काठमाडौंः माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर ९माघे० सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँदै आएका छन् । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । जाडो महीनामा घ्यू, चाकु, चरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ । घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ ।
पाेखरा: गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक रोशन गाहामगरले मगर समुदायमा शैक्षिक जागरणको आवश्यकता रहेको बताएका छन् । सिर्जनशिल एकता मगर समाज मध्यनेपाल नगरपालिका ५ मगरगाँउ लमजुङको व्यवस्थापन तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङद्वारा माघे सक्रान्तिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा प्रमुख सचेतक गाहामगरले शैक्षिक योग्यताले पहुँच स्थापना गर्न मद्दत पुर्याउने बताउदै शैक्षिक जागरण आवश्यक रहेको बताएका हुन् । उनले शैक्षिक योग्यताकै कारण प्रशासनिक तथा राजनीतिक क्षेत्रमा पहुँच स्थापना गर्न भूमिका खेल्ने बताउदै मगर जाति शैक्षिक रुपमा अब्बल हुनुपर्ने बताए । ‘समग्र जातिको जनसँख्या हेर्ने हो भने हामी तेस्रोमा छौ । अनि आदिवासी जनजातिमा पहिलोमै छौ । तर समुदायको विकासको हिसाबले, आर्थिक उन्नती र शैक्षिक योग्यताको हिसाबले, सामाजिक प्रतिष्ठाको हिसाबले र राजनीतिक पहुँचको हिसाबले हेर्ने हो भने धेरै पछि छौ’, उनले भने, ‘त्यसैले शैक्षिक जागरण आवश्यक छ किनभने हाम्रो सत्रु भनेकै अशिक्षा हो ।’ उनले मगर समुदायको विकास र पहुँका लागि मगर समुदायको नेतृत्व पङ्ती गम्भीर बन्नुपर्ने धारणा राखे । ‘सँख्याको आधारमा अघि तर पहुँच र विकासको हिसाबले पछि पर्ने यो विषयलाई नेतृत्व पङ्तीले गम्भीर भएर सोच्नुपर्छ’, गाहामगरले भने, ‘यो मगर जातिको मात्रै समस्या होइन । आदिवासी जनजातिकै समस्या हो । हामी अशिक्षाकै कारण पछि परेका हौं । त्यसैले पहिलो प्राथमिकता हामीले शिक्षालाई दिन जरुरी छ ।’ अभिभावकहरुले आफ्ना सन्तानलाई शैक्षिक योग्यता वृद्धि गर्नतर्फ अभिप्रेरित गर्नुपर्नेमा उनले जोड दिए । ‘तपाइहरुको गैह्रीखेत, टारीखेत जे भनेनी तपाइहरुकै छोराछोरी हो । त्यसैले शिक्षित बनाउन सम्झौता गर्नुहुँदैन ।’ गाहामगरले भने । उनले फरक प्रसंगमा बोल्दै माघे सक्रान्ति मगर समुदायको राष्ट्रिय पर्व रहेकाले एकताको सुत्रमा बाध्न सहयोग पुर्याउने बताए । ‘माघे सक्रांतीलाई पछिल्लो समय राष्ट्रिय पर्वको रुपमा मनाइएको छ’, उनले भने ‘यो परिवर्तित समय अनुसार पनि चल्नुपर्छ । पहिले आफ्नो चेलीबेटीलाई बोलाएर आफ्नो क्षमता अनुसार मिठो मसिनो खुवाउने चलन थियो । अहिले एकताका लागि सामुहिक रुपमा मनाउने प्रचलन रहेको छ । यसले आत्मियता बढाउँछ ।’ उनले आदिवासी जनजाति सँस्कृतिकै कारण फरक पहिचान भएको बताउदै भने, ‘हामी भाषा, कला, धर्म र सँस्कृतिकै कारण पृथक छौं त्यसैले यसको संरक्षण तथा जगेर्ना गर्न अतिआवश्यक छ ।’ गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक तथा प्रदेश सांसद गाहामगरले आगामी दिनमा नेपाल मगर संघ लम्जुङको कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । सोही कार्यक्रमकाबीच प्रभु बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजु रानामगर तथा लमजुङको विभिन्न स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाईसमेत सम्मान गरिएको थियो । माघे सक्रान्तिको दिन नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङले हरेक वर्ष लमजुङ जिल्लाको विभिन्न मगर गाउँमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरि माघी पर्व मनाउँदै आएको छ । २०६८ को जनगणना अनुसार लमजुङ जिल्लामा मगर जातिको जनसँख्या करिब ५ हजार रहेको छ ।
काठमाडौं: सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा भोलि (सोमबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ । दिवसका अवसरमा मूल समारोह समितिले सोमबार कमलपोखरी क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौं महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटीलगायत संस्थाको सक्रियतामा जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागेका थिए । यस अवसरमा भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ । प्रदर्शनी भने मङ्गलबारदेखि गरिने जनाइएको छ । दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् । विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।
कावासोती: राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरु व्यवसायिक मौरी पालनमा लागेका छन् । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले स्वदेशमै मनग्य आम्दानी हुँदा यसतर्फ आर्कषित भएका हुन् । देवचुली नगरपालिका–९ का चन्द्रबहादुर थापाको मौरी पालनबाट जिवन फेरिएको बताउनुहुन्छ । कम लगानिबाट पनि मनग्य आम्दानी भएपछि उहाँले मौरी पालनमा लागी परेको बताउनु भयो । खुसि हुँदै उहाँले भन्नुभयो, ‘‘पहिले मौरीपालनबाट के नै आम्दानी होला र जस्तो लागेको थियो तर, मौरीपालन गरेर यसबाट आम्दानी भएपछि मौरीपालन नै गर्ने र ब्लक क्षेत्र बनाउने बताउनु भयो । महको प्रयोग स्वाथ्यका लागि लाभदायक भएकाले जाडो मौसममा यसको माग बढ्दै गएको छ । नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुलीका कतिपय किसान विगत २७ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष यदु अध्यक्ष कँडेलले बताउनुहुन्छ । जिल्लाको गैडाकोट, देवचुली, कावासोतीका युवाहरुले कृषि पेशाअन्तर्गत मौरीपालनमा चासो दिन थालेका छन् । विदेशमा मात्र होइन स्वदेशमा पनि सजिलै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण यहाका युवाले देखाएका छन् । चन्द्रबहादुर जस्तै यहाँका धेरै युवा मौरीपालन गर्ने र पकेट क्षेत्रसँगै ब्लक क्षेत्र बनाउने योजनामा छन् । कावासोती नगरपालिकाका अनन्त कंडेलले प्रदेशको अनुदानमा मह प्रशोधन केन्द्रनै स्थापना गरेका छन् । मौरीपालन गर्न युवाहरुले सामुदायिक वनसँग साझेदारी गरी घार व्यवस्थापन गर्ने गरेका छन् । नवलपुरमा मात्र वार्षिक ३० टन मह उत्पादन र खपत हुने गरेको छ । जिल्लामा उत्पादन भएको महको खपत राम्रो हुने हुँदा अहिले विशेष गरी युवाहरु मौरीपालनमा बढी आकर्षित भएको नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष कँडेलले बताउनुभयो । जिल्लामा अहिले झण्डै डेढ सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् । व्यावसायिकरूपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको सङ्ख्यासमेत धेरै रहेको उहाको भनाइ छ ।
काठमाण्डौंबाट पोखराको हवाई दूरी मात्र २५ मिनेटको हो । यही दूरी मापन गर्दा यति एयरलाइन्सको जहाज सेती नदीको खोंचमा पुग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्कमा रहेको पाइएको छ । कलसाइन कलसाइन नाइन एन–एएनसीको जहाज काठमाण्डौबाट बिहान १०ः ३२ मा पोखरा उडेको थियो । उक्त जहाज पोखरा टावरसँग १०ः५० मा सेती खोेच भन्ने स्थानबाट सम्पर्कमा आएको र लगत्तै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।
काठमाण्डौबाट पोखरा आउँदै गरेको यतिको विमान सेती खोंचमा दुर्घटना भएपछि उद्धारार्थ जुटेका एम्बुलेन्स र प्रहरीका गाडीहरु त्यहाँ पुग्न कठिनाई भइरहेको छ । पोखराभित्र रहेका एम्बुलेन्सहरु आपतकालीन उद्धारकालागि निस्केपन िसडकमा अत्यधिक जाम भएको छ । आज बिदाको दिन रहेकाले पनि स्थानीयहरु घटनास्थलमा पुग्ने क्रममा सडक जाम भएको छ । प्रहरी र ट्राफिकहरुले यथाशक्य प्रयास गर्दा पनि सडक खोल्न हम्मे पर्दा उद्धार र शव संकलनार्थ एम्बुलेन्सहरु बाटैमा रोकिएका छन् । ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटनामा परेको हो । उक्त विमान काठमाण्डौबाट आउँदै गर्दा विमानस्थलबाट करिब २ किलोमिटरको दुरीमा दुर्घटना परेको छ । घटनास्थलमा हेर्न जानेको संख्याले गर्दा एम्बुलेन्सले बाटो पाउन नसकेको हाम्रा सम्वाददाता बिबि रोकाले जनाएका छन् ।
पोखरा: ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटना ग्रस्त भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुग्न लाग्दा नयाँगाउँमा दुर्घटनामा परेको हो। हाल घटनास्थलबाट शव संकलन गरिदै छ ।
पोखराः पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
झापाः दमक–६ स्थित नमूना बजारमा रहेका नौवटा पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए । आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उहाँले बताउनुभयो । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन । आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका बारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।

