म्याग्दी: म्याग्दीको मंगला गाउँपालिका–२ काफलगौरमा सोमबार दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरी निरीक्षक राजन ढकालले मंगला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए। थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। उनका अनुसार घाइते मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ। मंगला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला–२ की २२ वर्षीया विपना कार्की, मंगला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ। ओरालो सडकमा जीप पल्टिएर दुर्घटना भएको थियो। जीप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशीघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए । साथै एक महिनाभित्र इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए । साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् ।
पोखरा: गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आइतबार सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले बताइन् । यी हुन् गण्डकीमा सात मन्त्रालयः
काठमाडौं: नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।
काठमाडौँ: छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली गणपति वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा।३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा दोलखा सैलुङ गाउँपालिका–६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोशिस तामाङ समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सो बसमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उता धनुषाको जनकपुर उपमहानगरपालिका(१ पुलचोकमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १७ बस्ने ३८ वर्षीय दिनेश साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा जुतातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कावासोती: पूर्वीनवलपरासीमा कृषि उत्पादनका लागि उर्वर भूमि सिँचाइको अभावले बाँझो रहने समस्या बढेको छ। पर्याप्त सिँचाइ नहुँदा लक्ष्यअनुसारको उत्पादन पनि हुन सकेको छैन। गैँडाकोट नगरपालिका वडा नं.–३ अन्नबाली उत्पादनमा किसान तल्लीन भए पनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै छन्। नवलपुर गैँडाकोटको हर्दी र केलादीका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन पाएका छैनन्। वर्षायाममा खेतीबालीका लागि आकाशको पानीको भर पर्दछन् भने हिउँदमा खेतबारी बाँझै राख्ने गरेका छन्। गैँडाकोट हर्दीको एक सय बिघा र केलादीको ५० बिघा जमिन सिँचाइ अभावले बाँझो छ। गैँडाकोटका अधिकांश युवा विदेशबाट फर्किएर कृषि पेसामा आबद्ध भएका छन् तर सिँचाइ नहुँदा चाहेर पनि खेती गर्न नसकेको स्थानीय कृषक हरिबहादुर मिश्रले बताउनुभयो। वैदेशिक रोजगारमा १५ वर्ष बिताएर स्वदेश फर्कनुभएका गैँडाकोट–३ निवासी मिश्रले कृषिमा राम्रो सम्भावना देखेर व्यावसायिक खेती सुरु गर्नुभयो तर सोचेअनुसारको हुन सकेन। उहाले भन्नुभयो, “सिँचाइ छैन, अप्ठ्यारो छ। सिँचाइ भए यो खेतीयोग्य जमिन बाँझो हुने थिएन, विदेशबाट केही गर्न यहाँ आए भने निराशा मात्रै छ।” बर्खामा हुने अन्नले हिउँद टार्नुपर्ने बाध्यता छ। वर्षायाममा आकाशको भर पर्नुपर्ने हिउँदमा भने पूरै खेतीबारी बाँझै राख्नु पर्दा किसान चिन्तित छन्। १० रोपनी खेत भएर पनि मकै र कोदोबाहेकको अरू खेती गर्न नपाउँदा आफूहरू समस्यामा परेको अर्की स्थानीय कृषक सम्झना न्यौपानेको गुनासो छ। ६२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गैँडाकोटको हर्दी र केलादीमा सिँचाइ व्यवस्थाका लागि काम भइरहेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो। सिँचाइको समस्या समाधानका लागि लिफ्टिङ, सतही र बोरिङका लागि वडा कार्यालयबाट गत वर्ष २५ लाख रुपियाँमा काम सुरु गरिएको छ। अहिले हर्दी र केलादीमा सिँचाइको ८० प्रतिशत काम भएको जानकारी दिनुभयो। सिँचाइको पहुँच पु(याउन सामान्य बजेटले नभ्याउँदा पनि समस्या भएको देखिन्छ।
कावासोती: पूर्वी नवलपरासीमा यो वर्ष गत वर्षको तुलनामा तोरी उत्पादन बढेको छ। यहाँको गैँडाकोट, देवचुली, मध्यबिन्दु, कावासोती नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा तोरी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो। गत वर्ष जिल्लामा छ करोड बढीको तोरी उत्पादन भएकोमा यो वर्ष सात करोड बढीको तोरी उत्पादन भएको प्रारम्भिक तथ्याङ्क रहेको कृषि प्राविधिक राजेन्द्र गौडेलले बताउनुभयो। यो वर्ष तोरीमा दाना राम्रो फलेको, तोरीको बाक्लो ठूला बोटसमेत रहेकाले तोरी उत्पादन गत वर्षको तुलनामा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो। कृषकहरू तोरीबाली नलगाउने, तेल किनेर खाने प्रचलन बढन् थालेपछि तोरी खेतीतर्फ कृषकलाई थप आकर्षित बनाउन कृषि ज्ञान केन्द्रले कृषकलाई समय समयमा तालिम दिने र यसको महत्वका बारेमा जानकारी दिने गरेको छ। पूर्वीनवलपरासीको गैँडाकोटमा गत वर्षको तुलनामा यो वर्ष तोरी उत्पादन दोब्बर बढेको र तोरी खेती गर्दै आएका कृषक ओमनाथ तिवारीले बताउनुभयो। यो वर्ष तोरीको बोट राम्रोसँग बढेकाले दाना पनि फसल पनि राम्रो भएको कृषक तिवारीले बताउनुभयो। जिल्लामा तोरी उत्पादन राम्रो भएकाले किसानहरू खुसी भएको प्रगतिनगरका कृषक धर्मराज बस्यालले बताउनुभयो। गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउन र कृषि खेतीतर्फ जागरुक बनाउन पालिकाले योजना नै बनाएर अघि बढेको बताउनुभयो।
तनहुँ: गाउँघरमा प्रशस्त जमिन भए पनि प्राय: युवा स्वदेशमा कृषि पेसा गर्नुभन्दा विदेश जान मरिहत्ते गर्छन्। उनीहरू पुख्र्यौली जग्गा जमिन बाँझो राखी लाखौँ रुपियाँ ऋण लिएर विदेशमा भौँतारिन्छन्। कृषि क्षेत्रमा काम गर्ने युवा जनशक्ति नहुँदा जमिन बाँझै राख्ने गरिएको छ। यस्तै युवाको बीचमा तनहुँका एक युवकले विदेश जान ठिक्क पारेको खर्च बाख्रापालन र तरकारी खेतीमा लाएपछि विदेशको रहर पुगेको बताएका छन्। म्याग्दे गाउँपालिका–५ चिमखान निवासी कृष्ण खड्काले कृषि पेसाबाट वार्षिक छ लाख रुपियाँ नाफा कमाउनुभएको छ। खड्काले फाम नै दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन र तरकारी खेती गर्नुभएको छ। बाख्रापालन र तरकारी खेतीबाट मासिक ५० हजार रुपियाँ बचत हुने गरेको छ। युवा कृषक खड्काले सञ्चालन गरेको कृपा कृषि तथा पशु फर्ममा २८ वटा बाख्रा रहेका छन् । उहाँ भन्नुहुन्छ, विदेश गएको भए यतिको कमाइ हुन्थ्यो कि हुन्थेन कुन्नी ? मैले त स्वदेशमै काम गर्दा अरूहरूलाई पनि रोजगारी दिएको छु। घरमा श्रीमती, छोरा र बुबाआमासहित १० वर्ष अघिदेखि नै कृषिमा पेसामा लाग्नु भएको छ। अरबको तातो भूमिमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा कृषि पेसा गर्न उचित लागेर विदेश नगएको खड्काले बताउनुभयो। काममा दत्तचित्त भएर लाग्ने भए पैसा कमाउन विदेश जानु नपर्ने रहेको छ खड्काले थप्नुभयो, बाख्रापालनबाट मासिक ३० देखि ३५ हजार रुपियाँ र तरकारी खेतीबाट मासिक १५ हजारभन्दा बढी आम्दानी हुने गरेको छ। उहाँले आफ्नै जग्गामा बाख्राका लागि डाले घाँस खेती गर्नुभएको छ। “बाख्राको मलबाट डाले घाँस र तरकारी खेती फस्टाउने भएकाले व्यवसायमा सफलता मिलेको छ,” खड्काले भन्नुभयो। स्थानीय खरी जातको बाख्राको मूल्य राम्रो हुने र रोग पनि कम लाग्ने हुँदा बाख्रा व्यवसायमा आफूलाई सन्तुष्टि मिलेको खड्काले बताउनुभयो। करिब पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको खड्काले बताउनुभयो। “बजार नजिक भएकाले बिक्रीका लागि समस्या छैन,” खड्काले भन्नुभयो। हालसम्म कुनै पनि सङ्घ संस्थाबाट अनुदान रकम नपाएका खड्काले “गाउँमा अन्नबाली, फलफूल तथा तरकारी खेती तथा पशुपालनका लागि प्रशस्त जमिन भएमा कृषि पेसा अँगाल्न सुझाव दिनुभयो। विदेशमा पसिना बगाउन जाने सोचाइ परिवर्तन गरी स्वदेशमै केही व्यवसाय गर्दा राम्रो आम्दानी गर्न सकिने अनुभव उहाँको छ।
धनगढी: कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्र ९बर्ड सेन्चुरी०मा तीन प्रजातिका चरा थपिएका छन्। थपिएका चरा प्रजातिमा हरियो लामपुच्छ्रे, ठूलो वन परेवा र सुन्दर निलटभा रहेका छन्। हरियो लामपुच्छ्रे मध्यपहाडी क्षेत्रमा पाइन्छ। जाडोयाममा यो चरा कैलालीसम्म पुग्ने गर्छ। पछिल्लो समय चरा गणनाका क्रममा सो सेन्चुरीमा तीन प्रजातिको चरा थपिएको पाइएको हो। योसँगै घोडाघोडीमा पाइने चरा प्रजातिको सङ्ख्या ३६३ पुगेको छ। यसअघि ३६० प्रजातिका चरा रहेको अभिलेख थियो। घोडाघोडी विश्व रामसार क्षेत्रमा सूचीकृत सिमसार पनि हो। यस्तै ठूलो वन परेवा कैलालीको अन्य क्षेत्रमा यसअघि पाइएको थियो। ठूलो वन परेवा युरोपमा बढी पाइने गरेको जनाइएको छ। घोडाघोडी क्षेत्रमा ६० वटा ठूलो वन परेवा देखिएका थिए। यसैगरी सुन्दर निलटभा हिमाली चरा हो। जाडोयाममा तल झर्ने यो प्रजातिको चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा एउटा मात्रै देखा परेको छ। तीनवटै प्रजातिका चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पहिलो पटक अभिलेख भएको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो। सुन्दर निलटभा कैलालीमै पहिलो पटक भेटिएको चरा हो। दुर्लभसहित विभिन्न प्रजातिका चरा पाइने गरेकाले घोडाघोडीलाई गत वर्ष फागुन २७ गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो। यसको उद्देश्य चराको व्यवस्थित तरिकाले संरक्षण गर्ने रहेको छ। यहाँ राजलाहाँचे, डङ्गरगिद्ध, भुँडीफोर गरुड, कैले टाउके हाँसलगायतका सङ्कटापन्न चरा पाइन्छन्। नादुन र हरिहाँसले यहाँ ‘ब्रिडिङ’समेत गर्दै आएका छन्। यसैबीच घोडाघोडी क्षेत्रमा संरक्षणसम्बन्धी थप सचेतना फैलाउने उद्देश्यसाथ यस वर्ष नेपाल लाटोकोसेरो उत्सव पनि गर्न लागिएको छ। संरक्षणमा क्रियाशील संस्था फ्रेन्ड्स अफ नेचरले यस पटक कैलालीको घोडाघोडीस्थित माघी होमस्टेमा लाटोकोसेरो उत्सव आयोजना गर्न लागेको हो। माघ २० र २१ गते दुई दिनसम्म उत्सव हुँदै छ। यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा यो उत्सव गरिएको थियो। उत्सव तयारीमा जुटेको फ्रेन्ड्स अफ नेचरका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। “अहिले विभिन्न विद्यालयमा कार्यक्रम गरिरहेका छौँ,” उहाँले भन्नुभयो। लाटोकोसेरो उत्सव आयोजना गर्नुभन्दा एक महिनाअगाडि आयोजनास्थल आसपासका विद्यालयमा संरक्षणसम्बन्धी कार्यक्रम गर्ने गरिएको छ।

