बोदेबसाईन: बजारमा पछिल्लो दुई साता यता तरकारीको भाउ ह्वात्तै घटेपछि किसान चिन्तामा परेका छन् । किसानबाट सस्तोमा तरकारी खरिद गरी महँगोमा बेच्ने बिचौलियाहरूलाई फाइदा भएको किसानको भनाइ छ । सप्तरीको मुख्य बजारहरूमा गोभी दुई साता अघिसम्म ३० देखि ५० रुपियाँसम्ममा प्रतिकेजी बिक्री हुँदैआएको थियो । अहिले किसानको बारीमा तरकारी उत्पादन बढेपछि विक्री गर्नेबेलामा मूल्य घटेको किसानहरूको गुनासो छ । बजारमा गोभी र यो सिजनको मुख्य काउली, आलु, भन्टा, मूला लगायतका तरकारीको रेट घटेर प्रतिकेजी १० देखि १५ रुपियाँ भएको छ । विष्णुपुर –७ कट्टीका किसान रामनाथ महतोले सुरुमा तरकारी मूल्य बढी भए पनि अहिले सस्तो भएपछि किसानलाई लागत मूल्य पनि नआउने उहाँले बताउनुभयो । समयमा खेती लगाउन चाहेमा मल, बिउँ पाइँदैन, स्थानीय सरकारले धेरैथोर अनुदानमा दिए पनि लामो प्रक्रिया पूरा गर्दा समे लाग्नेगरेको किसानको गुनासो छ । अनुदानको मल, बिउँ लिन धेरै किसानलाई त्यसबारे जानकारी नहुने उहाँले बताउनुभयो । सप्तरीका प्रमुख बजारहरूमा उपभोग हुने ठूलो परिमाणको तरकारी कार्तिकदेखि पुससम्म बाहिरबाट आयात भइरहँदा तरकारीको बजारभाउ पनि गाडी भाडा खर्च समेत गरी महँगो थियो । तर किसानकै खेतबारीमा तरकारी तयार हुँदासम्म स्थानीय बजारमा त्यही तरकारी सस्तो मूल्यमा बेच्नुपरेको किसानको भनाइ छ । धेरै मलखाद, किटनाशक हालेको आयातित तरकारीभन्दा स्थानीय किसानकै खेतबारीको गोभी, साग सस्तोमा पाउनेगरेको राजविराज – ८ का उपभोक्ता राजनारायण साहले बताउनुभयो । एकातिर तरकारी सस्तिँदा पाउ र किलोमा किन्ने काउली, मूला गाँजर अचेल ५० रुपियाँमा पाँच सात किलोको झोला भर्नेगरी तरकारी घर लान पाएको उपभोक्ताहरूको भनाइ छ । सप्तरी सदरमुकाम राजविराजमा वर्षैभर खपत हुने परिमाणको आधा बढी तरकारी छिमेकी मुलुक भारत र अर्को जिल्ला सुनसरी, सिराहा लगायताको ठाउँबाट आयत हुँदैआएको छ ।
वालिङ: स्याङ्जाको वालिङ नगरपालिका–१४ डाँडाखर्कस्थित बारी र खरबारीमा आगलागी हुँदा एक स्थानीयको ज्यान गएको छ । शनिबार दिउँसो आगलागीका कारण बेहोस भएका स्थानीय टीकाराम कुँवरको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । घर नजिकैको खरबारीमा लागेको आगो घरतर्फ आउन लागेपछि ६५ वर्षका कुँवर बेहोस हुनु भएको प्रहरीको भनाइ छ । आगलागी स्थानीय र प्रहरी मिलेर साढे २ घण्टामा निभाइएको छ । यसैबीच, वालिङमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा एक जना घाइते भएका छन् । वालिङ ८ को बगालेटोलमा ग १९ प १३१२ नम्बरको स्कुटर लु ८१ प ६७४७ नम्बरको मोटरसाइकल जुधेका हुन् । दुर्घटनामा परी स्कुटरको पछाडि बस्ने वालिङ ६ की पार्वती खाँण घाइते हुनुभएको छ । उहाँको पोखरामा उपचार भइरहेको छ ।
तनहुँ: पृथ्वीराजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं. को बसले ठक्कर दिँदा सोही वडा निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो । ठक्करबाट सख्त घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भानु शर्माले जानकारी दिनुभयो । उक्त घटना पछि ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।
काठमाडौं: नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो। माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौँ झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारका समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो। गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवम् कामदारहरूको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो। मन्त्रालयको निर्णय जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भन्नुभयो, “विदेशमा रहेका नेपाली कामदारहरूका समस्याबारे प्रधानमन्त्रीज्यूले चासो राख्दै हेल्पडेस्क राख्न भन्नुभएको थियो। प्रधानमन्त्रीको निर्देशनपछि हामीले आवश्यक गृहकार्य गरेर यो निर्णयमा पुगेका छौँ। सरकारको यो निर्णयले विदेशमा रहेका सम्पूर्ण श्रमहरूको पेसागत हकहित, सुरक्षा र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ। निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने छौँ।” विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवम् कामदारको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्कको व्यवस्थासम्बन्धी माघ २५ गतेको निर्णयमा भनिएको छ, “विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्यालाई तत्काल सम्बोधन गर्न तथा समस्या समाधानमा थप सहजीकरण गर्नका लागि विदेशस्थित सबै नेपाली नियोगमा श्रमिकका सबै प्रकारका समस्या सम्बोधन, सहजीकरण एवं मन्त्रालयमा प्रतिवेदन गर्न सबै नियोगहरूमा श्रम डेस्क स्थापना गर्ने सम्बन्धमा यही मिति २०७९।१०।२५ गते सम्माननीय प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय भएको छ। त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै “डेडिकेटेड फोकल प्वाइन्ट” तोकी कार्यारम्भ गर्ने निर्णय भएको छ। यसबाट विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकका समस्या तत्काल सम्बोधन हुने अपेक्षा गरिएको छ।”
काठमाडौं: सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता ६ बुँदे सहमतिपछि टुंगिएको छ । यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ । सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।
पोखरा: नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औं साधारण शनिबार पोखरामा भएको छ । साधारणसभाको उद्घाटनपछि बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानीमा सरकारले ढिलाइ गरेको बताएका छन् । ‘देशभरका १७ हजार निर्माण व्यवासायीको आवाज सुन्न भन्दा पनि आफ्नै सत्ता टिकाउन सरकार व्यस्त रहेको छ, सिंहले भने, ‘सरकारले निर्माण व्यवसायीलाई सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानी गर्न ढिलाई गरेको छ, सक्ताको अगाडी पछाडी रहेका कसैले पनि निर्माण व्यवसायीको गुनासो सुनेका छैनन् ।’ सार्वजनिक खरिद ऐन पूर्वाधार मैत्री र मुलुक सुहाउँदो हुने गरी संशोधन गर्न पनि उनले सुझाव राखे । साधारणसभामा पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापा, पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, संघका सदस्य एवं वडा १७ का सदस्य विक्रम गुरुङ, अग्रज व्यवसायी कृष्णप्रसाद अधिकारी, भीमबहादुर श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठ, भरतराज भट्टराई र मुक्तिनाथ सुवेदीलाई सम्मान गरेको छ । एसईईमा उत्कृष्ट अंक ल्याएका निर्माण व्यवसायीका छोराछोरी विनीता भण्डारी र निशान ढकाललाई पनि सो अवसरमा पुरस्कृत गरेको थियो । त्यस अवसरमा संघका सचिव इञ्जिनियर शिरशकुमार बास्तोलाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षका लागि विभिन्न १५ बुँदे कार्यक्रम पेश गरे । कोषाध्यक्ष उत्तम सिग्देलले चालु आर्थिक वर्ष २०७९र०८० का लागि ४५ लाख ९० हजार रुपैयाँको वजेट प्रस्तुत गरे । कार्यक्रमका सभापति एवं आयोजक संघका अध्यक्ष लिलकाजी गुरुङले उपस्थित सबैलाई धन्यवाद प्रकट गर्दै निर्माण व्यवसायीका समस्या समाधान गर्न व्यावसायिक एकताको आबश्यकता औंल्याए । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्ल, सदस्य सुरेश श्रेष्ठ र गंगा पोखरेल, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराल र नेपाल इञ्जिनियर्स एसोसिएशन गण्डकीका अध्यक्ष व्रिजेन्द्र केसीले भनाई राखेका थिए ।
म्याग्दी: म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमवार भोलिदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा गाडी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आउँदो फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ बजेर ३० मिनेटदेखि १ बजेर ३० मिनेटसम्म र राति ८ बजेर ३० मिनेटदेखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिनुभयो । एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई सहज आवतजावत र साना गाडी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ । सडक विस्तार र यातायात सञ्चालनसँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाइएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले बेनी–जोमसोम(कोरला सडक आयोजनामार्फत् प्रशासनमा समयतालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाले दुई किलोमिटर एक सय दुई मिटर दूरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मङ्गलादेवी–सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार चार सय ३६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताउनुभयो । पचासी जना मजदुरका साथै तीनवटा डोजर परिचालन गरिएको छ । दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा आठ मिटर चौडाइमा कालोपत्र गरिने भएको छ । बेनी नगरपालिकाको ८, ६ र ९ नं वडाको भूगोल समेटिएको तीन किलोमिटर दूरीको यो सडक २०५३ सालमा मार्ग खुलेको थियो । यो म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशबिन्दु हो । चारदेखि छ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवतजावत नहुने, फस्ने र जाम हुने गर्दछन् । यस सडक म्याग्दीको बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् ।
काठमाडौं: देशभरका अस्पतालको अत्यावश्यक सेवा बन्द गरेर आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घ र सरकारबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका प्रतिनिधि र चिकित्सक सङ्घका प्रतिनिधिबीच वार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चिकित्सक सङ्घले स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । अस्ति शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मी घाइते भएका थिए । यही घटनाको विरोधमा चिकित्सक सङ्घले विरोध गर्दै आज आन्दोलन गरेको हो । आन्दोलनले बिरामी भने मर्कामा परेका छन् । अत्यावश्यक सेवा बाहेक अन्य उपचारका लागि अस्पताल पुगेका बिरामी त्यसै फर्किरहेका छन् । बिहान केहीबेर बिरामीले पनि उपचार पाउनु माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन गरेका थिए। स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता गरी बिरामीको उपचारमा फर्किन चिकित्सक सङ्घलाई आग्रह गरेको थियो । मन्त्रालयले सङ्घको माग र समस्या समाधान गर्न आफूहरु तयार रहेको जनाएको छ ।
पोखरा: पोखराको गैह्रापाटन निवासी बलराम गौतम सम्पर्कविहीन भएको २७ दिनपछि विरगंजमा मृत फेला परेका छन् । गत माघ २ गतदेखी सम्पर्कविहीन भएका गौतम शनिबार विहान विरगञ्ज बसपार्कको पार्कमा मृत फेला परेको परिवारजनले जनाएको छ । गौतम सम्पर्कविहिन भएदेखीनै उहाँको खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोवाइलमा सन्देश लेखेर आफू भारतमा रहेको जानकारी पठाएको परिवारले जनाएको छ । गौतमलाई हृदयघात भएको आशंका गरिएको छ । परिवारका अनुसार सिसिटिभी फुटेजमा विरगञ्ज बसपार्कको पार्कमा ५ः३० बजे गौतम आएको देखिएको छ । त्यसपछि शौचालय गएको देखिने र पार्कमा बस्ने कुर्सीमा चिया लिएर आरामले बसेर चिया खाएको अवस्थामा टाउको झुकेको देखिएको छ । प्रहरीले हिजो विहान ८ः४५ बजे पार्कबाट अस्पताल लगेको थियो । मृतक गौतमको शव पोष्टमार्टम गरी शनिबार राति पोखरा ल्याइएको छ । गौतमको परिवार पुरानो ठेगाना पुरुञ्चौर भएपनि पछिल्लो समय गैह्रापाटन बस्दै थिए। ५६ वर्षीय गौतम माघ २ गते सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेको र त्यसपछि सम्पर्क हुन सकेको थिएन । गौतम नेकपा(एमाले) गण्डकी प्रदेश कमिटी सदस्य समेत थिए । उनका श्रीमति र तीन छोरी छन् ।

