पोखराः पोखरा महानगरपालिका १ स्थित पृथ्वीनारायण क्याम्पसमा क्रियासिल विद्यार्थी संगठनहरुले क्याम्पसको जमिन जोगाउँन त्रिभुवन विश्वविद्यालयको झण्डा गाडेका छन् । सडक विभाग, पुल महाशाखा, ललितपुरले क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि विद्यार्थी संगठनहरुले सयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयको झण्डा गाडेका हुन् । क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरुले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै, ‘उच्च अदालतले मालपोत कार्यालयलाई उत्प्रेषण जारी गरेको पृथ्वीनारायण क्याम्पसको भोगचलनमा रहिआएको कित्ता नम्बर ८३३ क्षेत्रफल २२२ रोपनी जग्गा (दर्ता हुने क्रममा रहेको) र क्याम्पसको त्रिपक्षीय छलफल बिना नै पोखरा १ र पोखरा ११ जोड्ने पुल निर्माण प्रक्रिया सुरु हुनु संस्कापद रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।’ क्याम्पसमा क्रियासिल विद्यार्थी संगठनअनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंले सयुक्त विज्ञप्ती जारी पुल निर्माणको कार्य रोक्न माग गरेका हुन् । क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि प्राध्यापक संघहरुले सामुहिक विरोध जनाएका छन् । संघका अध्यक्षहरुले क्याम्पसको जग्गा खण्डिकृत गरी निजी प्रयोजन र केही व्यक्तिको स्वार्थमा लाभ हुने टिप्पणी गरेका छन् । विभागको पत्रबारे जानकारी दिन प्राध्यापक संघहरुले भोलि पत्रकार सम्मेलन गर्दै छन् ।
कास्की: मुक्तिनाथ विकास बैंक लिमिटेड अमरसिंह शाखाले १६ औं वार्षिकोत्सव मनाएको छ । पोखरा महानगरपालिका १० अमरसिंहचोक स्थित रहेको शाखा कार्यालयमै आज (बुधबार) औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसी तथा विशेष सेवाग्राहीहरु प्रकाश लामा, मोहन प्रसाद ढकाल, देवेनद्र कुमार गुरुङ र कमल बहादुर बाँनियाले सँयुक्त रुपमा केक काटेर वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरे । सो अवसरमा बोल्दै मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीले आगामी दिनमा सेवाग्राहीको मागलाई मध्यनजर गर्दै बैंकको सेवा तथा सुविधाहरु बिस्तार गर्ने योजना रहेको धारणा राखेका थिए । यस्तै सेवाग्राहीहरुले नागरिक तथा सेवाग्राहीको अपेक्षालाई मध्यनजर गर्दै सेवाहरु बढाउनुपर्ने आग्रह गरेका थिए । सो कार्यक्रममा सेवाग्राहीहरुसँग बैंकले आगामी दिनमा ल्याउनुपर्ने योजनाको बारेमासमेत अन्तरक्रिया गरिएको थियो । मुक्तिनाथ विकास बैंक अमरसिंह शाखासँगै पोखरा महानगरपालिका ९ नागढुङ्गा शाखाले रक्तदान कार्यक्रमको आयोजना गर्दै १६ औं वार्षिकोत्सव मनाएको थियो । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने नारासहित बैंकिङ तथा वित्तिय क्षेत्रमा क्रियाशिल मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ । सो बैंकले पछिल्लो समय देशभरका १ सय ७८ वटा शाखाहरुबाट आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । मुक्तिनाथ विकास बैंक अमरसिंह शाखा प्रमुख अशोक लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कर्जा प्रमुख नुर बहादुर गुरुङले गरेका थिए ।
पोखरा: एघारौं पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ । आगमी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम प्रदान गर्न लागिएको हो । महोत्सव अवधिभर सञ्चालन हुने तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम प्रदान गरिने एघारौं पोखरा महोत्सव हस्तकला ब्यवस्थापन उपसमिति संयोजक सबिता श्रेष्ठ रञ्जितले जानकारी दिइन । श्रेष्ठका अनुसार प्राविधिक शिक्षालय ९सिटीइभिटी० को प्राविधिक सहयोगमा २० जना लाई उक्त तालिम दिइने छ । महोत्सव अवधिभर १२ दिन तालिम प्रदान गरिने र स्वरोजगार हुन चाहनेहरुलाई दुई महिने निशुल्क तालिम समेत प्रदान गरिने बताइन । तालिममा सहभागी हुन चाहनेहरुले पुष २५ भित्र युनाईटेड क्लवको कार्यालयमा सम्पर्क गर्न समेत संयाजक श्रेष्ठले आग्रह गरेकी छिन ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिच मङ्गलवार सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो । पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो । स्तनपान कक्ष सहित निर्माण गर्न लागिएको शौचालयमा सेनेटरी प्याड समेत उपलब्ध हुनेछ । एनआरएनएका कार्यकारी अध्यक्ष थापाले पोखरा महानगरपालिकाको महेन्द्र पुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको समेत बताउनुभयो । सम्झौता अनुसार महेन्द्र पुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण गरिने छ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ । करिब १ करोडको लागतमा ३ महिना भित्र निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले बेहोर्नेछ । सम्झौता कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिका कुमारी शाही योगी र पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीको पनि सहभागिता रहेको थियो । पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् । महेन्द्र पुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्नेछ । त्यहाँ संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९५ देश सहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको झन्डा समेत राखिनेछन् । पार्कको बिच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ । विशेष अवसरहरूमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिनेछ ।
स्याङ्जा: जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो । पालिकाको प्रत्येक वडाका पाँच पाँच जना अति बिपन्न तथा एकल दलित महिला छनौटगरी न्यानो कपडा वितरण गरिएको विश्वकर्माले बताउनुभयो । एक–एक सेट बिस्तारा प्रदान गरिएको उहाँले बताउनुभयो । न्यानो कपडा प्रदान गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विपन्न वर्गको उत्थानका लागि पालिकाले सहयोग गरेको बताउनुभयो । पालिकाले विपन्नको जनप्रतिनिधिको सुबिधा कटौती गरेर निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताउदै तिवारीले पालिका बिपन्न र गरिबको हितमा रहेको बताउनुभयो । यस्तै, रुजी फाउण्डेशनले स्याङ्जाको गल्याङ नगरपालिका पनि वडा नं ८ को चण्डिका आधारभूत विद्यालयका लागि न्यानो कपडा वितरण गरेको छ । बिद्यालयको कक्षा ५ सम्मका ६५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
सिरहा: सिरहा प्रहरीले ७२ वर्षीया दरपी कोइरीको हत्या गरेको अभियोगमा एक महिलाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतो रहेकी छिन् । चन्दादेवी कोइरीकी बुहारी हुन् । ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुहारी चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.१९ पुरानचौर स्थीत नेपालको पहिलो स्लोप कन्सेप्ट मा बनेको माछापुच्छ्रे इको रिर्सोट (मेको रिर्सोट) पछिल्लो समय पर्यटकीय गनतव्य स्थलको रुपमा झनै लोकप्रिय बन्दै गइरहेको छ । करिब साढे तीन करोड लागतमा बनेको यस रिर्सोटमा सुजन बास्तोला,सन्तोष पौडेल र विशाल तिवारीको संयुक्त लगानी रहेको छ । कोरोना महामारीको समयमा सञ्चालनमा आएको यस रिर्सोटमा १६ जना कर्मचारीहरुले रोजगार पाइरहेका छन् । कोरोना महामारीको कहरले आन्तरीक तथा वाहय पर्यटकलाई नकारात्मक प्रभाव परेको बेलामा पर्यटकलाई आर्कषित गर्नका लागी कोरोना महामारीको समयमा रिर्सोट सुरु गरेको माछापुच्छ्रे इको रिर्सोटका सञ्चालक सुजन बास्तोलाले जानकारी दिएका छन् । यस रिर्सोटमा घुम्न आउने पयटकलाई शुद्ध अर्घानिक खाना तथा प्राकृतिक वातावरणमा आफ्नो समय बिताई मनोरम दृश्यको आनन्द दिने उद्धेश्य रहेको बास्तोलाले जानकारी दिए । रिर्सोटमा घुम्न आउने व्यक्तिहरुले विशेष गरी यहाँको वनावट क्षेत्रलाई मनपराएको बताए । कतिपय पछिल्लो समय सञ्चालनमा आएका रिर्सोटहरुले प्राकृतिक वनावटलाई मोडिफाइड गरी रिर्सोट सञ्चालन गरेका छन् तर यस माछापुच्छ्रे इको रिर्सोटमा कुनै पनि प्राकृतिक वनावटलाई परिवर्त नगरी डाँडालाई कुनै पनि मोडिफाइड नगरी यहाँको भिर तथा रिर्सोट वरिपरिको डाँडाको आकारमा रिर्सोट सञ्चालन गरेका छौँ बास्तोलाले भने । पछिल्लो समय धेरै रिर्सोट बनेका छन् जुन डाँडामा तथा अनेक आकर्षित तरिकाले रिर्सोट खोलिएका छन् जुन राम्रो पनि हो यसले पर्यटक लाई थप उत्साहित बनाएको छ । माछापुच्छ्रे इको रिर्सोट घुम्न आउने पर्यटकले साहशी खेल जीप साइकलीङ तथा खन्य थुप्रै प्रकारले मनोरञ्जन का माध्यम एकै ठाँउमा रहेको बास्तोलाले बताए ।रिर्सोटमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै विभिन्न आकर्षित घुम्ने तथा मनोरञ्नात्मक ठाँउहरु बनाइएको छ । पिङ , गार्डेन तथा अन्य थुप्रै ठाँहरुका् निर्माण गरिएको छ । यस रिर्सोटलाई पर्यटकीय गनतव्य स्थल रुपमा चिनिएको छ । यहाँबाट पोखराको मनोरम दृश्य देखिनुका साथै पोखराको ३६० डिग्रीको दृश्य हेर्न सकिन्छ । यस रिर्सोटमा अग्लो पहाडी स्विङ,रुखको घर,हावामा काठको पुल,हावाँमा साइकलिङ ,माछापुच्छ्रे हिमालको मनोरम दृश्य जस्ता थुपै्र आकषित खेल तथा ठाँउहरुको निर्माण गरिएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनको समापन कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् । ‘प्रेस मर्यादित हुन आवश्यक छ । जसका लागि यस सम्बद्ध संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । गलत सूचना पर्वाह गरी नागरिकलाई समस्यामा पार्ने बाटो तर्फ मिडिया लाग्न हुँदैन । अवलोकन र अनुगमन मिडिया क्षेत्रलाई पनि आवश्यकता छ ।’, उनले भने । मन्त्री थापाले प्रदेश सरकार प्रेसमैत्री कानून निर्माणको सवालमा सकरात्मक रहेको अभिव्यक्ति दिएका छन् । आमसंचार विधेयक सम्पूर्ण रुपमा तयार भइसकेको र अब पारित हुन मात्रै बाँकी रहेको उल्लेख गर्दै श्रमजीवि पत्रकारहरुको हक,हितका लागि दत्तचित्त भएर लाग्न उनको आग्रह छ । कार्यक्रममा निर्वाचन प्रतिनिधि रामप्रसाद दाहालले सहमति, सहकार्य र एकताको सवालमा श्रमजीवि पत्रकारको मुद्धामा प्रेस युनियन बोल्ने विश्वास व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष टंक अधिकारीले प्रेस युनियनको विधानलाई टेकेर विधानले निर्दिष्ट गरेका कामकारबाहीलाई पालना गर्दै संगठनलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन समिति संयोजक कपिलमणि दाहालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमलाई नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रिसीकान्त पौडेलले स्वागत गरेका थिए । प्रेस युनियन गण्डकीको प्रथम अधिवेशनबाट अध्यक्षमा टंक अधिकारी चयन भएका छन् । यस्तै उपाध्यक्षमा माधव रेग्मी र संगिता केसी, समावेशी उपाध्यक्ष शारदा झेडी, महासचिव प्रकाश ढकाल, सचिव नारायण रिजाल, महिला सचिव अन्जना तिमिल्सिना, समावेशी सचिव मोहम्मद अलि मिया, कोषाध्यक्ष सन्देश पौडेल, लेखा समिति संयोजक राधाकृष्ण डुम्रे चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा शंकरराज नहर्की, गिता लामिछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, देवराज पुरी, प्रेम चन्द्र रौनियार, गोविन्द लामिछाने, गिता खत्री र निरज अधिकारी रहेका छन् ।
पोखराः सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा क्यामरुनी फरवार्डद्वय स्टेफन बिनोङ र मेसुके ओलोमोउले२–२ गोल गरे । एपिएफका हरि कार्कीले गरेको गोल सान्त्वना सावित भयो । खेलमा संकटाका गोलरक्षक टिकेन्द्र थापाले पनि केहि उत्कृष्ट बचाउ गरे । यसअघि संकटाले २०७७ सालमा भएको २० औं संस्करणमा उपाधि जितेको थियो । गत संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको एपिएफ यसपटक भने सेमिफाइनलमा पराजित भएको हो । खेलको पाँचौ मिनेटमा बिनोङले एपीएफको डिफेन्समा भएको समन्वयको कमजोरीको फाइदा उठाउँदै गोल गरे । डिफेन्डर दीपेश धिमाल र गोलरक्षक राजु नगरकोटीबीच राम्रो समन्वय हुन नसक्दा बिनोङले गोल गरे । गोलरक्षक राजु निकै अघि बढेको अवस्थामा बिनोङले बल खोस्न गरेको प्रयास नै खाली पोस्टमा गोल भएको थियो । ४३ औं मिनेटमा मेसुकेले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ६१ औं मिनेटमा बिनोङले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा एपिएफका वैकल्पिक फरवार्ड हरि कार्कीले ७३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर मेसुकेले ८५ औं मिनेटमा सुन्दर गोल गर्दै संकटाको जित पक्का गरे । संकटाले अब शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्लबले खेल्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

