पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

पोखरा:  ब्रिटिसको लण्डन सदर्क काउन्सीलका मेयर सुनिल चोप्राले पोखराले पर्यटनको माध्यमबाट सम्बृद्धि हासिल गर्न सक्ने बताएका छन् ।  पोखरा महानगरपालिका वडा नं. २६ बाट प्रारम्भ हुने रोयल ट्रेकको विहिबार निरिक्षणका क्रममा मेयर चोप्राले पोखरा उपत्यकाका डाँडाबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिने उल्लेख गर्दै, पर्यटनका क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरे ।    पत्नी भर्षा सहित पोखरा भ्रमणमा आएका मेयर चोप्राले विट्रिसका तत्कालिन युवराज चाल्र्सले समय विताएको पोखरा २६ को सिलिङ्गे ट्राईगर ट्रि मा स्थानीय जनप्रतिनिधिसँग यस क्षेत्रको विकासको संभावनाका बारेमा छलफल गरेका थिए । मेयर चोप्राले रोयल ट्रेकमा झण्डै एक किलोमिटर पैदलयात्रा गरेका थिए ।  सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले सिलिङ्गेमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण, रोयल ट्रेकको विकास एवं विट्रिसका राजा चाल्र्स थर्डलाई पुन एक पटक नेपाल भ्रमणको वातावरण मिलाईदिन आग्रह गरेका थिए । अध्यक्ष थापाले सदर्क नगर र पोखरा महानगरपालिकाको विचमा भगिनी संवन्ध स्थापना गरी कला र संस्कृतिको आदान प्रदान गर्न सकिने उल्लेख गरे ।  मेयर चोप्राको भ्रमणलाई पूर्व पर्यटन दुत एवं एभरेष्ट इन यू.के का अध्यक्ष पशुपति भण्डारीले सहजीकरण गरेका थिए ।  मेयर चोप्रालाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडा नं. १३ का अध्यक्ष किरण बराल, वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, वडा नं. २६ का जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, तिर्थबहादुर राजभाट, सुजता बराल सुनार, सुदिपराज ढुंगाना, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा स्थानीय वासिन्दा हरि अधिकारी, चन्द्रबहादुर रानाभाट, शिवबहादुर रानाभाट, चिनिया थापा, डम्बर बहादुर थापा, मदन बस्नेत लगायतले स्वागत गरेका थिए । मेयर चोप्रा दम्पतीले टाइगर टप रिर्सोटमा समेत केही समय बिताएका थिए । 

पोखरा:  अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । ज्योती संगै महोत्सवमा जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको दोहोरी प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ सविन राइ एण्ड द फेरोहको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिए । युवाहरु माझ चर्चित सविन राइले आफ्नो प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित बनेका थिए । नवौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड वड्दै गएको छ । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ आलिफ खान, जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, जुना क्षेत्री, टेक क्षेत्रीको प्रस्तुती रहने छभने नेत्रपाणी बास्तोलाले कार्यक्रम सञ्चालन गर्नेछन । त्यसैगरी हास्य प्रहसन तर्फ राजेन्द्र गिरी जादुगर गुन्द्रुके मुना गिरीको प्रहसन संगै डान्स जादु प्रस्तुती रहन छभने २३ इन्चको मनोज गोर्खालीमार्फत डान्स प्रस्तुती रहने छ । त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ अनुप्रस्थाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवमा जारी विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो चरणको प्रतियोगितामा अमरसिंह मावि, श्री नव प्रभात सेकेण्डरी स्कुल, मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल, श्री सिद्ध मावि र बाल कल्याण मावि विच भएको प्रतिस्पर्धामा मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको हो । विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा माघ ८ गते भ्यु प्वाइन्ट बोडिङ स्कुल, मेट्रोपोलिटन एकेडेमी, कास्की मोर्डनाइज र मेरिगोल्ड बोर्डिङ स्कुल बीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

बागलुङ: ग्रामीण भेगका स्वास्थ्य चौकीमा रहेका प्रसूति कक्षमा वैकल्पिक ऊर्जाको व्यवस्थापन नहुँदा मोबाइलको बत्ती बालेर प्रसूति गराउनुपर्ने बाध्यता छ। नियमित प्रयोग हुँदै आएको स्थानीय स्तरमा उत्पादित विद्युत् तथा केन्द्रीय प्रसारण लाइनको विद्युत् बेलाबेलामा जाने समस्या हुँदा अन्तिम अवस्थामा मोबाइलकै लाइट वा ‘टर्च’ बालेर प्रसूति गराउनुपर्ने बाध्यता भएको हो।  विशेषगरी लाइन जाने समय वा कुनै कारणले विद्युत् अवरुद्ध हुँदा रातको समय सुत्केरी गराउन कठिन भएको गलकोट नगरपालिका–७, मल्ल स्वास्थ्य चौकीका इन्चार्ज अनिता कार्कीले बताउनुभयो। “विद्युत् जाने आउने समस्या हिउँदमा पनि हुन्छ,” उहाँले भन्नुभयो– “बर्खामा त झन् हप्तारदस दिन बिजुली नहुँदा धेरै कठिनाइ भोग्नुपरेको छ।”  सुत्केरी गराउँदै गर्दा बिजुली जाँदा असाध्यै कठिन हुने गरेको अनमी माधुरी नेपालीले बताउनुभयो। “व्याथाले च्यापेका गर्भवती सम्हाल्ने कि मोबाइल खोज्न जाने ?,” उहाँले भन्नुभयो– “कहिलेकाहीँ त बच्चा आधा जन्मेको बेला लाइन जान्छ, अँध्यारोमा परिस्थिति सम्हाल्न असाध्यै कठिन हुन्छ।” अनमी नेपालीले मोबाइलको लाइट बोलेर तीन जना सुत्केरी गराएको अनुभव सुनाउनुभयो। मल्म स्वास्थ्य चौकीमा केन्द्रीय प्रसारणको विद्युत् जोडिएको छ। यद्यपि बेलाबेलामा हुने विद्युत् आपूर्ति कटौतीले गर्दा प्रसूतिगृह जस्तो संवेदनशील कक्ष मर्कामा परेको छ।  स्वास्थ्य चौकीमा वैकल्पिक ऊर्जाको वा ब्याकअप व्यवस्थापन गर्न सके कठिन अवस्थामा सहज हुने स्वास्थ्य चौकी प्रमुख कार्कीको भनाइ छ। विद्युत्को वैकल्पिक व्यवस्थापन गर्न नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गरे पनि कार्यक्रम स्वीकृत भएको छैन। मल्म स्वास्थ्य चौकीमा यस वर्ष मात्रै १९ जना महिला सुत्केरी भएका छन्। बरेङ गाउँपालिकाको बाटाकाचौर स्वास्थ्य चौकीले पनि विद्युत् आपूर्तिको समस्या भोग्दै आएको छ।  स्वास्थ्य चौकीको प्रसूति कक्षमा वैकल्पिक ऊर्जा नहुँदा प्रसूतिको समयमा निकै कठिनाइ भोग्नुपरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख धर्म प्रकाश थारूले बताउनुभयो।  प्रसूति कक्षमा सुत्केरी अवस्थामा दुई जना महिला स्वास्थ्यकर्मीले नियमित काम गरे पनि बिजुली जान सक्ने अवस्थालाई ध्यानमा राखेर एक जना मोबाइल बाल्नका लागि बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।  वैकल्पिक ऊर्जाको व्यवस्थापन नभएका बागलुङका अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले यस्तो समस्या भोग्दै आएका छन्। स्थानीय तहको पहलमा केही स्वास्थ्य चौकीमा ब्याट्री व्यवस्थापन भए पनि अधिकांशमा छैन।   बरेङ गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले प्रसूति गृहको संवेदनशीलतालाई गम्भीरताका साथ लिएको बताउनुभयो। आगमी बजेट तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्य निकायसँग समन्वय गरेर वैकल्पिक व्यवस्थापन गर्ने उहाँले बताउनुभयो।   

काठमाडौँ:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरिले अङ्गदान गर्ने घोषणा गर्नुभएको हो  ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण  केन्द्रले आयोजना गरेको एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिले मृत्युपश्चात् आफ्ना सबै अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री दाहाललाई  केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले  डोनर कार्ड हस्तान्तरण  गर्नुभएको थियो। यस्तै स्वास्थ्यमन्त्री गिरिलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गर्नुभएको हो ।

हुम्ला:   हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो ।  हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।     गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।

पोखराः    गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडियो)हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ । सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुने गरी मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’ तयार पारी लागू गरेको हो । उक्त कार्यविधिअनुसार अब भने कुनै पनि सिडियोले आफ्नो गृहजिल्लामा सरुवा हुन पाउने छैनन् । “अब छिट्टै हुने सरुवा नै त्यही कार्यविधिमा टेकेर हुन्छ”, गृहसचिव विनोदप्रकाश सिंहले भन्नुभयो, “सरुवालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित गर्न कार्यविधि महत्वपूर्ण हुने विश्वास छ ।” उहाँका अनुसार गृहमन्त्री रवि लामिछानेको निर्देशनमा उक्त कार्यविधि बनाई लागू गरिएको छ । यसअघि सरुवा बढुवामा राजनीतिक हस्तक्षप भएको भनी आरोप लाग्दै आएको थियो । “विगतमा धेरै मान्छे एउटै क्षेत्रमा बस्ने अवस्था रह्यो सबैलाई सबै ठाउँको अवसर र अनुभव होस् भन्ने उद्देश्यले कार्यविधि बनाएर लागू गरिएको हो”, गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले भन्नुभयो । नेतृत्व, समन्वय, क्षमता, सुरक्षा व्यवस्थासम्बन्धी ज्ञान, स्थनीयस्तरको कार्य अनुभव, रुचि, दक्षता र वरिष्ठताका आधारमा सरल, पारदर्शी एवं अनुमानयोग्यरूपमा गर्न वाञ्छनीय भएकाले कार्यविधि ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।  राजपत्राङ्कित प्रथम श्रेणीको प्रजिअको हकमा ‘क’ वर्गको जिल्ला, मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको, राजपत्राङ्कित द्घितीय श्रेणीको अधिकृतलाई  खटाउनुपर्ने अवस्थामा उक्त श्रेणीको पदमा कम्तीमा पाँच वर्षको प्रशासनिक क्षेत्रको कार्यानुभव भएको र कानुनमा स्नाताक तह उत्तीर्ण वा मान्यताप्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको न्याय तथा कानुनसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ । यस्तै राजपत्राङ्कित द्वितीय श्रेणीको प्रजिअको हकमा राजपत्राङ्कित द्वितीय श्रेणीको सहायक प्रजिअ वा इलाका प्रशासन कार्यालयको प्रमुख भई वा मन्त्रालय विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्नेछ । यस्तै कानुनमा स्नातक तह उत्तीर्ण भएको वा मान्यताप्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको न्याय तथा कानुनसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ । निर्देशिकामा पहिलोपटक प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दा मन्त्रालय विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत राजपत्राङ्कित प्रथम वा द्वितीय श्रेणीका अधिकृतमध्ये वरिष्ठ अधिकृतलाई खटाइने छ ।  काठमाडौँ उपत्यकाका जिल्लामा खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा प्रजिअ भई अनुभव हासिल गरेका अधिकृतलाई र प्रदेश राजधानी भएको जिल्लाको हकमा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालय वा प्रजिअ भई कार्य गरिसकेका अधिकृतलाई तथा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच हुने कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा उत्कृष्ट हुने तीन जिल्लाका प्रजिअलाई प्राथमिकता दिइनेछ । कार्यविधिमा पदस्थापन वा सरुवा नगरिने अवस्थासमेत तोकिएको छ । जसअनुसार विभागीय सजाय पाएका, कारबाही प्रक्रिया सुरु भएकामा नटुङ्गिँदासम्म, कार्यसम्पादन सम्झौतामा ९० प्रतिशतभन्दा कम अङ्क ल्याई अन्तिम तीनमा रहने जिल्लाका अधिकारीलाई अर्को जिल्लामा जिम्मेवारी नदिइने उल्लेख छ ।   अधिकृतको स्थायी ठेगाना भएको जिल्लामा प्रजिअको रूपमा पदस्थापन सरुवा वा काजमा नखटाइने कार्यविधिको बुुँदा ५ (ङ) मा उल्लेख छ । कुनै पनि एक प्रदेशमा एक अवधि पूरा गरेका अधिकृतलाई पुनः सोही प्रदेशको अर्को जिल्लामा पनि खटाइने छैन । पदस्थापनका लागि जिल्लाको वर्गीकरणलाई आधार मानिने उल्लेख छ । राजपत्राङ्कित प्रथम श्रेणीको प्रजिअलाई सरुवा गर्ने प्रयोजनका लागि ६१ जिल्लालाई क, ख र गमा वर्गीकरण गरिएको छ । राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई पहिलोपटक  प्रजिअको रूपमा खटाउँदा ख र ग वर्गका जिल्लामा खटाइने छ । तर मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भई न्यूनतम एक वर्ष कार्य गरेको अधिकृतलाई क वर्गको  जिल्लामा खटाउन बाधा नपर्ने कार्यविधिमा उल्लेख छ । राजपत्राङ्कित द्वितीय श्रेणीको प्रजिअ रहने जिल्लामा प्रजिअ खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गतका कार्यालयमा कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने छ । ग वर्गको  जिल्लामा प्रजिअ भएको अधिकृतलाई ख र क वर्गको जिल्लामा प्रजिअमा खटाइने छ । इच्छाविपरीत पुनः ग मा खटाइने छैन ।  कार्यविधिमा क वर्गको जिल्लामा भइरहेका अधिकृतलाई तत्काल क वर्गकै अर्को जिल्लामा खटाइने छैन । तर वार्षिक कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा उत्कृष्ट तीनवटा जिल्लामा प्रजिअलाई क बाट क वर्गकै जिल्लामा खटाउन बाधा नपर्ने उल्लेख छ । सरुवामा गृहसचिव र प्रजिअबीच हुने कार्यसम्पादन सम्झौताको अङ्कलाई समेत आधार मानिने उल्लेख छ ।  कुन जिल्ला कुन वर्गमा ? कार्यविधिमा काठमाडौँ, ललितपुर, कास्की, कैलाली, चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देशी र सुनसरीलाई ‘क’ वर्गको जिल्लामा राखिएको छ ।  यस्तै इलाम, उदयपुर, कञ्चनपुर, कपिलवस्तु, काभ्रे, गोरखा, तनहुँ, दाङ, धनुषा, धादिङ, नवलपरासीपूर्व र पश्चिम, नुवाकोट, पाल्पा, बर्दिया, भक्तपुर, बारा, महोत्तरी, रौतहट, सिन्धुपाल्चोक, बाग्लुङ, सप्तरी, सर्लाही, स्याङ्जा, सिरहा, सिन्धुली र सुर्खेतलाई ‘ख’ वर्गमा राखिएको छ । यस्तै अछाम, अर्घाखाँची, ओखलढुङ्गा, खोटाङ, गुल्मी, जाजरकोट, जुम्ला, डडेलधुरा, डोटी, दैलेख, दोलखा, धनकुटा, पर्वत, पाँचथर, प्युठान, बैतडी, भोजपुर, रामेछाप, रोल्पा, लमजुङ, सल्यान र सङ्खुवासभालाई ‘ग’ वर्गको जिल्लमा राखिएको छ ।

काठमाडौं:   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर दुई हजार एक सय ७८ दशमलब ८१ मा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारको मापक सेन्सेटिभ परिसूचक एक दशमलब १५ अङ्कले उकालो लागेर चार सय १५ दशमलब शून्य पाँचमा पुगेको छ । कारोबार भएकामध्ये ८५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा एक सय आठ कम्पनीको शेयर मूल्य घटेको छ भने कूल १४ कम्पनीको शेयर मूल्य स्थिर छ । आजको कारोबारमा विभिन्न कम्पनीका कूल ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर रू तीन अर्ब चार करोड ४५ लाख २९ हजार तीन सय २९ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख १२ हजार दुई सय ३३ पुगेको छ । कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष  स्थानमा छ । बैंकको रू १८ करोड चार लाख ४४ हजार छ सय ५३ बराबरको शेयर कारोबार भयो । यस्तै, रिडी पावर रू १२ करोड ३२ लाख २७ हजार आठ सय ६८, पिपल्स पावर रू १० करोड ४० लाख ५८ हजार पाँच सय दुई, अपि पावर कम्पनी रू नौ करोड ४५ लाख ७५ हजार एक सय ५२ र नेपाल लाइफ इन्स्योरेन्सको रू आठ करोड ८२ लाख १२ हजार सात सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी नौ दशमलब ५४, नेपाल पूर्वाधार बैंक सात दशमलब २०, ग्रीन भेञ्चर्स छ दशमलब ७१ र श्वेतगङ्गा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलब १० प्रतिशतले कमाएका छन् । त्यस्तै, कुमारी धनवृद्धि योजना आठ दशमलब ८९, लक्ष्मी लघुवित्त पाँच दशमलब ४४, सिटिजन म्युचुअल फण्ड तीन दशमलब ८०, ग्लोबल आइएमई लघुवित्त तीन दशमलब ७७ र स्वाभिमान लघुवित्त कम्पनीको शेयर मूल्य तीन दशमलव ७२ प्रतिशतले घटेको छ ।     

धरान:  धरान उपमहानगरपालिका वडा –५ मा खुकुरी प्रहारबाट एक जना पुरुषको मृत्यु भएको छ । एक जना महिला घाइते हुनुभएको छ । बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा परी स्थानीय २५ वर्षीय मञ्जु खड्का राई गम्भीर घाइते हुनुभएको धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “मर्ने र मार्ने दुवै जना साथी हो । कुमार बिहान साथीको घरमा आएका थिए । विकासका बाबुले छोरालाई चिया पकाउन लगाएर आफू दोकान जानुभएको थियो । फर्केर आउँदा छोराले आफ्नै साथीलाई मारिसकेको रहेछ ।” मृतक बुढाथोकीको ढाड र कोखामा चोट रहेको प्रहरीले जनाएको छ ।  साथीको हत्या गरेर सडकमा निस्किएका विकास पुनः मञ्जु खड्काकोे घरमा गएर खुकुरी निकाली उनीमाथि प्रहार गरेको स्थानीयहरुले बताएका छन् । घरमा छिरेर खुकुरी निकाल्न थालेपछि भागेकी मञ्जुलाई नजिकै रहेको साग बारीमा अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको जनाएको छ ।  खुकुरी प्रहारबाट गम्भीर घाइते मञ्जुलाई उपचारका लागि धरानस्थित विजयपुर अस्पताल लगिएको छ । मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको कारणबारे नखुले पनि, विकास लागुऔषध प्रयोगकर्ता रहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।   

महेन्द्रनगर:   पोखरा बस्साकी, काठमाणडौं है उडाइ लैग्यो, पोखरा बस्साकी सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।। छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो । सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या । बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग । धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।। चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको वेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गर्नुभएको छ । आफूले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामा श्रद्धाञ्जलि दिएको उहाँले बताउनुभयो । बुधबार राति युट्युबमार्फत भाका सार्वजनिक गर्नुभएका भट्टले गीत गाउनुका साथै आफूले लय दिएको  बताउनुभयो । सुदूरपश्चिमकै गायक भानुभक्त जोशीले शब्द सङ्कलन गर्नुभएको हो । गीतमा दुर्घटनामा ज्यान गुमाउनुभएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उहाँका १५ वर्षीय छोरा स्लकलाई समेत सम्झिनुभएको छ । “यो साङ्गीतिक क्षेत्रमा चर्चा कमाउनभन्दा पनि मुलुक शोकमा डुबेका बेला वेदना र यथार्थ पस्किएका भन्नुहुँदै हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटेको छु ।,” उहाँले भन्नुभयो । उहाँले विसं २०५२ मा सुदूरपश्चिमको सेतीमा बस दुर्घटना हुँदा उहाँले वियोगान्त गीत सार्वजनिक गरेको स्मरण गर्नुभयो । “शोकका बेला मैले ल्याएको यो तेस्रो गीत हो”, देउडा गायक भट्टले भन्नुभयो, “ठाडीमा रमाइलो गीतभन्दा पनि दुःख वेदनाको विषय मात्रै समावेश हुन्छ ।” कालको खोल भयो नेपालको जहाजको यात्रा कालको खोल भयो । रगतको झोलको सेतीका माछाकी लेखा रगतको झोल भयो ।। संसारै रुवायै, कठैदैव तेरो लिला संसारै रुवाए । एमराज खुवाए, एकैचिता इतिजना एमराज खुवाए ।। यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो । अहिले शव आफन्तको जिम्मा लगाउने क्रम सकिएको छैन । सोही विमानमा सवार महेन्द्रनगरका आमारछोराको शव अझै आफन्तले पाउन सकेका छैनन् । सेलीरोटी खानाको नहरीको कालो काग सेलरोटी खानाको । बहत्तर जनाको एकैच्याहान क्याइबनाए, बहत्तर जनाको ।। गाइकालै साथ आमा–छोरा कञ्चनपुरका गाइकालै साथ । दिउँसै पडि रात, बाटो कुर्‍या घरपरिवार दिउँसै पडि रात ।। गायक भट्टले राति अपलोड गरेको उक्त भाकालाई हालसम्म ५८ हजारभन्दा बढीले युट्युबमा हेरिसकेका छन् । गीत सुनेकाले दुःखद घडीमा मार्मिक सिर्जना गरेको भन्दै गायकको प्रशंसा गरेका छन् ।