पोखरा: कर्मचारीले सूचना चुहाएको भन्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा होमिएका विद्यार्थी संगठनहरुले पिएन क्याम्पसका केही विद्यार्थी संगठनहरुले कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै तालाबन्दीपछि विज्ञप्तीमा टाँसिएकाे छ । विज्ञप्तीमा भनिएको छ ‘पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावलीको प्रकाशनको सन्दर्भमा अन्तिम टुङ्गो नहुँदै केही अमुक विद्यार्थी संगठनलाई मतदाता नामावली पत्रमा निर्वाचनलाई प्रभावित पार्ने गतिविधि स्ववियु निर्वाचन समितिबाट नै गरिएको कुरामा गम्भिर शंका भएको छ ।’ अखिल क्रान्तिकारी पिएनका अध्यक्ष काशिराम पौडेल, अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष विवेक अधिकारी र अखिल क्रान्तिकारी संयुक्तका अध्यक्ष गगन परियारले हस्ताक्षर गरिएको विज्ञप्तीमा क्याम्पसमा प्रशासनमा दुई बुँदे माग राख्दै तालाबन्दी भएको हो । ‘त्रिभुवन विश्वविद्यालय मार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक र कर्मचारीले आसन्न स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र फागुन १८ र १९ गते दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको त्यस्तै तत्काल पुनः प्रकाशित गर्नुपर्ने’ विज्ञप्तीमा उल्लेख छ ।
काठमाडौं : प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते भएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा न्यौपाने सिढीबाट लडेर घाइते भएका हुन् । न्यौपानेको टाउकोमा चोट लागेको छ । लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ । नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरी ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक २० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । निकुञ्जको नियमित गस्ती टोलीले बुधबार बिहान ९ः३० बजे मृत अवस्थामा गैँडालाई फेला पारेको थियो । एक आपसमा जुधेर मृत्यु भएको हुन सक्ने सूचना अधिकारी तिवारीले बताउनुभयो । मृत गैँडाको खाग खुर सुरक्षित छ भने साउन महिना यता प्राकृतिक र चोरी शिकारीले गर्दा १३ वटा गैँडाको मृत्यु भएको छ । गैँडाको वासस्थान परिवर्तन भएर पश्चिम क्षेत्रमा धेरै हुन थालेपछि जुधेर मर्ने सख्या वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने र यहाँबाट अन्य निकुञ्जमा लैजानको लागि तयारी भए पनि काम हुन ढिलाइ भइराखेको उहाले बताउनुभयो । पश्चिम अमलटाडी, कावासोती लगायतको क्षेत्रमा गैँडाको लागि उपयुक्त वासस्थान छ । नारायणी नदीको भँगालो, घाँसे मैदान, पानीको व्यवस्था, मानवीय चापको कमीलगायतको कारणले गैँडाको वासस्थान पश्चिम हुन थालेको छ । त्यसलाई व्यवस्थापन गर्नको लागि विभागबाट पनि पहल भइराखेको उहाँले जानकारी दिनुभयो । संरक्षित वन्यजन्तुका लागि सबैभन्दा महत्वपूर्ण वासस्थान रहेकाले त्यसतर्फ विभागको ध्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताउनुभयो । गैँडाको सुरक्षाका लागि वासस्थानको सुधार, स्थानान्तरण, जनसङ्ख्या व्यवस्थापन, चोरीसिकारी नियन्त्रण, समुदाय परिचालनलगायतको काममा विभागले योजना अनुसार काम गरिराखेको जानकारी दिनुभयो । पछिल्लो गणना अनुसार निकुञ्जमा छ सय ९४ गैँडा छन् ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडानरअवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने बताइन्छ । बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् । उहाँले भन्नुभयो, “पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि आजदेखि बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरु गर्दैछ । बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन् ।” यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन । मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो । बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताउनुभयो । बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन् । कर्णका अनुसार बिहीबार काठमाडौँबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ । उहाँले भन्नुभयो, “हाल चारवटा जहाज पोखरामै रात्रि बिसान हुन्छ । भोलिपल्ट बिहान पोखराबाट सम्बन्धित गन्तव्यमा उडान सुरु हुन्छ । यसले पोखराको पर्यटनलाई ठूलो सहयोग पुग्ने विश्वास छ ।” पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो । पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । यहाँका पर्यटन व्यवसायीले विगतदेखि नै रात्रिकालीन उडानको माग गर्दै आएका थिए । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो । सोही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुनसकेको छैन । विमानस्थल सञ्चालनमा आएको दुई महिना पुगिसक्दा समेत एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका पर्यटन व्यवसायी तथा उद्योगी निरास छन् । सरकारले भने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकहरूसँग कूटनीतिक पहल भइरहेको जनाएको छ ।
काठमाडौं: आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा बौद्धिक र परिपक्क छवी बनाउनुभएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले० का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ । विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारबीचको प्रतिस्पर्धालाई महत्वकासाथ हेरिएको छ । पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको हो ।
काठमाडौं: मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए । पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा रामवरण यादवले दुई सय ८३ तथा रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गर्नुभयो । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले तीन सय आठ तथा सिंहले दुई सय ८२ मत प्राप्त गर्नुभयो । संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो । दलहरुबीच यदी सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो । संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट बहुमतबाट हुने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो । उक्त निर्वाचनमा सङ्घीय संसद् सदस्य तीन सय ३४ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहेकामा सङ्घीय संसद् सदस्य तीन २६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना ९९७।५१ प्रतिशत०ले मतदान गरेका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । निर्वाचनमा आठ जना ९०।९३ प्रतिशत० को मत बदर भएको थियो । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार दुई सय ७५ तथा कुमारी लक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधित्व गराउन आफूहरू गम्भीर रहेको बताउनुभयो । नारीहरूको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले नारी दिवसका दिनमात्र महिलाको हकहितसम्बन्धी कुरा गर्दैमा उपलब्धि नहुने विचार व्यक्त गर्नुभयो । अध्यक्ष थापाले अग्रपङ्क्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पुर्याउन राप्रपा नेपाल निरन्तर लागिरहेकाले वडा तहसम्म सङ्गठन विस्तार गर्न पदाधिकारीहरूलाई निर्देशन दिनुभयो । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सङ्गठनका उपाध्यक्ष सङ्गीता लाखाजु, काठमाडौँ जिल्ला अध्यक्ष मिरा कार्की महर्जनलगायतले महिला सशक्तीकरणका लागि पार्टीले प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।
पोखरा: महिला सीप विकास संस्थाले पोखरामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरि हस्तकलाको सामग्री प्रदर्शन गरेको छ । संस्थाले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थामा क्रियासिल महिलाकर्मीहरुले उत्पादन तथा निर्माण गरेको हस्तकलाका सामग्रीहरु प्रदर्शन गरेको हो । स्थानीय कच्चापदार्थ अल्लो, हेम, ऊन, मकैको खोष्टाबाट निर्माण गरिएका फूल, गुडियो, कार्पेट, झोला, टोपी लगायतका सामग्री प्रदर्शन गरेको संस्थाका अध्यक्ष देवी गुरुङले बताईन । ‘महिला सीप विकास संस्था पोखरा, अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नै स्थापना भएको हो, गुरुङले भनिन्, ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्य कार्यक्रम भन्दा हस्तकाल प्रदर्शनीसँगै औपचारिक कार्यक्रममा आयोजना गरेका हौं ।’ संस्थाले महिला दिदीबहिनी, गरिब, पिछडिएका, अपाङ्ग, एकल,द्धन्द्ध पीडित, उत्पीडित भएका महिलाहरुलाई तालिम प्रदान गर्दै आएको छ । तालिम प्रदानपछि महिलाहरुलाई स्वरोजगार प्रदान गर्ने संस्थाको मुख्य लक्ष्य रहेको छ । संस्थाले उत्पादन गरेको हस्तकलाका सामग्रीहरु अमेरिका,जर्मन, इटली, कोरिया, क्यानडा, अष्ट्रेलिया जापान लगायतका देशहरुमा निर्यात गर्दै आएको छ । महिला सीप विकास संस्था पोखराले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुः
अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहकाबीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो । जसको जानकारी अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै दिएकी छन् । तस्बिरका साथ उनले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशीर्वाद दिनुहोला ।’ पन्त र सुवेदीको बिहीबार चितवनको सौराहामा विवाह समारोह आयोजना हुँदैछ । विवाहमा दुबैतर्फका नजिकका साथीभाई, आफन्त सहभागी हुनेछन् । दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । पन्तले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभ–कामना मिलिरहेको छ ।

