पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

रौतहट: शीतलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि जिल्लाको कटहरिया नगरपालिकाले स्थानीयका लागि दाउराको प्रबन्ध गरेको छ । आगो तापेर जाडोबाट जोगिन दाउराको प्रबन्ध गरिएको हो ।  नगरपालिका प्रमुख अजयप्रकाश जयसवालले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको नौ वटै वडामा दाउरा उपलब्ध गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपलब्ध दाउरा सर्वसाधारणको जमघट हुने सार्वजनिक स्थल वा चोकमा बालिने गरी वितरण गरिएको छ ।” एक सातादेखि घाम नलागेपछि जाडोले कठ्याङ्ग्रिएका नागरिक दाउराको आगो ताप्न पाउँदा खुसी भएका छन् । जिल्लाको कटहरिया नगरपालिकाले अघिल्लो सातादेखि वडामा दाउरा वितरणको काम गरेको थियो ।

पोखरा:   गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबिच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो ।  सम्झौताअनुसार माघ १८ देखि २१ सम्म तालिम चितवनका स्कुलका खेलकुद शिक्षक, क्लबका सदस्यलाई तालिम प्रदान गरिनेछ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट कार्यक्रमका कोडिनेटर डा मधु सुदन सुवेदी र पटिहानी फुटबल क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस म्यानेजमेन्ट (बिएसएम) नेपालमा पहिलोपटक अध्ययन अध्यापन शुरु गरेको हो । कुनै पनि विषयमा कक्षा १२ वा नेपालमा सञ्चालन भएका सिटिइभिटी कोर्षबाट डिम्लोमा उर्तिण गरेकाहरुले बिएसमको अध्ययन गर्न पाउछन् । ४ वर्षे कोर्षको ८ सेमेष्टर अन्तर्गत अध्ययन अध्यापन हुने स्पोर्टस म्यानेजमेन्ट (बिएसम)ले नेपाली खेलकुदको जगलाई अझ बलियो बनाउन सहयोग पुग्ने भन्दै उद्देश्यका साथ विश्वविद्यालयले यो विषयको शुरुआत गरेको हो ।  ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबले मंसिरमा जिल्लाको ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’को आयोजना गरेको थियो । स्थापनादेखि नै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ। अध्यक्ष तिमिल्सिनाका अनुसार सबै गरेर ३० जना यो प्रशिक्षणबाट लाम्वभित हुनेछन् ।  

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती करणी मुद्धामा फरार रहेका ७१ वर्षिय तारानाथ तिवारीलाई पक्राउ गरेको छ ।  कास्की प्रहरीको टोलीले तिवारीलाई  पोखरा महानगरपालिका २८ माझठाना स्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।   कास्की प्रहरीका अनुसार पक्राउपछि उनलाई पहिले उच्च अदालतले फैसला गरे अनुसार कैद भोग्न अदालत पठाइएको छ ।    तिवारीलाई उच्च अदालतले तिवारीलाई जजक मुद्धामा २०७९ बैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।    तिवारीले २०७६ साउन ७ गते अपाङ्गता रहेकी नावालिग परिवर्तित नाम (पोखरा १३) लाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी:  तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखेताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियान सुरु भएको छ। नगरपालिका वडा नम्बर १ ज्यामिरबोटे र वडा नं २ सुन्दरीगाउँका युवा आँखेतालको प्रवर्धनमा लागेका हुन्। पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौंडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ।  परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवर्धनमा जुटेका हुन्। चार वर्षअघि सुन्दरीगाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए। उनीहरुबाट ९० हजार सङ्कलन गरी अभियान सुरु भएका आँखेताल संरक्षण एवं सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले जानकारी दिनुभयो। ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिर समेत बनाउनका लागि स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गर्नुभएको छ।  मन्दिर निर्माण एवं तालको संरक्षणका लागि हालसम्म छ लाख २५ हजार नगद खर्च भएको छ। “निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ, त्यही सहयोगले हामी मन्दिर निर्माणलाई अन्तिम चरणमा पुर्‍याउनुका साथै ताललाई केही मात्रामा भने पनि व्यवस्थित गर्न सफल बनेका छौँ”, सचिव ढकालले भन्नुभयो। यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रासमेत फेला परेको उहाँले जानकारी दिनुभयो। उहाँले यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको बताउनुभयो।  मन्दिर तथा जलाशय संरक्षणका लागि शुक्लागण्डकी नगरपालिका वडा नं १ बाट रू दुई लाख ५० हजार र वडा नं २ बाट रू ५० हजार नगद प्राप्त भइसकेको छ भने बाँकी रकम चन्दामार्फत जुटाइएको छ।  यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परापूर्वकालदेखि नै तालका रुपमा लिने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन्। युवाको सक्रियतामा यहाँको जलाशयलाई नेपालकै पहिलो जलविद्युत् गृह फर्पिङको जलाशयको स्वरुपमा स्टिलको रेलिङसहित गोलाकार रुपमा संरक्षण गरिएको छ। आँखे तालको अस्तित्व प्राचीनकालदेखि रही आएको बताउँदै ८९ वर्षीय शिवप्रसाद पौडेल यो स्थल धार्मिक आस्था एवं विश्वासका कारण पनि महत्ववूर्ण रहेको बताउनुभयो।  यस क्षेत्रमा छ पुस्ताअघिदेखि नै मन्दिर रहेको बताउँदै उहाँले हालको मन्दिर निर्माण क्रममा प्राप्त भग्नावशेषसँगै काठका ठुटाले त्यसको स्पष्ट सङ्केत गर्ने उल्लेख गर्नुभयो। यस स्थलको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन सकिने उहाँको भनाइ छ। कोत्रे तथा गगनगौंडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको पौडेलले बताउनुभयो। जग्गादाता डिल्लीराम अधिकारीका अनुसार परापूर्वकालमा यस ठाउँमा जमिन भासिएर भ्वाङ (भुवान) परेछ। त्यसलाई पुर्ने क्रममा अधिकारीका हजुरबुवाको आँखा फुटेछ।  ज्यातिषीसँग हेराउँदा त्यहाँ बाराहीको थान रहेको पाइएपछि पूजाआजा गरिँदै आइएको हो। त्यसै समयदेखि नै यहाँको जलाशयलाई आँखेताल भनिएको उहाँले बताउनुभयो। युवा जागरुकतामा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन थालिएको प्रयासले यहाँको प्रवद्र्धन र विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। मन्दिर तथा तालको संरक्षणकै उद्देश्यका साथ आँखे ताल एवं सिद्धिकाली मन्दिर निर्माण समितिले दुई वर्षयता सिद्धिकाली कप भलिबल प्रतियोगिता पनि गर्दै आएको छ। पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो। पछिल्ला समयमा दुवै खोलामाथि पक्की मोटरेवल पुल बनेपछि स्थानीय खुसी बनेका छन्। पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौंडाबाट आँखे तालसम्म आठरदश मिनेटकै अन्तरालमा सवारी साधनबाट पुग्न सकिन्छ।  खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार लागतमा सम्पन्न भएको हो भने गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न हो।

काठमाडौं:   लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।  जितका लागि लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो । जनकपुरका लागि शमिउल्लाह शिनवारीले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै पवन सर्राफले अविजित ३० रन, शराफुद्दिन अशरफले २४, राजेश फुामीले १३ र कप्तान ट्रेभोन ग्रिफिथले १० रन बनाउनुभयो । बलिङमा लुम्बिनीका विपुल शर्मा, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले दुई दुई विकेट लिनुभयो । श्याड्ली भानले एक विकेट झार्नुभयो ।  यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाउनुभयो । अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले अविजित १७ र लाहिरु मिलान्थाले १६ रन बनाउनुभयो । बलिङमा जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कामीले दुई दुई विकेट लिनुभयो । पवन सराफ र ट्राभोन ग्रिफिथले एक एक विकेट झार्नुभयो । पराजित जनकपुरले अव एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच सोमबार प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको थियो । फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदीयमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । 

काठमाडौं:  नयाँ सरकार बनेसँगै निरन्तर बढिरहेको सेयर बजारमा आइतबार पनि उछाल देखिएको छ । तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आइतबार २०।५५ अंकले बढेर नप्से परिसूचक २१ सय ६४।४८ को बिन्दुमा पुगेको छ । आइतबार २५९ कम्पनीको एक करोड ४१ लाख ९८७८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ४५ करोड ९९ लाख २५ रुपयाँ पुगेको छ । आइतबार १३३ कम्पनीको सेयर मूल्य बढ्यो भने ७१ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । खप्तड लघुवित्त र बाराही हाइड्रा पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य ८ देखि ९ प्रतिशत हाराहारीले वृद्धि भयो । आइतबार दोस्रो बजारमा सबै भन्दा धेरै २१ करोड रुपैयाँ भन्दा बढीको हिमालयन डिष्टिलरीको सेयर कारोबार भयो । यस्तै १९ करोड ६८ लाख रुपैयाँ बराबरको शिवम् सिमेन्टको सेयर खरिद बिक्री हुँदा राधी पावरको १५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

काठमाडौँ:  नेवाः पत्रकारको राष्ट्रिय सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा पत्रकार नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएका छ । नेवाः पत्रकारको राष्ट्रिय सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार सम्पन्न चौथौँ अधिवेशन तथा दसौँ वार्षिक साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  दबूको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठ चुनिनुभयो । यसैगरी महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिवमा राजु नापित, कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ, खुला सहसचिवमा प्रजित शाक्य, महिला सहसचिवमा सुनिता महर्जन, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहसचिवमा विजयराम कर्माचार्य, सहकोषाध्यक्षमा तेजनारायण महर्जन निर्विरोध निर्वाचित हुनुभयो ।  यस्तै, सदस्यहरूमा रत्नकृष्ण श्रेष्ठ (उपत्यकाबाट), पूर्णभक्त दुवाल, दानदास श्रेष्ठ, अनिता डङ्गोल, अनुप प्रधान, मीरा बज्राचार्य र उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश) रहनु भएको छ । लेखा समिति संयोजकमा विगेन तुलाधर निर्विरोध निर्वाचित हुनुभयो ।  उद्घाटन समारोहमा उपप्रधान तथा भौतिक तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारितालाई विकास गर्नुपर्ने विषयमा राज्यको ध्यान जाने बताउनुभएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले सोही अवसरमा पत्रकारिता पुरस्कार पाउने पत्रकारलाई नगदसहित सम्मान गर्नुभयो । महाधिवेशनका अवसरमा छ जना पत्रकार पुरस्कृत भएका छन् । अग्रज पत्रकार नरेशवीर शाक्यले ज्ञानदेवी–मणि स्मृति पत्रकारिता पुरस्कार, नेपाल समाचारपत्रकी सरस्वती कर्माचार्यले ज्ञानज्योति–लक्ष्मीप्रभा पुरस्कार प्राप्त गर्नुभयो । सोहीअनुसार नेपाः च्यानलमा आबद्ध अनुशा बज्राचार्यले भिक्षुकुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार, भक्तपुरका फोटो पत्रकार सुरेश ख्वाखः श्रेष्ठले बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार, हेटौँडाका पत्रकार सुरेश श्रेष्ठले श्रीराम स्मृति पत्रकारिता पुरस्कार र काभ्रेका पत्रकार सूर्यप्रसाद लाकोजुले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले दबूको स्मारिका ‘लुमन्ति पौँ’ पनि विमोचन गर्नुभयो । 

काठमाडौं:  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणबद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ।  सरकारले घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाएको भन्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विशेष टोली परिचालन गरेर छानबिन अगाडि बढाएको गृहमन्त्री लामिछानेले प्रष्ट पार्नुभएको छ।  यस अघिसमेत गृहमन्त्री लामिछानेले दुई पटक टेलिफोन गरेर धर्नामा रहनुभएकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गर्नुभएको थियो।  यसअघि सोमबार लामिछानेले गृह मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर सीआईबीलाई सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको थियो। सीआईबीको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। 

कपिलवस्तु:  जिल्लमामा अवैध रुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए । मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नविकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा छन् । त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए । शिवराज नगरपालिकामा रहेको ११ वटा, विजयनगर गाउँपालिकामा रहेको दुई वटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेको एक–एकवटा क्रसर उद्योग बन्द गराइएका हुन् ।