काठमाडौं: फागुन २५ गते हुने राष्ट्रपति चुनावमा नेपाली कांग्रेसले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए। कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन्। पौडेलले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्न लागेका छन्। गठबन्धनका सबै नेताहरू पौने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र त्यसपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ।
काठमाडौं: नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो । शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो। प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेर सहभागी बनेका थिए। राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए।
काठमाडौं: सत्ताको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी केन्द्र) सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताको बैठकले यस्तो सहमति गरेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो। ‘बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ’, नेता ज्वालाले पत्रकारसँग भन्नुभयो। नेता ज्वालाका अनुसार शुक्रबार साँझ बसेको बैठकमा राष्ट्रपति सम्बन्धको एउटा मात्र एजेन्डामा छलफल भएको हो । उहाँले भन्नुभयो, ‘‘यस पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निष्कर्षमा पुग्यौं । गठबन्धनका हिसाबले टर्निङ पोइन्ट जस्तो भएको छ ।’’ प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी थिए।
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकाले दुवै मुद्दालाई लगाउनमा राखेर सुनुवाइका लागि फागुन १४ गते आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च पुग्नुभएको थियो । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो । आदेशमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०७९/९/२८ मा प्रतिवादी सन्दिप लामिछानेबाट रु।२०,००,०००/–(बीस लाख) धरौट वा जमानत लिई तारिखमा राखी मुद्दामा पुर्पक्ष गर्ने गरी भएको आदेश उपर वादी नेपाल सरकारको तर्फवाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम २०७९-RE-०२५७ को निवेदन परेको देखियो । उक्त निवेदनका सन्दर्भमा पेश भएको २०७९-RE–०१३६ को प्रतिवेदन यस अदालतको संयुक्त इजलासमा विचाराधीन रहेको समेत देखिन्छ। यसपछि उच्च अदालतको उक्त मिति २०७९/९/२८ को आदेशउपर प्रतिवादी सन्दिप लामिछानेको तर्फवाट मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ वमोजिम भनी मिति २०७२/११/११ मा यस अदालतमा निवेदन पर्न आएको देखियो ।’ थप आदेशमा भनिएको छ, ‘यसमा वादी नेपाल सरकारको तर्फबाट परेको निवेदनका सन्दर्भमा कैफियत प्रतिवेदन पेश भैसकेको देखिदा प्रतिवादी सन्दीप लामिछानेको निवेदनका सन्दर्भमा पुनः कैफियत प्रतिवेदन लिइरहन परेन । आगामी हप्तामा नै खेलिने अन्तर्राष्ट्रिय क्रिकेट खेलसँग सम्बन्धित विषय देखिएको र उल्लिखित निवेदन उपर को सुनुवाइमा ढिलाइ हुन गएमा निवेदनको मूल प्रयोजन नै समाप्त हुन जाने समेत देखियो। तसर्थ, प्रस्तुत विषयमा तत्काल सुनुवाइ गर्नु आवश्यक देखिएकाले प्रस्तुत ०७९-RE-०२८१ को निवेदनलाई २०७९-RE-०१३६ को प्रतिवेदनसँग लगाउमा साथै राखी तथा महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको जनाउ दिई सुनुवाइका लागि अग्राधिकार समेत प्रदान गरी मिति २०७९/११/१४ गते संयुक्त इजलासमा पेश गर्नू ।’
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। छलफलमा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले उहाँहरूबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताउनुभयो। शनिबार राष्ट्रपति चयनका लागि मनोनयन गर्ने समय सीमा भए पनि दलहरूबीच सहमति हुन सकेको छैन। प्रधानमन्त्री दाहालले सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्दै आउनुभएको छ। आज बिहान मात्रै नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो।
पोखरा: कास्कीको रुपा गाउँपालिकाको आयोजनामा अध्यक्ष कप खुल्ला (वडास्तरीय) पुरुष भलिबल प्रतियोगिता फागुन २३ गतेदेखि सुरु हुने भएको छ । रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा फागनु २३ देखि २७ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, माला बुन्ने प्रतियोगिता आयोजना गरेको आज पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरको एक जना खेलाडी राख्न पाउने बताए । ‘गाउँपालिकाको स्थापना दिवसमा ०७५ देखि खेलकुदको कार्यक्रमलाई अगाडि बढाउँदै आएका छौं, ओझाले भने, ‘स्थापना दिवसमा पुरुष भलिबल, रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शनी, माला प्रतियोगिता र रुपा रत्न पुरस्कार २०७९ आयोजना गरेका छौं ।’ उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख २५ हजार, दोस्रो हुने समूहले ८० हजार र तेस्रो हुने समूहले ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ बेस्ट प्लेयरले ३ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र अनुशासित टिमले जनही २/२ हजार पुरस्कार प्राप्त गर्नेछन् । गाउँपालिका अन्तर्गत ७ वटै वडाहरुमा लोप हुन लागेका विभिन्न जाजातिहरुको संस्कृति संरक्षण गर्ने उद्देश्यले झाँकी प्रदर्शन प्रतियोगिता समेत आयोजना गरिएको ओझाले बताए । उनका अनुसार झाँकी प्रदर्शन बढीमा ३५ जना सहभागी हुनुपर्ने र ५ जना ३० वर्ष कम उमेर समूहका हुनुपर्ने नियम बनाइएको छ । कला, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न ३० वर्ष भन्दा कम उमेरकालाई झाँकी प्रदर्शनमा सहभागी गराउने नियम बनाइएको छ । झाँकी प्रदर्शनीको विजेताले ३० हजार, दोस्रो हुने समूहले २० हजार र तेस्रो हुने समूहले १० हजार र सान्त्वना हुने समूहले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । झाँकी प्रदर्शनीमा आउने समूहलाई ५ हजार यातायात र २ हजार खाना खाजा उपलब्ध गराउने भएको छ । यस्तै माला बुन्ने प्रतियोगिताको विजेताले ६ हजार ६ सय ६७, दोस्रो हुने समूहले ४ हजार र तेस्रो हुने समूहले २ हजार ६ सय ६७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माला बुन्ने प्रतियोगितामा स्थानीय साम्रागीको प्रयोग गर्नुपर्ने र बाह्य वस्तुहरु जरि फुल लगायतका कुनै पनि सामान प्रयोग गर्न नपाइने नियम बनाएको छ । रुपा गाउँपालिकाले अध्यक्ष स्थापना दिवसका अवसरमा गाउँपालिकालाई सहयोग गर्ने र रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई पनि रुपा रत्नबाट सम्मान गरिने जानकारी दिए । विगतका वर्षहरुमा पनि स्थापना दिवसमा रुपा रत्नबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
काठमाडौं: सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँ घटेको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ। त्यस्तै चाँदी आज प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजोको तुलनामा चाँदी पनि प्रतितोला १० रुपैयाँ घटेको छ।
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज (शुक्रबार)का लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गर्नुभएको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च पुग्नुभएको थियो । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।

