काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताउनुभएको छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको प्रयोग अत्यधिक बढे पनि यससम्बन्धी आवश्यक ज्ञान, सीप र सचेतना नहुँदा प्रविधिको दुरुपयोग बढ्न थालेकाले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने आवश्यकता देखिएको बताउनुभएको हो । उहाँले संसारभरि बनेका प्रविधि नेपालमा प्रयोग गरिए पनि यसको प्रयोगसम्बन्धी नीति र कानुनको अभाव देखिएकाले आफ्नो मन्त्रालयले कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको पनि बताउनुभयो । ‘‘साइबर सुरक्षासम्बन्धी नीति २०७६ मा बनाएर २०७८ मा संसदमा पठाइएको रहेछ तर नयाँ चुनावसँगै पुरानो विधेयक निष्कृय भयो’’– उहाँले भन्नुभयो– ‘‘अहिले साइबर सुरक्षा नीति बनाउने कार्यलाई तीव्रताका साथ अघि बढाइएको छ, यो पारित भयो भने साइबर सुुरक्षा कानुन बनाउने बाटो खुल्नेछ ।’’ सामाजिक सञ्जालमा के राख्न हुन्छ के हुँदैन भन्ने सचेतनाको अभावमा हिंसाका घटनामा वृद्धि हुँदै जानु चुनौतीको रुपमा रहेको औल्याउँदै मन्त्री शर्माले संविधान र कानुनमा उल्लेख भएका व्यवस्थालाई जनजनमा पु¥याउन प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले कानुनले पैत्रिक सम्पत्तिमा समान अधिकारलगायत धेरै व्यवस्था गरेको छ तर व्यवहारमा छोरीले अंश पाएका घटना विरलै देखिन्छन् । चारवटा छोरालाई सम्पत्ति दिन सकिन्छ भने एउटा छोरी थपिँदा पाँचजनालाई पनि अंश दिन सकिन्छ भन्ने हरेक बाआमालाई बोध गराउनुपर्नेछ, यस्ता सचेतनाका लागि पनि प्रविधिको अत्यधिक प्रयोग बढाउनुपर्छ ।’’ उहाँले प्रविधिको प्रयोगमा महिलाको पहुुँच बढाउँदै यसको माध्यमबाट महिलाको जीवनस्तरमा परिवर्तन ल्याउनुुपर्ने पनि बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘प्रविधिको प्रयोगमा महिला पुरुषको अवस्था के छ यसबारे तथ्यांक निकालेर पहुँच बढाउनेतिर ध्यान दिनुपर्छ, ‘तल्लो तहमा भएका महिलालाई माथि ल्याउने र माथि पुगेका महिलालाई पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन पनि प्रविधिको प्रयोग गर्न आवश्यक छ ।’ अहिले महिला मन्त्रीले प्रविधि मन्त्रालय सम्हालेको समयमा केही सुरुवात गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले यसमा आवश्यक सल्लाह सुझाव दिन आम महिलालाई आग्रह गर्नुभयो । उहाँले नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले सूचना प्रविधिमा महिलाको सहभागिता र पहुँच बढाउन के गर्नुपर्छ आवश्यक सुझावका लागि सबैसँग आग्रह गर्नुभयो ।
पोखरा: जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७८÷२०७९को कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ। सोमबार एक विशेष सार्वजनिकरण कार्यक्रमको आयोजना गरि सो नतिजा सार्वजनिक गरिएको हो । सो मूल्यांकनको आधारमा अन्नपूर्ण गाउँपालिकाले ७०,रुपागाउँपलिकाले ६४.५ ,माछापुच्छ्रे गाउँपालिकाले ५४,मादी गाउँपालिकाले ५३ र पोखरा महानगरपालिकाले ४३ अंक प्राप्त गरेका छ्न। मुल्यांकनको कार्यविधी अनुसार विभिन्न ११८ वटा सुचकलाइ आधार बनाएर कुल १०० पुर्णाकको मुल्यांकन गर्ने गरिन्छ । सार्वजनिकरण कार्यक्रम लगत्तै आयोजित समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले नेपालमा नै पहिलो पटक औपचारिक कार्यक्रम आयोजना गरेर नतिजा सार्वजनिक गरिएको भन्दै सबै क्षेत्रमा कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरे। पौडेलले समृद्ध कास्कीका लागि सबै राजनितीक दल ,जनप्रतिनिधि र कर्मचारीहरूको बराबर भुमिका रहने हुँदा युद्धस्तरमा बित्तिय सुसासनका काममा खटिन आग्रह गरे । समिक्षा कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे , मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका उप सचिब रमेश घर्ती, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय गण्डकीका प्रमुख किशोरकुमार श्रेष्ठ ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्की प्रमुख केशवराज ढकाल सहित कास्किका जिल्ला समन्वय अधिकारी नबराज बराल , माछापुच्छ्रे गाउँपालिकाका उप प्रमुख सीता अधिकारी र कास्कि पालिकाका जनप्रतिनिधि ,प्रमुख प्रशासकिय अधिकृत सहित सो विषय सम्बन्धि फोकल पर्सन कर्मचारीहरूको उपस्थिति रहेको थियो।
काठमाडौं : नेपाल प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-४ सुकेधारा टोयटा पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धनुषा धनुषाधाम नगरपालिका-६ हरिपुर घर भई काठमाडौं आलोकनगर बस्ने २१ वर्षीय सन्तोष राज महतो र सोही ठाउँ बस्ने २१ वर्षीय नितेश महतो रहेका छन्। प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यसैगरी नागार्जुन नगरपालिका-५ छक्डोल बस्ने ३७ वर्षीय हरि पुतुवारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। उनको घरमा गाँजा विक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनले ड्रममा राखी टहरोमा गाडेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २८ वर्षीय उमेश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट जुगेडा र र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो। झापाको बिर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय विश्वास संग्रौला, सोही नगरपालिका-४ बस्ने २० वर्षीय अभिषेक शर्मा र सोही नगरपालिका-८ बस्ने २० वर्षीया अनिशा मण्डललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ११ हजार ६ सय रुपैयाँ र डिजिटल तराजु १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। सुनसरीको दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम ७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-३ बस्ने २७ वर्षीय अर्जुन सुब्बा र शिवसताक्षी नगरपालिका-८ बस्ने २१ वर्षीय मुकेश चौधरी रहेका छन्। सिआरभी दुहबीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ आउँदै गरेको मे.११ प ६१७८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित स्कुटर चालक अर्जुन र स्कुटरमा सवार मुकेशलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौं : नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। बढुवा समितिका सदस्य-सचिव एवम् प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहका अनुसार प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो। सूचनामा भनिएको छ, 'नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या ५ (पाँच) मा बढुवा गर्न मिति २०७९।११।२६ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।'
पोखरा: पोखरामा बागलुङ बसपार्क नजिक कार्यालय रहेको सूर्यदर्शन सहकारीका सेयर सदस्यहरुले जम्मा गरेको पैसा फिर्ता माग्न थालेको ६ महिना बढी भएको छ । सूर्र्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सेयर सदस्यले असोजदेखि सहकारीमा पैसा निकाल्न खोजेपनि अहिलेसम्म आफुले जम्मा गरेको रकम फिर्ता पाउन सकेका छैनन् । सहकारीले केही महिना अगाडि आर्थिक मन्दीको कारण देखाउँदै केही रकम निकाल्न पनि फरकफरक बारमा रकम निकाल्न सूचना जारी गरेको थियो । नेपालीको पर्व दशै तिहार लगायतका चाडपर्वमा समेत आफुले बचत गरेको रकम निकाल्न नपाएको सेयर सदस्यहरुले गुनासो गरेका थिए । सूर्यदर्शन सहकारी पीडितहरुले दिनहुँ सहकारीमा धाएपछि अहिले पोखरा महागनरपालिका धाउन थालेका छन् । एक पीडितका अनुसार सहकारीले जम्मा गरेको रकम फिर्ता नगरेपछि महानगर गुहार्न परेको बताए । सहकारीले असोजमा बैठक बसेर जति नै बचत रकम भएपनि ५० हजार रुपैयाँमात्र झिक्न दिने निर्णय गरेको थियो । केही महिना अगाडि सहकारीका व्यवस्थापक थानबहादुर बुढामगरले हाल तरलताकाकारण बचतकर्ताको आवश्यकता अनुसार भुक्तानी दिन नसकेको स्वीकार गरेको थिए । तर अहिले उनको नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सेयरधनीहरुले भदौ अन्तिम सातादेखि नै भनेको समयमा पैसा नपाएपछि सहकारीको कार्यालय धाउन थालेका थिए । सहकारीको कार्यालयपछि महानगरपालिकामा पीडित बिहीबार पोखरा महागनरपालिकाका मेयर धनराज आचार्य कार्यकक्षमा थिएनन् । उनी कार्यक्रममा बाहिर रहँदा सचिवालयमा सूर्यदर्शन सहकारी पीडितहरु मेयरको प्रतीक्षामा बसिरहे । कार्यक्रमबाट ढिला मात्र कार्यालयमा आउने भएकाले केही समय तल रहेको हेल्लो मेयर कक्षमा बस्न उनका स्वकिय सचिव पूर्ण लामाले आग्रह गरे । तर पीडितहरुले मेयर नआएसम्म सचिवालयबाट अन्त नजाने अडान राखे । एक पीडितले पोखरा बाहिरको मान्छेले पोखरालाई लुटे पनि आवश्यक कारवाहीका लागि अगाडि बढ्न नसकेको भन्दै आक्रोस पोखे । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका लगायत प्रशासनलाई लेखेको पत्र देखाउँदै पीडितले भने, ‘पोखरा लुटिरहँदा न्याय दिने प्रशासन कहाँ छ, किन खोजी गरिरहँदै, प्रशासनबाट उचित न्याय किन पाउन सकेका छैनौं, प्रश्न गरे ?’ सहकारी सञ्चालकलाई सम्पर्कमा ल्याउन पहल गर्न माग गर्दै सहकारी पीडितहरुले पोखरा महानगनरपालिकालाई गुहारेका हुन् ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्धको रिटमाथि सुनवाइ सकिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको हो। रिटको आदेश आउन बाँकी छ। रिटको पेशी बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको थियो। सो दिन रिटमाथि सुनुवाइ नभएपछि शुक्रबारका लागि सारिएको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध रिट दायर गरेका थिए। अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका छन्। १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए। उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो। त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए। गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो। अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए। त्यस्तै अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए। प्रचण्डविरूद्ध रिट दायर भएपछि माओवादी धारका पार्टीहरूले विरोध जनाएका छन्।
तनहुँ: गाउँका रैथाने बाली तथा स्थानीय सीपको बजारीकरण गर्न दमौलीमा कोसेली घर स्थापना गरिएको छ। घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँद्वारा ‘व्यास कोसेली घर’ स्थापना गरिएको हो। उत्पादित कृषि बाली तथा विभिन्न सामग्रीमा सिधै उपभोक्ताको पहुँच पुग्ने हुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई फाइदा पुग्ने तथा बिचौलियाको जरुरी नपर्ने समितिले जनाएको छ। कोसेली घरले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा समितिले लिएको छ। स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहज रूपमा बिक्री गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कोसेली घर’ सञ्चालनको अवधारणा ल्याइएको बताइएको छ। महिला उद्यमीले तयार गरेका सजावट तथा व्यवस्थापनका सामग्री घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकले खरिद गरेर लैजान सक्नेछन्। तनहुँका विकट क्षेत्रमा उत्पादित वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले लघु तथा घरेलु उद्यमीलाई बजारीकरणमा टेवा दिने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कल्पना गौलीले जानकारी दिनुभयो। घरेलु तथा साना उद्योग कार्यालयको हाताभित्र निर्माण गरिएको एककोठे भवनमा सञ्चालन गर्न लागिएको कोसेली घर फागुन २९ गते उद्घाटन गर्ने तयारी भइरहेको अध्यक्ष गौलीले बताउनुभयो। उक्त स्थानमा कोदो फापर, मास, तरुल, गिट्ठा, भ्याकुर, मस्यौरा, हात तथा तानले बुनेका झोला, टोपी, स्वेटर, पछ्यौरीलगायत विभिन्न उत्पादन बिक्रीका लागि राखिएको छ। आर्थिक रूपमा महिला दिदीबहिनीलाई सबल बनाउनसमेत कोसेली घरले सहयोग पुग्ने झापुटारमा व्यवसाय सञ्चालन गर्दै आएकी खिरमती मगरले बताउनुभयो। पर्यटन तथा उद्योग कार्यालय, तनहुँले उक्त कोसेली घर निर्माण गरिदिएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विनियोजित पाँच लाखबाट पसल सजावटको कार्य गरिएको गौलीले बताउनुभयो।
काठमाडौं: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् । यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पनि पूजा गरेका थिए । पूजा सकेर उनी आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय जाने कार्यक्रम छ । त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालालगायत नेताको शालिकमा माल्यार्पण गर्ने तथा सङ्ग्रहालयको अवलोकन गर्ने छन् । उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ पनि जाने कार्यक्रम छ । पूर्वसभामुख रहेका पौडेलले आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते लिने जनाइएको छ ।
राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उहाँ सधैँ चिनिनुभयो । अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुककै सर्वोच्च राजकीय पदमा आसिन भएको देख्न पाउने भएका छन् । तनहुँबाटै छ–छपटक चुनाव जितेर संसद्मा पुग्नुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । व्यास–८ रिस्तीको सामान्य किसान परिवारमा जन्मनुभएका पौडेल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुलाई तनहुँवासीले गौरवका रूपमा लिएका छन् । राष्ट्राध्यक्षका रूपमा पौडेलले देश र जनताको हितका पक्षमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय एकता प्रवद्र्धन तथा संविधानको रक्षामा राष्ट्रपतिले निष्पक्ष र अभिभावकीय भूमिका खेल्नुपर्नेमा जनसाधारणको जोड छ । त्रिभुवन विश्वविद्यालय शिक्षा सङ्कायका पूर्वडिन व्यास–३ का प्रा डा कृष्णप्रसाद गौतमले पौडेलजस्तो विचारले निखारिएको, सरल र विवादरहित व्यक्तित्वलाई राष्ट्रपतिका रूपमा पाउनु गर्वको विषय भएको बताउनुभयो । “रामचन्द्र पौडेल धेरै खारिएका नेता हुनुहुन्छ, प्रजातन्त्र स्थापनाका लागि उहाँले लामो सङ्घर्ष गर्नुभयो, जेल जीवन बिताउनुभयो, उहाँ निर्वाचित हुँदा राष्ट्रपति पदको गरिमा अझ बढेर गएको छ”, प्रा डा गौतमले भन्नुभयो । उहाँले नवनिर्वाचित राष्ट्रपति पौडेलले राष्ट्रहित र लोककल्याणकारी काममा आफूलाई समर्पित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रपति आलङ्कारिक भए पनि या सम्मानित र महत्वपूर्ण पद हो, विगतमा राष्ट्रपतिको भूमिकालाई लिएर केही टीका–टिप्पणी पनि भए”, प्रा डा गौतमले भन्नुभयो, “रामचन्द्र पौडेल अब तनहुँको मात्र नभई राष्ट्रको अभिभावक बन्नुभयो, उहाँले आफूलाई देशभक्त राष्ट्रपतिका रूपमा सावित गर्नेमा हामी आशावादी छौँ ।” तनहुँ–२ का पूर्वसांसद केदार सिग्देलले राष्ट्रपतिले साझा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “नवनिर्वाचित राष्ट्रपति तनहुँबाटै राजनीतिमा स्थापित हुनुभएको हो, उहाँ हाम्रो अग्रज पनि हो, जिल्लावासीका रूपमा हामी सबैका लागि यो गर्वको विषय हो”, उहाँले भन्नुभयो । नवनिर्वाचित राष्ट्रपति पौडेलका छिमेकी व्यास–२ अमरापुरी निवासी सावित्री अधिकारीले आफूले मत दिएर पठाएको व्यक्ति मुलुकको सर्वोच्च पदमा पुग्दा खुसी लागेको बताउनुभयो । “घर आउँदा सन्चोबिसन्चो सोधिराख्नुहुन्थ्यो, आज उहाँ राष्ट्रपति भएको थाहा पाउँदा धेरै खुसी लागेको छ”, अधिकारीले भन्नुभयो, “देश र जनताका लागि राम्रो काम गर्नुहुन्छ भन्ने आशा छ ।” पौडेलको जन्मगाउँ व्यास–८ रिस्तीका वडाध्यक्ष युवराज गुरुङले पौडेल राष्ट्रपति निर्वाचित हुँदा वडावासीमा खुसीयाली छाएको बताउनुभयो । नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले राष्ट्रलाई एकताबद्ध गर्न र संविधानको रक्षार्थ राष्ट्रपतिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले नवनिर्वाचित राष्ट्रपति पौडेलमा रहेको इमान, निष्ठा र त्यागको चरित्रले राष्ट्रपति पदको गरिमा अझ बढ्ने धारणा राख्नुभयो । “तनहुँ साहित्य क्षेत्रमा जसरी प्रख्यात छ, राजनीतिमा पनि उत्तिकै चर्चित छ”, अधिकारीले भन्नुभयो, “नवनिर्वाचित राष्ट्रपतिले निर्विवाद भूमिका खेल्नेमा हामी विश्वस्त छौँ ।” यस्तो छ नवनिर्वाचित राष्ट्रपति पौडेलको जीवनी विसं २००१ मा तनहुँको रिस्तीमा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित विसं २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाउनुभएको थियो । पौडेल विसं २०२३ मा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो । विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी हुनुभएको थियो । विसं २०४० मा पौडेल नेपाली कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक बन्नुभएको थियो । विसं २०४४ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा रहँदै आउनुभएको थियो । पौडेल २०४८ मा तनहुँ–१ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ । उहाँले सभामुखको जिम्मेवारी पनि निभाउनुभएको छ । तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि बन्नुभएको थियो । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गर्नुभएको छ । पौडेल गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि विसं २०४८, २०५१, २०५६, २०६४ र २०७० को आम चुनावमा पनि तनहुँबाटै निर्वाचित हुनुभएको थियो ।

