पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

पोखराः   गण्डकी विश्वविद्यालयको आयोजनामा प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता-२०७९ हुने भएको छ । आयोजक गण्डकी विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट हुन लागेको जानकारी गराएको हो । माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका संयोजक डा. मधुसुदन सुवेदीले बताए । ‘हामीले ५ गतेसम्म दर्ता मिति राखेर प्रदेशका सबै माध्यमिक विद्यालयलाई जानकारी गराएका थियौैं, १२ वटा विद्यालयले नाम दर्ता गराउनुभएको छ,’ उनले भने, पहिलो पटक भएर होला अपेक्षा गरेअनुसारको टिम आउन सकेन ।’ प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको डिग्री कार्यक्रमको समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन संकायको संयोजक सुवेदीले बताए ।  प्रतियोगिताका सम्पूर्ण खेलहरू नकआउट चरणमा हुनेछन् । माघ ९ गतेबाट सुरु हुने प्रतियोगिताका सेमिफाइनलको खेल माघ १२ गते र फाइनल खेल माघ १३ गते हुने आयोजकले जनाएको छ । पहिलो खेल र फाइनल खेल पोखरा रंगशालाभित्रको गाउण्डमा हुनेछ भने बाँकी खेल पोखरा रंगशाला बाहिरको गाउण्डमा हुनेछ । ‘सिमित स्रोत र साधनले गर्दा प्रतियोगिताको बाँकी खेल मुख्य गाउण्ड बाहिर गरेका हौं,’ सुवेदीले भने । उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल  प्राप्त गर्ने प्रतियोगिता संयोजक सुवेदीले बताए । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।   यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिरहेको संयोजक मधुसुदन सुवेदीले बताए ।  समग्र खेलकुदको विकास, सम्बर्धन, प्रबर्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउने उद्देश्यले विश्वविद्यालयले उक्त प्रतियोगिता आयोजना गरेको विश्वविद्यालयको रजिष्टार कैलाश तिमिल्सिनाले बताए । यस वर्षदेखि कुलपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरेका छौं, यो प्रतियोगिता हरेक वर्ष सञ्चालन हुन्छ,’ उनले भने, ‘यसले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’ २०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनरत छन् ।   

पोखराः  गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशका प्रवक्ता तथा मन्त्री सीता सुन्दासले गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको जानकारी दिइन् ।  ‘आइतबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबीच गण्डकी प्रदेशको मन्त्रालयलाई पूर्णता दिन छलफल गरेको थियौं, प्रवक्ता सुन्दासले भनिन्, ‘गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको छ, भोलि पुनः बैठक बस्दै छौं सकेसम्म बेलुकासम्म प्रदेशमा मन्त्रालयले पूर्णता पाउँन सक्छ ।’ गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएसँगै कसले कति मन्त्रालय लिने भन्ने भोलिको बैठकले टुङ्गो लाग्ने प्रवक्ता सुन्दासले जानकारी दिइन् ।  पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले २९ गते नै विश्वासको मत लिइसकका छन् ।  मुख्यमन्त्री नियुक्तसँगै एमालेबाट सीता सुन्दास, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम तमु बिना विभागीय मन्त्री भैसकेका छन् ।  गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ मन्त्रालय बनाएपनि नेकपा दुईतिर हुँदा ११ मन्त्रालय बनाएका थिए भने नेकपा दुईतिर हुँदा गण्डकीका मुख्यमन्त्री भएका नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीले १२ मन्त्रालय बनाएका थिए ।   

काठमाडौं:  कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १० सम्म पढ्न पाइन्छ । कक्षा १० पास गरेर ११ मा पढ्दा पुनः रजिस्ट्रेसन फाराम भर्नुपर्ने हुन्छ । जबकि कक्षा ९–१२ लाई माध्यमिक तह मानिएको छ । तर, एउटै तह पास गर्नको लागि दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । यो वर्षदेखि भने त्यो बाध्यता अन्य हुने भएको छ ।  यो वर्षदेखि कक्षा ९ मा भरेको रजिस्ट्रेसन फारामले कक्षा १२ सम्म काम लाग्नेछ । कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेपछि कक्षा १२ सम्मको लागि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको हो ।  बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष कक्षा ९ मा रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीहरूले कक्षा ११ मा पुनः भर्नु नपर्ने बताए । ‘माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिस्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी यो वर्षदेखि लागू गर्दैछौं । त्यसका लागि तयारी थालेका छौं,’ उनले भने ।  माध्यमिक तहमा पटक पटक फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गर्दै यो वर्षदेखि एक पटक मात्र फाराम भने हुने बनाउन लागिएको उनको भनाई छ । जसले गर्दा यो वर्ष कक्षा ९ मा अहिलेसम्म रजिस्ट्रेसन फाराम खुलेको छैन ।  ‘हामी केही व्यवस्थापन गर्दैछौं । सबैलाई सहज हुने खालको व्यवस्था गर्न लागेकाले कक्षा ९ मा रजिस्ट्रेसन फाराम खुल्न ढिलाइ भएको हो । अब छिट्टै खुल्छ,’ उनले भने । 

पोखरा:   एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधि मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधि संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रह्यो । त्यसैगरी प्रतियोगितामा कास्की मोर्डनाइज एकेडेमीले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी मेट्रोपोलिटन एकेडेमीले तेश्रो स्थान हासिल गर्दै नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएभने भ्युप्वाइन्ट बोर्डिङ स्कुलले शान्तवना स्थान हासिल गर्दै नगद ७ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भए । प्रतियोगितामा २० स्कुलको सहभागीता रहेको थियो । प्रतियोेगितामा बिजयीहरुलाई पुरस्कार प्रायोजक यु एन आई एक्सपर्ट एलइडी लाइटिङका सञ्चालकहरु पियुस कठारी, वीर बहादुर कंडेल र चन्द्र बहादुर थापा, महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना लगायतले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । महोत्सवको बाह्रौ दिन दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक राजु परियार, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवर लगायतको एकल तथा दोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी सांझको लाइभ कन्सर्टमा दीक्षिता कार्कीको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको तेह्रो दिन लोकदोहोरी तर्फ श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुती रहने छनभने सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैविच माघ ९ गते सम्म आयोजना हुने भनिएको महोत्सव एक दिन थप गरिएको आयोजकले जनाएको छ । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनाको दिनमा आयोजकले महोत्सव स्थगित गरेका कारण महोत्सवको अवधि एक दिन थप गरिएको महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको माघ १० गते कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङको प्रमुख अतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ । 

पोखराः   पोखरामा आजदेखि सुरु भएको तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।  पोखरा रंगशालामा आज (आइतबार) भएको खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । गण्डकीले पुलिसलाई २५-२३, २५-२० र २५-१६ ले पराजित गरेको हो ।  यस्तै आज नै भएको पुरुषतर्फको पहिलो खेलामा विभागिय क्लब नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ ।  पहिलो सेट गुमाएर पनि एपिएफले उत्कृष्ट पूनरागमनका गर्दै एपिएफले २०-२५,२५-२२,२६-२४,२५-१९ ले विजयी भएको थियो ।  त्रिभुवन आर्मी क्लब गत वर्षको साविक विजेता टोली समेत हो ।  महिलातर्फको पहिलो खेलमा भने त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।  न्यू डायमण्ड स्पोर्टस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै आर्मीले विजयी सुरुवाता गरेको हो ।  आर्मीले २७-२५, २५-१७ र २५-२३ को सेटमा विजयी भएको थियो ।  टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन । त्यसको ठाँउमा गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्दैछ । महिलातर्फ अर्को टोली एपिएफ रहेको छ । राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र  होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ ।  यस्तै पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ ।  तेस्रो संस्करणमा पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हो ।  गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र  पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधी जितेका थियो ।  आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिलारपुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५÷५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए ।  त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट  एक/एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।  

कालीकोट:  गत असोजमा परेको वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भए पनि चार महिना वित्दा पनि पुल मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ । जितेगडा बजारसहित झोलुंगे पुलको केही केही भाग वर्खाको भेलले बगाएको थियो । वारपार गर्न गाह्रो भएपछि स्थानीयले दुई लाख रूपियाँ खर्च गरेर तिलानदी र कर्णाली तर्ने पुलबीचमा काठको भर्‍याङ बनाएका थिए । नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलाँता जोड्ने जितेपुल क्षतिग्रस्त हुँदा कर्णाली राजमार्गमा गाडी चढ्न आउने यात्रुलाई हिँड्न समस्या परेको थियो।  स्थानीय नरजंग मल्लका अनुसार तिला नदीको आधा भागमा फलामे पोलमाथि काठ बाँधेर बनाइएको पुलको बीचभागमा काठको भर्‍याङ हालेपछि अस्थायी रूपमा नदी वारपार गर्न सहज भएको थियो । काठको भर्‍याङ बनाउन यातायात समिति र स्थानीय व्यवसायीले सहयोग गरेका थिए । तिला नदीको शिव मन्दिर नजिक र कर्णालीको लालीघाटमा झोलुंगे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुङगा खस्ने समस्या भएकाले स्थानीयले पुल मर्मत गरेर सञ्चालनमा ल्याएका  थिए ।  कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले पुलमा पुग्न भर्‍याङ बनाएर सचेत नागरिकले बिपदमा स्थानीयले सहयोग गरेको बताउनुभयो । प्रजिअ शर्माले यसलाई अन्यथा मान्न नहुने चर्चा गर्नुभयो । पुल जोखिमपूर्ण छ, तत्कालका लागि नदी वारपार गर्ने उपाय भए पनि त्यसलाई चाँडै मर्मतको आवश्यकता रहेको उहाँले बताउनुभयो ।  पुल मर्मतका लागि जिल्ला बिपद ब्यस्थापन समितिले गत कात्तिक ४ गते नै लेखी पठाएको थियो । बेमौसमी वर्षाले कालीकोटमा घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइ कुला लगायत संरचनामा ठूलो क्षति भएको थियो । जितेमा बाढीले सय जनाले मात्र वारपार गरिरहेका छन् । राष्कोटका हंश सन्ज्यालले जोखिमपूर्ण पुलमा बृद्वबृद्वा, बालबालिकालाई आउजाउ गर्न कठिन भएको स्थानीयको भनाइ छ ।  मान्म जाने वा मान्मबाट रास्कोट नगरपालिका, पलाँता, पचालझरना र नरहरीनाथ गाउँपालिका जानेहरू यसै पसलवाट आउजाउ गर्छन् । पुल मर्मत नभएपछि स्थानीयहरु जोखिम मोलेर आवतजावत गरिरहेका छन् । 

नुवाकोट: नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप दश लाख रुपैयाँ दिने घोषणा गरेको छ।  नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए।  स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ।  ‘नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छु, उनले भने, ‘मापदण्डमा रहेको सूचाङ्कका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ।’ शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, सीप तथा क्षमता अभिवृद्धि र रोजगारको सिर्जना गर्न सकिने उनको भनाइ छ। विद्यालयलाई शैक्षिक क्यालेण्डर बनाउन, स्थानीय भाषा, संस्कृति, कला तथा समसामयिक विषयवस्तु समावेश गरी पाठ्यक्रम बनाउन, प्रत्येक वडामा हरेक वर्ष कम्तीमा एउटा विद्यालयलाई बालमैत्री बनाउनेलगायतका लक्ष्य  कार्यक्रममा समावेश गरिएको गाउँपालिका उपप्रमुख शिवप्रसाद दाहालको भनाइ छ। उनका अनुसार विद्यालयमा विद्युतीय हाजिर, पूर्ण दरबन्दी, ई–पुस्तकालयसहित प्रत्येक शैक्षिक सत्रको उपलब्धिलाई तथ्याङ्क र गुणस्तरीय मापदण्डको आधारमा मापन गरिने छ।  शिक्षाको विकासलाई नगरले प्राविधिक शिक्षा, प्रविधियुक्त शिक्षा र सीपयुक्त शिक्षालाई जोड दिएको छु, उनले भने, ‘शिक्षा सुधारका लागि विद्यालयलाई भौतिकरुपमा सम्पन्न, शिक्षक–कर्मचारी पर्याप्त र सरोकारवाला पक्षको सकारात्मक सहयोग जुटाउन कार्यक्रम ल्याएको हो।’ हाल बेलकोटगढी नगरभित्र १९ वटा माध्यमिक विद्यालयसहित ५४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। 

पोखरा:   यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका हेमजाका ४ जनाको शव मध्ये दुईजनाको अत्येष्टी गरिएको छ । भगवती कुँवर, जितेन्द्रबहादुर कुँवर दम्पत्तीको शव पोस्टपार्टमपछि हेमजा मर्दी दोबिल्ला घाटमा आज (आइतबार) अन्त्येष्टी  गरिएको हो ।  कुँवर दम्पतीको अन्त्येष्टी  गरिएपनि अनिशा बाँनिया र राजन सापकोटा शवको पहिचान हुन बाँकी छ ।    गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलान्इसको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा विमानमा सवार हेम्जामा ४ जनाको मृत्यु भएको थियो ।  यतीको कलसाइन नाइन एन–एएनसी विमान पोखराको सेती खोंचमा दुर्घटनामा हुँदा विमानमा चालकदलका ४ जना र ६८ यात्रुको ज्यान गएको थियो ।

काठमाडौं:   जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनुभयो । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलङ्गवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मङ्गलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको जानकारी उहाँले दिनुभयो । भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ । विष्णु र रोहित परिवारको एक्लो छोरा थिए । क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन् । मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ मै एकैठाँउ बस्दै आएको भए पनि अंशबण्डापछि अलगअलग भएका थिए । शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरुले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरुको रहेको बताउनुभएको छ ।