म्याग्दी: सामाजिक विकृतिविरुद्ध लड्न यहाँका महिला एकजुट भएका छन्। जिल्लाको मालिका गाउँपालिका–५, मगरदाङका महिलाले मदिरा सेवन गरेर होहल्ला, झै–झगडा र सामाजिक सद्भाव बिगार्नेलाई जरिवाना तिराउनेसमेत नियम बनाएका छन्। आमा समूहको अगुवाइमा १५ हजार रुपियाँसम्म जरिवाना तिराउने नियम बनाइएको छ। मगरदाङ आमा समूहले जनप्रतिनिधि र अगुवाहरूको सहभागितामा हिउँदे गाउँसभा गरेर सामाजिक विकृति र हिंसा न्यूनीकरणका लागि नियम बनाउनुका साथै ज्याला र कृषि उपजको मूल्य निर्धारण गरेको हो। समूहकी अध्यक्ष राजमती बुढाले जुवातास खेल्न र आयातीत मदिरा सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको बताउनुभयो। “हाम्रो गाउँभित्र आयातीत मदिरा बेचबिखन गर्न रोक लगाएका छौ,” उहाँले भन्नुभयो, “तोकिएको भन्दा अन्य समयमा घरेलु मदिरा सेवन गरेर होहल्ला, झगडा र अशान्ति फैलाउनेलाई जरिवाना तिराउछौँ।” संस्कारगत विवाह, छेवर, किरिया र घरमा साँझको समयमा मात्र गाउँमै उत्पादन भएको मदिरा प्रयोग गर्न छुट दिइएको छ। मगर समुदायको बाहुल्य रहेको मगरदाङमा २५० घरधुरी छन्। तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक पाँच हजार रुपियाँ, दोस्रो पटक दश हजार रुपियाँ र तेस्रो पटक पन्ध्र हजार रुपियाँ जरिवाना तिराएर प्रहरीको जिम्मा लगाइने मगरदाङ आमा समूहकी सचिव सुनिता पुनले बताउनुभयो। समूहले निर्णय कार्यान्वयनका लागि टोलटोलमा महिलाहरूको निगरानी समूह बनाएका छन्। मदिराको अव्यवस्थित सेवन तथा जुवातास र लागूपदार्थ दुव्र्यसनीका कारण उत्पन्न घरेलु हिंसा, सामाजिक सद्भावमा असर र विकृति नियन्त्रणका लागि महिला अग्रसर बनेका हुन्। आमा समूहको प्रयासमा वडाका जनप्रतिनिधि, राजनीतिक दल र देउताभीर युवा क्लबले पनि साथ दिएका छन्। गाउँ सभामार्फत उमेर समूहअनुसार मजदुरको ज्याला र कृषि उपजको मूल्य निर्धारण गरिएको छ। सबैभन्दा कम खेतालाको दैनिक चार सय रुपियाँदेखि अधिकतम हलगोरुसहितका हलीलाई प्रतिदिन एक हजार चार सय रुपियाँ ज्याला तोकिएको छ।
गाईघाट: उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले २३ वर्षीयाा श्रीमति युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारीलो हतियार प्रहार गरी हत्या गरेका छन् । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका अनुसार बेलका नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्र भित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस काट्न गएकोमा श्रीमति युनिका पौडेल खत्रीको हत्या भएको अवस्थामा जङ्गलमा सव फेला परेको हो । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट ३ किलोमिटर टाढा घटनास्थल भएकाले बिहीबार साँझ प्रहरीले त्यहाँ कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाड्मका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको बेलका नगरपालिका–९ का वडा अध्यक्ष पदम खड्काले बताउनुभयो । प्रहरीले श्रीमान बिनोद खत्रीलाई नियन्त्रणमा लिएर थप्प अनुसन्धान थालेको छ । विनोदका परिवारमा दुई वर्षको छोरा र आमाबुबा रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउन जरुरी रहेको बताउनु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन हवाई सेवा सञ्चालन लगायत समग्र पोखराको पर्यटनका विषयमा आयोजित पत्रकार अन्तरक्रियामा प्रमुख आचार्यले यस्तो बताउनु भएको हो । “समग्रमा पोखरा सबै हिसाबले तयार छ, त्यस कारण केन्द्र सरकारलाई पनि पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि सकारात्मक दबाब सृजना गर्नु पर्यो, प्रमुख आचार्यले भन्नुभयो, यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु पर्यो, यसमा मिडियाको पनि तागत हुन्छ ।” प्रमुख आचार्यले आन्तरिक उडानमा कुनै समस्या नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा पनि कुनै प्रकारको शङ्का गर्नु पर्ने अवस्था नरहेको बताउनुभयो । समग्र पोखराको पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र एकसाथ अगाडी बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । पोखरा सबै हिसाबले सुरक्षित रहेको जनाउँदै प्रमुख आचार्यले कुनै घट्नालाई जोडेर सधैँ गलत र असुरक्षित भनेर प्रचार गरिरहनु आवश्यक नरहेको बताउनुभयो । नेपालको हवाई क्षेत्रमा कयौँ दुखद दुर्घट्नाहरु भएको स्मरण गर्दै उहाँले कुनै पनि विषयलाई अनावश्यक रूपमा उठाइरहनु उचित नहुने उल्लेख गर्नुभयो । स्थानीय सरकारका नाताले पोखराको समग्र पर्यटन विकासको विषयमा चिन्तन गर्नु आफ्नो प्रमुख दायित्व हुने उहाँले बताउनुभयो । पोखराको पर्यटनलाई चलायमान बनाउने विषय आम सरोकारको विषय भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । “पोखरालाई कसरी चलायमान बनाउने, कसरी सुरक्षित बनाउने भन्ने कुरा यहाँहरूको पनि जिम्मेवारीको कुरा हो, प्रमुख गौतमले भन्नुभयो, उड्डयन क्षेत्रको प्रभाव केवल एक ठाउँमा मात्र केन्द्रित हुँदैन, यसले समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्दछ ।” पोखराको आकाश सुरक्षित रहेको बताउँदै उहाँले कुनै प्रकारको शङ्का नपाल्न आग्रह समेत गर्नुभयो । संसार भरिका विमानस्थलहरूमा चराहरूको आवागमन भइरहने भन्दै उहाँले पोखरामा पनि त्यो हुनु सामान्य विषय भएको टिप्पणी गर्नुभयो । पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले नेपालको आकाश सुरक्षित छैन भनेर बारम्बार गलत प्रचार भइरहेको भन्दै यसको संयुक्त प्रयास मार्फत प्रतिवाद आवश्यक रहेको बताउनुभयो । “नेपालको आकाश असुरक्षित होइन, तर विभिन्न बाहानाबाजीमा पोखराको आकाश समेत असुरक्षित भन्ने गरिएको छ, मुल्मीले भन्नुभयो, हामी यसलाई चुपचाप सह्यौ भने पोखराको एयरपोर्ट चल्न दिँदैनन्, त्यसैले पोखराको एयरपोर्ट चलाउनका लागि संयुक्त प्रयासको जरुरी छ ।” नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका मुल्मीले नेपालका लागि थप हवाई मार्ग दिनका लागि छिमेकी मुलुकले गरेको कन्जुस्याइँ पनि अनौठो भएको टिप्पणी गर्नुभयो । नेपाल जस्तो सानो मुलुकका लागि हवाई रुट उपलब्ध गराउने विषयमा समेत आनाकानी गर्नुको कारणका बारेमा समेत गहन छलफल आवश्यक रहेको उहाँले बताउनुभयो ।
पोखरा: भदौं अन्तिम सातापछि पोखरामा पहिलो पटक पानी परेको छ । हिजो गण्डकी प्रदेशको जोमसोमतिर हल्का वर्षा भएको थियो । पानी परेपछि पोखरा लगायतका क्षेत्रका किसान खुशी भएका छन् । लामो समयसम्म पानी नपर्दा कृषि बालीमा नोक्सानी भोगिरहेका किसानलाई हल्का वर्षा हुँदा तोरी, गहुँलगायत बाली पनि सप्रिने किसानले आशा गरेका छन् ।
काठमाडौं: साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले गिरावट आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अङ्कले गिरावट आएको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ । आज ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लागेको छ । नेप्से परिसूचक ५७.७४ अङ्कले घटेर २०२२.६४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.९५ अङ्कले, फ्लोट इण्डेक्स ३.९८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अङ्कले घटेको छ । आज कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड २७ लाख १३ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । बुधवारको तुलनामा नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज नेप्सेका १३ उपसमूहमध्ये लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ । लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । आज छिमेक लघुवित्त आठ करोड ७० लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ । बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै सञ्चार मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दा देशका धेरै स्थानमा सामान्य सूचनाको पहुँच पुग्न नसकेको अवस्था रहेको बताउनुभयो । मन्त्री शर्माले फोर जी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको जानकारी दिनुभयो । मन्त्री शर्माले फोर जी सेवा लागू गर्दा लागेको लागत अनुसार प्रतिफल भए, नभएको विषयमा अध्ययन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न सकेनौं भने लाभभन्दा नोक्सानी बढ्नसक्ने तर्फ सचेत हुन आवश्यक रहेको पनि बताउनुभयो । सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘नेपालमा फाइभ जी लागू हुँदा धेरै लाभ लिन सकिने भएकाले लागू गर्न आवश्यक छ । हामीले फो जीको स्टाटस थाहा नपाई फाइभजीमा कसरी अगाडि बढ्ने विषय छ । अहिले फोरजीको अवस्था के हो यसबाट कति लाभ लिएका छौं । फोरजी सेवामा कति लागत लगायौं र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौं भने लाभभन्दा पनि नोक्सानी हुने जस्तो लाग्छ ।’’ मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गर्नुभयो । उहाँले देशका धेरै भूभाग इन्टरनेटको न्यूनतम सेवासमेत नपुगेको बताउनुभयो । विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्र इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको उहाँको भनाइ छ । ‘‘फोरजीमा भौगोलिक रुपमा कठिन अवस्थामा छौं । ग्रामीण क्षेत्रमा डाँडामा टेलिफोनको टावर भए पनि खोँचमा रहेको बस्तीमा टावर आउँदैन । गाउँपालिकाको कार्यालयमा फोन लाग्दैन फोरजीको विषय टाढाको कुरा हो । न्यूनतम फोन लाग्ने अवस्था समेत छैन भन्ने गुनासा आएका छन् । अझै पनि कतिपय स्थानमा टेलिफोन सेवा पुग्न सकेको छैन ।,’’ सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको छैन । निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेटको पहुँचबाहिर छन् । जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या छ । पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पु¥याउन आवश्यक छ ।’’ मन्त्री शर्माले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्याउन निर्देशन दिनुभयो । उहाँले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताउनुभयो । फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति रहेको उहाँको भनाइ छ । मन्त्री शर्माले फोरजी राम्रोसँग नचल्दै फेरि फाइभजीमा लगानी गर्दा सरकारी लगानी खेर जाने अवस्था आउनसक्ने बताउनुभयो । मन्त्री शर्माले विश्वमा आविष्कार भएको नयाँ–नयाँ प्रविधि आत्मसात गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ प्रविधि लागू गर्दा देशको अवस्था र विगतको लगानीलाई हेररे गर्नुपर्ने धारणा औंल्याउनुभयो । ‘‘काठमाडौं उपत्यकामा समेत फोरजी सेवा गुणस्तर छैन । यसलाई व्यवस्थित गर्ने गरेर मात्रै फाइभ जीमा प्रवेश गर्न उपयुक्त हो । मुलुक सूचना प्रविधिमा फड्को मार्नुपर्छ । त्यसका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गरी आधारहरु खडा गर्नुपर्छ । फाइभ जी सेवा लागू गरे पश्चात अर्थतन्त्रलगायत अन्य विषयमा कति लाभ हुन्छ भन्ने विषयको लेखाजोखा गर्न आवश्यक छ ।,’’ उहाँले भन्नुभयो, ‘‘अझै पनि फोन नलाग्ने क्षेत्रहरु धेरै छन् । त्यस्ता क्षेत्रहरुको पहिचान गरेर समस्या हल नगर्ने तर नयाँ नयाँ प्रविधिमा जाने अवस्था हेको छ । भौगोलिक अवस्था, प्रयोग गर्ने जनशक्ति अहिलेका चुनौती हुन् ।’’ त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभ जी सेवा अपेक्षा अनुसार नभएर पनि परीक्षण सुरु भएको बताउनुभयो । उहाँले सरकार, नियमन निकाय र आम उपभोक्ताहरुले सोचेको जस्तो नभएको गुनासो गर्नुभयो । अध्यक्ष खनालले फाइभ जी सेवा परीक्षणको दायरा बढाउन आग्रह गर्नुभयो । खनालले फाइभ जी प्रयोगकर्ताले परीक्षण गर्नुपनि परीक्षणको एउटा पाटो भएको बताउनुभयो । उहाँले प्राधिकरणले नेपालमा फाइभ जी ल्याउँदा हुने फाइदाहरुको विषयमा अध्ययन गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष अनालले राज्यले लगानी गरे अनुसार कस्तो प्रतिफल आउने विषयमा अन्तिम रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो । उहाँले नियमनकारी निकायले फाइभ जी विषयमा सुक्ष्म रुपमा व्यवस्थापन नगर्ने सोच भए पनि अब सुक्ष्म रुपमा व्यवस्थापन गर्ने सोचमा पुगेको जानकारी दिनुभयो ।
काठमाडौं: तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका छन् । मुम्बईमा बुधबार आयोजित समारोहमा अक्षयले कीर्तिमान रचेका हुन् । रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको छ । आफ्ना खतरनाक स्टन्टको कारण चर्चामा आउने अक्षय यसपटक चाहिं सेल्फीले चर्चामा आएका हुन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी’ पनि शुक्रबार विश्वव्यापी प्रदर्शन हुँदैछ । राज मेहता निर्देशित यो फिल्ममा उनले पहिलोपटक इमरान हासमीसँग स्क्रिन सेयर गरेका छन् । धेरै सेल्फी खिचेर अक्षयले अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई तोडेका हुन् । हलिउड अभिनेता डाउने जोन्सनले पनि लण्डनमा आयोजित फिल्मको प्रिमियरमा तीन मिनेटभित्र १०५ वटा सेल्फी खिच्दै रेकर्ड राखेका थिए । यो अनौठो कीर्तिमान तोड्न पाउँदा खुसी व्यक्त गर्दै अक्षयले आफू उत्साहित भएको बताए । उनले भने, ‘यो अनौठो विश्व कीर्तिमान तोड्न पाउँदा र मेरा फ्यानसँग यो पल साझा गर्न पाउँदा म उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको सबै कुरा र मेरो जीवनको यो क्षणमा जहाँ छु, त्यो मेरा फ्यानको निःसर्त माया र समर्थनको कारण हो । यो उनीहरुका लागि श्रद्धा व्यक्त गर्ने एक शैली थियो जसले जीवनभर मेरो करिअरमा उभिएर मलाई माया गरे अनि स्वीकार ।’ यसैबीच, ‘सेल्फी’मा डायना पेन्टी र नुसरत भरुचा पनि मुख्य भूमिकामा छन् । फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ ।
काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको स्पष्ट पार्नुभएको छ । बिहीबार दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सङसँगै अनुगमन एवम् निरीक्षणका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । निर्देशक घिसिङले कलंकी बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिन भित्रमा हटाइसक्ने जानकारी दिनुभयो । उहाँले विद्युत प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ विस्तारका लागि समस्या नरहेको स्पष्ट पार्नुभयो । निर्देशक घिसिङले भन्नुभयो, ‘‘अब यो रिङरोड विस्तारको कलंकी चाबहिलसम्मको विस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ । एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिनजति लाग्छ । विद्युत प्राधिकरणको पोलको कारणले कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या छैन ।’’ त्यस्तै, काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ विस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुन लागेको बताउनुभयो । उहाँले जसअन्तर्गत रहेका करिव तीन सय बिजुलीका पोलहरु हटाइसकेको र अब २२ वटा पोलहरु मात्रै रहेकाले सडक विस्तारका लागि कुनै समस्या नभएको जानकारी दिनुभयो । उहाँले सडक छेउमा रहेका १९ वटा मन्दिरहरुमा गोंगबुमा रहेको मन्दिर बाहेक अन्य सबै मन्दिरहरु स्थानान्तरण गरिसकेको पनि बताउनुभयो । उहाँले दोस्रो चरणमा चक्रपथ विस्तार कलंकीदेखि बसुन्धारासम्म मात्रै रहेको प्रमुख अधिकारीको भनाइ छ । ‘‘चक्रपथ विस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुँदैछ । यसअन्तर्गत हाम्रा दुई, तीन सय वटा बिजुलीका पोलहरु थिए, अब २२ वटा जति पोलहरु हटाउन बाँकी छ, त्यो पनि प्रोसेसमा छ, १५ दिन भित्र भत्काउने भन्नुभएको छ । १९ वटा मन्दिरहरु थिए, ती पनि सबै भत्काइएका छन् ।,’’ प्रमुख अधिकारीले भन्नुभयो, ‘‘रुख, चौतारोहरु पनि हटाइसकेका छौँ । कलंकीदेखि स्युचाटारसम्मको २२ वटा बिजुलीका पोलहरु सार्नुपर्नेछ । दोश्रो चरण भनेको कलंकीदेखि बसुन्धारासम्मको हो । महाराजगञ्ज तेस्रो चरणको हो ।’’ दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत आज (बिहीबार) बिहान मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायतले सडक अनुगमन एवम् निरीक्षण गर्नुभएको थियो ।
पोखरा: पोखरेली व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर नघटाए अर्थमन्त्रालय र राष्ट्र बैंक घेर्ने चेतावनी दिएका छन् । पोखरा र लेखनाथ क्षेत्रका व्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजबाट आहत भएपछि आज पोखरामा सडक आन्दोलन गर्दै यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले बैंक तथा बित्तीय संस्थाहरुले एकोहोरो रुपमा ब्याजदर वृद्धि गरेको बताए । ‘व्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाबाट ऋण लिने क्रममा गरिरहेको सम्झौता विपरित ब्याजदर वृद्धि गरिएको छ, कोइरालाले भने, ‘बैंक तथा बित्तीय संस्थाहरुले एकोहोरो रुपमा ब्याजदर वृद्धि गरेर व्यापारीहरुलाई मारमा पारेका छन्, ऋण तिदैनौं भनेका छैनौं तर एकोहोरो रुपमा वृद्धि गरिएको ब्याजदर घटाउनुपर्छ ।’ राजनीतिक दलहरुले हरेक कुरामा राष्ट्रिय सहमति खोज्दै आएपनि व्यवसायीहरुको गुनासोमा चासो नदेखाएको उनले बताए ।‘व्यापारीहरुलाई चर्को ब्याजदरले मारमा पार्नु भनेको अर्थतन्त्र धरायसी बनाउनु हो, राज्यले कुनै किसिमको सहयोग गर्न सकेको छैन, उनले भने, ‘राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको नारा लगाएपनि व्यापारीको पक्षमा कुनै चासो नदेखाउन दुखद पक्ष हो ।’ उनले व्यवसायीहरुले तिर्न सक्ने कर्जाको कार्ययोजना तयार गरेर नै बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिए पनि सम्झौता विपरित एकोहोरो ब्याजदर वृद्धि गर्दा व्यवसायी धरायसी भएको बताए । विरोध कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बैंक तथा बित्तीय संस्थाहरुले दैनिक फोन गरेर कर्जा चुक्ता गर्न दवाव दिदा व्यवसायीहरुमा नकारात्मक असर परेको बताए । ‘बैंक तथा बित्तीय संस्थाहरुले दिनहुँ व्यवसायीहरुलाई ऋण तिर्न दवाव दिदैं आएका छन्, व्यवसायीहरुको घर लिलामी गर्छु भन्छन्, प्रजापतिले भने, ‘बैंक तथा वित्तिय संस्थाबाट सम्झौता भएर ऋण लिएको छ त्यसको विपरित एकोहोरो रुपमा ब्याजदर वृद्धि भएको छ, कसरी तिर्ने ?’ आजबाट सांकेतिक रुपमा विरोधको कार्यक्रम सुरु गरेका छौं, बैंक तथा बित्तीय संस्थाहरु हेरेका बसेका छन्, यसरी नै हेरेर बसे अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्न व्यवसायी पछि हट्ने छैनन्, त्यसबाट हुने क्षतिको जिम्मा सरकारले लिनुपर्ने व्यवसायीले बताएका छन् । पोखरा र लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुले आज (बुधबार) पोखराको विपीचोकमा चर्को ब्याजदर घटाउने मागसहितकोे ‘उच्च सेवा शुल्क खारेज गर, गरिखाने मर्दै छ सरकारको अर्थतन्त्र घट्दै छ,उद्योग व्यापार नबाचे अर्थतन्त्र बाच्दैन, व्याजदर चर्को भो गरिखान गाह्रो’ भो लगायतका नारासहित विपीचोकमा शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।

