर्क्यौल गर्न सर्वोच्चले दुवै पक्षलाई झिकाएको हो । शुक्रबारको इजलासले अन्तरिम आदेश दिएमा लामिछानेको सांसद पद अयोग्य हुनेछ । तर, सर्वोच्चले अन्तरिम आदेश नदिएमा भने मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उहाँको सांसद र मन्त्री पद कायमै रहनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरी लामिछानेको नेपाली नागरिकता रद्द भइसकेको अवस्थामा रास्वपाका सभापति पद, साधारण सदस्यता तथा निर्वाचनका प्रक्रिया बदर गर्न माग गर्नुभएको थियो ।

बेनी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो ।  प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युतमा कुल छ हजार दुई सय ७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार सात सय मिटर  निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिनुभयो । मासिक एक सय ८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको उहाँको भनाइ छ ।  आयोजनाको आगामी एक वर्षभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङमार्गसँगै बाँध र विद्युतगृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने उक्त आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्गलगायत पूर्वाधार निर्माण भइरहेको विष्टले बताउनुभयो । वडा नं ३ पिप्लेको तिल्केनीचौरमा विद्युतगृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । दैनिक झण्डै तीन सय मजदुर परिचालन गरिएको छ ।  भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि सन् २०२२ फेब्रुअरीमा सकिएपछि सन् २०२३ अगस्तसम्मका लागि पुनः म्याद थप भएको छ । अर्ध जलाशययुक्त बाँध रहने यस आयोजनाले वार्षिक चौबीस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो । प्राधिकरणले सन् १९९८ मा सम्भाव्यता अध्ययन गरेको यस आयोजनालाई २०७० मा नै सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको थियो । आइभिआरसिएल कमजोर आर्थिक अवस्थाका कारण चार वर्षमा दश प्रतिशत पनि काम नगरी पन्छिएको थियो । यसअघि ३२ मेगावाट मात्र उत्पादन गर्ने गरी अघि बढाएको आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट पु¥याइएको छ ।

गोरखा:  गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।  केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । गए राति मर्मतको काम सम्पन्न भएकाले आज बिहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । विद्युत् आपूर्तिमा भएको गडबडीले क्षति पुगेको केबलकारको प्यानल बोर्ड नै परिवर्तन गर्नुपरेको श्रेष्ठले बताउनुभयो ।  सामान जडान गरेर परीक्षण गरेपछि केबलकार नियमित सञ्चालनमा आएको स्टेशन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिनुभयो । यही पुस ११ गते प्यानल बोर्डमा आगलागी भएलगत्तै पुस १२ गते मङ्गलबारदेखि मनकामना केवलकार पूर्णरूपमा बन्द भएको थियो । बन्द भएको ११ दिनपछि केबलकार सञ्चालनमा आएपछि केबलकार चढेर मनकामना मन्दिर जाने भक्तजनको घुइँचो लागेको छ । 

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो ।  दुर्घटनामा परी १८ जना घाइते भएका छन् । प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गर्नुभएको छ ।

पाल्पाः   पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो । दर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका हुन् । मृतक मध्ये एकजनाको भने परिचय खुल्न सकेको छैन । मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा छन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।  पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थनीय प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल सालझण्डी (ढोरपाटन सडकखण्ड अन्तरगत  रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।