पोखरा: पोखरामा मंगलबारदेखि हुने सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलको तयारी पूरा भएको आयोजकले जनाएको छ । फागुन १६ देखि १९ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमले नाम टिपाएको प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए । टिमको यकिन संख्या तथा खेल तालिका सोमबारमात्र सार्वजनिक हुनेछ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा २०७३ सालदेखि सुरुआत भएको सृजना कपको यो पाँचौं संस्करण हो । प्रतियोगितामा विगतको तुलनामा सहभागी संख्या बढी भएकोले आयोजक पनि उत्साहित छ । छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् । प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउने छन् । गत वर्ष पोखराको भकुण्डेस्थित शान्ता माविले दोहोरो उपाधि जितेको थियो । प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने सिर्जना विकास केन्द्रका निवर्तमान अध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रप्रसाद पौडेलले बताए । प्रतियोगिताको लागि दुवै संस्थाका कार्यसमितिका पदाधिकारी सम्मिलित व्यवस्थापन समिति गठन गरिएको प्रतियोगिता सहसंयोजकसमेत रहेका कास्की जिल्ला भलिबल संघ उपाध्यक्ष लेखनाथ लम्सालले बताए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ मूलनारा तथा ‘स्कुल स्कुलमा भलिबल’ यसको लक्ष्य छ ।
पोखरा: पोखराको हरित यातायात प्रणाली विकास परियोजना पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ । परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसअघि नै पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेका कोरियाली रेलमार्ग अनुसन्धान संस्थानका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ । यसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोकपृथ्वी चोकलाई थप विस्तार समेत गरिनेछ । तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ । पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर ९बस स्टप १९०, निर निवास देखी शान्तिनगर चोक ९बस स्टप ११० र नुवारचोक देखी महिमा किराना ९बस स्टप १८० सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा, बस चढ्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरू सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ । यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को।लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गरेका छन् ।
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो। क्रिकेटर लामिछानेले युएइमा क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले लामिछानेलाई विदेश जान दिने आदेश भएको जानकारी दिए।
काठमाडौं: यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्य नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो । मौसमी भाषामा यो वर्षालाई हिउँदे वर्षाकैरुपमा लिइन्छ । तर, यो वर्षा प्रि–मनसुनको जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भएकाले मौसमविद् नै द्विविधामा छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका शाखा प्रमुख वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले यो वर्ष ढिलोगरी हिउँदे वर्षा भएको बताउनुभयो । उहाँले मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षाकैरुपमा गणना गरिने भएकाले आइतबार भएको वर्षा हिउँदे वर्षा नै भए पनि यसको प्रकृति प्रि–मनसुनको जस्तो अर्थात् मेघगर्जन र चट्याङसहितको वर्षा भएको उहाँले उल्लेख गर्नुभयो । “हिउँदयामको अन्तिममा थोरै भए पनि वर्षा भयो, यसले किसानलाई राहत मिलेको छ, तर यो वर्षाको प्रकृति हेर्दा प्रि–मनसुनको वर्षा जस्तो छ । हिउँदयाममा चट्याङ र असिनारहितको वर्षा भएको छ”, मौसमविद् कँडेलले भन्नुभयो । नेपालमा मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन मानिन्छ । यो वर्ष फागुन १६ सम्मलाई हिउँद याम मानिने उहाँले बताउनुभयो । यो वर्ष के कारणले हिउँदे वर्षा भएन भनी सोधिएको जिज्ञासामा मौसमविद् कँडेलले पश्चिमी वायुको सक्रियता र क्षमतामा ह्रास आएका कारणले हिउँदे वर्षा कम भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वी प्रशान्त महासागरमा विकसित जलवायु प्रणाली विपरीत दिशातर्फ अर्थात् भूमध्ये रेखाको आसपास गएकाले समुद्रको पानी तातिनुपर्नेमा चिसो हुँदै गएकाले जलवाष्फको मात्रा जुन किसिमले विकसित हुनुपर्ने हो त्यो नहुँदा नेपालतर्फ पश्चिमी वायुको प्रभाव कम देखिएको हो ।” विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाले हिउँद र वर्षायामको वर्षाको विश्लेषण गर्ने गरेको छ । मौसमविद् कँडेलका अनुसार यो वर्षको हिउँदयाममा आजसम्मको रेकर्डमा जम्मा १२ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । हिउँदमा सरदर ६० दशमलव १ मिलिमिटर वर्षा हुन्छ । आइतबार विशेषगरी पहाडी क्षेत्रका भूभागमा भएको वर्षाले लामो खडेरी बेहोरिरहेका किसानलाई राहत मिलेको छ । पर्यावरण सन्तुलनमा समेत मद्दत पुगेको मौसमविद्को भनाइ छ । पश्चिमी वायुको सक्रियता नबढेका कारण हिउँदे वर्षा हुन नसकेको मौसमविद् गङ्गा नगरकोटी बताउनुहुन्छ । वरिष्ठ मौसमविद् कँडेल पनि नगरकोटीको भनाइमा सहमति जनाउँदै तुलनात्मकरुपमा पश्चिमी वायुको फैलावट राम्रोसँग हुन नसकेकाले हिउँदे वर्षा नभएको उल्लेख गर्नुभयो । सन् २०२२ को अक्टोबर १५ र १६ देखि खासै वर्षा भएको थिएन । नोभेम्बरमा केही स्थानमा र सन् २०२३ को जनवरीमा पनि विभिन्न स्थानमा छिटफुट मात्रै वर्षा भएको थियो । वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो । यो वर्ष विगतका वर्षमा भन्दा तापक्रम सरदरभन्दा बढी नै रहेको थियो । नेपालमा सामान्यतया फागुन लागेपछि मौसम न्यानो हुने गरेको छ । मौसमविद्को भनाइमा यस वर्ष हिउँदे वर्षा पर्याप्तमात्रामा हुन सकेन । राजधानी काठमाडौं उपत्यकामा त झन् यो वर्ष हिउँदे वर्षा भएन । उपत्यका बाहिर खासगरी देशका पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भयो भने पश्चिमदेखि पूर्वीभेगसम्मै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ । हिउँदे वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान मर्कामा परेका छन् । लामो समयसम्म वर्षा नहुँदा वातावरण र पर्यावरणमा समेत असर परेको उनीहरूको विश्लेषण छ । गर्मी, जाडो, वर्षा जस्ता प्राकृतिक विशेषता मानवसँग प्रत्यक्ष जोडिन्छन् । यसले पर्यावरणमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने बताइन्छ । जलवायु परिवर्तनको प्रभावले मौसममा उतारचढाव आउने अनुमान गरिएको छ । युरोपियन महादेशबाट क्यास्पियन सी ‘ब्ल्याक सी’ को बाटो हुँदै इरान, अफगानिस्तान, पाकिस्तान र उत्तरपश्चिम भारतबाट नेपाल भित्रिने वायुको प्रभावले हिउँदे वर्षा गराउने विज्ञ बताउँछन् । पश्चिमी वायुमा जलवाष्फको मात्रा वृद्धि भएपछि तथा वायुमण्डलीय चापमान घटेर यस मौसममा वर्षा हुने गरेको विज्ञको तर्क छ ।
काठमाडौं: युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङमाथि सानदार जित निकालेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले सोमबार हङकङलाई नौ विकेटले हरायो । युएईस्थिति मलेका क्रिकेट मैदानमा हङकङले दिएको एक सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा आकाश त्रिपाटीले अर्धशतकीय पारी पूरा गर्नुभयो । उहाँले अविजित ५८ रन जोड्नुभयो । उत्तम थापाले अविजित ३९ र अर्जुन कुमाल १६ रन बनाउनुभयो । यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । हङकङका लागि पर्थ भागवात ३६ रन बनाउनुभयो । मोहम्मद जाहिरले २९ र अहान त्रिवेदीले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिनुभयो । आकाश चन्द र सुवास भण्डारीले दुई दुई तथा दीपेश कँडेलले एक विकेट झार्नुभयो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रनले हराएको थियो । नेपालले अर्को खेल मंगलबार मलेसिया र अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी छन् । प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।
काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह ४३ दशमलव ८१, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह सात दशमलव २७, व्यापार समूह १२ दशमलव ६५ र अन्य समूह ११ दशमलव ८० अङ्कले बढेको छ । त्यस्तै, लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९ दशमलव ३८ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक समूह १३ दशमलव ०८, वित्त समूह २८ दशमलव ४७ र जलविद्युत् समूह सात दशमलव ४१ अङ्कले घटेको छ । लगानी, जीवन बीमा र उत्पादन समूहको उपसूचकमा क्रमशः शून्य दशमलव ३४, आठ दशमलव ९६ र २३ दशमलव ३७ अङ्कको गिरावट देखिएको पनि नेप्सले जनाएको छ । आजको कारोबारपछि सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता नौ दशमलव ७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य छ दशमलव ४३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू छ करोड ६८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा आज सोमबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइने भएका छन् । कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदैगरेको म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका –२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको छ । चालकसहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ । ग्रामीण कच्चि सडकको परशुराम नगरपालिका –३ मट्यौलामा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो । उहाँका अनुसार जिप सडकमा पल्टिएको थियो । जिपमा चालकसहित ११ जना यात्रु सवार रहेका थिए । जिप पछाडि गर्नेक्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनास्थल परशुराम नगरपालिका मुकाम जोगबुडा लालढुङ्गाबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ । लालढुङ्गा बजारमा ईलाका प्रहरी कार्यालय रहेको छ । ईलाका प्रहरी कार्यालयबाट उद्धारमा खटिएको टोलीले प्रारम्भिक जानकारी दिएको डिएसपी भट्टले बताउनुभयो । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।
काठमाडौं: नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुर गर्नुहुँदै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० मा भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नगएको र प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिशाेध साँधेको आरोप लगाउनुभयो । उहाँले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्दा राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर परेको दाबी गर्नुभयो । ‘‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ । राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुभएन र अरु दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभए पनि देशको परिस्थिति हेरेर अघि बढिरहेका थियौँ ।,’’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘‘तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ । त्यसैले सरकारबाट फिर्ता हुने निर्णय गरेका छौँ । राष्ट्रको इज्जतमाथि नै यसले प्रतिकूल असर पारेको छ ।’’ उहाँले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप लगाउनुभयो ।
काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ८ दलको गठबन्धन आगामी चुनावसम्मै टिक्ने बताएका छन्। सुर्खेतमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आँट भएका र दृष्टिकोण भएकाहरू रहेकोले यो गठबन्धन चुनावसम्म टिक्ने दाबी गरेका हुन्। ‘८ दलीय गठबन्धन चुनावसम्मै टिक्छ। हामीले पहिले गठबन्धन बनाउँदा पनि टिक्दैन भनेका थिए तर चुनावसम्मै रह्यो,’ उनले भने, ‘हामी आँट भएका, आत्मविश्वास र दृष्टिकोण भएका मानिसहरू हौं, गठबन्धन चुनावसम्मै टिक्छ।’ गत शुक्रबार राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गर्न ८ दलबीच सहमति बनेको थियो।

