पोखराः आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएका शव काठमाडौँ लगिने भएको कास्कीका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा ४ चालक दल सहित ६८ यात्रु सवार थिए । आइतबार बिहान पोखराको सेती खोचमा जहाज दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको छ भने दुर्घटना स्थलमा २ जना अझै बेपत्ता छन् । पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउन थालिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
गण्डकीः कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे।।। सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा।।।’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप हुनुभएको छ । बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो । पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो । गत वर्ष उहाँ आफैंले गाएको गीतले भनेझैँ, निराका लागि यस वर्ष (२०७९) नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइनेछ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ । लोकगायक विष्णु खत्रीले नेपाली सङ्गीत जगतले एउटा प्रतिभावान कलाकार गुमाएको प्रतिक्रिया दिनुभयो । “प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गर्थ्यो, गायक खत्रीले सम्झिनुभयो । गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गतवर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो । “बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो”, खत्रीले सुनाउनुभयो । उहाँहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो । खत्रीकै समन्वयमा निरा भीमपोखराको मेलामा जाँदै हुनुहुन्थ्यो । स्थानीय प्रगतिशील युवा क्लबले उहाँहरूलाई आमन्त्रण गरेको थियो । गायिका निराको निधनले मर्माहत बन्नुभएका गायक खत्रीले भीमापोखराको उक्त मेलामा आफू पनि नजाने निधो लिनुभएको छ । “बैनीको दुःखद घटनापछि मैले पनि त्यो मञ्चमा उक्लिएर एक्लै गीत नगाउने निर्णय गरेँ”, गायक खत्रीले भन्नुभयो, “मैले नै सिफारिस गरेर निरा बैनी भीमपोखरा आउने योजना बनेको थियो ।” आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समयतालिका थियो । त्यहीँबाट बागलुङको भीमपोखरा जाने कार्यक्रम थियो । “बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, श्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो”, गायक खत्रीले भन्नुभयो, “त्यहीँ कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे ।” प्रत्यक्ष दोहोरीको प्रवर्द्धन गरिरहेको ‘सारङ्गी संसार’ युट्युब च्यानलका सञ्चालक ताराकान्त विकले गायिका निरालाई ऊर्जाशील कलाकारका रूपमा स्मरण गर्नुभयो । “एउटा आशलाग्दो प्रतिभा हुनुहुन्थ्यो, हँसिलो, चञ्चल, ऊर्जा पनि उस्तै”, विकले भन्नुभयो, “मञ्चीय कार्यक्रममा दर्शक र श्रोतालाई अडाइरहन सक्ने क्षमता उहाँमा थियो ।” ‘सारङ्गी संसार’का छवटा भागमा गायिका निरा मुख्य भूमिकामा प्रस्तुत हुनुभएको थियो । प्रत्यक्ष दोहोरीमा खरो उत्रन सक्ने उहाँको आफ्नै युट्युब च्यानल पनि छ । चर्चित गायकहरूसँगको उहाँको दोहोरी घम्साघम्सीले युट्युबमा उल्लेख्य दर्शक पाएको छ । तीज गीत, पञ्चेबाजालगायत गीत सार्वजनिक गर्नुभएकी निरा प्रत्यक्ष दोहोरीबाट अझ बढी चिनिएको विकले बताउनुभयो । “प्रत्यक्ष दोहोरीमा गज्जबले जम्न सक्नुहुन्थ्यो, मौलिक शब्द र बागलुङे लवज उहाँको गायनमा झल्कन्थ्यो”, विकले भन्नुभयो, “अब त्यो सम्झनामा मात्र रहने भयो, एल्बम र युट्युबमा मात्र उहाँका गीत बाँकी रहे ।” बडिगाड–८ का टीका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताउनुभयो । “पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो”, पाइजाले भन्नुभयो, “दुई–तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।” सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटुनाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो । पोखरा उड्नुअघि निराले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिनुभएको थियो । फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देश हेर्न नपाउँदै छन्त्याल सेतीखोँचमा अस्ताउनुभएको हो । बडिगाड–८ का वडाध्यक्ष खडक पुनले गायिका निराको अप्रत्याशित निधनले आफूहरू स्तब्ध बनेको बताउनुभयो । “सङ्गीत क्षेत्रमा सङ्घर्षशील, आफ्नै प्रतिभा र क्षमताले स्थापित गाउँकी चेलीलाई गुमाउनुपर्दा गहिरो पीडाबोध भएको छ”, उहाँले भन्नुभयो, “विद्यालयमा पढ्दादेखि नै नाच्ने गाउनेमा उहाँको बढी रुचि थियो, गाउँमा हुने वैशाखे पूर्णिमालगायत मेला, कार्यक्रममा सानैदेखि गीत गाउनुहुन्थ्यो ।” छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गर्नुभएको थियो । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मनुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ । उहाँको शव बुझ्न वडाध्यक्षसहित आफन्त पोखरा झरेका छन् ।
काठमाडौं: विद्यालयहरुले अबदेखि कक्षा १ मा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा प्रवेश परीक्षा लिन नपाउने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको हो । यस्तै केन्द्रले कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि रोक लगाएको छ । कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ-आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै पालिका र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । अहिले सहरका विभिन्न ठाउँमा कक्षा १ मा विद्यार्थीलाई प्रवेश परीक्षाका लागि भनेर महिनौँदेखि घोकाउने तथा कण्ठस्थ गराउनेजस्ता गतिविधि भइरहेका छन् । यस्ता गतिविधिले बालबालिकाको सिर्जनात्मक र अन्तर्निहित प्रतिभामा हानि पुर्याउने भन्दै विरोध भइरहेको छ ।
तनहुँ, तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ । शाह माथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको आज माघ ३ गते सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । थप अनुसन्धानको लागि नवलपुर अदालतको फैसला मगाइएको उहाँले जानकारी दिनुभयो । शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ । माघ ३ गते तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाएँ तोक्ने फैसला हुने अनुमान गरिएको छ । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।
काठमाडौं: आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । निर्वाचनका लागि आवश्यक तयारी भैरहेको संसद सचिवालयले जनाएको छ । गत पुष २६ गते वसेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोक्नुभएको थियो । सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो । प्रस्तावित कार्यतालिका अनुसार मनोनयन दर्ता अर्थात् प्रस्तावको सुचना भोलि माघ चार गतेका लागि कार्यक्रम राखिएको छ । त्यस्तै सोही दिन नै उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि प्रकाशन गरिने भएको छ । सभामुखका आकांक्षीले प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराउनुपर्नेछ । माघ ५ गतेको प्रतिनिधि सभा बैठकमा उम्मेदवारको प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थनमा बोल्ने कार्यक्रम हुन्छ । सभामुखको निर्वाचन हरेक सदस्यको मत विभाजनबाट हुन्छ । पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् । बहुमत प्राप्त निर्वाचित सभामुखले पदभार ग्रहणअगाडि राष्ट्रपतिसमक्ष शपथग्रहण गर्ने ब्यवस्था छ । सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । सभाध्यक्षले प्रस्तावित सभामुखको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यसरी निर्णयार्थ प्रस्तुत गर्दा पहिला दर्ता भएकोलाई पहिला र पछि दर्ता भएकालाई क्रमश प्रस्तुत गरिन्छ । पहिलो उम्मेदवारबारे निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएमा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्न नपर्ने कानुनी व्यवस्था रहेको छ । पहिलो उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । एक जनाको मात्र उम्मेदवारी परेमा निर्विरोध घोषणा हुने व्यवस्था रहेको छ । सभामा कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत उम्मेदवार सभामुख निर्वाचित हुन्छ संवैधानिक ब्यवस्था अनुसार संसद्को पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने छ । २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले ९ माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ । सभामुखको निर्वाचनको मिति नजिकिदै गर्दा दलहरु सभामुखको उम्मेद्वार तय गर्न आन्तरिक छलफलमा केन्द्रीत बनेका छन् । सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विच छलफल भएको छ । सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने निश्चित जस्तै छ । सो निर्वाचनका लागि कांग्रेसले उम्मेदवार उठाउने वा नठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन ।
काठमाडौं: आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली नै रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । तर पानी भने पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज काठमाण्डौको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसम बदलीसँगै हिमपात हुन लागेको हो । तर, पानी पर्ने गरी भने यो प्रणाली सक्रिय नभएको मौसमविद्ले बताएका छन् । यसपालि हिउँदमा अहिलेसम्म वर्षा हुन सकेको छैन । मौसमविद्ले यसअघि नै यसपालि हिउँदमा कम पानी पर्ने र तापक्रम औसत भन्दा बढी हुने पूर्वानुमान गरेका थिए ।
पोखराः पोखरामा विमान दुर्घटनामा परेर बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ । सोमबार सेती खोंचबाट थप एकजनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ७० पुगेको हो । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलिमात्रै खोजी गरिने जानकारी दिए । काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान ४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भएको थियो ।
पोखराः विमान दुर्घटनामा मृत्यु भएका २४ जनाको शवको मात्र पोखरामा पोष्टमार्टम हुने भएको छ । यती एयरको विमान पोखरामा आइतबार दुर्घटना हुँदा मृत्यु भएका ६९ जना मध्य २४ जनाको पोखरा र बाँकी ४५ जनाको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइने भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ । दुर्घटना भएको विमानमा चालक दलसहित ७२ जना सवार थिए । दुर्घटनास्थलमा ३ जना अझै अज्ञात रहेका छन् ।
पोखराः नेकपा एमालेकी विनाकुमारी थापामगर गण्डकी प्रदेशको उपसभामुखमा निर्वाचित भएकी छिन् । आज भएको प्रदेशसभामा सत्ता गठबन्धननका तर्फबाट उम्मेदवार बनेकी थापामगरले ३२ मत ल्याउँदै निर्वाचित भएकी हुन् । सत्ता गठबन्धनको नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्राको संयुक्त गठबन्धनक थापाले ३२ मत ल्याएकी हुन् । कांग्रेसको तर्फबाट उमेदवार बनेकी पार्वती तामाङले भने २६ मत पाइन् । २७ सांसद रहेको कांग्रेसबाट टिकाकुमारी बस्याल भने अनुपस्थित थिइन् । गण्डकीमा एमाले २२, माओवादी केन्द्र ७ (सभामुख बाहेक) र राप्रपाका दुई सांसद छन् । स्वतन्त्र निर्वाचित दिपक मनाङेले पनि उपसभामुखमा एमालेकै उमेदवारलाई मत हाले । गत शनिबार गण्डकीको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका थिए ।

