काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको सुनुवाइ स्थगित भएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा लामिछानेले दिएको पुनरावेदनमाथिको सुनुवाइ तोकिएको थियो । तर निवेदक लामिछानेको कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनका शाखा अधिकृत एवम् सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिनुभयो । यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गर्नुभएको थियो भने दोस्रोमा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । सन्दीपले दिएको पुनरावेदनमाथि पुस २८ गते सुनुवाइ हुनेछ ।
बागलुङ: बागलुङको दक्षिण भेग हुँदै गुल्मीको शान्तिपुर जोड्ने सडक सञ्जाल स्तरवृद्धिको काम तिव्र गतिमा अघि बढेको छ । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर अन्र्तगत जैमिनी–१० राङ्खानीदेखि बरेङ–१ चित्रेसम्मको सडक स्तरोन्नती तथा कालोपत्रेको काम भैरहेको हो ।सडक चौडा पार्ने, नाली निर्माण, सडक संरचना तयार गर्ने तथा कठिन क्षेत्रमा ढलानको काम अघि बढेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत ११ किमी खण्डमा काम भैरहेको हो । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि वडा नं.१० को देवधारासम्मको दश किमीखण्ड पाँच बर्षअघिदेखि निर्माणाधिन छ । यो खण्ड अलपत्र रहेकाले स्थानीय देवलधारादेखि चित्रेसम्मको खण्डमा कामै नहुने आँकलन गरेका थिए । यो सडकमा २०७८ असारमा सम्झौता भएर दुई बर्षमा कालोपत्रेको काम सक्नेगरी सडक स्तरोन्नतीको जिम्मेबारी पाएको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । सडक फराकिलो, पर्खाल, नाली बनाउने, पानी कटाउनका लागि बनाउनुपर्ने संरचना बनाउने काम सकिएको निर्माण कम्पनी रौताहा खानी धुलीखेल जेभी कन्ट्रक्सनका साइड ईन्चार्ज सञ्जय भट्टले बताउनुभयो । ‘‘अहिले धमाधम ढलानको काम भैरहेको छ, मौसमले साथ नदिएकाले कालोपत्रेका लागि समय पर्खिरहेका छौं’’ भट्टले भन्नुभयो,– ‘‘अबरोध नभए निर्धारित समयमा काम सकिन्छ ।’’ २०८० को असार मसान्तसम्म काम सक्नेगरी सम्झौता भएको थियो । बरेङलाई सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने छोटो दुरीको सडक भएकाले समयमा निर्माणको काम सक्न निर्माण कम्पनीलाई दबाब छ । २०५४ सालमा नक्सांकन गरिएको यो सडकको १५ बर्षअघि ट्याक खुलेको थियो । कुश्मीशेरा, देवलधारा १० किमी खण्डको स्तरोन्नती तथा कालोपत्रेको काम पटक पटक म्याद थप्दासमेत ३५ प्रतिशत काम मात्रै सकिएको छ । म्याद थप भएकाले यो खण्ड र देवलधारादेखि नम्दुकहुँदै चित्रेखण्ड तयार हुँदा बरेङलाई सहज हुने गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो । यो खण्डमा एक ठाउँमा सडक फराकिलो बनाउनका लागि स्थानीयले जग्गामा अबरोध गरेका छन्भने जैमिनी नगरपालिका–१० को नाम्दुकमा घरगोठ लगायतका संरचना भत्काउन स्थानीयले आनाकानी गरेको निर्माण कम्पनीको भनाई छ । ११ किलोमिटर यो खण्डमा ४.५ किलोमिटर ढलान र बाँकी सबै कालोपत्रेको स्टिमेट रहेको पूर्वाधार कार्यालय बागलुङका इञ्जिनियर कृष्ण गौतमले बताउनुभयो । गण्डकी प्रदेश सरकारको कुल ३४ करोड २५ लाख ३ हजार ६९६ रुपियाँको लागतमा यो सडक कालोपत्रे र ढलान हुँदैछ । हालसम्म दश किलोमिटरमा चौडा गर्ने काम सकिएको, दश किलोमिटरमा नाली बनाउने काम सकिएको छ । दुई किलोमिटर सडक ढलान भैसकेको र अन्य पूर्वाधारका काम समेत भैरहेको गौतमले बताउनुभयो । चित्रेदेखि सुदाला र पालिका मुकामदेखि गुल्मी शान्तिपुरसम्मको सडक कालोपत्रेका लागि पहल भइरहेको छ ।
काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार चार सय थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
म्याग्दी: शालिग्राम पाइने नदीका रूपमा परिचित कालीगण्डकीको शिला हिन्दुहरूको धार्मिक स्थल भारतको आयोध्या पठाउन आवश्यक अध्ययन थालिएको छ। मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् रामको मूर्ति बनाउन प्रयोग गरिने भएको हो। शिला खोज तथा अध्ययन गर्न गण्डकी प्रदेश सरकारबाट खटिएको टोलीले बेनीस्थित कालीगण्डकी नदीमा शिलाको खोज तथा पहिचान र अध्ययन गरेको छ। बेनीदेखि उत्तर गलेश्वरधामसम्म तीन किलोमिटर क्षेत्रमा मात्र पाइने शिलालाई जनकपुरधाम हुँदै अयोध्या पठाउने तयारी भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो। बेनीदेखि गलेश्वर क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिएकाले यहाँको शिला अयोध्या लैजान नदीकिनारमा भएका शिला (ढुङ्गा)को अध्ययन गरेर टोली फर्किएको उहाँले बताउनुभयो। “कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई थान शिलाको अध्ययन भएको छ,” उहाँले भन्नुभयो, “कालीगण्डकी नदीको शिला भारतको अयोध्यामा पु९याउँदा हाम्रो धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ।” भारतको राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो। संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज र अध्ययन सुरु गरिएको नगरप्रमुख केसीले बताउनुभयो। हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैँमा पवित्र नदी मानिन्छ। त्यसमा पनि कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने धार्मिक विश्वास छ। “यो क्षेत्र पुण्यभूमि हो, कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका यहाँका शिला राम मन्दिरमा लैजान लागेका हौँ,” शिला अध्ययन, उत्खनन तथा स्थानान्तरण अभियानका सदस्य एवं कृष्णगण्डकी नदीका अध्येता कुलराज चालिसेले भन्नुभयो, “शिला तत्काल जनकपुरस्थित रामजानकी मन्दिरमा राखिनेछ।” उहाँका अनुसार शिला लिनका लागि अयोध्याबाट गुरु राजेन्द्रसिंह पङ्कज पोखरा आइपुग्नुभएको छ। नेपालका तर्फबाट उपहार भएकाले शिला उत्खनन गरी अयोध्यासम्म पु९याउने जिम्मा प्रदेश सरकारले लिएको चालिसेले बताउनुभयो। बेनी आएको टोलीले दुई–चारवटा शिलाको अध्ययन गरेको छ। कुन लैजाने टुङ्गो लगाएपछि बेनी नगरपालिकाले आवश्यक सहयोग गर्नेछ।
पोखरा: इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । आइस्पानले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कारण पोखरामा इन्टरनेट अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । प्राधिकरणले आफूखुसी रूपमा ७०० प्रतिशतसम्म भाडा बढाएको भन्दै यति बेला सेवा प्रदायक विरोधमा छन् । प्राधिकरणले भाडा बढाएपछि सरकारले उच्च स्तरीय समिति गठन गरी घटेको भाडदारमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन भने पनि नमानेको आइस्पानको आरोप छ । यही विवादको कारण अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेसन सेन्टरमा प्राधिकरणले छानेरै विद्युत् काटेको सेवा प्रदायकहरूले बताएका छन् । सोही कारण पोखरा तथा पोखरा आसपासका क्षेत्रहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताएका छन् ।
काठमाण्डौ: पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराको आयोजनामा चौथो सँस्करणको साँगीतिक कार्यक्रम ‘टेस्ट अफ हार्मोनी’ हुने भएको छ । पुस २९ गते शनिबार पोखरा सभागृहमा हुने पछिल्लो सँस्करणको यो साँगीतिक कार्यक्रमको विशेष आकर्षणको रुपमा गायिका दीपानारायण झा रहनेछिन् । ुहार्मोनीुले दीपाप्रति सम्मान प्रकट गर्दै चौथो सँस्करणको आफ्नो कार्यक्रमको नाम नै ‘धुनहरुमा दीपानारायण झा’ राखेको छ । सदावहार गायिकाको छवि बनाएकी दीपानाराण झाले हार्मोनी पोखराको यो साँगीतिक कार्यक्रममा आफ्ना पुराना गीतहरु प्रस्तुत गर्नेछिन् । ‘पोखरेली संगीतप्रेमीहरुका लागि यो निकै गज्जब र उत्साहपूर्ण कुरा हो । विशेषगरि पोखरेली गायिकाहरुका लागि त झन् यो विशेष कार्यक्रमले ठुलो अर्थ राख्नेछ ।’ हार्मोनी पोखराका अध्यक्ष ईतु जोजिजुले भनिन ‘समग्र पोखराको लागि पनि यो साँगीतिक कार्यक्रम फलदायी हुने कुरामा हामी ढुक्क छौँ ।’ दीपानारायण झासँग स्टेज शेयर गर्दै उनले गाएका चर्चित सदावहार गीतहरु गाउने मौका पोखरेली गायिकाहरुले पाउनु भनेको ऐतिहासिक कुरा भएको जोजिजुले भनिन् । पुस २९ गते हुने साँगीतिक कार्यक्रममा दीपानारायण झासँगै पोखरेली गायिकाहरु ईतु जोजिजु, शितल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतिक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले स्टेज शेयर गर्दै आफ्नो प्रस्तुती दिनेछन् । सो कार्यक्रममा विशेष सहयोगी गायकको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुको प्रस्तुती रहने हार्मोनी पोखराले जनाएको छ । कुसुमे रुमाल, चिया बारीमा, ईशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघि अघि, सम्झना बिर्सना लगाएतका दर्जनौ दीपानारायण झाले गाएका गीतहरु सो कार्यक्रममा प्रस्तुत गरिने आयोजकले बताएको छ । खासगरि साँगीतिक क्षेत्रमा महिलाहरुको पनि बलियो उपस्थिती देखाउन ुहार्मोनी पोखराुको स्थापना भएको हो । र, संस्था गठन भएसँगै यसले विभिन्न कार्यक्रमहरु समेत गरिसकेको छ । यसअगाडि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ, ‘टेस्ट अफ हार्मोनी’ र धुनहरुमा तारादेवी र अरुणा लामाु गरि संस्थाले तीनवटा सँस्करणका विशेष साँगीतिक कार्यक्रमहरु सफल बनाईसकेको छ । गायिकाहरुको एकतासँगै नयाँ पुस्ताका गायिकाहरुको लागि प्लेटफर्म तयार गर्न पनि यो संस्था विशेष रुपमा सकृय रहँदै आएको छ । गायिकाहरुको क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने संस्थाले यो बीचमा थुप्रै सम्मान तथा पुरस्कारहरु पनि पाएको छ ।
काठमाडौं: पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दै जनकपुर रोयल्स नेपाल टी–२० लिगको प्लेअफमा पुगेको छ । यो जितसँगै जनकपुरको ९ खेलमा ६ जितका साथ १२ भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । उत्कृष्ट प्रदर्शन गर्दै ९ मध्ये ८ खेल जितेर लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने निश्चित भइसकेको छ । । विहीबार त्रिवि मैदानमा पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका ओपनर सराफउद्धिन अशरफले सर्वाधिक ३७ रन बनाए । उनले २७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर तथा कप्तान त्रेभोन ग्रिफिथले १७ रन जोडे । पवन सर्राफ ४ र राजेश पुलामी क्रमशः ४ र १ रनमा अविजित रहे । बलिङमा पोखराका कुशल मल्लले ३ विकेट लिए । असिथा फर्नान्डोजले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमै समेटियो । पोखरालाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ३ तथा सइफउद्धिन र ललित राजवंशीले २÷२ विकेट लिए । पोखराको लागि मध्यक्रमका सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए । उनले १० बलमा २ चौका प्रहार गरे । आसिफ शेख र कुशल मल्लले समान १६ रन जोडे । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । सोमपालले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । ललितले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । एक ओभरमा ४ रन खर्चेर सइफउद्धिनले २ विकेट लिए । जितेन्द्र मुखिया, ट्रेभोन र पवन सर्राफले १–१ विकेट लिए । यो हारले पोखराको प्लेअपफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । ९ खेलबाट ६ अंक जोडेको पोखराले लिगमा एक खेल खेल्न बाँकी छ । प्लेअफमा पुग्न उसले आफ्नो खेल जितेरमात्र पुग्दैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने छ ।
बैतडी: ‘प्राइमरी लेभल हस्पिटल’मध्ये जिल्ला अस्पताल बैतडी देशभरिमै दोस्रो स्थानमा परेको छ। न्यूनतम सेवा मापदण्डमा बैतडी अस्पताल देशभरिका उत्कृष्ट अस्पतालको दोस्रो स्थानमा पर्न सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो। स्वास्थ्य मन्त्रालय र निक साइमन इन्स्टिच्युटले गरेको मूल्याङ्कनका आधारमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दोस्रो स्थानमा पर्न सफल भएको डाक्टर श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, “न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन हुँदा बैतडी अस्पताल ८९ प्रतिशत अङ्कसहित दोस्रो स्थानमा परेको छ। दमौली अस्पताल पहिलो स्थानमा रहेको छ। जिल्ला अस्पताल अछाम ८७ प्रतिशत अङ्कसहित तेस्रो र बझाङ ८४ प्रतिशत अङ्कसहित चौथो स्थानमा परेको छ।” यसअघि सुदूरपश्चिममा बैतडी अस्पताल प्रथम स्थानमा रहेको थियो। स्वास्थ्य सूचकका आधारमा अस्पतालहरूलाई अङ्क दिइने गरिएको छ। अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका सुविधा, भौतिक व्यवस्थापनलगायतका कार्य हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिएको छ। जिल्ला अस्पताल बैतडीमा हाल तीन विशेषज्ञ चिकित्सकसहित आठ चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, “बैतडी अस्पतालमा हाडजोर्नीसम्बन्धी शल्यक्रियासहित उपचार, एमडीजीपी र एनेस्थियोलोजिस्ट चिकित्सक कार्यरत छन्।” न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बैतडी देशभरिकै उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको अस्पतालमा कार्यरत डा। थानेश्वर न्यौपानेले बताउनुभयो। जिल्ला अस्पताल बैतडीले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरेर हिंसामा परेका महिलाको उपचार, मनोसामाजिक परामर्शलगायतका सेवासमेत प्रदान गरिरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट चार महिनाको अवधिमा हिंसामा परेका ८८ जना महिलाले सेवा लिनुभएको छ। तीमध्ये घरेलु हिंसामा परेका सुत्केरी महिलाले समेत उपचार पाउनुभएको छ।”
धनगढी: कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्दै आएका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन्। समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले धुमधामसँग मनाउनका लागि हप्तादिन अगाडिबाटै तयारीमा जुटेका हुन्। माघ थारू समुदायको नयाँ वर्ष पनि हो। थारू नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्छ। सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि रहेकाले धुमधामसँग मनाउने गरिएको कैलारी गाउँपालिका–१, रानामुडाका मनोज चौधरीले बताउनुभयो। उहाँका अनुसार गाउँघरतिर मानिसहरू पर्वको तयारीमा जुटेका छन्। माघ पर्वमा बङ्गुरको मासु नभई नहुने तरकारीको परिकार हो। “माघमा बङ्गुर मार्ने र मासु लिनेको लिस्ट १०–१५ दिनअगाडि नै बनिसकेको छ,” उहाँले भन्नुभयो। पर्वको चहलपहल सुरु भइसकेको छ। गाउँघरतिर माघ सम्बन्धित गीत गुञ्जिन थालेका छन्। पर्वको रौनक बढ्न थालेको छ। अहिले मान्छेहरू जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानी, पिसानी गर्नेलगायतका कार्यमा जुटेका छन्। माघ पर्वमा नभई नहुने थारू परिकार ढिक्री हो। जुन चामलको पिठोबाट बनाइने गरिन्छ। ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानी, पिसानीको कार्य भइरहेको कैलारी गाउँपालिका–१, मोहनपुरकी फूलरानीदेवी चौधरीले बताउनुभयो। “बिस्तारै बिस्तारै गाउँघरका सबै जना तयारीमा जुटेको देखिन्छ,” उहाँले भन्नुभयो, “हाम्रो पनि तयारी भइरहेको छ।” यो समुदायका मानिसले तीन दिनसम्म माघी पर्व मनाउने गर्छन्। पुस अन्तिम दिनबाट पर्व सुरु हुने गर्छ। पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन रहेको छ। कतिपय गाउँ, ठाउँमा यस दिन नाचगान पनि हुने गर्छ। माघ १ गते अर्थात् पर्वको दोस्रो दिनलाई ‘लहान’ भन्ने गरिन्छ। यो दिन बिहानै नदी, दह, तलाउमा नुहाइधुवाई र पूजापाठ गरेर ठूलाबडा, घरको पुर्खाबाट आशीर्वाद लिने गरिन्छ। यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नुका साथै ढिक्री, मासुलगायतका परिकार खाने गरिन्छ। पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्यको सुरुवात गर्ने गरिएको बताइन्छ। माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ। यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन गर्ने गरिन्छ। धार्मिक, सामाजिक महत्व बोकेको माघ पर्व थारू समुदायका मुक्तकमैयाका लागि मुक्तिको पर्व पनि हो। तत्कालीन समयमा मालिक वा जमिनदारका घरमा कमैया, कमलहरी बसेकाहरू माघी पर्वमा मात्रै छुट्टी पाउने गरेको यस समुदायका मानिस बताउँछन्। त्यसैले मुक्तकमैया होस वा जुनसुकै वर्गका थारू परिवारले माघ उल्लासपूर्वक मनाउने गर्छन्। माघ पर्व मनाउनका लागि देश, विदेश रहेका पनि घर फर्कने गर्छन्। माघ ठूलो र खुसीको पर्व रहेकाले बस्तीमा नाचगान गरेर मनाउने गरिएको धनगढी उपमहानगरपालिका–१, वसन्त टोल मुक्तकमैया बस्तीका जालुराम चौधरीले बताउनुभयो। “त्यसका लागि हामी तयारीमा जुटिसकेका छौँ,” उहाँले भन्नुभयो। माघमा रमाउनका लागि विभिन्न धार्मिक स्थल र गाउँमा मेलाको तयारी पनि भइरहेको छ।

