काठमाडौं: नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गरेको छ । डबल्समा प्रहरीका मन्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–९, ११–६, ११–९ को सोझो सेटमा पराजित गरेको छ । सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले दिया देउलालाई सीधा सेटमा ११–४, ११–५, ११–८ ले हराउनुभयो । अर्को सिंगल्समा एलिनाले रविनालाई ११–४, ३–११, ५–११, ११–४, ११–७ ले पाखा लगाउनुभयो । ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुली पहिलो हुनुभयो । इन्दिराले फाइनलमा आफ्नै क्लबकी सम्झना पोखरेललाई ११–६, ११–५, ११–४ को सोझो सेटमा पन्छाउनुभयो । लगनखलकी हीरादेवी नकर्मी र ज्ञानभैरवकी सविता बस्नेत केसी तेस्रो हुनुभयो । प्रतियोगितामा विभिन्न ७ स्पर्धामा दुई सय पुरुष र ५६ महिलासहित दुई सय ५६ खेलाडी सहभागी छन् । पुरुषमा भारतबाट ९, बेलायतबाट २ तथा फ्रान्स र पोर्चुगलबाट समान १–१ खेलाडी सहभागी छन् । महिलामा विदेशी खेलाडी सहभागी छैनन् । सिंगल्स र टिममा शीर्षतीन स्थान हात पार्नेले क्रमश: ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथि पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: २० हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
काठमाडौँ: चालू आर्थिक वर्ष २०७९र८० को ६ महिनाको अवधिमा नेपालले १ अर्ब ७ करोडको डाइपर आयात गरेको छ । यस्तै ११ करोडको निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले अर्बौको सामान आयात गर्दा निर्यात करोडमा सिमित बनेको हो । यस अवधिमा विदेशबाट नेपालतर्फ १ अर्ब ७ करोड ३६ लाख रुपैयाँको डाइपर आयात भएको छ । यस अवधिमा उक्त मूल्य बराबरको ६ करोड ४४ लाख पिस डाइपर आयात भएको हो । यस्तै, साउनदेखि पुससम्मको अवधिमा नेपालबाट विदेशतर्फ ११ करोड ८५ लाख रुपैयाँ बराबरको डाइपर निर्यात भएको छ । यस अवधिमा १ करोड ८० लाख पिस डाइपर निर्यात भएको छ । यसैगरी, नेपालबाट ४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको स्यानिटरी प्याड निर्यात हुँदा ४५ करोड २६ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको छ ।
काठमाडौं: बङ्गलादेशमा फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मंगलबार सातदोवाटोमा आयोजित कार्यक्रमबीच खेलाडीको बिदाइ गरेको हो । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहनेछ । च्याम्पियनसिपको उपाधि चुम्ने लक्ष्य राखेको नेपालले पहिलो खेल ३ तारिख आयोजक बङ्गलादेशसँग खेल्नेछ । नेपालले दोस्रो खेल ५ तारिख भुटान र अन्तिम खेल ७ तारिख भारतसँग खेल्नेछ । लिग चरणको शीर्ष दुई टोलीबीच ९ तारिख फाइनल खेल हुनेछ । नेपाली टोलीको प्रशिक्षकमा यामबहादुर गुरुङ हुनुहुन्छ । प्रीति राईको कप्तानमा रहेको नेपाली टोलीको गोलरक्षकमा कविता विक, सावित्री किसन र लीला जोशी हुनुहुन्छ । रक्षकमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ हुनुहुन्छ । यसैगरी मिडफिल्डरमा कप्तान राईसहित तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, अञ्जलि मचामसी, सरस्वती हमाल र दिपा शाही हुनुहुन्छ । स्ट्राइकरमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अञ्जलि चन्द हुनुहुन्छ । टोलीलाई एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, महासचिव किरण राईलगायतले बिदाइ गर्नुभयो । नेपाली महिला टोली बुधबार बङ्गलादेश प्रस्थान गर्नेछ ।
पोखरा: लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले यस कार्यक्रमले महिला पुरुष विच सम विकासको सिद्धान्त लागु गराउने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि सम्पूर्णलाई अनुरोध गर्नुभयो । कार्यक्रम संयोजक तथा वडा सदस्य सुनिता सुनारले यस कार्यक्रमले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा लिङ्ग र लैङ्गिकताको विाष्मा अधिवक्ता गिता कुमारी लामिछाने, महिलाको अवस्था र कानुनी व्यवस्थाको बारेमा अधिवक्ता लक्ष्मण शर्मा र लैंगिक हिंसाको परिचय, कारण र न्यूनीकरणमा महिला तथा पुरुषको भूमिकाको विषयमा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा नम्वर ७ भित्रका विभिन्न टोल विकास, आमा समुह, युवा क्लव र महिला क्लवबाट करिव ४० जनाको सहभागिता रहेको थियो ।
काठमाडौं: अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने ५२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मङ्गलबार) उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा ट्राफिक प्रहरीले अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने ५२ चालकलाई कारबाही गरेको हो । विसं. २०७४ वैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिएको थियो । तर, पछिल्लो समय हर्नको दूरुपयोग बढेका कारण कारबाहीलाई तीव्रता दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्ष राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले आग्रह गर्नुभएको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको भन्दै अनुगमन बढाउन निर्देशन दिनुभएको छ। मङ्गलबार औषधि व्यवस्था विभागको निरीक्षणमा पुग्नुभएका मन्त्री गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा अनुगमन बढाउन विभागलाई निर्देशन दिनुभएको हो। उहाँले भन्नुभयो, “बजारमा अहिले पनि गुणस्तरहीन औषधि छ्यापछ्याप्ती छन्। तपाईँले केही ठाउँमा मात्र अनुगमन गर्दा पनि सात प्रतिशत गुणस्तरहीन औषधि भेटिएको छ। यदि सबै ठाउँमा अनुगमनको दायरा बढाउने हो भने अझ गुणस्तरहीन औषधि भेटिन्छन्।” अनुगमन गर्ने जनशक्ति छैनन् भनेर जनताको स्वास्थ्यमा खेलबाड गर्ने छुट विभागलाई नभएको भन्दै उहाँले प्रभावकारी कार्ययोजना बनाएर जनताले अनुभूत गर्न सक्ने परिणाम मुखी काम गर्न निर्देशन दिनुभएको छ। देशैभरका फार्मेसीको अनुगमन गर्न सातै प्रदेशमा औषधि विभागका कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जान ठोस योजनाका साथ विभाग छिटो भन्दा छिटो मन्त्रालय आउन आग्रह गर्दै मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्नेमा जोड दिनुभयो। उहाँले आत्मनिर्भर बन्ने योजना र कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले नवीकरण सम्बन्धी काम अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिनुभयो। व्यापारीले फार्मेसी दर्ता गरेपछि नवीकरणका लागि हरेक वर्ष काठमाडौं जानुपर्छ भन्ने गुनासो सुनेको भन्दै मन्त्री गिरीले गुणस्तरीय सेवा दिने कुरामा झन्झटिलो नियमन र अनुगमनको कुरामा निर्ममतापूर्वक कडाइ गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “दर्ता गर्ने, नवीकरण गर्नेदेखि लिएर अन्य राज्यले दिने कुरामा सहज र खुकुलो वातावरण बनाइदिनुपर्छ। सकिन्छ भने अनलाइन सिस्टमबाट नै यो कुरा गर्नुपर्छ। अबको दुनियाँमा यो कुनै ठूलो कुरा होइन। अब अनलाइन प्रणालीमा जाँदा कार्यविधि बनाउनु पर्छ।” मन्त्री गिरीले विभागलाई चाँडो भन्दा चाँडो कार्ययोजना बनाएर मन्त्रालयमा आफ्ना माग लिएर मन्त्रालयले आउन आग्रह गर्नुभयो।
काठमाडौं: पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटना परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उहाँले परिवारको नमुना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिनुभयो । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौं ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।
धनगढी: कैलालीमा ११ किलो ९०० ग्राम लागुऔषध चरेशसहित चार जना पक्राउ परेका छन् । मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहितका चार जनालाई पक्रेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले दार्चुलाको नौगाड गाउँपालिका २ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको केदारस्यु गाउँपालिका ७ बस्ने ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका २ का ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरिएको बताए । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जोशीले बताए । उनीहरुको साथबाट ११ किलो ९०० ग्राम चरेश, १ थान डिजिटल काँटा समेत बरामद गरिएको छ । चारै जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तनहुँ: शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौँ व्यास नगर अल्टा म्याराथन प्रतियोगिताको उपाधि व्यास नगरपालिका–७ का २६ वर्षीय विशाल गुरुङले जित्नु भएको छ । गुरुङले व्यास नगरपालिकाको वडा नम्बर ५ को मानहुँदेखि वडा नम्बर ८ को सहिदग्राम पुलिमराङ सम्मको ४४ किमी दुरी तीन घण्टा २८ मिनेट २६ सेकेण्डमा पार गर्दै विजेता बन्नु भएको हो । प्रतियोगितामा व्यास नगरपालिका वडा नम्बर ६ का साहास पन्थ द्धितिय हुनु भएको छ । उहाँले तीन घण्टा ३६ मिनेट ३८ सेकेण्डमा पार गरेर द्वितीय हुनु भयो । आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङले तीन घण्टा ३८ मिनेट ३१ सेकेण्डमा पार गरी तृतीय हुनुभयो । प्रतियोगितामा व्यास नगरपालिका– ६ का प्रमिश गुरुङ, भानु नगरपालिका–३ का रामबहादुर नेपाली, व्यास नगरपालिका–१ का प्रविन थापा मगर सान्त्वना हुनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ६१ हजार, ५१ हजार र ३८ हजार रुपियाँ साथै मेडल र प्रमाणपत्र प्रदान गरियो । यसैगरी सान्त्वना हुने तीन जनालाई जनही १२ हजार पाँच सय रुपियाँका प्राप्त गर्नुभयो । प्रतियोगितामा विजयी खेलाडीहरूलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आले, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा नेता पौडेलले खेलाडीलाई यस्ता प्रतियोगिताले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्ने क्षमताको विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै पर्यटनको विकास र शहीदको महत्त्व बढाउन तथा नयाँ खेलाडीलाई खेलप्रति आकर्षित गर्न मद्दत पुग्ने विश्वास वरिष्ठ नेता पौडेलले गर्नुभयो । प्रतियोगिता ५७ जना धावक सहभागी भएका थिए । नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि सुरुवात गरेको म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको थियो । व्यास नगरपालिकाले यस वर्ष स्थानीय धावकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभित्रका व्यक्तिहरूले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षण गर्न जिल्लाभित्रका व्यक्तिहरूलाई मात्र म्याराथनमा भाग लिने व्यवस्था मिलाइएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ । मानुङकोटबाट सिद्धमार्ग हुँदै अलैचे, चापाघाट, पृथ्वी राजमार्ग हुँदै दुर्गा मन्दिर, अनसन चौतारी, सफा सडक, भोर्लेचार चोक, व्यास मार्ग हुँदै बैरेनी, कुमालटारी, दुम्सी, खहरे, कलेस्ती, बोटेटार, पाथ्रा, सत्रसय, कालिका मार्ग हुँदै बानियाडिही, बर्लाची, सोतीबेसी, बगुवा रिस्ती, बाहुनपोखरा, गाडापानी हुँदै पुलिम¥याङमा पुगेर दौड पुरा भएको थियो ।

