पोखराः आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्स दुर्घटनामा परेपछि आज थप एकजनाको शव भेटिएको छ । ७२ जना सवार जहाजमा हिजो साँझसम्म ६८ जनाको शव प्राप्त भएको थियो । आज बिहानैदेखि खोजीमा जुटेका उद्धारकर्मीहरुले भर्खरै एकजनाको शव भेटेका छन् । शव महिलाकाे भएकाे स्थलगत रिपोर्टिङमा रहेका सुनगाभा न्यूजकर्मी अर्जुन गाहामगरले जनाएका छन् । अब ३ यात्रुको शव भेटाउने बाँकी छ भने नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धारकर्मी दुर्घटनास्थलमा निरन्तर खोजीमा छन् ।
काठमाण्डौंबाट पोखरा आउने क्रममा दुर्घटनामा परेको विमान दुर्घटना भएको २४ घण्टा बितिसक्दा पनि शव नपाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जम्मा भएका आफन्तजन एवं परिवारका सदस्यहरु आक्रोशित भएका छन् । परिवारजनलाई आज शव दिइने जानकारी गराइएको थियो । सोही जानकारीअनुसार त्यहाँ भेला भएका आफन्तहरुले प्रक्रिया लामो भएको र मिटिङमात्रै बसेको भन्दै रोष प्रकट गरेका छन् । सञ्चारमाध्यमसँग प्रत्यक्ष कुरा गर्दै आफन्तजनहरुले आक्रोशित हुँदै भने ‘हामी हाम्रो मान्छेको शव आफै झिकेर लान्छौं, यहाँ रोक्न पाइँदैन ।’ त्यस्तै, उनीहरुले मृतकका आफन्तहरु देशभरबाट भेला भइसक्दा पनि शवको पोष्टमार्टम किन हुन सकेन ? भन्दै प्रश्न गरेका छन् । ‘हिजो घटना घट्यो, अझै मिटिङ भन्दै हामीलाई थप दुखित बनाउने ?’ उनीहरुको प्रश्न छ । सम्बन्धित निकायले बीमा दाबी गर्न प्रक्रिया पु¥याउने भन्दै स्थितिबारे जानकारी गराउँदा पनि पीडितहरुको आक्रोश थामिएको छैन । प्रतिष्ठानले भने शवको पोष्टमार्टम भइरहेको जानकारी गराउँदै यथाशक्य चाँडो शव उपलब्ध गराउने जनाएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरणअघि दुर्घटना भएको थियो । विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।
पोखराः पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरू गरेको छ। दुर्घटना जाँच आयोगले आजदेखि काम सुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ। ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ। ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ। सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो। आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन्। साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला ९अवकाशप्राप्त उपरथी० र सुनिल थापा ९अवकाशप्राप्त क्याप्टेन० तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन्। आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ। आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो।
पोखराः पोखरामा आइतबार विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको सनाखत भएको छ । पोखरामा आइतबार यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो । सनाखतमा हुनेमा १६ महिला र २२ पुरुष रहेका छन् । फेला परेकामध्ये सनाखत भइसकेका शवको पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार छन् । पोर्टमार्टमका लागि ७ सदस्यीय राष्ट्रिय टोली गठन गरिएको छ डाक्टर भरत खत्रीका अनुसार सो टोलीमा पोखराका ५ जना र काठमाडौंका २ जना डाक्टर रहेका छन् । काठमाडौंका २ जना डाक्टर पोखरा आइपुगेकाले आवश्यक प्रक्रिया पुरा भइसकेको डाक्टर भरत खत्रीले बताए । उनले काठमाडौंका २ जना डाक्टर पोखरा आइपुगेकाले अब पोष्टमार्टम गर्ने बताए । ‘काठमाडौंबाट आउनुहुने २ जना डाक्टर पोखरा आइपुग्नु भएको छ । सबै प्रक्रिया पुरा भइसकेका छन्’, डाक्टर खत्रीले भने, ‘पोष्टमार्टम गर्न मिल्ने जति गरेर आफ्ना आफन्तलाई बुझाउन तयार छौं ।’ उनले हालसम्म फेला परेका शवलाइ नम्बर किटान गरेर राखिएको बताए । ‘हामीले सुरुदेखि ल्याएका शवलाई नम्बरिङ गरेका छौं, त्यो मध्ये पहिचान गर्न सक्ने जतिलाई यहि गर्छाै र आफन्तलाई जिम्मा लगाउँछौ’, उनले भने, ‘बाँकी सबैलाई हेलीमार्फत काठमाडौं पठाउने व्यवस्था गरेका छौं ।’ उनका अनुसार सनाखत हुन नसकेका शव, चालकदलका सदस्यहरु र विदेशी नागरिकका शवलाई पोष्टमार्टम र डिएनए परिक्षणका लागि काठमाडौं पठाइने छ ।
पोखराः पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।
कास्की: पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रतिकुल मौसमका कारण आज सुचारु हुन सकेको छैन । पोखराको मौसम नखुलेका कारण विमानस्थलमा उडान तत्कालका लागि बन्द गरिएको हो । विमानस्थलका सुचना अधिकारी विष्णु प्रसाद अधिकारीले मौसम खुलेसँगै सेवा तथा उडान सुचारु हुने बताए । ‘अहिलेसम्म एयरपोर्ट बन्द छ’, अन्य कारणले हैन । मौसम नखुलेको कारण हो, घाम बिस्तारै लागिराछ, अझै समय लाग्ला त्यसपछि सेवा सुरु हुन्छ ।’ अधिकारीले भने । उडान सुरु भएपछि यति एयरलेबाहेक अन्य जहाज कम्पनीले निरन्तर सेवा प्रदान गर्नेछ । ‘यतिको एटीआर जहाज हिजो दुर्घटना भएको कारण आज उहाँहरुको फ्लाइट रद्द छ, सुचना अधिकारी अधिकारीले भने, ‘बाँकी अन्य जहाजहरुले मौसम खुल्ने बित्तिकै उडान भर्नुहुन्छ ।’ (आइतबार) हिजो मात्रै यति एयरको एटीआर ७० जहाज पोखरा महानगरपालिका ७ र १५ जोड्ने सेती खोँचमा दुर्घटना ग्रस्त भएको थियो । उक्त दुर्घटनामा परि चालकदलका ४ जना, ५३ जना नेपाली, भारतीय नागरिक ५ जना, रसियन ४, आयरल्यान्डका १, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक १, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ७२ जनाकै ज्यान गएको थियो । सो मध्ये यो समाचार तयारपार्दासम्म ६८ जनाको शव फेला परिसकेकेको छ भने बेपक्ता ४ जनाको शवको खोजी कार्य तिव्र पारेको सहायक सिडिओ तथा सुचना अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘अहिलेसम्म ६८ जनाको शव भेटिसकेका छौं, सुनगामा न्यूजँग उनले भने, ‘बेपत्ता ४ जनाको भने बिहानैदेखि खोजीकार्य तिब्र पारेका छौं ।’ काठमाडौंबाट २ डाक्टर नआउँदा पोष्टमार्टममा ढिलाई फेला परेकामध्ये सनाखत भइसकेका शवको पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार छन् । पोर्टमार्टमका लागि ७ सदस्यीय राष्ट्रिय टोली गठन गरिएको छ डाक्टर भरत खत्रीका अनुसार सो टोलीमा पोखराका ५ जना र काठमाडौंका २ जना डाक्टर रहेका छन् । काठमाडौंका २ जना डाक्टर आउन नसक्दा पोष्टमार्टममा ढिलाई भएको हो । बाँकी सबै आवश्यक प्रक्रिया पुरा भइसकेको डाक्टर भरत खत्रीले बताए । उनले काठमाडौंका २ जना डाक्टर पोखरा आउनका लागि एयरपोर्टमा रहेको बताउदै प्रतिकुल मौसमका कारण आउन कठिनाई भएको बताए । ‘काठमाडौंबाट आउनुहुने २ जना डाक्टर एयरपोर्टमा रेडी हुनुहुन्छ । सबै प्रक्रिया पुरा भइसकेका छन्’, डाक्टर खत्रीले भने, ‘उहाँहरु आइसकेपछि पोष्टमार्टम गर्न मिल्ने जति गरेर आफ्ना आफन्तलाई बुझाउन तयार छौं ।’ उनले हालसम्म फेला परेका शवलाइ नम्बर किटान गरेर राखिएको बताए । ‘हामीले सुरुदेखि ल्याएका शवलाई नम्बरिङ गरेका छौं, त्यो मध्ये पहिचान गर्न सक्ने जतिलाई यहि गर्छाै र आफन्तलाई जिम्मा लगाउँछौ’, उनले भने, ‘बाँकी सबैलाई हेलीमार्फत काठमाडौं पठाउने व्यवस्था गरेका छौं ।’ उनका अनुसार सनाखत हुन नसकेका शव, चालकदलका सदस्यहरु र विदेशी नागरिकका शवलाई पोष्टमार्टम र डिएनए परिक्षणका लागि काठमाडौं पठाइने छ ।
पोखराः पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छगरेको । सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको हो । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरणअघि दुर्घटना भएको थियो । विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् । दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए ।
पोखराः पोखरामा आइतबार भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको छ । खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिए । जहाजमा सवार चार जनाको शव अझै नभेटिएको र सेती नदिमा बगेको हुनसक्ने भन्दै पानीमा खोजी सुरु गरिएको बानियाँले जानकारी दिए । हाल शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम अञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाउने जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड अनुसार मात्र पोस्टमार्टम गर्नु पर्ने भएकाले सरकारी अनुमतिबाट मात्र गर्नु पर्ने भएकाले केही समय ढिलाइ भएको जनाएको छ । जीवन बीमा दाबीका लागि सतर्कता अपनाउनु पर्ने यस अघि एयर बङ्गलाको घटनाले पाठ सिकाएको थियो । सबै प्रक्रिया पुरा गर्ने गरी काम अघि बढाउने गरी सम्बन्धित निकायहरूको बैठक अहिले पोखरामा बसी रहेको छ । आइकाओको नियमानुसार कानुनी प्रक्रिया पुग्ने गरी कागजात तयारी गर्ने भएको छ । अहिले अस्पताल परिसरमा ठुलो सङ्ख्यामा मृतकका आफन्तहरूको भीड रहेको छ ।
पोखराः पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ । केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उहाँको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन् । केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो । कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गर्नुभएका उहाँका गुरु अग्रज पत्रकारसमेत रहनुभएका बद्रीविनोद प्रतीक आफूलाई आजको दिनमा कमलको दुःखद निधन सुन्नुपर्दा मर्माहत बनाएको बताउनुभयो । कमलले हालको रुपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गर्नुभएको प्रतीकले बताउनुभयो । उहाँले भन्नुभयो, “कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनती र अनुशासित थिए । आफूले प्राथमिक शिक्षा प्रदान गरेको एकजना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ ।” पाइलट बनेपछि समेत केसीसँग पटक पटक भेटघाट हुने गरेको प्रतीकले सुनाउनुभयो । “भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे । सञ्चो बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौँ । उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ ।” उमेरले छ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित हुनुहुन्थ्यो । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण गराएका केसीसँगसँगै यात्रा गरेका पोखरेली पर्यटन व्यवसायी एवं सञ्चारकर्मी यतिखेर झलझली सम्झिएका छन् । केसी रुपा गाउँपालिकाबाट पहिलो पाइलट बन्नुभएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । “उहाँकै प्रेरणाबाट पछि रुपाबाट अरू पनि पाइलट बन्नुभएको छ”, उहाँले भन्नुभयो, “केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो ।”

