पोखरा: पोखरा महानगरपालिका ६ बैदाम लेकसाइडमा दिउसो देखि लागेको आगलागी नियन्त्रणमा आएको छ । पोखराको लेकसाइडस्थित सेलवेज सेन्टरमा शनिबार अपराह्न ३ः४५ देखि लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । लेकसाइड सेलवेज टावरको भवनमा रहेको सेलवेज डिपार्टमेन्टको अण्डरग्राउण्डबाट शुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित नासा ट्रेकिङ इकुप्मेन्ट सप, दोर्जेज बार एन्ड ग्रिल लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ । पोखरा महानगरपालिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४ वटा दमकल र १५ वटा पानी ट्याङकरको सहायताबाट साढे ६ बजेपछि आगो नियन्त्रणमा लिइएको हो । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।
पोखरा: पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइलनलको समिकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शनिबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले लेकसाइड एफसीलाई ४–१ गोल अन्तरले पराजित ग¥यो । लामागाउँको जितमा अनुज भण्डारीले ह्याट्रिक गर्दा सरोज तामाङले १ गोल र लेकनाथ एफसीका विवेक सन्तोषीले सान्त्वना गोल फर्काए । यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा एलजी एसोसियशनले विष्णुपादुका क्लबलाई १–० गोल अन्तरले पराजित ग¥यो । एलजीको जितमा आनन्द दुराले निर्णायक गोल गरे । तेस्रो खेलमा आयोजक बिटी ह्वाइट र सत्य युवा क्लबबीच भएको खेल निर्धारित समयमा २–२ गोलमा बराबरी भएपछि ट्राइबेकरमा आयोजक बिटी ह्वाइटले ६–५ गोल अन्तरले जित निकाल्यो । चौथो तथा अन्तिम खेलमा गन्नी एफसीले वी आर ब्रदर्शलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । गन्नीको जितमा सुनील घोतानेले २ र सन्जीव रानाले १ गोलको योगदान दिए भने वी आरका मान्नाले सान्त्वना १ गोल फर्काए । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
पोखरा: पोखरा लेकसाइड हल्लनचोक नजिक रहेको सेलवज टावरमा आगलागी भएको छ । थप विवरण आउँदै
काठमाडौं: प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् । आफ्ना आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर जनिथलाल सिंह लगायत अन्य डाक्टर तथा स्वास्थ्यकर्मीहरु माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध जनाउँदै नेपाल चिकित्सक संघले भोलि देशभरका सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रपतिको सुरक्षाका नाममा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गर्नु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन र बिरामीको जीवनसँगको खेलबाड भएको चिकित्सक संघले जनाएको छ । लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने, सवारीको नाममा घण्टौँ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्ने जस्ता कार्य न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ । सरकारी लापरबाहीको विरोध र भीभीआईपीको सुरक्षाको नाममा नागरिकलाई दुख नदिन माग गर्दै देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको चिकित्सक संघले जनाएको छ । यस कदमबाट नागरिकलाई पर्न गरेको अप्ठेरोप्रति क्षमा माग्दै चिकित्सक संघले यो अवस्थाको जिम्मेवार सरकार नै भएको पनि दाबी गरेको छ ।
पोखरा: पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरको समिकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले मण्डेला एफसीलाई ३ –० गोल अन्तरले पराजित गर्याे । लामागाउँको अनुज भण्डारी, सरोज तामाङ र विश्व थापाले समान १/१ गोलको योगदान दिए । यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा लेकसाइड एफसीले सिमपानी एफसीलाई २–१ गोल अन्तरले हरायो । लेकसाइडको विवेक सन्तोषीले २ गोल गरे भने सिमपानीको तर्फबाट सगुन शर्माले सान्त्वना १ गोल फर्काए । तेस्रो खेलमा बुन एफसीलाई विष्णुपादुका क्लबले १–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्याे । विष्णुपादुकाको जितमा अनिल सुचिकारले निर्णायक गोल गरे । चौथो खेलमा मानारथा चर्चलाई सत्य युवा क्लबले १–० गोल अन्तरले पराजित गर्याे । सत्य युवा क्लबको जीतमा दिपेश गुरुङले निर्णायक गोल गरे । यस्तै पाँचौ खेलमा बेलीज् एफसीलाई एलजी एसोसियशनले १–० गोल अन्तरले पाखा लगायो एलजीको जितमा आशिष गुरुङले निर्णायक गोलको योगदान दिए । छैटौं खेलमा गन्नी एफसीले हरिचोक युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नीको जितमा सन्दिप राना र लक्ष्य थापाले समान १/१ गोल गरे । सातौ खेलमा आयोजक बिटी ह्वाइटले एम फाइभलाई २–० गोल अन्तरले हरायो । आयोजकको जितमा संगम दर्जी र सुशान गुरुङले समान १/१ गोलको योगदान दिए । वी आर ब्रदर्श काठमाडौ र कमलपोखरीबीच भएको खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा वी आर ब्रदर्शले ५–४ गोल अन्तरले जित निकाल्यो । खेल संयोजक गुरुङका अनुसार प्रिक्वाटरको समकिरण पुरा भएको छ । शनिबार क्वाटरफाइनलका खेल हुनेछन् भने सो खेलबाट म्यान अफ द म्याच प्रदान गरिने उनले जानकारी दिए । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
बागलुङ : बागलुङ बजारमा विपद् व्यवस्थापन सम्बन्धी आगोलागी घटनाको नियन्त्रण, खोज तथा उद्धार नमुना अभ्यास भएको छ। सशस्त्र प्रहरी गुल्म बागलुङ र नेपाल प्रहरी विपद् व्यवस्थापन गुल्म बागलुङले संयुक्त रूपमा बागलुङ नगरपालिका–१, बांगेचौर मैदानमा नमुना अभ्यास गरेको हो। आगलागी घटना हुँदा नियन्त्रण, खोज तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र र नेपाल प्रहरीको टोलीले कृतिम नमुना अभ्यास गरेको थियो। आगोलागी नियन्त्रण र प्रभावितलाई उद्धार जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी गुल्म बागलुङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण कुमार श्रेष्ठले बताए। विपद् व्यवस्थापनका क्रममा आगोलागी हुँदा प्रहरीलाई तत्काल खबर गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटना स्थलमा पुगेर संयुक्त रूपमा आगोलागी नियन्त्रण गर्ने र घाइतेहरूलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने, क्षतिको मुचुल्का उठाउने लगायत नमुना अभ्यासमा देखाइएको थियो। अभ्यासका क्रममा बागलुङ नगरपालिकाको दमकल र धौलागिरी अस्पताल बागलुङको एम्बुलेन्स प्रयोग गरेर आगो नियन्त्रण गर्न र घाईतेहरूलाई अस्पताल पुर्याउन तत्काल चाहिने सवारी साधनहरूको बारेमा जानकारी समेत गराइएको थियो। सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै विपद् व्यवस्थापन समितिमार्फत विपद् कार्यदल गठन गरी उनीहरूलाई विपद् आइपरेकालाई खोजी तथा उद्धार कार्यका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका छन्। सो अनुरूप प्रयोगात्मक कृत्रिम नमुना अभ्यासका लागि आगोलागी घटनाको नियन्त्रण, खोज तथा उद्धारको लागि कृतिम नमुना अभ्यास कार्यक्रम सञ्चालन गरिएको गुल्मपति श्रेष्ठले बताए।
पोखरा: प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल पोखरा महानगर एकाइ समितिले तीन महिने निशूल्क कम्प्युटर प्रशिक्षण तालिम दिँदै आएको छ । परिषद्ले सिक्न इच्छुक विद्यार्थी तर विभिन्न समस्याका कारण सिक्न नपाएका विद्यार्थीहरुका लागि उनीहरुको समयअनुकुल कम्प्युटर प्रशिक्षण तालिम दिँदै आएको हो । भिमकालीपाटन बगर–१ मा अवस्थित आफ्नै कार्यालयमा ५ जनाको समूह बनाई १ दिनमा ६ समुहलाई अर्थात १ दिनमा ३० प्रशिक्षार्थीलाई प्रशिक्षण तालिम दिदै आइरहेको परिषद्का कास्की जिल्ला संगठन सचिव भूपेन्द्र महराले बताए । अबको पुस्तामा कम्प्युटर ज्ञान अनिवार्य हुनु पर्छ । महराले भने, ‘हामि कम्प्युटर युगबाट गुज्रिरहेका छाँ । जतिसुकै शिक्षित व्यक्ति भएपनि कम्प्युटरको ज्ञान छैन भने निरक्षरको रुपमा गनिएको महशुस गर्दछन । त्यस्तै धेरै जनाले गर्ने काम कम्प्युटरबाट एक्लै थोरै समयमा गर्न सकिन्छ । त्यसैले कम्प्युटर ज्ञान अनिवार्य हुनपर्छ ।’ प्राज्ञिकले कम्प्युटर तालिम मात्र नभई विभिन्न सीममूलक प्रशिक्षण तालिम, व्यक्तित्व नेतृत्व विकास तालिम, बाल संस्कार, संस्कृत सम्मेलन, शिक्षक कार्यशाला, कानुन सम्मेलन, निरामय(मेडिकल) सम्मेलन, संकल्प(इन्जिनियरिङ) सम्मेलन, स्वाध्य मण्डल, रक्तदान कार्यक्रम, उद्वार तथा राहत कार्यक्रम, समय व्यवस्थापन, अभ्यास वर्ग, आदर्श क्याम्पस र विश्वविद्यालयको वातावरण निर्माण जस्ता सम्पूर्ण निकायहरुको सरोकारको विषयमा ठोस नीतिगत सुझाव जस्ता तमाम कुराहरुमा केन्द्रित रहेर कार्य गरिरहेको महराले बताए । प्राज्ञिक०५२ सालमा स्थापना भई २८ वर्ष देखि राष्ट्र पुननिर्माणको कार्य गर्दै आइरहेको छ । महराले भने, ‘ राष्ट्र पुननिर्माणको कार्य मूलतः रचानात्मक एवम् पुण्यको कार्य हो । आफू स्वयंमबाट परिवर्तनको प्रारम्भ गर्नुपर्छ । त्यसैले म परिवर्तन हुन्छु, समाज र राष्ट्र परिवर्तन हुने छ । भन्ने भावका साथ सकारात्मक सोचाई, इमान्दारिता, परिश्रमशीलता, सामाजिक संवेदना, त्याग आदि गुणहरुले युक्त व्यक्तिको निर्माण एवम् विकास होस भन्ने दृष्टिले विभिन्न प्रकारका रचानात्मक कार्यक्रमहरु गर्दै आइरहेका छौँ ।’
इस्तानबुल: टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ । अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ । सिरिया र टर्कीका भूकम्प पीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय सहायता निकाएका छ वटा विशाल वाहन राहत सामग्री लिएर टर्कीको सिमाना पार गरेर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो । टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य सङ्गठनले व्यक्त गरेको छ । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि, उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् । अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ । अर्थ मन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई पत्र लेखी पठाइएको छ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार केसीले विमानस्थलका महाप्रबन्धक ठाकुरले थाइ स्माइल एयलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको जानकारी दिनुभयो । सो विषयमा जाँचबुझ गर्न ठाकुरलाई पदबाट निलम्बन गर्न प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको प्रवक्ता केसीद्वारा विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइनेछ ।

