टीकापुर: सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि.सं. २०७६ फागुनमा निर्माणसम्पन्न भएको च्याम्बर परीक्षण गरेर बन्द भएको थियो। गत वर्ष च्याम्बर सञ्चालन गरे पनि घाटा भएपछि सञ्चालकले बन्द राखेका छन्। च्याम्बरमा कर्णाली कृषि सेवा प्रालिका तीन जना सञ्चालकका २०/२० लाख रुपियाँको सेयर र नेपाल बैङ्क लिमिटेडको एक करोड रुपियाँ ऋण लगानी छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि एकाइको एक करोड ९० लाख रुपियाँ अनुदान पनि खर्च भइसकेको छ। च्याम्बरका नाममा ६० लाख रुपियाँको १० कट्ठा जग्गा पनि किनिएको छ। च्याम्बरमा तीस टन क्षमताका पाँचवटा कोठा छन्। केरा पकाउन पाँच दिन लाग्ने भएकाले हरेक दिन पाकेका केरा निकाल्न पाँचवटै च्याम्बर चलाउनुपर्छ। च्याम्बर ठूलो र बजार सानो भएकाले सञ्चालन गर्न कठिनाइ भएको सञ्चालक शिलाकान्त झा बताउनुहुन्छ। “तीस टन केरा स्थानीय बजारमा मात्रै खपत हुँदैन, पकाएर काठमाडौँसम्म लैजाँदा बिग्रिन थाल्यो,” सञ्चालक झा भन्नुहुन्छ, “चलाउँदा घाटा हुने देखेपछि बन्द राखेका छौँ।” मुख्य सञ्चालक भानु बजगाईंको मृत्युपछि अर्का सञ्चालक वीरेन्द्र ढुङ्गाना आफू अलग भइसकेको र लगानीको हिसाबकिताब लिन बाँकी रहेको बताउनुहुन्छ। नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख माधव महतका अनुसार प्रालिले २५ लाख रुपियाँ महसुल बुझाउन बाँकी रहेकोले लाइन काटेर कालोसूचीमा राखिएको छ। केरा उत्पादक किसान टेकेन्द्र धामी गत वर्ष च्याम्बर चलेपछि किसानले ३५ लाख रुपियाँको केरा दिएको र मूल्य नपाएको बताउनुहुन्छ। टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले आफ्नो ठाउँमा उद्योग सञ्चालन होस् भनेर सहयोग गरेको उल्लेख गर्दै च्याम्बर सञ्चालनबारे सञ्चालकसँग छलफल गर्न बाँकी रहेको बताउनुभयो। योजना थप्दै झा सुरुका दुई सञ्चालक निष्क्रिय भइसकेपछि एक्ला सञ्चालक शिलाकान्त झा भने च्याम्बर चलाउन नयाँ योजना थप्ने तयारीमा हुनुहुन्छ। “च्याम्बरमा पकाएको केरा स्थानीयस्तरमै प्रयोग गर्न केराको पाउडर बनाउने र केराको वाइन बनाउने योजना छ,” झा भन्नुहुन्छ, “केरा छिल्ने र पेल्ने मेसिन जडान गरेर वैशाखसम्म वाइन उत्पादन गर्ने र केराको धुलोमा त्यत्तिकै मात्रामा गेडागुडीको धुलो थपेर असारसम्म बच्चाका लागि पोषण उत्पादन गर्ने तयारीमा छौँ।” उहाँका अनुसार वाइन बनाउने प्लान्ट बनाउन एक करोड रुपियाँ लाग्नेछ। यसका लागि पाँच लाख रुपियाँ भारतीय कम्पनीलाई बैना दिइसकेको उहाँले बताउनुभयो। यस क्षेत्रमा करिब ७०० बिघामा केरा खेती भइरहेको छ।
भोजपुर: बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ । रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन् । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए । अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ । “बाँदरका कारण बस्ती नै खाली भएको छ”, उनले भने, “वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ । बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन ।” दश–बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतङ्क बढेको टेम्केमैयुङ–६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ । “बाँदरले हामीलाई अति नै समस्यामा पारेको छ”, उनले भने, “बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ । बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरिन्, अन्नबाली जोगाउन अति नै समस्या छ ।” बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ । बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का स्थानीय धनबहादुर थापाले जानकारी दिए । “बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला–पहिला त भाग्थे”, उनले भने, “अहिले त धपाउँदा टेर्दैनन् । भगाउन पनि गाह्रो छ । दशदेखि पन्ध्र मिनेटमात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन् । बाँदरले हैरान बनाएको छ ।” बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ–दश वर्षमा धेरै बस्ती खाली हुने प्रधानको भनाइ छ । “बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ ।” बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । “बाँदरको उपद्रो बढ्दो छ”, उनले भने, “एक घण्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ । गाउँबस्ती नै आतङ्कित बनेको छ ।” बाँदर आतङ्कका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । यहाँका २० भन्दा बढी घर परिवार बाँदरका कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ । “मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ”, वडाध्यक्ष नेपालले भने, “यहाँको मुख्य समस्या नै बाँदर बनेको छ । नियन्त्रण गर्न धेरै उपाय लगाइयो । दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ । बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ ।” बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए । “धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ”, उनले भने, “स्थानीयस्तरबाट नियन्त्रण सम्भव छैन । दैनिकजसो स्थानीयको गुनासो आउँछ । बाँदरले बस्ती उजाड बनाएको अवस्था छ । उर्वरभूमि बाँझो बसेका छन् । राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ ।” बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ ।
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्तबुझ्दो नभएको बताउनुभएको छ । शनिबार विमानस्थलस्थित आन्तरिकतर्फको टर्मिनल अनुगमनका क्रममा उहाँले तुलनात्मक रूपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “तुलनात्मक रूपमा सुधारका काम देखिए पनि चित्तबुझ्दो सुधार भएको देखिएको छैन।” माघ पहिलो साता अनुगमनका क्रममा विमानस्थलका शौचालय र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिनुभएका मन्त्री किराँतीले यसअघिको निर्देशन गरिएका कुरा चित्तबुझ्दो रूपमा कार्यान्वयन नभएको बताउनुभयो। यात्रुको सहजताका लागि थुपै्र सुधारका काम बाँकी रहेकाले सर्वसाधारणले अनुभूति गर्ने गरी तत्काल सुधारका काममा ध्यान दिन उहाँले निर्देशन दिनुभयो। विमानस्थलमा रहेका ट्रलीहरूमा ब्रेक नभएको भन्दै तत्काल सुधार गर्न उहाँले थप निर्देशन दिनुभयो। यसअघिको अनुगमनका क्रममा मन्त्री किराँतीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष, लिफ्ट, स्केलेटर र इलिभेटरको अनुगमन गर्नुभएको थियो। विमानस्थलमा आगमनतर्फ अहिले तीनवटा लिफ्ट, एउटा स्केलेटर र एउटा इलिभेटर छ। डिजाइनमै त्रुटि देखिएको स्केलेटरमा हाल ट्रली लान निषेध गरिएको छ। उहाँको निर्देशनलाई ध्यानमा राख्दै आगमन कक्ष व्यवस्थापनको जिम्मा लिएको आईएमएस एयरपोर्ट सर्भिसेजले लिफ्ट थप्ने र यात्रु बाहिर निस्किने मार्ग, प्रतीक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउने प्रतिबद्धता जनाएको छ। कम्पनीले केही दिनअघि विज्ञप्तिमार्फत १० जना यात्रु क्षमताको नयाँ एलिभेटर थप्न लागेको जनाएको छ। त्यस्तै ट्राभलेटरलाई सुरक्षित रूपमा प्रयोग गर्न मिल्ने ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रली खरिद गरेर उपलब्ध गराउँदै आएको र व्यवस्थापनमा पनि सहजीकरण गरेको कम्पनीको दाबी छ। निःशुल्क वाइफाई व्यवस्था गर्न निर्देशन नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थलमा निःशुल्क वाइफाईको व्यवस्था गर्न निर्देशन दिएको छ। प्राधिकरणले देशभरका ३६ वटा विमानस्थललाई पत्राचार गर्दै आवतजावत गर्ने यात्रु तथा आगन्तुकको सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न निर्देशन दिइएको जनाएको छ।
झापा : श्रीमतीको हत्या गरी शवलाई माटोमा गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-८ स्थित नयाँ खसिबजार निवासी ३३ वर्षीय मनोज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार बस्नेतले चार दिनअघि ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरी घरदेखि दुई मिटर उत्तर चौरमा शव गाडेका थिए। स्थानीयले आज दिउँसो ४:५० बजे गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव फेला परेपछि अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए। उदयपुर रामपुर-८ घर भई उनीहरू अर्जुनधारा ८ मा बस्दै आएका थिए। सामान्य मजदुरी गर्दै आएका बस्नेतले पारिवारिक कलहका कारण श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
धनगढी: प्रत्येक दुुई वर्षको अन्तरालमा हुने प्राज्ञिकको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा हुने भएको छ । प्राज्ञिक विद्यार्थी परिषद, नेपालले आज शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । परिषद्ले आत्मनिर्भर अर्थतन्त्र र भष्ट्राचार नियन्त्रणका लागि नवौँ राष्ट्रिय अधिवेशन भन्ने मूूल ध्येयको साथ परिषद्को नवौँ राष्ट्रिय अधिवेशन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अधिवेशन आगामी चैत १८, १९ र २० गने सुदरपश्चिम प्रदेश धनगढीमा हुने छ । अधिवेशनमा उद्घाटन समारोह, शोभा यात्रा, खुल्ला अधिवेशन, प्रस्ताव सत्रहरु रहने छन् । भने राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय महासचिवको निर्वाचनसहित केन्द्रिय कार्यकारिणी समितिको घोषणा हुने जनाइएको छ । त्यस्तै अधिवेशनमा समाजसेवी युवाहरुलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरुस्कारद्वारा सम्मान गरिने छ ।
काठमाडौं: स्वास्थ्य पत्रकारको संस्था स्वास्थ्य पत्रकार मञ्च, नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित हुनुभएको छ। ढुंगेल गोरखापत्रकर्मी हुनुहुन्छ।शनिबार काठमाडौंमा भएको मञ्चको आठौं वार्षिक साधारणसभा र पाँचौं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो। मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित हुनुभएको छ। त्यसैगरी महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन हुनुभएको छ। मञ्चको नयाँ कार्यसमित सदस्यमा समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की चयन हुनुभएको छ।त्यसैगरी प्रदेश संयोजकमा प्रदेश १ मा जुना भट्टराई, मधेश प्रदेशमा सुष्मा कर्ण, बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा विना न्यौपाने, लुम्बिनी प्रदेशमा वासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य चयन हुनुभएको छ। सुदूरपश्चिम प्रदेश संयोजक कार्यसमितिले तोक्ने निर्णय भएको छ।
कास्की: बुद्धटोल युवा क्लबले आयोजना गर्ने १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा भोली (२२ गते) देखि फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । ‘हाम्रो प्रतियोगिताको तयारी लगभग सकिएको छ । भोली दिनको १ बजे उद्घाटन गर्न तयारीमा छौ उनले भने, ‘हालसम्म ४६ टिमको दर्ता भइसकेको छ ।’ फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि सञ्चालन गर्दै आएको प्रतियोगिता क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा हुदै आएको थियो । तर मौसमका कारण यस वर्षदेखि स्वर्गीय गुरुङको जन्मदिनको शुभ दिन पारेर सञ्चालन गर्न लागिएको हो । अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गर्ने आयोजकले जनाएको छ ।
काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कूल एक सय ४५ उद्योग दर्ता भएका छन्। उद्योग विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृतिको तुलनात्मक विश्लेषण तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन्। यी उद्योगमा स्वदेशी र विदेशी दुवै खालको लगानी रहेको छ। गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ताको सङ्ख्या कम हो। गत आवको पुस मसान्तसम्ममा ४६ ठूला, ५७ मझौता र ५२ साना गरी कूल एक सय ५५ उद्योग दर्ता भएको विभागको तथ्यांकमा देखिन्छ। चालु आवको पुस मसान्तसम्ममा दर्ता भएका एक सय ४५ उद्योगमा एक खर्ब ३९ अर्ब बराबर लगानी प्रतिबद्धता आएको पनि विभागले जनाएको छ। यसवर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षको भन्दा कम हो। गत आवको पुस मसान्तसम्ममा एक खर्ब ९० अर्ब बराबर लगानी प्रतिवद्धता आएको देखिन्छ। विभागका अनुसार हालसम्म नेपालमा कूल २७ खर्ब ६६ अर्ब लगानी प्रतिवद्धतासहित आठ हजार नौ सय नौ उद्योग दर्ता भएका छन्। यस्ता उद्योगमा ठूला उद्योग एक हजार तीन सय ४४, मझौता उद्योग दुई हजार ५८ र साना उद्योग पाँच हजार पाँच सय सात रहेका छन्। यसरी हालसम्म दर्ता भएका करिब नौ हजार उद्योगबाट प्रस्तावित रोजगारी छ लाख ६७ हजार तीन सय २३ जना रहेको पनि विभागले जनाएको छ। गत पुस मसान्तसम्ममा दर्ता भएका कूल एक सय ४५ उद्योगमध्ये एक सय ३३ उद्योगमा १७ अर्ब ३० करोड बराबर विदेशी लगानीको प्रतिबद्धता आएको छ। हालसम्म नेपालमा कूल पाँच हजार छ सय ६४ विदेशी लगानी स्वीकृति भएको पनि विभागले जनाएको छ। यसरी विदेशी लगानी स्वीकृत भएका उद्योगमा ठूला उद्योग तीन सय २४, मझौला उद्योग छ सय २२ र साना उद्योग चार हजार आठ सय १८ रहेका छन्। हालसम्म स्वीकृत कूल विदेशी लगानी प्रतिबद्धता भने चार खर्ब ३६ अर्ब बराबर रहेको विभागको तथ्यांकबाट देखिन्छ। यसरी विदेशी लगानी स्वीकृत गर्दा प्रस्तावित रोजगारीको सङ्ख्या दुई लाख ९९ हजार नौ सय ६१ जना छ। नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रूपमा बढी लगानी भएको देखिएको छ। गत पुस मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने द्योगमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छ। चालु आवको छ महिना अवधिमा एउटा प्याटेन्ट दर्ता, आठ वटा डिजाइन दर्ता र एक हजार पाँच सय ५१ ट्रेडमार्क दर्ता भएको पनि विभागले जनाएको छ। विभागमा हालसम्म भएको कूल पेटेन्ट दर्ताको सङ्ख्या भने ८१ छ। त्यस्तै तीन सय डिजाइन र ५७ हजार पाँच सय ६६ ट्रेडमार्क दर्ता भइसकेको विभागले जनाएको छ।
गुल्मी: जिल्ला प्रहरी कार्यालय गुल्मीले एक दम्पतीलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी सार्वजनिक गरेको छ । भारतको शेख अताहुसैइं–१८ लेन सुगौली पूर्वी चम्पारण बिहारका ४४ वर्षीय शेख आलिनामको हत्या आरोपमा पक्राउ परेका सत्यवती गाउँपालिका–१ रुद्रबेणीका छविलाल अधिकारी र उहाँकी श्रीमती विष्णु अधिकारीलाई आज (शनिबार) पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । माघ १९ गते रुरुक्षेत्र गाँउपालिका–२ गुदेनबगरस्थित स्याङ्जा र गुल्मी जिल्लाको सिमाना भई बग्ने कालीगण्डकी नदीको किनारमा भारतीय नागरिक शेखको शव फेला परेको थियो । उक्त घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको कमाण्डको टोली घटनास्थलमा खटिएको थियो । अनुसन्धानका क्रममा अधिकारी दम्पतीले नै भारतीय नागरिकको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । भारतीय नागरिक शेख कामको सिलसिलामा आउँदा सोही स्थानमा अधिकारी दम्पतीले सञ्चालन गरेको भुवन होटलमा बस्दै आएका थिए । मादक पदार्थ सेवन गरी आफ्नी श्रीमतीलाई जिस्काउने गरेको कारण छविलालले शेखको टाउकोमा हथौडा प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिनुभयो । भोलि (आइतबार) अधिकारी दम्पतीलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । मृतक शेखको पहिचान उहाँका भिनाजुले कपडाको आधारमा गर्नुभएको छ ।

