काठमाडौं: काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा प्रदेश ३-०२-००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौं : बजारमा सुनको मूल्य सस्तिएको छ। आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो। सुन चाँदी व्यवसायी महासंघका अनुसार ३०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको छ। तेजावी सुन तोलाको १ लाख २००० रुपैयाँ तोकिएको छ। महासंघअनुसार सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं: नेपालका केही स्थानमा आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा अहिले जारी पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तो छ महाशाखाको तीन दिने मौसम पूर्वानुमान २०७९ फागुन २३ गते (मंगलबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ।साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति ː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। २०७९ फागुन २४ गते (बुधबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति ː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। २०७९ फागुन २५ गते (बिहिबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ। राति ː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
चितवन: चितवनका विभिन्न क्षेत्रमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो। केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो। घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उनले बताए। यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ। पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उनले बताए। सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ । कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ। कुकुरलाई डीएचएलपीपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता सङ्क्रमण नहुने न्यौपानेले बताए। अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले बताए। कुकुरलाई जन्मिएको छदेखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ ।
जाजरकोट: चिस्यान केन्द्रको अभाव र बजार नपाउँदा जाजरकोटको नलगाडमा उत्पादन भएको स्याउ बिक्री हुन सकेको छैन । स्थानीय सरकारले चिस्यान केन्द्र र सडक निर्माणमा ढिलासुस्ती गरेका कारण लाखौँ रुपियाँको स्याउ कुहिएर नष्ट हुने गरेको किसानले गुनासो गरेका छन् । नलगाड नगरपालिका–१३ का महेन्द्र बोहराले तीन गाडीभन्दा बढी स्याउ उत्पादन हुने गरेको बताउनुभयो । बिक्री वितरण र चिस्यान केन्द्र नहुँदा उचित मूल्य पाउन नसकेको गुनासो गर्नुभयो । “गाउँमा यातायातको सहज पहँुच छैन, सरकारले कोल्ड स्टोर निर्माण गर्दैन । बजार अभावका कारण उत्पादन गरेको वस्तु कुहिएर नष्ट हुने गरेको छ,” बोहराले भन्नुभयो । स्थानीय मेलापर्वमा थोरै बिक्री हुने भए पनि बाँकी कुहिएर नष्ट हुने गरेको उहाँले बताउनुभयो । स्याउ उत्पादनलाई प्राथमिकता दिएको स्थानीय सरकारले बजारीकरणका लागि सडक सञ्जाल र कोल्ड स्टोरको व्यवस्थापनमा ध्यान नदिँदा किसान मर्कामा परेका हुन् । नलगाड नगरपालिकाले १३ वटै वडामा माटो परीक्षण गरी पकेट क्षेत्रका आधारमा तरकारी, खाद्य बाली, बिरुवा, मौरी घार वितरण गरेको थियो । वडा नं. १३ लाई नगरपालिकाले स्याउको पकेट क्षेत्र घोषणा गरेको छ । कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार किसानको लागत साझेदारीमा बिरुवा वितरण गरेको बताउनुभयो ।
काठमाडौं: फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै नेपालले विश्वकप छनोटको गणितीय सम्भावना कायम राखेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा नेपाल घरेलु टोली यूएईलाई ४२ रनले हरायो । जितका लागि नेपालले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रनमा समेटियो । यूएईका लागि आशिफ खानले सर्वाधिक ८२ रन बनाए । आर्यन लक्राले ५० र भिरितिया अर्भिन्दले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले तीन-तीन विकेट लिए । आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय २९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले अर्धसतकीय इनिङ्स खेले । उनले सर्वाधिक ७० रन बनाए । उनले ९९ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । भीमको यो एक दिवसीयमा पहिलो अर्धशतक हो । आरिफ शेखले अविजित ४३ रन बनाए । कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, प्रतिश जिसीले अविजित ११, ओपनर ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाए । बलिङमा यूएईका जुनेद सिद्धिकीले तीन विकेट लिए । आर्यन लाक्रा र रोहन मुस्तफाले दुई(दुई विकेट लिए । कार्तिक मेइयापानले एक विकेट लिए । जितसँगै नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले ३२ खेलबाट ३२ अंक बनाएको छ । समान खेलबाट ३१ अंक बनाएको यूएई छैटौं स्थानमा झरेको छ । यसअघि नेपाल छैटौं स्थानमा थियो । यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) समान खेलबाट नौ अङ्क जोड्दै तालिकाको अन्तिममा छ । युएईपछि सिरिजका बाँकी खेल नेपालमा हुनेछ । नेपाललाई विश्वकपमा छनोट हुन अबका सबै (चार) खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ ।
पोखरा: नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए । होलीको रङसँगै रमाइरहनुभएका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुसी दिएको बताउनुभयो । “निकै खुसी लागेको छ, पोखरामा आएर रङसँग रमाउन पाउँदा, आनन्द पनि लागेको छ, सबै जनालाई खुसी देखेको छु”, उहाँले भन्नुभयो । “यहाँ कसैले को कहाँबाट आएको र को कुन धर्म मान्ने भनेर कसैले सोधेनन् सबैले सबैलाई सम्मानपूर्वक रङ लगाइदिए, मलाई यो समानता निकै मनप¥यो”, उहाँले विभेदरहित पर्वको पनि सङ्ज्ञा दिनुभयो । उहाँसँग रहनुभएका अर्का जर्मन नागरिक डेनियलले पनि रङसँग खेल्दा तनावको अनुभूति नभएको, बडो रमाइलो अनुभूति भएको प्रतिक्रिया दिनुभयो । अन्नपूर्ण बेसक्याम्पमा जान आउनुभएका डेनियलले आजको दिनले ऊर्जा थपेको र खुसी बढेको अनुभव सुनाउनुभयो । आफूलाई निलो रङ एकदम मनपर्ने भन्दै उहाँ सोही रङसँग निकै रमाउनुभयो । आफूले पनि रङ दल्नुभयो अरुलाई पनि लगाइदिनुभयो । त्यसैगरी तीन हप्ताअघि बेल्जियमबाट नेपाल आउनुभएकी लिसाले पनि रङसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताउनुभयो । लमजुङको बेसीशहरको एक स्कुलमा स्वयंसेवीका रुपमा काम गर्दै आउनुभएकी उहाँ पोखरा घुम्न आउँदा रङसँग रमाउन अवसर मिलेको बताउनुभयो । “म खुसी छु, जीवनको पहिलो अनुभव हो हो, रङसँग रमाएको यो अवसरका लागि सबैलाई धन्यवाद”, लिसाले भन्नुभयो । इलामको चियाबारेमा अध्ययनका लागि नेपाल आउनुभएकी होल्यान्डकी एल्काले पनि रङ्गीविरङ्गी रङमा रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले हरेक देश र नागरिकको आआफ्नो संस्कार र संस्कृति हुने र एकअर्काले त्यसको सम्मान गर्नसके खुसी मिल्ने बताउनुभयो । उहाँले रेवानले आयोजना गरेको कार्यक्रमले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसरसमेत प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो । रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले रेवानले हरेक वर्ष फागुपूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि विदेशी पर्यटकको उल्लासमय उपस्थितिका कार्यक्रम गरेको बताउनुभयो । “कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो, विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ । यो हाम्रो संस्कृतिप्रतिको सम्मान हो”, पौडेलले भन्नुभयो । हरेक संस्कार संस्कृतिको आआफ्नै महत्व हुने र त्यसको महत्व उजागार गर्नसके पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले पर्यटन प्रवद्र्धनका लागि रेवानले सांस्कृतिक र धार्मिक, सामाजिक पक्षलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसमा विशेष गरी विदेशी पर्यटकलाई लक्षित कार्यक्रममा जोड दिएको बताउनुभयो । महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा ¥याली निकालिएको थियो । रेवानका महासचिव विकास भट्टराईले होलीका क्रममा हाम्रो देशको संस्कृति जानकारी दिन सकियोस् भनेर पञ्जेबाजाका साथै अन्य नाचगान पनि गरिएको उहाँले बताउनुभयो ।
म्याग्दी: कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज सोमवार म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा रहेको छ । इलाइट ट्रेकिङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाण्डौबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एअरको हेलिकप्टरमार्फत अन्नपूर्ण–३ दानामा आउनुभएको छ । आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ । “हाम्रो आरोहण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,” पुर्जाले भन्नुभयो “बन्दोबन्दीका सामग्रीहरू हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।” यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसक्नुभएको छ । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् । नागरिक अभिनन्दन र बाजागाजासहित गाउँ परिक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का अध्यक्ष रमेश पुर्जाले बताउनुभयो । ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौँ’, उहाँले भन्नुभयो, ‘निर्मल विश्वकै साहसिक युवा हो ।’ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो । नारच्याङका अगुवाहरूले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ । समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

