पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ । आइतबार स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गर्नुभएको हो । मन्त्री गिरीले अनुगमन गर्दै स्वास्थ्यकमीसँग परामर्श गर्नुका साथै दादुरा नियन्त्रण गर्न सबै काम छोडेर दादुरा रुवेलाविरुद्धको खोपमा तीव्रता दिन आग्रह गर्नुभयो । दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने मन्त्री गिरीको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकामा तीव्र गतिमा फैलिरहेको दादुराबाट अहिलेसम्म २६० जना बालबालिका सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पुस १२ गते फैलिएको दादुरा माघ सात गतेसम्म नेपालगञ्जमा २०३, कोहोलपुरमा पाँच, खजुरामा १८, नरैनापुर २६, डुडुवा आठ गरी २६० जनामा दादुरा पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ महिनाभन्दा कम उमेरका १५, नौदेखि १५ महिनासम्मका १६, १५ देखि दुई वर्षसम्मका १८, दुईदेखि पाँच वर्षसम्मका ७२ र पाँच वर्ष वा सोभन्दा माथिका उमेरका १३९ जनाका बालबालिका सङ्क्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।  सरकारले दादुरा रुवेला नियन्त्रण गर्ने उद्देश्यले ६ देखि १५ वर्ष उमेरका बालबालिका पुस २२ गतेबाट दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको छ । अहिलेसम्म ८९ हजार ४५८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ७२ हजार ९३१ जनाले दादुरा रुवेलाविरुद्धको खोप लगाइसकेका छन् ।

कास्की:   गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ ।    गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आज (आइतबार) उक्त पूजा आरधनासहित दिप प्रज्वलन गरिएको हो ।   समाजका अध्यक्ष तथा धर्मगुरु लामाले  दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवंगत आत्मालाई शान्ति मिल्ने धारणा राखे । ‘आज विमान दुर्घटना भएको एक हप्ता भएको छ’, धर्मगुरु लामाले भने, ‘माघ १ गते १० देखि ११ बजेको समयमा भएको थियो । आज हामी सोही समय पारेर मोन्लम (प्रणिधान) पाठ बाचन गरेका छौं ।’   उनले एकपटक दुर्घटना भएको स्थानमा दोहोरिन सक्ने बताउदै भने, ‘धेरै विधी, ज्योतिष विज्ञान र तन्त्रले के भन्छ भने, अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्तीशान्ती पूजा गरिएन भने फेरिपनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास छ, त्यसैले एकपटक दुर्घटना भएको ठाउँमा फेरि पनि हुन सक्छ भन्ने उद्देश्यसहित यो पूजा गरेका हौ ।’   धर्मगुरु लामाले उक्त दुर्घटनापछि आसपासका बासिन्दामा डर र त्रास सिर्जन भएको बताउदै स्वस्तीशान्ति पूजा आवश्यक रहेको धारणा राखे । ‘दुर्घटना पछि यहाँ आसपासमा रहनुहुने बासिन्दामा एक खालको डर र त्रास सिर्जना भएको छ, यस पूजापछि मनमा शान्ति मिल्ने हामीले विश्वास लिएका छौं ।’   उनले अनुकुल तिथी पारेर गरेको पूजा प्रभावकारी हुने बताउदै आजकै दिनमा पूजा तथा दिप प्रज्वलन गरेको जानकारी दिए । ‘आज पहिलो पुण्य तिथी हो, त्यसैले ग्रन्थमा उल्लेख भएअनुसार अकल्पनीय घटनामा ज्यान गुमाउनेहरुको आत्मा भड्किन सक्ने भएकाले हामीले मृतआत्माको नाममा दिप प्रज्वलन र पूजा गरेका हौं ।’ उनले भने ।   उक्त दिप प्रज्वलन तथा पूजामा दर्जनौं बौद्ध लामागुरुहरु, मृतकका आफन्तजनहरु र सयौंको सँख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।  बौद्ध धर्म अनुसार अकल्पनीय दुर्घटना हुने ठाउँमा मृतआत्माको शान्तीको कामनासहित (सियुँ मास्ने) पूजाआजा तथा दिप प्रज्वलन गर्ने प्रचलन रहेको छ ।    गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलान्इसको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा चालकदलका ४ जना र ६८ यात्रुको ज्यान गएको थियो ।    

पोखरा:  सोनाम लोसारका अवसरमा बैदाम तामाङ सेवा समाजले अपांगमैत्री समाज कास्कीका दृष्टिविहिनहरूलाई खाद्यान्न सहयोग गरेको छ । समाजले शनिबार एक कार्यक्रमक बिच लेखनाथको भण्डारढीमा रहेको समाजको कार्यालयमा पुगी १५ हजार बराबरको खाद्यन्न सहयोग गरेको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । समाजका अध्यक्ष तामाङ र सचिव निमा तामाङले अपांगमैत्री समाजका अध्यक्ष दण्डपाणी ढकाललाई सो सहयोग हस्तान्तरण गरेका हुन् । विगतका बर्षहरुदेखि बैदाम तामाङ समाजले ,समाजका दृष्टिविहिनहरूलाई सहयोग गदै आएको समाजका अध्यक्ष तामाङले बताए । सो अवसरमा मिस तामाङ पोखरा–२०२३ की विजेता रोश्मा तामाङले ५ हजार रुपैया प्रदान गरिन् । उनले मिस तामाङ को बिजेता हुदा सोधिएको प्रश्नमा समाजसेवा गर्ने आफ्नो चाहाना स्वरुप सहयोग गरेको बताइन् । तामाङ समुदायले आइतबार धुमधामका साथ लोसार मनाउँदै छन् । लोसारका अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।   

कावासोती:  पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा तरुल व्यापारबाट राम्रो आम्दानी भएको छ।  कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानुपर्ने हिन्दु परम्पराअनुसार तरुलको व्यापार पनि निकै फस्टाएको हो।  नवलपुरमा माघेसङ्क्रान्तिमा एक करोडको तरुल बिक्री भएको छ। अझै जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती गर्ने हो भने यसबाट निकै राम्रो आम्दानी गर्न सकिने तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी लालबहादुर सारूले बताउनुभयो।  नवलपुरको पहाडी क्षेत्र हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकामा तरुल उत्पादन हुने गर्दछ। त्यहाँ उत्पादित वनतरुल प्रतिकेजी एक सय रुपियाँ, पञ्जेतरुल ८० तथा मुढेतरुल ५० रुपियाँमा बिक्री गरी पोखरा र काठमाडौँतर्फ निर्यात गरेर एक करोड आम्दानी भएको सारूले बताउनुभयो। यस वर्ष जिल्लाबाट ४० टन तरुल निर्यात गरी राम्रो आम्दानी भएको उहाँको भनाइ छ। पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको र अहिलेसम्म ४० टन तरुलको व्यापार गरेको सारूले बताउनुभयो। पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि तीन वर्षदेखि मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ। उहाँले भन्नुभयो, “अन्य तरकारीभन्दा तरुलको बिक्री बढी छ।” जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन। यसमा रोग तथा कीराको आक्रमणसमेत नहुँदा खानका लागि स्वस्थ भएकाले पनि तरुलको माग बढेको हो। नवलपुरको पहाडी क्षेत्रको जङ्गल र खेतबारीमा उत्पादित तरुल तथा सखरखण्डको माग प्रशस्त छ। कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उहाँले बताउनुभयो।  नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको छ। आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिक रूपमा पोखरा र काठमाडौँ पठाउने गरेको व्यवसायी कृष्णबहादुर सारूले बताउनुभयो। माघेसङ्क्रान्तिका अवसरमा सामाजिक तथा सांस्कृतिक महत्वका कारण पनि तरुल खाने चलन रहिआएको छ।  

काठमाडौं:   ‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खसेका थिए । अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन् । सबै मोबाइलमा भिडियो खिचेर बसे । अझ मैले त तपाईँका बाबुआमा होलान्, दाजुभाइ होलान् आउनुस् न निकाल्न भनेँ । मेरो कुरा कसैले सुनेनन् । म एक्लैले सात जनालाई बाहिर निकालेँ । पछि उनीहरूलाई गण्डकी अस्पताल लगिएको सुनेँ, अहिले के भयो थाहा छैन ।’  जहाज खसेको दुःखद दुर्घटनाको पीडा त सबैमा छँदै नै थियो । त्यसमा पनि यी स्थानीयको बयानले धेरैको मन थप छियाछिया बनायो । यही माघ १ गते बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । त्यस दुःखद दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाए । बिहान विमान खसेपछि तत्कालै घटनास्थलमा पुगेका थिए स्थानीय । तीमध्येका एकको यस्तो बयान सुन्दा, पढ्दा मनै चसक्क बनायो । एकपछि अर्कोगरी अनलाइन समाचारमा जहाजमा रहेका यात्रुको शव भेटिँदै गएको खबरसँगै घटनास्थलबाट यी स्थानीयले प्रस्तुत गरेको यो दृश्यले धेरैलाई रुवायो । सुन्दै अपत्यारिलो लाग्ने यो दृश्यको वास्तविकता कसरी सम्भव छ ? नेपाली मन गतिविधि निर्दयी हुन सक्छ ? नेपाली समाजको यो नियतिको पछाडि आखिर के छ ? नेपाली समाजको सामाजिक पक्षको विकास कसरी भइरहेको छ ? अकल्पनीय यस्ता दृश्यहरू नेपाली समाजमा वास्तविकता बनेर किन र कसरी देखिँदैछन् ? प्रश्न समाजशास्त्रीहरुलाई गए पनि सोच्नुपर्ने अवस्था सबैको छ । तर हिजोआज सतहमा देखिएको एउटा उत्तर भने सामाजिक सञ्जाल नै हो । जसले यी अकल्पनीय कल्पनाहरूलाई पनि वास्तविक बनाई दिँदैछन् । यो र यस्तै अरू पनि कतिपय घटना दुर्घटना सुन्ने गरेका छौँ जसको पछाडि सामाजिक सञ्जाल जोडिएर आउने गरेका छन् ।  हो, मानिसको हातमा मोबाइल नभइदिएको भए यो निर्दयता सम्भव थिएन होला । मोबाइलको भिडियो भाइरल बन्ने लत नबसेको भए कसैले पनि यस्ता दृश्य खिचेर बस्न सक्दैनथ्यो । हुन त उनीहरूका सामु अरू बग्रेल्ती विषयहरू पनि होलान्, तर अबका दिनमा भने समाजशास्त्रीहरुले आफ्ना अनुसन्धानका समस्याका कथन (स्टेटमेन्ट अफ दी प्रब्लेम) सामाजिक सञ्जाल बनाउनुपर्ने देखिन्छ । सामाजिक सञ्जालमा चौबिसै घण्टा झुन्डिने लतले यो र यस्तै अरू के कति स्वरूप र मात्रामा नेपाली समाजलाई असामाजिक बनाउँदै छन् भनेर खोज्नुपर्ने दिन अब आएको छ । त्यसो भयो भने यस अनुसन्धानको निष्कर्षमा सामाजिक सञ्जालको सिर्जनात्मक र सही प्रयोग कसरी गर्ने भन्ने निस्कन सक्छ र त्यो सबैलाई काम लाग्न सक्छ । नेपाली समाजलाई पनि ‘भिडियो भाइरल’ को लतबाट बाहिर निकाली सिर्जनात्मकतातर्फ लैजान सक्छ । यसबाट सकारात्मक सोचमा र सत्य बक्ने बाटोतर्फ समाजलाई डोर्‍याउन सहज हुनेछ । अघिल्लो हप्ता राष्ट्रपति विद्या भण्डारी राष्ट्रपति निवास शीतल निवासबाट साझा यातायातको बिजुली बस चढेर ललितपुरका केही सम्पदाको भ्रमणमा जानुभयो । अघिपछि राज्यले दिएको सुविधाको लावालस्करमा यात्रा गर्ने राष्ट्रपति त्यस दिन सर्वसाधारणले चढ्ने बस चढ्नुभयो । के यो नराम्रो काम थियो ? एकातर्फ नागरिकले सधैँजसो चढ्ने साझा बस चढ्नुभयो जुन हिजोका दिनमा उहाँ पनि चढ्ने गर्नुहुन्थ्यो । अर्कातर्फ इन्धनमा शतप्रतिशत विदेशमा निर्भर हुनु परिरहेको हाम्रो जस्तो देशमा राष्ट्रपतिले बिजुली बस चढ्नुभयो र जसका कारण बिजुलीबाट चल्ने सवारीहरूको प्रचार पनि भयो । यसरी सकारात्मक रूपमा लिएर प्रचार गर्न पनि त सकिन्थ्यो, जसले समाजमा सकारात्मक सन्देशको ऊर्जा पनि प्रदान गर्दथ्यो । तर सामाजिक सञ्जालमा त राष्ट्रपतिले साझा बस चढ्नुलाई ‘नाटक’ सम्मको अर्थ लगाइयो र किन यस्तो गरेको भनेर दुष्प्रचारसमेत गरियो । यतिमात्र नभएर राष्ट्रपति भण्डारीले बस चढ्दा र ओर्लँदा पिर्कामा टेक्नुभएको विषयको समेत जानाजानी गलत प्रचार गरियो । यसलाई पनि सामाजिक सञ्जालमा विभिन्न अर्थ लगाइयो । कतिले यसैलाई ‘राष्ट्रपतिले भुईँमा टेक्न नहुने हो र ?’ भनेर समेत अर्थ्याए । के सर्वसाधारणले साझा बसमा हिँड्दा यसरी नै पिर्कामा टेकेर उक्लिन्छन् त भनेर तुलना गरे । कतिपय सामाजिक सञ्जालको आशय यस्तो देखिन्थ्यो कि राष्ट्रपतिले पनि अरूले जे गरेका थिए त्यसै गर्नुपर्दथ्यो । यो कस्तो अमानवीय सोच हो ? कोही व्यक्ति बिरामी छ, उसको शरीरले हुँदैन र कुनै भौतिक वस्तुको सहारा लिनुपर्ने भएरै लिन्छ भने त्यसमाथि किन यसरी कठोर टिप्पणी गर्नु ? सामाजिक सञ्जालमा आउने यस्तै टीकाटिप्पणीहरू हेर्दा लाग्छ सामाजिक सञ्जाल नकारात्मक सन्देश प्रचार गर्न मात्र प्रयोग हुन्छन् ।    राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी चढ्दा, ओर्लँदा या कुनै अग्लो स्थानमा उक्लनका लागि पिर्काजस्तो काठको वस्तु प्रयोग गर्नुहुन्छ । तर जबजब उहाँले पिर्काको प्रयोग गरेका तस्बिरहरू सार्वजनिक हुन्छन् त्यसपछि सामाजिक सञ्जालमा यस्ता टिप्पणी आउने गर्दछन् । राष्ट्रपति भण्डारीलाई करिब डेढ दशकअघि ब्लड क्यान्सर भएको थियो । भारतको एपोलो अस्पतालमा क्यान्सरको उपचारका क्रममा दिइने केमोथेरापीको स्टेरोइड औषधिले उहाँको कम्मरको जोर्नीमा खराबी देखिएकाले प्रत्यारोपण गरिएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका विशेषज्ञ डा कैलाश भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार राष्ट्रपतिको हिपमा खराबी देखिएपछि मेटल ‘हिप रिप्लेस्मेन्ट’ गरिएको छ, यस्तो बिरामीले धेरै माथिसम्म खुट्टा उठाउनु हुँदैन, समस्या हुन्छ । त्यसैले उहाँ उक्लने र ओर्लने ठाउँ केही अग्लो या होचो छ भने त्यसका लागि ‘सपोर्ट’ राख्ने गरिएको हुनसक्छ । ‘हिप रिप्लेस्मेन्ट’ गर्ने मान्छेले माथिसम्म खुट्टा उठाउँदा प्रत्यारोपण गरिएको हिपले ठाउँ छोड्ने (डिस्लोकेट हुने) पनि हुनसक्छ । यसैकारण उहाँले गाडी चढ्ने र ओर्लने बेलामा पनि कुनै अग्लो वस्तुको सहायता आवश्यक पर्ने गर्दछ । कुनै पनि मानिसको शारीरिक अस्वस्थतामाथि निर्दयी भएर यसरी टिप्पणी गर्न मिल्छ ? यस्तै, नकारात्मक टिप्पणी नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाप्रति पनि केही अघि गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आएका बेला उहाँ र प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध भगवान्प्रति बसेर स्तुति गर्नुभएको थियो भने डा. आरजुले भने उठेरै गर्नुभएको थियो । उहाँको पनि स्वास्थ्यमा समस्या भएकाले बस्न नमिल्ने भएर उभिएरै प्रार्थना गर्नुभएको थियो । तर त्यो तस्बिर मिडियामा आएपछि सामाजिक सञ्जालमा उहाँको आलोचना नै भयो । कतिपयले प्रधानमन्त्रीहरू बसिरहेका बेला डा. आरजु किन उठेको भनेर प्रश्न मात्र गरे । यहाँसम्म कि कसैकसैले त उहाँ उठेको विषयलाई अशिष्टतासम्म भन्न पनि भ्याए । वास्तविकता के थियो र उहाँ के कस्तो समस्याले उठ्नुपरेको थियो भन्ने विषयको तथ्यमा धेरै पुगेनन् तथ्यहीन टिप्पणी मात्र गरिरहे । भनिन्छ, संसार छ र त सञ्चार छ । पहिले त संसार हुनुपर्छ नत्र केको सञ्चार गर्नु ? आज विश्वका मिडियामा सबै नागरिकको पहुँच पुग्न नसकेकाले होला सामाजिक सञ्जालको जन्म भएको । यसैले त संसारका मानिसलाई सञ्चारको जालोमा ल्याएको छ । अनि यही सञ्जालले नै यसका प्रयोगकर्ता सबै मानिसलाई सञ्चारकर्मी बनाएको छ । अहिले सञ्चारकर्मी हुनलाई पत्रकार नै हुनु पर्दैन, सामाजिक सञ्जाल भए हुन्छ । किनभने हरेक व्यक्तिले यसैबाट सञ्चार गरिरहेको छ । अर्को कुरा यो नागरिक पत्रकारिताको युग पनि हो । अहिले मानिसले सामाजिक सञ्जालबाट नै पत्रकारिता गर्न सक्ने भएको छ र कतिले गरेको पनि छ । त्यसो भए पत्रकारले यस्तो अमानवीय पत्रकारिता गर्न मिल्छ त ? के यसलाई नागरिक पत्रकारिता भन्न मिल्छ? सामाजिक सञ्जाल भनेका व्यक्तिका पिर व्यथा र खुसी साट्ने तथा खानपिन र उठबसका तस्बिर राख्ने अनि बाँकी सबैजसो आलोचना नै गर्ने माध्यममात्र होइनन् भन्ने बहस हुनु जरुरी छ । जनताका चासोका सूचनाहरू आदानप्रदान गर्ने र बौद्धिक बहस गर्ने ‘प्लेटफर्म’ पनि हो यो ।  कतिपय देशमा सामाजिक सञ्जाललाई चुनावी अभियान चलाउने र राष्ट्रका लागि ‘एजेन्डा’ सेटिङ गर्ने सशक्त औजारका रूपमा प्रयोगमा नै ल्याइसकेका छन् । अघिल्लो दशक  प्रजातन्त्रका लागि सुरु गरिएको क्रान्तिमा अरब वसन्त नाम दिनसक्ने हैसियत निर्माण गर्ने काम यिनै सामाजिक सञ्जालले नै गरेका थिए । किनभने मध्यपूर्वी देशहरूमा प्रजातन्त्रको बहार ल्याउन सामाजिक सञ्जालकै मुख्य भूमिका थियो । अहिले जनजीविकाका विषयदेखि सामुन्द्रिक तटमा बसेका मानिसहरूलाई सुनामी आउने सूचनाबाट बचाउने कामसम्मका लागि यिनै सामाजिक सञ्जालको सहायता लिने गरिएको छ । भारतमा त सूचनाको हकको प्रयोग गर्न सामाजिक सञ्जालबाट थालिएको अभियानले भ्रष्टाचारविरुद्धको अभियान नै सञ्चालन गर्‍यो र यही अभियानको उपजका रूपमा अरबिन्द केजरीवाल जस्ता नेता जन्मिए । त्यसैले हामीले पनि सामाजिक सञ्जालको प्रयोग देश र जनताका लागि यस्तै सिर्जनात्मक रूपमा गरौँ । अहिले असामाजिक बन्दै गएका सामाजिक सञ्जाललाई यसैगरी छोड्यौँ भने यसले हामी र हाम्रो समाजलाई सकारात्मक हुन नै सिकाउँदैन । अनि यस्तै दुरुपयोगबाट नै सिर्जना, धैर्यता र सत्य हराउँदै जाने खतरा दिनप्रतिदिन बढ्दै जानेछ ।      

पोखरा:  पोखराको बाटुलेचौरमा अतिथी गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ। पोखराकै २ जना महिला उद्यमी पार्वती थापा बस्नेत र अन्जना कार्कीको संयुक्त लगानीमा संचालनमा आएको उद्योगले आईतबार सेवा शुभारम्भ गर्दै आफ्ना उत्पादनलाई उपभोक्ताको माझ ल्याएको हो।  सेवाको गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार, शहरी विकास, तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा बोल्दै खड्काले उद्यमशीलतावाट मात्रै समृद्धि ल्याउन सकिने बताउदै, उद्योगले महिला सशक्तीकरणमा समेत टेवा पुर्याउने विस्वास व्यक्त गर्नुभयो।  कार्यक्रममा कृषि विज्ञ वेनी बहादुर बस्नेत, एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, वडा सदस्य राजकुमारी बानियाँ, क्षेत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापा, विन्ध्यवासिनी मा विका सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, समाजसेवी नरेन्द्र थापा, बलराम तिमिल्सिना लगायतकाले उद्योग सफलताको शुभकामना व्यक्त गरेका थिए।हाल ५ जना महिलाले रोजगारी पाएकोमा अव बजारीकरण र सेवा विस्तारले सयौं महिलालाई रोजगारी दिन सकिने संचालक बस्नेतले बताउनुभयो।लामो समय शिक्षण पेशामा आवद्ध वस्नेतले महिला उद्यमशीलताको विकास गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसाय सञ्चालन गर्नुभएको हो। करिब २५ लाखको लगानीमा संचालनमा आएको उद्योगले प्लास्टिक रहित अभियानलाई सहयोग पुर्याउने गरि सपिङ झोला उत्पादन गरेको छ। त्यस्तै उद्योगले स्कुल र कलेजका डे्स, स्वेटर, झोला, सर्टिङ्ग सुटिङ लगायतका विभिन्न सामग्रीहरू उत्पादन सहित बजारीकरण गरेको बताएको छ।   

पोखरा:  अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रह्यो । महोत्सवमा शनिबार मात्रै महोत्सवमा ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै कारोबार समेत बढेको छ । शनिवार करिब एक करोड बरावरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैबिच एघारौं पोखरा महोत्सवमा सामाजिक व्यक्तित्व तथा महिला उद्यमी समेत रहेकी  लक्ष्मी शर्मा भट्टराई सम्मानित भएकी छिन । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवमा आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत जटिल रोग संग जुध्दै अगाडि वढिरहेकी पोखरा १७ निवासि सामाजिक अभियनता एवं महिला उद्यमी समेत रहेका लक्ष्मी शर्मा भट्टराईलाई नगद र प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरेको हो । भट्टराईलाई युनाईटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ,  संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोहका संयोजक राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितिय उपाध्यक्ष शान्त बहादुर थापा, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्य बहादुर बानिया, सचिव पूर्ण कला पोख्रेल र कोषाध्यक्ष सीमा गुरुङ सहित क्लवका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक जयराम आचार्यले दोसल्ला, नगद र सम्मान पत्र सहित सम्मान गरेका थिए । सो अवसरमा वोल्दै सम्मानित ब्याक्तित्व लक्ष्मी शर्मा भट्टराईले आफु क्यान्सर जस्तो रोगबाट ग्रसित भइरहदा विभिन्न ब्याक्ति तथा संघ संस्थाको सहयोगले आफुमा आत्मबल बढेको वताउदै स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आइरहेको युनाइटेड क्लवले केही आथिक सहयोग सहित सम्मान गरेकोमा धन्यवाद ब्यक्त गर्दै कुनैपनि रोग लागेका हरुलाई आत्मबल बढाउने गरी सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन । भट्टराई नेपाल सरकार महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमीको रुपमा समेत सम्मानित भएको हुंदा युनाइटेड क्लबले सम्मान सहित बधाइ समेत ज्ञापन गरेको थियो । महोत्सवमा शनिवार चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरजन्न लिए । खाँड संगै लोकदोहोरी तर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । त्यस्तै पुरुषोत्तम भण्डारी (पुर्खे बा)को हास्य प्रहसनद्धारा दर्शकहरुले मनोरन्जन लिनुका साथै सांझको लाइभ ब्याण्डमा युवाहरु बीच चर्चित भिटेनको प्रस्तुतीमा महात्सवमा उपस्थित युवाहरुले भरपुर मनोरन्जन लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको एघारौं दिन लोकदोहोरी तर्फ राजु परियार, जीवन दाहाल, अस्मिता डल्लाकोटी, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवर लगायतको प्रस्तुती रहनेछ । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ दीक्षिता कार्कीको प्रस्तुती रहनेछ । आइतबार बिद्यालय स्तरिय लोनृत्य प्रतियोगिताको समेत फाइनल हुने छ । 

पोखरा:  नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेशको नयाँ समिति गठन गरिएको छ ।  आज (शनिबार) संघका केन्द्रिय अध्यक्ष उपेन्द्रप्रसाद पौडैलको अध्यक्षतामा पोखरामा आयोजित कार्यक्रममा नयाँ समिति गठन गरिएको हो ।   पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.वीरबहादुर कार्कीको अध्यक्षतामा नवगठित प्रदेश समितिका, उपाध्यक्षमा पृथ्वीनारायण क्याम्पसकै प्राध्यपक देवीलाल शर्मा, सचिवमा शंकर पेपर र्वक्स प्रालिका माधव बस्ताकोटी, कोषाध्यक्षमा नबिल बैंकतर्फ गण्डकी प्रदेशका प्रमुख सूर्यबहादुर रोका चयन भएका छन् ।  त्यसैगरी सदस्यहरुमा सफल मिडिया हाउस प्रालिका अध्यक्ष दुर्गाप्रसाद हुमागाइइ, होटल स्नोल्यान्डका प्रबन्धक तथा निर्देशक गणेशबहादुर थापा, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख प्रकाश रेग्मी र हिमश्री फुडका अमिता थापा चयन भएको निर्वाचन समितिका संयोजक दिलीप पौडेलले जानकारी दिए ।  गण्डकी विश्वविद्यालका कुलपति डा.गणशमान गु्रुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, महासचिव मोहन ओझा, पूर्वकोषाध्यक्ष दिलिप पौडेलले संघको हालसम्म गरिएका गतिविधि र आगामी कार्यक्रमका विषयमा प्रकाश पारेका थिए ।    कार्यक्रममा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज पुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, नवनियुक्त अध्यक्ष डा. वीरबहादुर कार्की र देविलाल शर्मा अगायतले बोलेका थिए ।     

काठमाडौंः    राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा  निर्वाचित भएकी छन्। इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याइन्। कूल २६४ मत खसेको सभामुख देवराज घिमिरेले जानकारी दिए। जसमध्ये १ सांसद् तटस्थ बसे। झापाकी इन्दिरा आदिवासी जनजाति महिलाबाट समानुपातिक सांसद् भएकी थिइन्। राजनीतिमा आउनुअघि रानामगर कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय र शिक्षा दिन सक्रिय थिइन्। उनलाई रास्वपाका सोबिता गौतमले प्रस्ताव गरेकी थिइन्। उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन्। त्यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला थिए।