पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

गण्डकी:   शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ्याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन । आँखै सामुन्ने जहाज खसेको दुःखान्त दृश्यले उहाँलाई घरीघरी झस्काउँछ । मनमा अझै डरले घर गरेको छ । “सम्झँदा पनि कहाली लाग्छ, मुटु ढक्क फुल्छ”, ३९ वर्षीया गिरीले भन्नुभयो, “घरमाथिबाट ढल्किँदै आएको जहाज एक्कासि बजारियो र आगो लाग्यो ।” माघे सङ्क्रान्तिको दिन बिहान गिरी आँगनमा छ महिनाकी छोरीलाई दूध खुवाउँदै हुनुहुन्थ्यो । बुबा बेल पनि घरमै हुनुहुन्थ्यो । ठूली छोरी इरिस्ना साथीसँग खेल्न गइकी थिइन् ।  त्यहीबेला ठूलो र डरलाग्दो आवाज लक्ष्मीका कानमा प¥यो । माथितिर हेर्दा जहाज घरमै छोइएला जसरी आइरहेको थियो । छिनभरमै जहाज गिरीको घरदेखि एक सय मिटरअघिको जमिनमा धसिँदै सेतीखोँचमा खस्यो ।  “जहाज खसेपछि आगो लाग्यो, धुँवाको कालो मुस्लो निस्कियो, कता जाने, के गर्ने होसहवास गुमेजस्तो भयो”, उहाँले सुनाउनुभयो, “काखकी छोरी लिएर बुबासँगै घरछेउको आलुबारीतिर भागेँ ।” जीवनमा पहिलो पटक यति ठूलो घटना देख्नुभएकी गिरीले अहिले कुनै सिनेमाको दृश्यझैँ लाग्ने गरेको सुनाउनुभयो ।  “मुस्ताङतिर, जहाज दुर्घटनाबारे मोबाइलमा हेरिन्थ्यो, सुनिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले आफ्नै आँखाअघि देखियो, सोँच्दा पनि डर लाग्छ, हातखुट्टा काँप्छ ।” गिरी दुर्घटनालगत्तै घटनास्थल नजिक जान पनि सक्नुभएन । दिनैभर छोरीहरु साथमा लिएर घरभित्रै बस्नुभयो । विस्तारै डर मत्थर हुँदै गए पनि मन अझै हलुका हुन नसकेको गिरीको भनाइ छ । उहाँका छिमेकी पनि उक्त घटनाबाट त्रस्त छन् ।  घारिपाटन, नागबेली टोलकी सीता विक पनि जहाज खस्ने बेला घरमै हुनुहुन्थ्यो । बिहान मन्दिर गएर फर्केपछि परिवारमा खाना खाने सुरसार चल्दै थियो । अकस्मात् ठूलो आवाज आयो । त्यतिञ्जेल विकले जहाज हो भन्ने पनि पत्तो पाउनुभएको थिएन ।  “भूइँचालो गएजस्तो भएको थियो, बाहिर निस्कँदा त जहाज खसेर आगो लाइसकेको रहेछ, वरिपरी धुँवाधुलो छाएको थियो”, उहाँले भन्नुभयो, “होसै गुमेजस्तो, न बोल्न सक्ने, न खाने अवस्था भयो, घरैअघि भएकाले होला अझै पनि डर लाग्छ, यो घटना कहिल्यै बिर्सन नसकिने भइयो ।” विकको घरअघिको बाँसघारीलाई पछाडिको भागले लछार्दै जहाज खोँचमा खसेको थियो । माथिबाट खस्दा जहाज ठोक्किएको जमिन धस्सिएको छ ।  रुख र बुट्यान मासिएका छन् । आगलागीले घाँस र पत्कर नष्ट गरेको छ । जहाजका भग्नावशेष, यात्रुका जलेका लुगाफाटा र सामग्री छरपष्ट देखिन्छन् । दुर्घटनास्थल यसै उजाड र उराठलाग्दो छ । दुर्घटना भएको ठाउँ हेर्न आउने मानिस पनि उत्तिकै हुन्छन् । बाहिरकालाई घटनास्थल हेर्ने कौतुहलता भए पनि आसपासका बासिन्दालाई भने त्यही ठाउँले त्रीसदीपूर्ण घटनाको सम्झना गराइदिन्छ । पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले आफ्नो जीवनकालमा यति ठूलो बीभत्स दुर्घटना कहिल्यै नदेखेको बताउनुभयो ।  “जहाज खसेको १० मिनेटमै घटनास्थल पुगेको थिएँ, अवस्था दर्दनाक थियो, हेर्दाहेर्दै यात्रुहरु जले, जीवित उद्धारको प्रयास विफल भयो”, उहाँले भन्नुभयो । उद्धारमा सबै स्रोतसाधन लगाउँदा पनि कसैलाई बचाउन नसकिएको वडाध्यक्ष बानियाँले बताउनुभयो । झाडीसहित खोल्साखाल्सी भएको गहिरो खोँचमा जहाज खसेका कारण उद्धार जटिल बनेको थियो ।  वडाको पहलमा दुर्घटनास्थल वरपरका बासिन्दालाई शुक्रबार मनोपरामर्श दिने तयारी भइरहेको वडाध्यक्ष बानियाँको भनाइ छ ।  “दुर्घटनाले कसैलाई मनोवैज्ञानिक असर परेको हुनसक्छ, त्रास रहिरहेको हुनसक्छ”, उहाँले भने, “इच्छुक र आवश्यक परेका व्यक्तिलाई राखेर दुई घण्टा मनोपरामर्श दिदैँछौँ ।” जहाज दुर्घटनाबारे सत्यतथ्य थाहा पाउन धेरै मानिस उत्सुक रहेको वडाध्यक्ष बानियाँले बताउनुभयो ।  “के कारणले गर्दा जहाज दुर्घटना भयो होला भनेर मानिसहरु कुराकानी गरिरहेका भेटिन्छन्, अनेक खाले अनुमान लगाउँछन्”, उहाँले भन्नुभयो, “आशा गरौँ विमान दुर्घटनाको कारण पत्ता लाग्नेछ र फेरिफेरि यस्तो दुर्घटना हुनेछैन ।” दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका छन् भने एकजनाको खोजी तथा उद्धार जारी रहेको  कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार फेला परेकामध्ये २२ शव पोखरामै शव परीक्षण गरी परिवारजनलाई बुझाइएको छ ।

पोखरा: पोखरा महानगरपालिका १७ को कार्यालय घेराउ गर्ने क्रममा ३ जनालाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।   पोखरा १७ का स्थानीयबासिन्दाले विरौटा–छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै नाराबाजीसहित वडा कार्यालय घेराउ गरेको थियो । सो विरोध प्रर्दशनकै क्रममा सिद्धार्थ राजमार्ग अवरुद्ध गरिएको थियो ।    सोही क्रममा उछृङ्खल गतिविधि गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले ३ जनालाई नियन्त्रणमा लिएको डिएसपी युवराज भण्डारीले जानकारी दिए । ‘विरोधको क्रममा उछृङ्खल गतिविधि गरेकाले नियन्त्रणमा लिएका हौं, डिएसपी भण्डारीले भने, ‘त्यस्तो मुद्धा चलाउने खालको विषय छैन ।’   डिएसपी भण्डकारीका अनुसार हाल अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तरगतको विरौटा– छोरेपाटन सडकखण्ड खुला गरिएको छ ।   सम्बन्धित समाचार https://sungabhanews.com/story/6242/2023/1/19/scoop/Samaj/

पोखरा:  सिद्धार्थ राजमार्ग अन्तरगत विरौटा– छोरेपाटन सडकखण्डको निर्माण कार्यमा ढिलाई भएको भन्दै पोखरा महानगरपालिका १७ का स्थानीयले नाराबाजीसहित वडा कार्यालय घेराउ गरेका छन् ।      विरौटा –छोरेपाटन सडकखण्ड निर्माण गर्ने जिम्म पाएको राम बिल्डर्स कम्पनीले निर्धारित समयमै काम सम्पन्न नगरेपछि आफुहरुले वडा कार्यालय घेराउ गर्न बाध्य भएको स्थानीय पवन भण्डारीले जानकारी दिए ।   उनका अनुसार स्थानीय बासिन्दाका प्रतिनिधि, निर्माणको जिम्मा पाएको कम्पनीका ठेकेदार र प्रमुख जिल्ला अधिकारीको बैठकले तीन महिनामा काम सक्ने निर्णय गरेको थियो ।   सो निर्णयको कार्यान्वयन नगरेको भन्दै वडा कार्यालय घेराउ गरेको भण्डारीले बताए । ‘विरौटा –छोरेपाटन निर्माण शुरु गरेको ३ वर्ष बढी भयो । काम सम्पन्न भएको छैन, भण्डारीले सुनगाभा न्यूजसँग भने, ‘वडाध्यक्षलाई ठेकेदार झिकाउन माग गरेका छौं । स्थानीय सरकारले काममा खबरदारी गरेन, त्यसैले त्यसको विरोधमा वडा कार्यालय घेराउ गरेका हौं ।’   उनले सडक निर्माणमा ढिलाई हुदाँ स्थानीयहरुले हैरानी खेप्नु परेको सुनाए । ‘सडक निर्माण ढिलाई हुँदा स्थानीयहरुले हैरानी खेप्न बाध्य छन्, धुलोले गर्दा बिरामी हुने स्थिती बनेको छ ।’ उनले भने ।   भण्डारीले आफुहरुको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए । ‘स्थानीय सरकार, पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनलाई ठेकेदारलाई भेट्न खोजेका छौं तर प्रहरी प्रशासनले हाम्रो कार्यक्रममा हस्तक्षेप गर्न खोजेको छ ।’ भण्डारीले भने ।    भण्डारीका अनुसार विरौटा –छोरेपाटन सडकखण्ड निर्माण कार्य थालेको करिब ५ वर्ष भइसकेको छ  भने सडक निर्माण गर्न राम बिल्डर्स कम्पनीले ठेक्का पाएको थियो । 

काठमाडौं:  टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा गाउँपालिका–५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत् जुवा खेलाएको सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । मल्लले ‘क्विक क्यास’ नामक टिकटक  आइडीहरू खोली दुईवटा इ–सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको खुलेको छ । उनको साथबाट जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन एक थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर एक थान र जुवा खेलाउन प्रयोग भएका तास तीन बुक प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

काठमाडौं:  बिहीबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ४ हजार रुपैयाँ तोकिएको छ । सुनको यो मूल्य बुधबारकै मूल्य भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

म्याग्दी:  सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी तवरले जनस्तरमा पुग्न सकेको छैन । नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमाको पहुँच हिमाली जिल्ला म्याग्दीमा एक तिहाइ जनसङ्ख्यामा पनि पुग्न नसकेको तथ्याङ्क छ ।   वि.सं. २०७३ सालबाट म्याग्दीमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमबाट अहिले पाँच हजार पाँच सय १६ परिवारका २८ हजार तीन सय ४३ जनाले सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा बोर्ड म्याग्दीका प्रमुख दर्ता अधिकारी उपेन्द्र बरालका अनुसार म्याग्दी जिल्लामा पूर्ण निःशुल्क रूपमा चार हजार नौ सय ३८ जना ज्येष्ठ नागरिकले पूर्ण छुटका साथ बीमा सेवा लिइरहेका छन् ।  यसै गरी पूर्ण छुट पाउने ‘क’ वर्गका अपाङ्ग परिवारका १ सय १८, ‘ख’ वर्गका अपाङ्ग परिवार ४ सय ४८ रहेका छन् । त्यस्तै प्रदेश सरकारबाट छुट पाउने एचआइभी सङ्क्रमितहरू ३० जनाले पनि स्वास्थ्य बीमाको सुविधा लिने गरेको दर्ता अधिकारी बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रभावकारी तवरले बीमालाई जनस्तरमा पुर्‍याउने प्रयास भए पनि स्वास्थ्य संस्थाको कमी, स्थानीय तहमा काम गर्ने दर्ता सहयोगीको अभावले गर्दा छुटेकाहरूको पनि बीमा गर्न कठिनाइ भएको छ ।’  सरकारी अस्पतालबाटै जनताले सुविधा लिनुपर्ने भएकोले पनि सदरमुकाममा हुने निजी क्लिनिकमा पुगेर औषधी गर्न जनता बानी परेकाले पनि बीमातर्फ आकर्षित गर्न समस्या भइरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । गुणस्तरीय सेवा सरकारी अस्पतालमा पाउने भए पनि छिटो सुविधा खोज्ने बानी परेको कारणले गर्दा बीमातर्फ जनता आउन हिचकिचाउन गरेका छन् ।  २०७३ साल पुस १३ गतेबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका लागि ४३ जना दर्ता सहयोगी छनौट गरेर गरिएको थियो । हाल ५ हजार ५ सय १६ परिवारका २८ हजार ३ सय ३४ जना जनसङ्ख्या मात्रै बीमाको पहुँचमा पुगेका छन् । तत्कालीन सुरुआती समयमा दुई हजार पाँच सय प्रिमियम तिरेपछि ५ जनाको परिवारले ५० हजार रुपैयाँ बराबरको स्वास्थ्योपचार पाउने गरेकोमा अहिले तीस हजार पाँच सय रुपैयाँ प्रिमियम तिरे एक लाख बराबरको सुविधा पाउन थालिएको छ । सबै नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित स्वास्थ्य बीमा कार्यक्रम २०७२ मा कैलालीबाट सुरु भएको थियो ।  ‘स्वास्थ्य बीमा दूर दराजमा पुग्न सकेकै छैन, अहिले पनि बीमा बजार केन्द्रित मात्रै देखिएकोले यसलाई अरू प्रभावकारी बनाउनका लागि बोर्डले नै पहलकदमी गर्नुपर्ने देखिन्छ’ नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले भन्नुभयो । ‘स्वास्थ्य सबै नागरिकहरूको सरोकार हो र स्वास्थ्य बीमा गर्नुपर्छ पनि । त्यसमा बढी प्रभावकारी स्थानीय तहका जनप्रतिनिधिको हुने भएकाले उनीहरू बढी जिम्मेवार तथा जनतासँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूले जनतासम्म यसको बारेमा पुर्‍याएको खण्डमा प्रभावकारी तवरले अगाडि बढ्छ’ उहाँले थप्नुभयो ।  उपभोक्ता हित संरक्षण मञ्च म्याग्दीका अध्यक्ष ठहरबहादुर भण्डारीले सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोर्डले प्रभावकारी तवरले काम गर्न नसकेको कारणले गर्दा नै जनस्तरमा बीमाको पहुँच पुग्न सकेको छैन । बीमा गरेकाहरूले आफूले पाउनुपर्ने सुविधा समेत राम्रोसँग उपभोग गर्न पाएका छैनन् । त्यसैले बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’

कावासोती:  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडककै कारण सर्वसाधारण जनताले दुःख पाउने र ज्यान गुमाउने समस्याको अन्त्यमा आफू लागिपर्ने बताउनुभएको छ।    बुटवल–नारायणगढ सडक आयोजनाको स्थलगत निरीक्षण गर्न नवलपुर आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले सडककै कारण जनताले सास्ती खेप्नु दुःखद विषय भएको भन्दै निर्माणाधीन सडकको अवस्था बुझी समयमा नै समन्वयात्मक रूपमा कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ।    उहाँले नवलपुरको गैँडाकोट, रजहर, दुम्कौली र डण्डासम्मको निर्माणाधीन सडकको निरीक्षण गर्नुभएको हो। सडक निरीक्षणका क्रममा उहाँले देवचुली नगरपालिका चौधरी उद्योग ग्राम अगाडि निर्माणमा ढिलाइ भएको सडकका बारेमा समेत चासो लिनुभएको थियो। मन्त्री श्रेष्ठले सडकबाट करिब पाँच सय मिटर पैदल हिँडेर सडक आयोजनाले गरेको कामको अनुगमन गर्नुभएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले कामदार र सिफ्ट बढाएर आयोजनाको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। सडक निर्माण समयमा नै हुन नसकेको अवस्थामा जनताले गर्ने गुनासोलाई यथाशीघ्र सम्बोधन गरी निर्माण कम्पनीलाई तत्काल निर्माणमा तदारुकतामा उहाँले जोड दिनुभयो। 

सिन्धुपाल्चोक:  गोरुपालन लोप हुन लागेको भन्दै संरक्षणका लागि बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहन स्वरूप आर्थिक अनुदान दिन थालेको छ ।  नगरप्रमुख बालकृष्ण बस्नेतले वडा नम्बर १ देखि ९ सम्म ७७६ कृषकले गोरुपालन गरेकोले उनीहरूलाई प्रोत्साहन गर्न प्रति किसान १० हजारका दरले नगद अनुदान दिन सुरु गरिएको जानकारी दिनु भयो । पछिल्लो समय खेतबारी जोत्न ट्याक्टर भित्रिदैं गएको र गोरु पाल्ने किसान घट्दै गएकोले गोरु पाल्नका लागि प्रोत्साहन दिने अभियान सुरु गरेको प्रमुख बस्नेतले थप्नु भएको छ । गोरुको बीमा गर्दे प्रोत्साहन अभियान तीन दिन भित्र सक्ने जनाइएको छ ।  उक्त नगरपालिकामा ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या कृषिमा आबद्ध छन् । तर अधिकांश कृषकले गोरु पाल्न छाडेर डिजेलबाट चल्ने ट्याक्टर प्रयोग गर्न थालेका छन् । भौगोलिक विकटता र खेतबारीमा गहिराई खन्न नसक्ने ट्याक्टर उपयोगी नभएको भन्दै नगरले गोरुपालनलाई प्राथमिकतामा राखेर किसानलाई प्रोत्साहन दिन थालेको छ । वडा नम्बर ९ का कृषक शिव प्रसाद तिमल्सिनाले नगरपालिकाको प्रोत्साहनले किसानलाई कृषि पेसामा ऊर्जा थपिएको सुनाउनु भयो ।

काठमाडौंः   आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले यी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ । पानी पार्ने गरी पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले तत्काललाई जमिन भिज्नेगरी पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो  । यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अन्य ठाउँको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ ।  काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । केही दिन अघि न्यूनतम तापक्रम लगातार बढिरहेकोमा आज भने घटेको छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो ४ दशमलव २ डिग्री सेल्सियस र अस्ति ४ दशमलव ५ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्नुमा खास कारण नभए पनि पश्चिमी वायुको सामान्य प्रभावकै कारण तापक्रम घटेको मौसमविद्ले बताएका छन् ।