काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले नामिबियालाई हराएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई ३ विकेटले हराएको हो । नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर तीन बलमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रन बनाए । यस्तै, कुलश मल्लले ४ छक्का र ६ वटा चौकासहित ६२ रन बनाए । रोहित पौडेलले ३९ रन बनाए । यसैबीच, आजको खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालको लागि सबैभन्दा धेरै रनको साझेदारीको कीर्तिमान बनाएका छन् । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १ सय ३९ रनको साझेदारी गरेका हुन । यो नेपालबाट एकदिवसीयमा अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि नामिबियासँगको खेलमै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको साझेदारी गरेका थिए । यस्तै, नेपालले यो शृङ्खलामा दुई सय ७५ रन लक्ष्य भएका दुई वटा र दुई सय ८६ रनको लक्ष्य भएको एउटा खेल जितेको छ । नेपालले सबैभन्दा धेरै लक्ष्य भेटाउने कीर्तिमान पनि यसै शृङ्खलामा बनाएको छ । यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनायो । उसका जान ग्रिनले सर्वाधिक ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए । हिजो भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । नामिबिया ३३ खेलमा ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ । सात वटा देश सहभागि लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
पोखराः १७ औं संस्करणको सफल पोखरा म्याराथन गण्डकी प्रदेशतर्फको उपाधि लमजुङका रामजी बस्नेतले जितेका छन् । उनले ४२.१९५ दुरी २ घण्टा ४१ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै उपाधि जितेक हुन् । निर्धारित दुरी २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पूरा गर्दैै गोर्खाका निरज भट्ट दोस्रो भए भने गोर्खाका नै श्याम मगराति तेस्रो भए । उनले २ घण्टा ५० मिनेट ३ सेकेण्डमा दुरी पूरा गरे । गण्डकी प्रदेशस्तरीय म्याराथनका विजेता बस्नेतले ५० हजार, दोस्रो भएका भट्टले ३० हजार र तेस्रो भएका मगरातिले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै पोखरा म्याराथन १० किलोमिटर पोखरा म्याराथन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले ३६मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भएका छन् । यस्तै आर्मीका नै सुवास कार्कीले ३६मिनेट ५४ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भएका छन् भने ३७ मिनेटमा दुरी पूरा गर्दै दिपक सुहान तेस्रो भएका छन् । यस्तै १० किमी महिलातर्फ नेपाल एपिएफ क्लबका आशा रावतले ५० मिनेट १२ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भइन् । नेपाल पुलिस क्लबकी बिर्समा कुमालले ५० मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भइन भने त्रिभुवन आर्मी क्लबकी कल्पना खड्काले ५१ मिनेट ६सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भइन् । १० किमीतर्फ महिला÷पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय भएका उनीहरुले क्रमशः ३०, २० र १५ हजार पुरस्कार प्राप्त गरे । यस्तै १७ औं संस्करणको अन्र्तराष्ट्रिय म्याराथन अन्र्तगत ह्विल चियर प्रतियोगितामा दान थिन प्रथम, सुरज गौली दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए यस्तै महिलातर्फ लक्ष्मी सुनार प्रथम, धना मगर दोस्रो र ववित्रा बिक तेस्रो भइन् । दृष्टिविहिन महिला तर्फको दौडमा विनिता पुन प्रथम, सृजना परियार दोस्रो र देवि बराल तेस्रो भइन् भने पुरुषतर्फ विरेन्द्र लामिछाने प्रथम, आसिक खड्गी दोस्रो र प्रेम क्षेत्री तेस्रो भए । ह्विल चियर र दृष्वििहिन प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो महिला/पुरुष धावकहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
पोखरा: सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्या धावक स्टेफेन कोसगेईले लगातार दोस्रो पटक जितेका छन् । आज (शनिबार) पोखरा रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गर्दै दोस्रो पटक उपाधि जितेका हुन् । केन्याका धावक स्टेफनले अघिल्लो संस्करणमा सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । यस्तै केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गर्दा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । पोखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्धितीय भएका सिमोनले ३ लाख र तृतीय मोहनले २ लाख रुपैयाँ पाएका छन् । हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुराको ह्याट्रिक यस्तै शनिबार नै सम्पन्न भएको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाईले ह्याट्रिक गरेकी छिन् । उनले लगातार तेस्रो पटक उपाधि जितेकी हुन् । उनले २१ किमी दुरी १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पूरा गरिन् । एपिएफकी वृन्दा देसार श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन । त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन । यस्तै नेपाल पुलिसकी रेखा विष्ट सान्त्वना भईन । उनले १ घण्टा ३० मिनेट १४ सेकेण्ड मा पूरा गरिन् । महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय वृन्दाले १ लाख तृतीय पूर्णलक्ष्मीले ७५ हजार र सान्त्वना भएकी विष्टले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
बागलुङ: सामान्यतया ६ वर्षमा निवारण भएको हात्तिपाइले बागलुङमा १३ वर्षमा समेत निवारण भएको छैन । हात्तिपाइले रोगबाट बच्न लगातार छ पटक हात्तिपाइले रोगविरुद्धको औषधि खानुपर्छ । बागलुङमा पुनः‘यसै पटक र अन्तिम पटक’ भन्ने नाराका साथ हात्तिपाइले विरुद्धको १४औँ चरणको औषधि सेवन अभियान थालिने भएको छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि बागलुङमा १३ औँ पटकसम्म हात्तिपाइलेको औषधि खुवाउँदासमेत हात्तिपाइले निवारण हुन सकेको छैन । रोग निवारणका गर्न बागलुङमा पुन १४ औँ पटक अभियान थालिएको हो । यस पटकको अभियान भने अन्तिम हुनसक्ने तथ्याङ्कले देखाएको छ । तेह्रौँ पटकको अभियान सुरु गर्नुभन्दा पहिला हात्तिपाइले प्रभावित क्षेत्रमा पाँचौं पटक नमुना सङ्कलनको कार्य गर्दा हात्तिपाइले निवारण नभएपछि लगातार दुई वर्ष औषधि खुवाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । शर्माका अनुसार १४औँ पटक औषधि सेवन गर्न गरिएको पूर्वनमुना परीक्षणमा भने जम्मा एक जनामा मात्रै हात्तिपाइलेको जिवाणु भेटिएकाले यो पटकको औषधि अन्तिम पटकका लागि हुनसक्ने सम्भावना धेरै रहेको शर्माको भनाइ छ । हात्तिपाइले निवारण हुन १४औँ पटक आम औषधि सेवन अभियान सञ्चालनपछि तीन पटकसम्म गरिने नमुना परीक्षणसमेत सफल हुन आवश्यक रहेको छ । “पाँच वर्ष लगातार औषधि खुवाइसकेपछि नमुना परीक्षण हुन्छ, हामीले पाँचौँ चरणसम्मको नमुना परीक्षणमा दुई प्रतिशतभन्दा माथिको सङ्ख्यामा पोजेटिभ पाएका थियौँ, तर छैटौँ पटकको नमुना सङ्कलनमा हात्तिपाइले निवारणका लागि दुई प्रतिशतभन्दा थोरै पोजेटिभ भेट्टिएको छ”, शर्माले भने । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार बागलुङमा पाँच पटकसम्मको नमुना परीक्षण गर्दा हात्तिपाइले निवारण नभएको तर छैटौँ पटकको नमुना सङ्कलन गर्दा निवारणका लागि आवश्यक दुई प्रतिशतभन्दा कम शून्य दशमलव ३३ प्रतिशत मात्रै हात्तिपाइलेको जिवाणु फेला परेकाले यस वर्षलाई अन्तिम पटक हात्तिपाइलेको आम औषधि सेवन अभियान सञ्चालन गरिएको छ । जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तिपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आइरहेकामा यसपटक सात सय जनामा गरिएको नमुना परीक्षणमा एक जनामा मात्रै जिवाणु फेला परेकाले १४ औँ पटकको अभियान नै अन्तिम हुन सक्ने भन्दै सबैले औषधि सेवन गर्न आवश्यक रहेको शर्माले बताए । सङ्क्रमण दुई प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेको शर्माको भनाइ छ ।
काठमाडौं: वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन्। प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ। त्यसमध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको तथा कुवेतबाट छ महिला, ओमनबाट दुई महिला, इराकबाट एक महिला र नेपालभित्रै आन्तरिक बेचबिखनमा परेका दुई जनाको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न दलाल तथा म्यानपावर कम्पनीले भ्रमण भिसामा विदेश जाने कागजातको न्यूनतम प्रक्रियासमेत पूरा नगरी नक्कली कागजात बनाइ उनीहरूलाई विदेश पठाएको पाइएको छ। त्यसैगरी विदेश जान लागेको र मानव बेचबिखनको उच्च जोखिममा पर्ने देखिएका दुई सय ५० जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ब्युरोको प्रहरी टोलीले फिर्ता गराएको पनि उनले बताए। यस्तै माघमा मानव बेचबिखन तथा ओसारपसार कसुर गरेको आरोपमा चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ। गएको एक महिनामा एक महिला र पाँच पुरुष गरी छ जनामाथि अनुसन्धान सम्पन्न गरी अदालतमा मुद्दा चलाइएकामा उनीहरू पूर्पक्षका लागि कारागार चलान भएका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए।
काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी खतरामुक्त रहेका छन्। भण्डारीका सहयोगी योगराज शर्मा कँडेलले भण्डारीलाई धरै नै सुधार देखिएकोले सोमबार भेन्टिलेटरबाट हटाउने योजना रहेको बताए। उनले सामाजिक संजालमार्फत् भनेका छन्, ‘मुख र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकोले हाललाई तुरून्तै अर्को सर्जरी गर्न नपर्ने भएको छ।’ भण्डारीको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो। बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो। नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बइमा थप उपचारका लागि लगिएको थियो।
धनगढी: कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका-४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाा र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर रावलले जानकारी दिए । उनकाअनुसार उनीहरुको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल समेत बरामद गरिएको छ । बरामद गरिएका नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।
काठमाडौं: महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा शनिबार बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ । घाम लागेसँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको हो । महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रूपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथमा विशेष पूजा सकेर उहाँले पशुपतिमन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुनेछ । यो मन्दिर वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो । मन्दिर उद्घाटनपछि उहाँले त्यहीँ प्रवचन पनि गर्नुहुनेछ । बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शङ्कराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम रहेको छ । यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ । महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवम् दर्शन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी, नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आउनुभएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले बताउनुभयो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ । नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ । साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ । यसमा गुठी संस्थानको पनि सहयोग रहेको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरुपमा सिँगारिएको छ । दर्शनार्थीलाई व्यवस्थितरुपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा रहेको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क खानेपानी सेवा, भोजन एवम् प्रसाद सेवा, रक्तदानजस्ता सेवामूलक काम गर्ने संस्थाको पनि भीड देखिन्छ । केही मानिसले विभिन्न साम्प्रदायिक पुस्तक वितरण गरेको भन्दै भक्तजनले आपत्ति जनाएका छन् । कोषले यस्ता काममा रोक लगाउने भने व्यवहारमा कार्यान्वयन नभएको गुनासो भक्तजनको छ ।
काठमाडौँ: पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शनिबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाट छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यस दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ । ज्योतिषी विशाल भण्डारीले आकार निराकार दुवै तवरबाट शिवको आराधना गर्न सकिने पूज्य देवताका रूपमा शिवलाई लिइने जानकारी दिनुभयो । उहाँले बडादशैँअघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महत्व दर्शाइएको बताउनुभयो । जाडोमा जगत् रुवाउँदै रुखका पतझर उजाड गरेका शिवले महाशिवरात्रिमा पालुवा लागेर जगत्को कल्याण गरेको हुँदा यो पर्व धुमधामसाथ मनाउन थालिएको हो भनिन्छ । शिवलाई मन पर्ने पञ्चामृत, बेलपत्र, गाँजा, भाङ, धतुरो अर्पण गरेर खुसी पार्ने प्रयास भक्तजनबाट हुन्छ । धार्मिक आस्थामा यसो भए पनि आयुर्वेद क्षेत्रमा यी पदार्थलाई पाचन प्रणाली सन्तुलन, ज्वरो नाशक, पेटमा कृत्रिम रोग निवारणलगायतका औषधीय महत्व का साथ हेरिन्छ । बझाङको नौलोगाउँ, बाजुराको कैलाशमाडौँ, ओखलढुङ्गाको नर्वदेश्वर, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँ डिल्लीबजारको वसन्तेश्वर, जयवागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गरेश्वरलगायत शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ । पशुपति परिसरको पिण्डेश्वरमा अखण्ड दीपसहित सवा लाख बेलपत्र र पञ्चामृत पूजा आयोजना भएको नाथका कोटवाल पूर्णनारायण जोशीले बताउनुभयो । पशुपतिनाथमा चारै प्रहर अतिरुद्री, महादीप प्रज्वलन, अखण्ड दीपसहितको दीपोत्सव, लाख बेलपत्र र प्रशस्त पञ्चामृतद्वारा पशुपतिनाथको पूजा गर्ने तयारी भएको छ । यसैगरी महाशिवरात्रि पर्वमा नेवार समुदायमा ‘सिलाचःह्रे’ मनाइने गरिन्छ । यस दिन बाटो छेक्ने र घरघरमा गएर गीत गाउँदै दाउरा माग्ने चलन पनि छ । यो चलन अहिले लोप भइसकेको छ ।

