पोखरा: निर्वाचित भएर गएका जनप्रतिनिधि फर्किएर नआउने गुनासो व्याप्त छ । अन्नपूर्ण गाउँपालिकाकी जमुना विकले बिहीबार नेताले जनताले दैनिक जुधिरहेको विषयमा ध्यान दिनुपर्ने भन्दै आफ्ना समस्या सुनाउन थालिन् । २०३४/०३५ सालतिर नापीले गरेको जग्गा विभाजनमा आफूहरुको टोलमा एउटाको जग्गा अर्कैकोमा परेको भन्दै अन्नपूर्ण–३ छ घर टोलकी जमुनाले गाउँपालिका गुहारेकी छन् । आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा भएका योजना तथा नियमित सेवा प्रवाहको विषयमा बिहीबार अन्नपूर्ण–३ पत्थरस्थित वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाईमा उनले गाउँपालिका नेतृत्वको ध्यानाकर्षण गराएकी हुन् । ‘नापीबाट गल्ती हुँदा एउटाको जग्गा अर्कैको कित्तामा गएको छ । टोलमा यही विषयले झगडा हुन्छ,’ उनले भनिन्, ‘गाउँपालिकाले नापी ल्याउन सक्छ कि सक्दैन ? ल्याइदिनुपर्यो ।’ उनको गुनासो सुनेपछि पुनः नापी आवश्यक भए त्यसलाई पहल गर्ने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । अन्नपूर्ण–३ कै राजु पौडेलले गाउँपालिकाले तरकारीको बिउ बाँडे पनि बजार व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे । ‘बिउ बाँडियो तर बजार व्यवस्थापन देखिएन । त्यसमा ध्यान दिनुपर्यो,’ उनले भने, ‘बारीमा साग, तरकारी त्यत्तिकै छन् ।’ गाउँपालिका अध्यक्ष केसीले उत्पादित वस्तु बजारीकरणमा वास्तवमै समस्या भएकास गाउँपालिका सम्बोधन गर्न तयार रहेको बताए । कार्यक्रममा टोलटोलका सडकमा बत्ती हाल्नुपर्ने, बाँदरले खेतीमा समस्या पारेको, युवालाई रोजगारीको वातावरण बनाउनुपर्ने, बिउ वितरण आवश्यकभन्दा कम भएको, लालपुर्जा नपाएको, सडक योजनामा पैसा नहाल्देको, प्राविधिकले काम नगरिदिएको गुनासो गरेका थिए । गाउँपालिका अध्यक्ष केसीले सबै समस्या एकैपटक समाधान सम्भव नहुने, ढिलोचाँडो त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । सार्वजनिक सुनुवाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कुल बजेटमध्ये मंसिर मसान्तसम्म ३२. २६ प्रतिशत खर्च भएको देवकोटाले जानकारी दिए । उनकाअनुसार मंसिर मसान्तसम्म ९० लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जनप्रतिनिधि तथा कर्मचारीको विवरण संकलन गरेर मुख्यमन्त्री कार्यालय पठाएको, सहकारी संचालक तथा कर्मचारीलाई लेखा तालिम दिइएको, सेवाग्राहीलाई प्रतीक्षा कक्षको व्यवस्था गरेको, अध्यक्षको अनुपस्थितिमा सचिवालयबाट काम अघि बढाउने काम भएको उनले बताए । कृषितर्फ ५० प्रतिशत अनुदानमा २५ हजार केजी आलुको बिउ वितरण गरेको छ । ११ वटै वडामा मोडल फर्म निर्माण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाा तरकारी पकेट कार्यक्रम सम्झौताको तयारीमा रहेको, उवा र कोदो क्लस्टर निर्माण, हिउँदे फलफूल विरुवा वितरणको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए । गाउँपालिकामा ८ वटा टोल विकास संस्था, आमा समूह, बाल र युवा क्लब रहेको उनको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षमा कुल १ सय ९१ वटा योजना रहेकोमा ३४ वटा योजना सम्झौता भइसकेको र २० वटाको भुक्तानी भइसकेको देवकोटाले जानकारी दिए । कोरोनाविरुद्ध ४० हजार २ सय १८ जनालाई खोप दिइएको छ भने स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेर ५ सय १३ परिवारको बिमा गरिएको छ । गाउँपालिका प्रवक्तासमेत रहेका अन्नपूर्ण–७ का वडाध्यक्ष भरतमान गुरुङले लान्द्रुक खानेपानी योजनालाई सफल बनाएर गाउँपालिकाको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले भूगोल ठूलो भएकाले सार्वजनिक सुनुवाई गर्दा सबैलाई एकै ठाउँमा समेट्न नसकिएको बताए । ‘भौगोलिक विकटताले सबै ठाउँमा पुग्न सकिनँ । घुम्ती शिविरजस्तै सबै वडामा पुग्ने गरी वडा–वडामा सुनुवाई गर्छौं,’ प्रवक्ता गुरुङले भने । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । अन्नपूर्ण १, २, ३ का वडाध्यक्ष क्रमशः तुलसीप्रसाद अधिकारी, पिताम्बर भण्डारी, फणिन्द्रप्रसाद पौडेलले पनि बोलेका थिए । उनीहरुले वडामा प्राप्त भौतिक पूर्वाधार निर्माणसम्बन्धी योजनाको कार्यान्वयका लागि उपभोक्ता समिति गठन भएको र छिट्टै काम अघि बढाउने बताए ।
पोखरा: कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई शिवालय वर्ष सम्मान–२०७९ बाट सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा ३ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने टीकाराम सुवेदी, अभिभावक मङ्गलप्रसाद ओझा, सञ्चारकर्मी सुरेनकुमार नेपाली ‘सुशील’, विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङ, छात्रवृत्ति अक्षयकोष संस्थापकद्वय डा. नारायण ओझा र सुकमाया सुवेदी रहेका छन् । त्यसै गरी विद्यालयको गौरव बढाएको भन्दै शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालाई शिवालय गौरव सम्मान–२०७९ बाट सम्मान गरिएको थियो । कार्यक्रमका अध्यक्ष सुवेदीले आफ्नो ३ बर्से कार्यकालमा सकेसम्म विद्यालयको हित हुने गरी काम गर्ने प्रयास गरेको बताए । वडा नम्बर २ का वडा अध्यक्षसमेत रहेका उनले विद्यालयमा गरेको कामकै आधारमा आफूलाई वडावासीले वडा अध्यक्ष बनाएको भन्दै धन्यवाद ज्ञापन गरे । शिक्षाबिना समाजका कुनै पनि पक्षको विकास सम्भव नभएकाले राज्यका हरेक तहले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । जनताको शिर नझुक्ने गरी, जनताको मन नभाँचिने गरी नीतिभित्र रहेर काम गर्ने बताउँदै सुखमा नसके पनि दुःखमा सधैँ जनताको साथमा रहने सुवेदीले प्रतिबद्धता व्यक्त गरे । शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझाले शिवालयको शैक्षिक उन्नति गर्नका लागि अभिभावकहरूको साथ पाएको बताउँदै आगामी दिनमा थप सक्रियताका लागि आग्रह गरे । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगिएको बताए । हाल केही कक्षाहरूमा स्मार्ट बोर्ड र स्मार्ट टिभीका माध्यमबाट पठनपाठन सञ्चालन गर्दा सिकाइ उपलब्धि बढेको अनुभव सुनाउँदै उनले अबका दिनमा भौतिकभन्दा बढी शैक्षिक गुणस्तर वृद्धिमा लाग्ने योजना सुनाए । एस.ई.ई. र कक्षा १२ दुवैमा शिवालयको नतिजा गाउँपालिकाभरिमा उत्कृष्ट रहेको उनको दाबी थियो । आर्थिक प्रतिवेदन विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रममा रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कडेलले विद्यालयको विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी, प्रशासन, व्यवस्थापनलगायतको उत्तिकै सक्रिय र सकारात्मक साथ चाहिने भन्दै शिवालयको प्रगति अनुकरणीय रहेको बताए । नेपाल शिक्षक सङ्घ, रूपाका अध्यक्ष रामचन्द्र ओझाले शिवालयको इतिहास कोट्याउँदै आफूले चन्दा सङ्कलन अभियान सञ्चालन गरेको घटना स्मरण गरे । विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्यसमेत रहेका उनले विद्यालयको विकासका लागि आफू जुनसुकै सहयोग गर्न तत्पर रहेको बताए । शिवालय मावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदीले विद्यालयको प्रगति देखेर आफूलाई गौरव लाग्ने गरेको बताए । उनले विद्यालयको विकासका लागि पूर्व विद्यार्थीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्दै शिवालयका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई मञ्चमा गोलबद्ध हुन आह्वान गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व सुरेनकुमार नेपाली ‘सुशील’, पूर्व अध्यक्ष तिलबहादुर थापालगायतले शुभकामना दिएका थिए । विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका कार्यक्रममा शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझाले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि तथा पूर्व प्रधानाध्यापक जयराम सुवेदीले गरेका थिए । सो अवसरमा विभिन्न प्रतियोगिता तथा शैक्षिक सत्र २०७८ का उत्कृष्ट विद्यार्थीहरूलाई रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कडेल, पृथ्वीरूपामा माविका प्रधानाध्यापक महादेव सुवेदी, शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम ओझा, विद्यालयका सहायक प्रधानाध्यापक ऋषिराम ओझा, शिक्षिका रस्मिला खनाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हिराप्रसाद सुवेदी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष भोजराज ओझालगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदी र वरिष्ठ उपाध्यक्ष पोस्टराज सुवेदीले मञ्चका तर्फबाट २०७८ को एस. ई. ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने धिरज सुनार र कृति ओझालाई नगद ३र३ हजार रुपैयाँ प्रदान गरेका थिए । सोही कार्यक्रममा नन्दकुमारी अक्षयकोष, पदमराज–मैनादेवी अक्षयकोष, तुलाराम अक्षयकोष, चूडामणि(बसुन्धरा अक्षयकोष, पूर्णबहादुर थापा अक्षयकोष, झगबहादुर गुरुङ अक्षयकोष, जमुनादेवी अक्षयकोष, तुलसी ढुङ्गाना अक्षयकोष, सरस्वती(दण्डपाणि अक्षयकोष, विश्वनाथ(डिलकुमारी अक्षयको र सुकमाया सुवेदी अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति वितिरण गरिएको थियो । वि.सं. २०१७ मा स्थापित विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।
काठमाडौं: विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिने छ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् । तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सम्म सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनका लेखकहरूले जनाएका छन् । अध्ययनअनुसार प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् । सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीकार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ । ग्रिनल्याण्ड र अन्टार्कटिका बाहेक भूमिमा आधारित विश्वका दुई लाख १५हजार हिमनदीमाथि विगतकोभन्दा गहन ढङ्गले गरिएको अध्ययनले ती नदी लोपको सँघारमा पुगेका देखाएको हो । हिमनदी पग्लिएसँगै समुद्रको सतहमा पनि वृद्धि हुनेछ ।
चितवन: भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक व्यक्तिको नाडीमा रहेको सुनको ब्रास्लेट चोरी गरेको अभियोगमा चितवन प्रहरीले अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रवक्ता विजय पण्डितका अनुसार भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका तनहुँ भानु नगरपालिका २ घर भई चितवनको भरतपुर १ बस्ने वर्ष ३७ को सञ्जीवबहादुर रायमाझीको नाडीमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । गत आइतबार नारायणगढ मुग्लिन सडक खण्डको भरतपुुर २९ केराबारी नजिकै ना ५६ ख ३३१२ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका बा।०३–००३ प ६५७४ नम्बरको मोटरसाइकल चालक रायमाझी घाइते भई भरतपुर अस्पतालमा उपचाररत थिए । रायमाझीको उपचारको क्रममा मृत्यु भएको र मृत्युपश्चात् शवगृहमा रहेको लाशमा उनको हातको ब्रास्लेट नदेखेपछि खोजी शुरु भएको थियो । पक्राउ परेका सुरक्षा गार्ड खोटाङ ऐंसेलुखर्क गाउँपालिका ६ घर भई हाल भरतपुर ७ बस्दै आएका थिए । पक्राउ परेका निजलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आज (शुक्रबार)देखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघस्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघस्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्दपुराणको केदारखण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ फूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ । सय रोटी बर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यानयोग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास गरिन्छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्दपुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो । “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा नेपाली समुदायमा प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्रवियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिनुभयो । शाली नदीमा माधवनारायण एवम् स्वस्थानी व्रत यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ । “माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार प्रकाश श्रेष्ठले भन्नुभयो । बर्तालुका लागि साँखुस्थित शालीनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । बर्तालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउँछन् । बेलुकी माधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि सुरु हुन्छ ।
काभ्रेपलाञ्चोक: ऐतिहासिक एवम् पर्यटकीय स्थल काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवम् धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो । नगरको ११ नं वडास्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्व बोकेको विश्वप्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अगाडि बढाई थप पहल गर्ने बिहीबारको नगरसभाले विशेष प्रस्ताव पारित गरेको हो । नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफल गरेको छ । सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएकाले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)का नेपाल प्रतिनिधिलाई औपचारिक रुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको थियो । पर्यटकीय स्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ । शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थलको रुपमा नमोबुद्ध लाई मानिन्छ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण गरिएको विश्वास छ । किंवदन्तीअनुसार द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ । हाल सो स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत छ । यसैबीच, नगरले नमोबुद्धलाई विश्वकै नमुना पर्यटकीय स्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु. ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ भने डिपिआर अनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार ‘नमोबुद्ध भगवान् घ्याँ’ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा सङ्कलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ । जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौंबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती ब्यहोर्दै आएका छन् । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृङ्खला देख्न सकिन्छ । यस्तै, काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुने भएको छ । पनौती विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको नगर उपप्रमुख गीता बञ्जाराले बताउनुभयो । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको बञ्जाराले जानकारी दिनुभयो । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ । पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौं उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ ।
मकवानपुर: गढी गाउँपालिका–७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दाङ: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका(९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् । उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवले ती बालिकालाई सोही नगरपालिका(९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
काठमाडौं: नेपाल टीः २० लिगमा लुम्बिनी अल स्टार्स र जनकपुरले क्वालिफायर–१ मा प्रतिस्पर्धा गर्ने भएका छ्न्। शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा जनकपुरले लुम्बिनीमाथि २३ रनको जित निकाल्यो। समूह चरणको खेल सकिदा लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहदा जनकपुर दोस्रो भयो। समूह चरणका सबै खेल खेल्दा लुम्बिनीले १० खेलबाट १६ अंक जोड्दा जनकपुरले १४ अंक बटुल्यो। शुक्रबार त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेटको क्षतिमा १५९ रन जोड्यो। उसका लागि ट्रेभन ग्रिफिप्तले ११ बलमा नटआउट ४७ रन जोडे। उनले ३ चौका र ५ छक्का हिर्काए। त्यसअघि शराफुद्दिन असरफले ३४ रन र खडक बोहाराले २२ रन जोडे। बलिङमा लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए। १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन जोड्यो। उसका लगि अनिल साहले ३५ रन, लाहिरू मिलन्थाले ३२ र सुनील धमलाले २७ रन जोडे। बलिङमा जनकपुरका ट्रेभनले ३ विकेट लिए भने शमिउल्लाह शिनवारीले २ विकेट लिए।

