पोखराः पोखरा महानगरपालिका ३३ चौगादीमा ट्याक्टर दुर्घटना हुँदा नलप्रसाद लामिछानेको मृत्यु भएको छ । पोखरा महानगर ३३ चुवादी हुँदै सुरौदी तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार ६३ वर्षीय लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए । ट्याक्टर दुर्घटना हुँदा घाइते भएका लामिछानेको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्री अपस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
विराटनगर: अवैध घरेलु मदिरासहित विराटनगरबाट ३ जना पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरी टोलीले अटोमा लोड गरी ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिएको हो। को १ ह १८६९ नम्बरको टेम्पोसहित उनीहरुलाई नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर–५ बस्ने वर्ष ३६ का दिपेन्द्र अमात्य, बेलबारी–११ बस्ने वर्ष ३७ की सुनिता राई र सोही ठाउँकी ५० वर्षीया शोभा राई छन्। बरामद मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालयलाई बुझाईएको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए। उनले पक्राउ परेकामाथि आवश्यक कारबाही अघि बढाईएको बताए।
काठमाडौं: सेयर बजार लगातार दोस्रो दिन बढेको छ । बुधबार १०.३७ अंकले बढेको बजार २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो । मंगलबार समेत बजार बढेको थियो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत केही बढेको छ । बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । यस दिन ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बैंकिङ, वित्त र अन्य उपसूचकबाहेक अन्य सबै उपसूचक उकालो लागेको छ । बुधबार सबैभन्दा धेरै होटेल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् । यस दिन ग्रीनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिमा जीआइसी इन्स्योरेन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र वलेफी हाइड्रोपावरको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । आरबीबी म्यूचअल फण्ड सबैभन्दा धेरै ५.७० प्रतिशतले घट्यो । जानकी फाइनान्स, पिपुल्स हाइड्रो, सेन्ट्रल फाइनान्ससहितका लगानीकर्ताले आज धेरै गुमाए । नेशनल हाइड्रो, हिमाल दोलखा हाइड्रो, ग्रीनलाइफ हाइड्रो, अपर तामाकोशीसहितका कम्पनीको आज धेरै कारोबार भएको छ ।
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा आत्मवृत्तान्तसहितको सुसाइट नोट लेखेर इलाम पञ्चकन्या–६ का आचार्यले मङ्गलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएको थियो । त्यसलगत्तै प्रहरीले उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो । आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । बुधबार दिउँसो अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेटेर कुराकानी गर्नुभएको हो ।
काठमाण्डौ: जिल्ला प्रहरी परिसर, काठमाण्डौले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएको सूचनामा ध्यानाकर्षण भएको जनाएको हो। परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी तथा मानवीय एवम् भौतिक क्षति हुने भएकाले संवेदनशील बन्न आग्रह समेत गरेको छ । पेट्रोल पम्पबाट गाडीमा सिधै भर्नेबाहेक खुला रुपमा बिक्री वितरण नगर्न र नगराउन पनि पम्प सञ्चालकलाई प्रहरीको अनुरोध छ। बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ । हिजो मात्रै सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज ज्यान गएको छ। गएको माघ ५ गते काठमाण्डौको सुन्धारामा एक युवकले आफ्नै शरीरमा आगो लगाएका थिए । जलेर घाइते उनको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
काठमाडौंः पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । ६ जनाको शव अब ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए । ‘६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने । नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । उनले ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।
कामाडौं: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यलाई बचाउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्। गृहमन्त्री लामिछानेले हिजोदेखिको निराशा र पीडा नै आत्मदाहको मुख्य कारण भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र,भनेका छन्। एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ,आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो। दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन,आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं,म दोषी छु। प्रेम आचार्य जी,नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं,हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्,ुउनले लेखेका छन्। मंगलबार बेलुका संसद भवन अगाडि आचार्यले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। घाइते भएका आचार्यलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको आज बिहान निधन भएको हो।
पर्वत: पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आजदेखि सदरमुकाम कुश्मा बजारमा सातौँ महोत्सव सुरु हुँदै छ । यही माघ २१ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गिरी पर्वतबाट सांसदमा निर्वाचित भएका हुन् । महोत्सवमा दुई सय ५० कक्षमध्ये अधिकांश बुकिङ भइसकेका छन् । महोत्सवमा रु पाँच करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ, कालीगण्डकी नदीमा र्याफटिङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अवलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडीबुटी, अदुवा र लप्सीका परिकारको प्रदर्शनी मुख्य आकर्षण छन् । महोत्सवमा गण्डकी प्रदेश पालिकास्तरीय भलिबलसमेत आयोजना गरिएको छ । विद्यालयस्तरीय लोकनृत्य, रत्यौली, भजन, छेलो, खुला दौड, तीर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरूको बिक्री तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनीसमेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था पनि गरिएको शार्थिक संयोजक ठाकुरबी पौडेलले जानकारी दिए ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् । मंगलबार बानेश्वरस्थित संसद् भवन अगाडि आफैंलाई आगो लगाएका इलाका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताएका हुन् । ‘सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेका हरेक चरणमा राज्य असफल भएको छ’, बालेनले भनेका छन्, ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’ नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उनले उल्लेख गरेका छन् । ‘नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन’, उनले भनेका छन् । एकैपटक धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेको बालेनले भनेका छन् । ‘त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो ।’ प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गनेृमा असाध्यै संवेदनशील भएर काम गरिरहेको उनले भनेका छन् । ‘नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु’, उनले भनेका छन् ।

