तनहुँः अभिनेता पल शाहलाई नाबालिका बलात्कारको आरोपमा जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् । गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।
पोखराः पोखरामा विमान दुर्घटना हुँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ । थप एकजनाको शव भेटिएसँगै विमान दुर्घटनामा मृत्युु हुनेको संख्या ७१ पुगेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘आइतबार पोखरामा विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि शव परिवारलाई बुझाउन थालिएको छ, ढकालले भने, ‘दुर्घटना स्थलमा बेपत्ता भएकाहरुलाई खोजी कार्य जारी छ, अहिले थप एकजनाको शव भेटिएको छ, बेपत्ता भएका एकजनाको खोजी कार्य जारी छ ।’ आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना भएको थियो । आइतबार विमान दुर्घटना हुँदा ४ चालक दलसहित ६८ जना सवार थिए । आज बिहानैदेखि खोजीमा जुटेका उद्धारकर्मीहरुले भर्खरै एकजनाको शव भेटेका छन् । नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धारकर्मी दुर्घटनास्थलमा निरन्तर खोजीमा छन् ।
कास्की: ‘स्पिड पनि, सस्तो पनि’ नारासहित इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ नेपाल प्रालिले पोखरा, लेखनाथ र तनहुँको दमौलीमा एकसाथ इन्टरनेटको सेवा बिस्तार गरेको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै काठमाडौंपछि गण्डकी प्रदेशको पोखरा, लेखनाथ र तनहुँको दमौलीमा एकसाथ सस्तो तथा सुलभ मूल्यमा इन्टरनेट सेवा सुरु गरेको जानकारी दिएको हो । कम्पनीका कार्यकारी अधिकृत शत्रुधन पञ्जियारले वाइफाइ नेपालले नेपालमै सबैभन्दा सर्वसुलभ मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने बताए । ‘नेपालमा अहिले धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन्’, उनले भने, ‘हामीले ल्याएको वाइफाई नेपाल स्पिड पनि छ र सस्तो पनि छ त्यसैले नारा नै ‘स्पिड पनि, सस्तो पनि’ राखेका छौ । सेवाग्राहीले ५० एमबिपीएसको इन्टरनेट प्रतिमहिना ३ सय ३३ रुपैयाँमा चलाउन पाउँनेछन् ।’ उनका अनुसार ८० एमबिपीएसलाई प्रतिमहिना ५ सय रुपैयाँ तोकिएको छ । उनले ५० एमबिपीएसको इन्टरनेट बार्षिक ५ हजार ५ सय र ८० एमबिपीएसको इन्टरनेट ७ हजार ५ सयमा प्रयोग गर्न पाउने बताए । ‘हामीले काठमाडौंको सफलतापछि गण्डकीमा आएका छौं, हामीले न्यूनतम मूल्यमा सेवा प्रदान गरेर सबै नेपालीलाई जोड्न खोजेका छौ’, उनले भने, ‘आगामी दिनमा पोखरा लगायत अन्य विभिन्न शहरहरु तथा गाउँ–गाउँमा पुग्ने लक्ष्य लिएका छौं ।’
काठमाडौंः सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गर्नुभएको सर्वदलीय बैठक केहीबेरअघि सुरु भएको हो । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहणलगत्तै बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरूको सहभागिता छ ।
पर्वतः पर्वतबाट दुई पटक प्रतिनिधि सभा चुनाव जित्नुभएका नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुनुएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधि सभा चुनावमा दुई पटकसम्म लगातार हराउनुभएका गिरी जिल्लाबाट मन्त्री बन्नेमा पहिलो व्यक्ति हुनुहुन्छ । पर्वतले अहिलेसम्म राज्य र सहायकमन्त्री बाहेकको मन्त्री भने पाउन सकेको थिएन । पञ्चायतकालको सुरुवातमा मोदी गाउँपालिकाअन्तर्गत देउराली लाङ्दीका गणेशबहादुर गुरुङ २०२२–२३ सालमा राज्यमन्त्री बन्नुभएको थियो । त्यसको केही वर्षपछि त्यही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायकमन्त्री बन्नुभएको थियो । यस्तै २०३९ सालमा जलजला–४, मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल यातायात राज्यमन्त्री बन्नुभएको थियो । त्यसपछि क्षेत्रबहादुर गुरुङ सहायक यातायात मन्त्री र पर्वत फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायकमन्त्री बन्न सफल हुनुभएको थियो । पर्वतमा यसअघि छ जनामन्त्री बनेको भए पनि राज्यमन्त्री र सहायकमन्त्रीमै सीमित थिए । यस पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पर्वतका पदम गिरीले मन्त्रीको रूपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । ‘पर्वतलाई लामो समयदेखि उपेक्षामा राखिएको थियो’, स्थानीय राजु पौडेलले भन्नुभयो, ‘अहिले मन्त्री पाएपछि पर्वतको विकास हुने अपेक्षा गरेका छौँ ।’ विसं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । विसं २०४७ मा अखिल पाँचौँमा सङ्गठित गिरी पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सदस्य, उपसभापति हुँदै सभापति बन्नुभएको थियो । विसं २०७२ मा आठौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएका गिरी २०७५ मा गण्डकी प्रदेश कमिटी सदस्य बन्नुभएको थियो ।
पोखराः जहाज दुर्घटनामा परि मृत्यु भएका पत्रकार त्रिभुवन पौडेललाई नेपाल पत्रकार महासंघ कास्कीमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । पोखरा महानगरपालिका ११ का स्वर्गीय पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पोखराका मेयर धनराज आचार्य लगायत सयौं शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरे । श्रद्धाञ्जलीपश्चात् पौडेलको अन्त्योष्टी रामघाटमा गरिनेछ । पोखरा हटलाइन दैनिकका सम्पादकसमेत रहेका पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत थिए । गत आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना हुँदा चालकदलसहित ७२ जनाले ज्यान गुमाएका थिए ।
पोखराः फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेमगरको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो । “केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उहाँले भन्नुभयो, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।” यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उहाँ पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लाग्नुभयो । “कसैले बम पड्काएको हो कि भन्ने लाग्यो”, उहाँले सुनाउनुभयो, “ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ ।” केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए । उहाँलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो । “बुढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे ।” खुट्टा र पिठ्यँुमा लागेको चोट देखाउँदै आलेले भन्नुभयो, “धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्यँुमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ ।” आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्नुहुन्छ । त्यहीँकै राम बल्क उद्योगमा चालकका रुपमा काम गर्न थालेको १० वर्ष भयो । तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । “भगवानले मलाई बचाउनु भयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला ।” अहिले आले टाउकै माथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवान धन्यवाद दिँदै बस्नुभएको छ । “यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन”, उहाँले भन्नुभयो । पोखरा महानगरपालिका वडा नं १५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ । घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ । अस्पताल स्रोतका अनुसार काठमाडौँ शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलिको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ । सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम शुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार ४६ जनाको शव काठमाडौँ पठाउनु पर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ । RSS
काठमाडौंः नेपाल टेलिकमको सेवा देशभर अवरुद्ध भएको छ । कम्पनीको ल्यानलाइन, प्रिपेड तथा पोस्पेट सेवा केहीबेर अघिदेखि अवरुद्ध भएको हो । टेलिकमको आधिकारिक वेबसाइट पनि बन्द छ ।
पोखारः माघ १ मा पोखरामा भएको यती एयरको विमान दुर्घटनाले देश नै शोकमा डुबेको गण्डकी प्रदेशका मन्त्री पञ्चराम गुरुङले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगर समितिले पोखराको पृथ्वीचोकमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै दुखद घटना भएको बताए । यस्ता दुर्घटना न्युनिकरण गर्नको लागि राज्यले आवश्यक पहल गर्नुपर्ने गुरुङको भनाइ छ । माघ १ गते कालो दिन भएको बताउदै मन्त्री देश नै आँसुमा डुवेको बताए । पोखरा १५ मा विमान दुर्घटनामा चालक दल सहित ७२ जना परेका थिए । ति मध्य ७० जनाको शव भेटिएको छ । २ जनाको खोजी कार्य भइरहेको छ ।

