पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

ढल्केवर:  धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट फरार भएका छ जना थुनुवाको खोजी कार्य तीव्र पारिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले थुनुवा कक्षको भित्ता फोडेर फरार भएका छ जनाको खोजी कार्य तीव्ररुपमा भइरहेको बताउनुभयो । उहाँले घटनासम्बन्धमा छानबिन समिति बनाएर समेत अनुसन्धान गरिने जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीले खोजी कार्यमा तालिम प्राप्त कुकुर र सशस्त्र प्रहरीलगायत सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिनुभुयो । आइतबार राति करिब ३ बजे विभिन्न मुद्दाका छ जना आरोपित हिरासत कक्षको दक्षिणी भागको भित्ता फोडेर फरार भएका थिए । फरार हुनेहरुमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ३० वर्षीय विनोदकुमार शर्मा, सोही नगरपालिका–२ बस्ने २५ वर्षीय अमित मण्डल र २५ वर्षीय रोशन यादव, मिथिला नगरपालिका–२, बस्ने २५ वर्षीय हरिदीप सिंह, सोही नगरपालिका–६, बस्ने २८ वर्षीय रोशन महतो र ३६ वर्षीय शङ्कर सिंह रहेका छन् । फरारमध्ये विनोद लागूऔषध, अमित सावरी ज्यान, रोशन राष्ट्रसेवक कर्मचारीसँग अभद्र व्यवहार, हरिदीप कुटपिट तथा रोशन र शङ्कर अवैध हात हतियार मुद्दाका आरोपित हुन् । प्रहरी कार्यालयको भवन पुरानो रहेको र हिरासतपट्टिको पर्खाल कमजोर भएका कारण इट्टा फोडेर भागेको प्रहरीको भनाइ छ । उनीहरु फरार भएको घटना थाहा पाएलगतै खोजी कार्यमा सक्रिय भएका सुरक्षाकर्मीले भागेर जाने सम्भावित स्थान तथा जिल्लाबाट बाहिरीने सवारी साधनमा समेत जाँच बढाइएको छ ।

काठमाडौं: नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख छ हजार तीन सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख पाँच हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

काठमाडौँ:  कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ ।  बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीईओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसीको आवेदन परेको बैंकले जनाएको छ । यस्तैगरी, बैंकको सीईओका लागि बद्रि गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शङ्कर चापागाईँ, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीको पनि आवेदन परेको छ ।    उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ । बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो ।  

ढल्केबर: धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट ६ जना थुनुवा फरार भएका छन् । थुनुवा कक्षको भित्ता फोडेर आइतबार राति ती थुनुवा फरार भएको बताइएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले विभिन्न घटनाका ६ जना आरोपित थुनुवा फरार भएको बताउनुभयो । फरार हुनेहरुमा रोशन महतो, शङ्कर महतो, विनोदकुमार महतो, अनित मण्डल, रोशन यादव र हरि घिसिङ छन् । फरार भएकामध्ये विनोद र अनित लागू औषध, रोशन र हरि अभद्र व्यवहार तथा रोशन र शङ्कर अवैध हातहतियार मुद्दाका आरोपित रहेको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।  राति २ देखि ४ बजेको बिचमा ती थुनुवाहरू थुनुवा कक्षको दक्षिणी भागको भित्ता भत्काएर उनीहरू फरार भएको हुनसक्ने बताउँदै फरार भएकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको उहाँले बताउनुभयो ।

कास्की:  पोखरामा शहिदहरुको स्मृतिमा ‘शहिद दिवस–२०७९’ मनाइएको छ ।   आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरा शहिदचोकस्थित शहिद स्तम्भमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी लगायत मन्त्रीहरुले माल्र्यापण गर्दै शहिद दिवस मनाएको हो ।   सो अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले शहिदहरुको योगदानको सधै कदर गर्नुपर्ने धारणा राखेका थिए ।    कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसँगै आर्थिक मामिला तथा योजनामन्त्री सीता सुन्दास, आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगर, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, कृषिमन्त्री बेद बहादुर गुरुङ, पर्यटनमन्त्री रेशम जुग्जाली, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, पोखरा महानगरका मेयर धनराज आचार्य तथा उपमेयर मञ्जुदेवी गुरुङ तथा प्रदेश सभा सदस्यहरुको सहभागिता रहेको थियो ।  तस्बिरहरु:-                      

पोखराः    पोखरा महानगरपालिका ९ शिव टोल स्थित डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकले आत्महत्या गरेका छन् ।    डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ ।        

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उहाँले शहीदका सपना पूरा गर्न आह्वान गर्नुभएको हो । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “शहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु”, सन्देशमा भनिएको छ । प्रधानमन्त्री दाहाललले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन शहीदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास पनि लिनुभएको छ । उहाँले दिवसको ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित शहीदको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न सबैमा आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “तानाशाही र निरङ्कुश व्यवस्थाका विरूद्ध सङ्घर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदहरूको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ, आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो ।” प्रधानमन्त्री दाहालले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुको स्मरणसहित उच्च सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आन्दोलनका क्रममा घाइते हुनुभएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्नुभएको छ । “राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरूद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, १० वर्षे जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् शहीदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो”, सन्देशमा उल्लेख छ । शहीदहरूको बलिदानको उच्च सम्मानका साथ उहाँहरूको सपनालाई साकार पार्ने कार्यमा हामी सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेको उहाँको भनाइ छ ।

काठमाडौं:    राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गर्नुभएको छ । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो आग्रह गर्नुभएको हो । शहीदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न आह्वान गर्नुभएको छ । उहाँले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन भन्दै उहाँले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरणसहित उच्च सम्मान तथा आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्नुभएको छ ।  यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरणका लागि सङ्कल्प गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

काठमाडौं:     आज शहीद दिवस ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी मनाइन्छ । विसं २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्झनामा माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरिन्छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा हरेक माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहुति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । अहिले बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी हुँदैछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपाससम्मिलित टोलीले लैनचौर पुगेर ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नेछ ।  यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गरेका शहीदको सम्झनामा काठमाण्डौको गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि आज कार्यक्रम हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्ने तयारी छ । २०६३ सालअघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । तर, त्यो सञ्चालनमा आउन सकेको छैन । शहीदको स्पष्ट परिभाषा नगरि पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।