पोखरा: चाउथे फुटबल क्लबले प्रथम महानगर खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल उद्योग तथा ब्यवसायी संघले आयोजना गरेको प्रथम महानगर खुल्ला फुटसल प्रतियोगितामा चाउथे फुटबल क्लबले उपाधि जितेको हो । फाइनल खेलमा चाउथे फुटबल क्लबले नदीपुर फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको चाउथेले नगद १, उपविजता नदीपुरले ५० हजारसहित लाखसहित ट्रफि र मेडल प्राप्त गरे । त्यस्तै वेस्ट पेलेर र बेस्ट गोल किपर चाउथे फुटबल क्लबका रोसन नेपाली र सुदिप सुनारले जितेका छन् भने हाई स्कोर भाइवस वुटवल क्लबका रुविन गुरुङ्गले पाए।
दाङ: दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका(९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छविलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गुरुङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ: ओमानको मस्कटमा जारी २० औँ विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ । आज शनिबार सम्पन्न पुरुष ४५ वर्ष माथिको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले भारतीय खेलाडी रजनीश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको मस्कटबाट प्रशिक्षक अनिता महर्जनले जानकारी गराएकी छिन् । नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्याल र नेपालीहरूको उपस्थिति रहेको खेलाडी दुलालले जानकारी गराए ।
पोखराः पोखरामा रंशशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने तेस्रो संस्करणको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता तयारी पुरा भएको छ । टाइगर ग्रुुप अफ पोखरा नेपालले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । भोलि माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो खेल पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा त्रिभुवन आर्मी क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबको बीचमा हुने टाइगर ग्रुपका सचिव डिबी नेपाली बताए । ‘पोखरा रंगाशालास्थित भलिबल प्रशिक्षणमा तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता तयारी पुरा भएको छ, पहिलो खेल त्रिभुवन आर्मी क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबको बीचमा हुनेछ भने उद्घाटन खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको बीचमा हुनेछ ।’ नेपालीले भने । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना माघ ८ देखि १४ गते सम्म पोखरामा रंगशालामा हुने प्रतियोगितामा महिला ४ र पुरुषतर्फ ५ टिम गरी ९ टिमको सहभागिता रहेका संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताए । ‘तेस्रो संस्करणको टाइगर कपमा महिला र पुरुषतर्फ ५/५ टिमको सहभागिता हुने अन्तिम टुङ्गो लागेको हो, शर्माले भने, ‘महिला तर्फ नेपाल पुलिस क्लबको खेलाडी घाइते भएको भन्दै सहभागिता नहुने र भारतको महिला टिम नआउने भएकाले महिला तर्फ गण्डकीको सहभागितासँगै ४ र पुरुष तर्फ ५ समुहको सहभागिता रहनेछ ।’ राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ । यस्तै पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ । तेस्रो संस्करणमा पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हो । गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधी जितेका थियो । आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिलारपुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५÷५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५÷२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०÷१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षण बनाउनका र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा वृद्ध/वृद्धाहरुलाई खेल हेर्न छुट्टै व्यवस्थाका साथै प्रतियोगिता स्थलमा एलइडि स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गरी प्रविधिलाई पनि अन्तर्राष्ट्रियस्तर कै बनाउने प्रयास गरेको आयोजकले जनाएको छ । खेल अवलोकन गर्न सेमिफाइनल र फाइनलमा ३ सय र बाँकी खेलमा २ सय शुल्क निर्धारण गरेको आयोजकले जनाएको छ ।
कालीकोट: कालीकोटका स्थानीय तहले बाढीपीडितको विवरण नपठाउँदा पीडितले राहत पाउन सकेका छैनन् । स्थानीय तहले गत असोज १९ देखि २५ गतेसम्म वर्षासँगै आएको बाढीपहिराको क्षतिको विवरण हालसम्म नपठाउँदा पीडितलाई राहत दिन समस्या भएको छ । जिल्लाका नौवटै स्थानीय तहले विपद्बाट क्षति भएका घरको पूर्ण विवरण नपठाउँदा राहत दिन ढिलाइ भएको छ । बाढी पहिराले पूर्ण क्षति भएका घरको विवरण स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिलाई नपठाएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । “समितिले पटकपटक विवरण पठाउन ताकेता गर्दै आएको छ, स्थानीय तहले विवरण पठाएका छैनन्”, उनले भने । चार पटक ताकेता गर्दा पनि क्षतिको विवरण नपठाएको उनको आरोप छ । कालीकोटका नौवटै स्थानीय तहका छ सय ३२ घर पूर्णरुपमा क्षति, सात सय ३२ घर आंशिक क्षति, सात सय ३८ घर उच्च जोखिममा छन् भने चार सय २९ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढीबाट घर पूर्णरुपमा क्षति भए पनि अहिलेसम्म राहत नपाएको पीडित नरहरिनाथ गाउँपालिका–९ का रत्नबहादुर शाहीले बताए । “पहिराले घर क्षति भएको चार महिना भयो । अहिलेसम्म राहत पाउन सकेको छैन”, उनले भने ।
पोखराः वरिष्ठ अधिवक्ता श्रीकान्त बराल गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् । बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला थिए । सरकार परिवर्तनसँगै उनले राजीनामा दिएका थिए ।
पोखराः कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ । शुक्रबार प्रर्दशनी कक्षमा पुगेकी अस्मि गुरुङका आँखा एउटा तस्बिरमा टक्क अडिए । किशोरावस्थाकी उहाँ केहीबेर त्यसमै रोकिनुभयो । जाङ्गे र कमिजमा खाली खुट्टा चौरमा उभिएका बालबालिकाको तस्बिरले गुरुङको ध्यान तान्यो । उबेलाको विद्यालय र बालबालिकाको अवस्था झल्काउने त्यो तस्बिरले मन छोएको उहाँले सुनाउनुभयो । तस्बिर विसं २०१९ तिरको हो । खरको झुपडीबाट चलेको पोखराको अमरसिँह स्कुलको दृश्यलाई अमेरिकी नागरिक डगलस बिङ्गमले खिच्नुभएको थियो । प्रर्दशनीमा ७० वर्षअघिको तालबाराही मन्दिरदेखि पोखरामा पहिलोपटक बस आउँदासम्मका तस्बिर राखिएका छन् । उहिलेको पोखरा कस्तो थियो रु संस्कृति, रहनसहन के थिए रु मानिसहरु के गर्थे रु समाज कस्तो थियो रु तस्बिर आफै बोल्छन् । तस्बिरमा उबेलाको फेवा, बेगनास र रुपातालको स्वरुप हेर्दा जोकोहीलाई अनौठो प्रतित हुन्छ । विसं २०२६ मा पोखरा विमानस्थल बन्दा काममा खट्ने श्रमजीवी, विसं २०१९ तिर बाँसको पुलबाट सेती नदी तरिरहेका महिलाहरु, त्यसबेला पोखरामा चल्ने गोरुगाडा आदिका दृश्यले मनलाई उद्धेलित पार्छ । तस्बिरले आजको उन्नत, विकसित र झकिझकाउ पोखराभन्दा दशकौँअघिको पोखरातिर मानिसलाई पु¥याउँछ । पोखराकै सुनील उलकले सङ्कलन गरेका तस्बिरलाई प्रर्दशनीमा राखिएको महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विदेशी र नेपालीले खिचेका तस्बिर प्रदर्शनीमा छन् । “महोत्सवमा आउने दर्शकले तस्बिर प्रर्दशनीलाई पनि चाखपूर्वक अवलोकन गर्छन्, ऐतिहासिक तस्बिर राखिएकाले प्रदर्शनीले महत्व पाएको हो”, उहाँले भन्नुभयो । अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका तस्बिरलाई क्यामेरा, मोबाइलमा कैद गर्न भने पाउँदैनन् । तस्बिर सङ्कलक उलकले विदेशीसहित आफ्नो बुबा जगन्नाथले खिचेका तस्बिर प्रर्दशनीमा राखिएको बताउनुभयो । जगन्नाथलाई पोखराको पहिलो फोटोग्राफरका रुपमासमेत चिनिन्छ । सन् १९६५ मा पहिलोपटक नेपाल आउनुभएका अमेरिकी नागरिक डग हलबाट उहाँले तस्बिर खिच्न सिक्नुभएको थियो । ‘अमेरिकी पिस कोर भोलिन्टियर’का रुमा हल नेपाल आउनुभएको थियो । त्योबेला नेपालका धेरै ठाउँ पुगेर उहाँले तस्बिर खिच्नुभएको थियो । प्रदर्शनीमा राखिएकामध्ये विदेशीले खिचेका तस्बिर रङ्गीन छन् भने नेपालीका श्यामश्वेत । “आजभन्दा ६०÷७० वर्षअघिको पोखराको समाज, भूगोल, संस्कृति र रीतिरिवाजको झल्को तस्बिरहरुमा छ”, उलकले भन्नुभयो, “यी तस्बिर हाम्रा अमूल्य पूँजी हुन्, इतिहासका साक्षी हुन्, यिनले भावी पुस्तालाई पुरानो नेपाल चिनाउँछन् ।” प्रर्दशनीमा विख्यात भुभर्गविद् टोनी हेगनले खिचेको तस्बिरसमेत राखिएको छ । “उहिलेको पोखरा झल्काउने ३८ फोटो मात्र प्रदर्शनीमा छन्, धेरै तस्बिर अमेरिकी पिस कोर भोलिन्टियरले खिचेका छन्, केही तस्बिर मेरो बुबाका पनि छन्”, उलकले भन्नुभयो । उलकसँग पोखरासँग सम्बन्धित दस हजार तस्बिर सङ्ग्रहित छन् । शुक्रबारदेखि काठमाडौँस्थित सैनिक मुख्यालयमा चलिरहेको तस्बिर प्रदर्शनीमा पनि आफूले सङ्कलन गरेका सैनिकसँग सम्बन्धित तस्बिर राखिएको उहाँको भनाइ छ । गत पुस २७ गतेदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सव आउँदो सोमबार सकिँदैछ । महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ । रमाइलो बाल उद्यान, कलाकारको साङ्गीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायतले मेलामा आकर्षण बढाएको छ । महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने आयोजकले जनाएको छ । महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट रु एक सेती नदी संरक्षणका नाममा छुट्याइने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवमा दुई सय ५८ व्यावसायिक कक्ष छन् । तेह« दिनसम्म चल्ने महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ ।
कास्की: इलाका प्रहरी कार्यालय हंसपुर (डाडाँकोनाक) कास्की टोलीले गोरु काटेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कास्कीको मादी गाउँपालिका ५ स्थित बयारघारीमा गोरु काटेको आरोपमा पोखरा महानगरपालिका १३ स्थित ढिवाली टोल बस्ने ४२ वर्षिय शम्भू नेपाली, २५ वर्षिय सुवास नेपाली, मादी गाउँपालिका ५ का १८ वर्षिय अमृत विक र स्याङ्जा घर भई हाल मादी ५ बयारघारी बस्ने ३९ वर्षिय राम नेपाली रहेका छन् । उनीहरुलाई गत बिहीबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय हंसपुरका प्रमुख डिएसपी प्रकाश दाहालले बताए । ‘हामीलाई गोरु काटेको भन्ने सुचना आएपछि घटना स्थलमा पुगेर मुचुल्का गर्नेदेखि साक्षीहरुसँग पनि बुझ्ने काम गर्यौ र पछि आरोपीहरुले पनि कसुर स्वीकार गरेपछि नियन्त्रणमा लिएका थियौ’, डिएसपी दाहालले सुनगाभा न्यूजसँग भने, ‘उहाँहरुले कानून वर्खिलाप कसुर गरेको ठहरिएपछि ४ जनालाई पक्राउ गरेर मुद्धा दर्ता भइसकेको अवस्था छ र त्यो घटनामा अरुपनि संलग्न भए नभएको बारे पनि थप अनुसन्धान गर्दै छौं ।’ डिएसपी दाहालका अनुसार उनीहरुलाई गौ वध ऐन तथापशुपंक्षी सम्बन्धि कसुर मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
पोखरा: बुद्धटोल युवा क्लबले आगामी माघको तेस्रो साता १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी २२ गते देखि फागुन २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने आज ९शनिबार० आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । उनले क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा प्रतियोगिता आयोजना गरिदै आएको बताउदै यसपटक स्व। गुरुङको जन्मदिनको दिनदेखि सुरु गरिने जानकारी दिए । ‘हाम्रो क्लबको सल्लाहकार हुनुहुन्थ्यो स्वर्गीय विरेन दाई, प्रतियोगिता उहाँको स्मृतिमा चैतमा आयोजना गर्दै आएका थियौ, अध्यक्ष थापाले भने, ‘चैत्रमा हावाहुरी र पानी पर्ने भएकाले दाईकै जन्मदिन पारेर प्रतियोगिता माघमा सारेका छौं ।’ उनले सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६/६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिनेछ । सो प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने र प्रतियोगिता सञ्चालनका लागि करिब २३ लाख खर्च हुने आयोजकले जनाएको छ ।

