पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

कास्कीः   फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा पुगी उक्त टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै दुर्घटनाबारे जानकारी लिएको हो । टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थियो । दुर्घटनाको अध्ययनका लागि नौ सदस्यीय टोली मङ्गलबार नै पोखरा आइपुगेको थियो । नेपालमा पहिलोपटक भएको एटीआर विमान दुर्घटनाबारे निर्माता कम्पनीले पनि चासोपूर्वक लिएको जनाइएको छ ।  कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विदेशी विज्ञ टोलीले अध्ययन गरिरहेकोबारे सम्बन्धित निकायबाट जानकारी पाएको भए पनि आफूलाई यो विषयमा धेरै थाहा नभएको बताउनुभयो । “दुर्घटनापछि खोज, उद्धार, शव व्यवस्थापनलगायतमा सुरक्षा निकाय खटिन्छ, जाँच तथा छानविनको विषय हामीसँग सम्बन्धित हुँदैन”, उहाँले भन्नुभयो । विमान दुर्घटनापछि सरकार गठन गरेको जाँच आयोगलेसमेत दुर्घटनाबारे छानविन सुरु गरेको छ । अध्ययन सकेर केही सदस्य काठमाडौँ फर्किसकेको केही अझै पोखरामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा र हवाई मर्मत विज्ञ एकराजजङ्ग थापा  रहनुभएको छ । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । यसअघि सोमबार विमानको ‘ब्ल्याक बक्स’ फेला परेको थियो । ‘ब्ल्याक बक्स’ले दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण सहयोग पुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  ६८ यात्रु र चार जना चालकदलका सदस्य लिएर गत आइतबार काठमाडौँबाट पोखराका लागि उडेको विमान सेतीँखोचमा खसेको थियो । दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ भने बेपत्ता एक जनाको खोजी कार्य जारी रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । 

काठमाडौंः    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले मन्त्रिपरिषद्को बैठक केहीबेर अघिदेखि सुरु भएको जानकारी दिनुभयो । हिजो (मङ्गलबार) २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बालुवाटारमा बसेको थियो ।  मन्त्रिपरिषद् विस्तारपछि आज (बुधबार) दिउँसो मन्त्रिपरिषद्को बैठक बसेको हो ।

पोखराः   पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन् ।  नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं संस्करणको पोखरा म्याराथन सफल बनाउने सन्दर्भमा आयोजित अन्तक्रिया कार्यक्रममा मेयर आचार्यले उक्त कुरा बताएका हुन् । उनले भने–“पोखरा म्याराथन पोखरा महानगरको आफ्नै कार्यक्रम हो । यसलाई सफल बनाउन पोखरा महानगरले सहकार्य संगै आवश्यक कार्यहरु पुरा गर्नेछ ।” पोखरा म्याराथनले १६ औं सस्करण पुरा गरिसकेकोले पनि यसको आफ्नै गरिमा रहेको बताउँदै मेयर आचार्यले धेरै भन्दा धेरै पोखरेलीहरुलाई सहभागि गराउन सबै वडाहरुले तदारुकताका साथ अधि बढाउन पनि आफूले निर्देशन दिने बताउँदै पोखरा म्याराथनका रुटहरुको समेत मर्मत गराउनेतर्फ आफ्नो पहल हुने बताए । महानगर संग भगिनी सम्वन्ध रहेका मुलुकका खेलाडीहरुलाई निमन्त्रणा गर्ने संगै नेपालका अन्य शहरहरुका मेयरहरुलाई समेत निमन्त्रणा गर्ने गरी पोखरा महानगरले पत्राचार गर्ने मेयर आचार्यले बताए ।  सो अवसरमा आफ्ना भनाई राख्दै मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरामा खेल संस्कृतीको विकास एवं प्रवद्र्धन गर्न पोखरा म्याराथनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै पोखरा महानगरले अपनत्व ग्रहण गरेमा यसले थप उचाई प्राप्त गर्ने बताए । हालै मात्र पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाए संगै पोखरा म्याराथनको चर्चा अन्तर्राष्ट्रियस्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय धावकहरुको समेत ध्यनाकर्षण हुन थालेको उनले उल्लेख गरे ।  मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिकाका उपमेयर मञ्जु देवी गुरुङ, विभिन्न वडाका वडा अध्यक्षहरु, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, सल्लाहकारहरु महोश गुरुङ, अग्रज पत्रकार नारायण कार्की लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । १७ औं सफल पोखरा म्याराथन आगामी फागुन ६ गते शनिबार हुँदैछ । पोखरा रंगशालाबाट सुरु हुने पोखरा म्याराथनले पोखरा महानगरका १ देखि १७ नं वडाहरुको रुटमा आयोजना हुने गर्दछ । पोखरा म्याराथन अन्तर्गत ४२.१९५ किमि, २१ किमि, १० किमि, ५ किमि, ह्विल चियर र दृष्टिविहिन दौड हुनेछन् । पोखरा म्याराथन खुलातर्फ यस वर्ष ५ लाख नगद पहिलो पुरस्कार रहेको छ ।        

कास्की:  नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिले मिस तामाङ पोखरा २०२३ को टोलीलाई सम्मान गरेको छ ।   पोखरामा मंगलबार आयोजित मञ्जुश्री संवत २८५९ औं हे ल्हो सोनाम ल्होछारको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमकाबीच नेपाल महिला तामाङ घेदुङले ४ जनालाई सम्मान अर्पण गरेको हो ।   कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम) ले मिस तामाङ पोखरा रोश्मा तामाङ, फस्र्ट रनरअप जुना तामाङ, सेकेण्ड रनरअप प्रिती तामाङ र भ्युअर्स च्वाइस रेनुका तामाङलाई सम्मानस्वरुप खादा तथा मायाको चिनो अर्पण गरे ।   सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङले तामाङ समुदायको आफ्नो मौलिक संस्कार तथा संस्कृति रहेको उल्लेख गर्दै संरक्षणको आवश्यकता रहेको बताए ।    उनले आदिवासी जनजातिमध्ये तामाङ समुदायको तेस्रो ठुलो जनसँख्या रहेको बताउदै राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच बढाउन आवश्यक रहेको औल्याए । ‘तामाङ जाति जनसँख्याको हिसाबले हर्दा आदिवासी जनाजातिमा तेस्रो ठुलो शक्तिा हो’, उनले भने, ‘आगामी दिनमा यो समुदायले राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच बढाउनका लागि पहल गर्न आवश्यक छ ।’   उनले महिला घेदुङको कार्यक्रमा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्दै प्रदेश सांसदको हैसियतले आगामी दिनमा सधै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।   सो सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष दिपक वाइबा तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समिति कास्कीका अध्यक्ष भक्त तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, मिस तामाङ २०२३ पोखरा रोश्मा तामाङ, अञ्जना तामाङ, फुलकुमारी थापा, तिर्थ तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   संस्थाकी अध्यक्ष पवित्रा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जयन्ती मोक्तानले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सचिव निमा तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।  

सिन्धुलीः    सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको उहाँले बताउनुभयो । मान्द्रोको ठाउँमा पछिल्लो समय प्लास्टिकका सामग्रीले लिएको छ । प्लास्टिकका सामग्री सस्तो र सहजरुपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा सङ्कटमा परेको छ । जङ्गलमा पहिला जस्तै बाँस पाइदैन । मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको दनुवारले सुनाउनुभयो ।  उहाँले भन्नुभयो, “पटिया बिक्री हेतो त फेरी बुन थाल्बो ९मान्द्रो बिक्री हुन्छ भने फेरि बनाउन थाल्छु० ।” केही वर्षअघिसम्म चुरे क्षेत्र प्रवेश गर्ने वित्तिकै बाँस पाइथ्यो । बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी ल्याएर आइन्थ्यो । उत्पादित मान्द्रो किन्न ग्राहक घरमै आउँथे । बिक्रीको समस्या थिएन । त्यति बेला दिनकै रु पाँच सय कमाइ हुन्थ्यो । त्यो पैसाले नुन, तेलदेखि घरायसी सबै खर्च टर्थो ।  यता उता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको दनुवारको भनाइ छ । “त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टर्थो, ऋण थिएन । अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ, ऋण बढेको बढ्यै छ”, उहाँले भन्नुभयो ।   दनुवारको पाँच जनाको परिवार छ । श्रीमान् रु दुई लाख ऋण गरेर साउदी अरब जानुभएको हो । दुई वर्ष बितिसक्दा विदेश जाँदाको ऋण तिर्न सक्नुभएको छैन । तीन सन्तानको पालन पोषणलगायत घरायसी खर्च टार्न उहाँलाई यति बेला धौधौ छ । जङ्गलमा खेर गइरहेका बाँसको चोयाबाट आफ्नो घर व्यवहार धान्दै आइरहनु भएकी दनुवारको हातमा अन्य सीप छैन । पढाइलेखाइ पनि छैन । अहिले घरपरिवार चलाउन ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ ।  दनुवारले मात्रै होइन, उक्त समुदायका अधिकांश महिलाको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो । सोम्नी दनुवारले भन्नुभयो, “पहिला गाउँका सबै महिलाले बनाउँथे, अहिले सबैले छोडे ।” उहाँले तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउनुहुन्थ्यो । ‘घर छोडेर कमाउन जान नमान्ने श्रीमान्ले जङ्गलबाट बाँस ल्याइदिनु हुन्थ्यो । चोया आफँै काट्थे । मान्द्रो बनाउँथे । ग्राहक घरैमा आउँथे”, एक दशकअघिको समय सोम्नीले सम्झिनुभयो ।  दिनमा पाँच वटासम्म मान्द्रो बुन्ने गरेको उहाँ बताउनुहुन्छ । सोम्नी शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गर्नुहुन्छ । “पहिला गाउँभरिका महिला मान्द्रो बुन्थे । भिमान बजार समूहमा जान्थ्यौँ । मान्द्रो बेच्थ्यौँ, चाहिएको सामान किन्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, ‘त्यत्तिबेला जतिवटा लगे पनि घर फर्काएर ल्याउन पर्दैनथ्यो । अहिले बिक्री नै हुँदैन । मान्द्रो बन्न छोड्दै गएका छन्, मैले पनि छाडे ।” मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको सोम्नीले बताउनुभयो । उहाँसँग मान्द्रो र थरिथरिका डालो बनाउने सीप छ । गदँै आएको पेसा सङ्कटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थाल्नुभएकी  सोम्नी उपयुक्त कामको खोजीमा हुनुहुन्छ ।   दनुवार समुदायको परम्परागत तथा पुखौली मान्द्रो बनाउने पेसाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण रोजीरोटी नै गुम्ने अवस्था आएको उहाँकोे भनाइ छ । स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलालाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो । दुई÷चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनुपर्ने बाध्यता थिएन ।  अति सिमान्तकृत दनुवार समुदायको मान्द्रो बनाउने पराम्परागत सीप हो । पराम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेसा व्यवसायले बजारीकरण र प्रचारप्रसार नपाउँदा लोप हुँदै गएको छ । बाँसको चोयाबाट अति आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप भएकी मुन्डी कुमर ९दनुवार०ले नजिकै बाँस पाउन छाडेकाले आफूलाई ओछ्याउन प्लास्टिकको किनेर ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “नौ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको रु १५ हजारदेखि रु २० हजारसम्म कमाउँथे । अहिले बाँस टाढा गएर ल्याउन सकिँदैन, मान्द्रो बनाउने सीप मात्र भएर के गर्नु रु आफूलाई ओछ्याउन बजारबाट प्लास्टिकको विछ्याउना किनेर ल्याएको छु ।” यो सीपको विकास तथा संरक्षण गर्नुपर्ने आवश्यकता भने देखिएको उहाँले धारणा छ । मान्द्रो मात्रै होइन, ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले सङ्कटमा छ ।  बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापन समेत नहुँदा दनुवार समुदायका महिलाले पुखौँदेखि गदँै आएको पेसा लोप हुने अवस्थामा पुगेकोे दनुवार जागरण समितिका सदस्य सुकुमलाल कुमर ९दनुवार०ले बताउनुभयो ।  ‘दनुवार समुदायको पुख्र्यौली पेसा लोप हुँदै गएको छ । नयाँ पुस्तामा सीप हस्तान्तरण हुन सकेको छैन । सीप पुस्तान्तरण हुन नसक्दा पेशा लोप हुन थालेको हो”, उहाँले भन्नुभयोे । पहिला दुधौलीका महिलाले बनाएका मान्द्रो काठमाडौँ र तराईका जिल्लामा बिक्री हुने गरेको उहाँ सम्झिनुहुन्छ ।   प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र बाँसका सामग्रीबनाउने पेसा अँगाल्ने जनशक्तिको कमिका कारणले पनि यो व्यवसायसंकटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारुको धारणा छ । यो पेसासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारीे जस्ता सामग्रीको उत्पादन अत्यन्तै न्यून हुने गरेको उहाँले बताउनुभयो । “पहिला बाँसका सामग्री बनाउने जनशक्ति धेरै थियो । अहिले कम छ”, उहाँले भन्नुभयो, “अहिलेका युवा पुस्ता परम्परागत काममा चासो देखाउँदैनन् ।”  

चितवनः   नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो ।  गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३०  बन्द गर्न लागिएको हो ।  जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी  कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी रोकिएको छैन । उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुईनको दायाँपट्टीको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुईनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो । काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उहाँले बताउनुभयो । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन् । यस अघिनै सो सडकका पाँच वटा पुल बनिसकेका थिए । पाँच  पुल निर्माणाधीन रहेका छन् । एउटा पुलको जगमा ६  घर टहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको उहाँले बताउनुभयो । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ ।  यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहात दिनुपर्ने हुन्छ । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ । सो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।  

काठमाडौंः   वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई मानवता सेवाका लागि इसा पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा सस्तो उपचार विधिबाट रोकथाम गर्न सकिने अन्धोपनाको दर आधाले घटाएर मानवता सेवा गरेका आधारमा बहराइनको उच्च अवार्ड प्रदान गरिने भएको हो ।     बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कार स्वर्ण पदक र १० लाख डलर रहेको  छ । यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ ।  पुरस्कारका लागि यस वर्ष मनोनीतहरूमध्ये डब्ल्यूएचओ फाउन्डेसन पनि रहेकोमा निर्णायकहरूले डा. रुइतलाई छनोट गरेका थिए । मोतीबिन्दुको शल्यक्रिया गरी एसिया र विश्वका अन्य भागमा एक लाख ८० हजारभन्दा बढी मानिसलाई दृष्टि दिन मद्दत गरेका आधारमा डा. रुइतलाई पुरस्कार प्रदान गरिएको गल्फ न्युजले जनाएको छ । उक्त घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टिजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले यस वर्ष अवार्डका लागि १३९ मनोनयनमा परेको जानकारी दिनुभयो । “नेपाली नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइतलाई उहाँको समुदायको सेवा र उपलब्धिका लागि सम्मान गरिएको छ,” उहाँले भन्नुभयो । मानवताको सेवाका लागि इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले डा. रुइतलाई मोतीबिन्दुको उपचारमा अभिनव दृष्टिकोण राखेर उक्त पुरस्कार प्रदान गरिएको बताउनुभयो । यसैबीच गोरखापत्रसँग कुरा गर्दै डा. रुइतले ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले आफूलाई उक्त अवार्ड प्रदान गर्न लागेको जानकारी दिनुभयो । उहाँले आफूले आँखा स्वास्थ्यमा काम गरेबापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु आफ्नो व्यक्तिगत रूपमा नभई समग्र राष्ट्रको गौरवको विषय भएको बताउनुभयो ।  डा. रुइतका अनुसार बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । कोभिडको समयमा भने अवार्ड रोकिएको थियो ।  

कास्कीः   पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।  पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएको थियो । पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताउनुभयो । मङ्गलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो । “सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो । ६८ यात्रसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो ।  

कास्कीः   पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुनुहुन्थ्यो । गाउँपालिकाले उहाँलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुनुहुन्थ्यो । गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताउनुभयो । मङ्गलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो । केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आउनुभएको थियो । उहाँले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गर्नुभएको हो । पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध हुनुहुन्थ्यो । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गर्नुभएको थियो । यही माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुनसकेको छैन ।