काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । नेपाल ट्रेड युनियन कांग्रेसको मङ्गलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्नुहुँदै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर सपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाइसकेको हुने स्मरण समेत गराउनुभयो । उहाँले सांसद, मन्त्री भईसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रुपमै भए त्यो झनै राम्रो हुने धारणा समेत राख्नु भयो । ‘‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्याएर सपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले सपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाइसकेको हुन्थ्यो । डा. रामवरणले दुई पटक, विद्या भण्डारीले दुई पटक सपथ ग्रहण गर्नु भयो । र अहिले आएर रामचन्द्र पौडेल हुनुभयो ।,’’ महामन्त्री शर्माले भन्नुभयो, ‘‘राजनीतिमा रुपान्तरणभन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको सपथग्रहण गरोस् । तीन पटक मन्त्री हुँदैगर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । चार पटकसम्म सांसद बनोस् । पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस् ।’’ महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरुको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताउनुभयो । महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाहको छनौट गर्न नहुने पनि पटक–पटक दोहोर्याउनुभयो । महामन्त्री शर्माले भन्नुभयो, ‘‘हामीले त्यसलाई एउटा राष्ट्रिय रुपमा एउटा उत्पादनको दशक, उत्पादन अभिवृद्धि गराउने, निर्माणको एउटा दशक बनाउने काममा तीव्रता दिने काममा लाग्न सके यसले राजनीतिक रुपमा पनि आकर्षण गराउँछ । हाम्रो अहिलेको पुस्ताले बोक्नै नसक्ने रेलमार्गलगायतका आयोजनाहरु बोकेर जाने कुराले वितृष्णा मात्रै जगाउँछ ।’’ महामन्त्री शर्माले राजनीति जनताको आर्थिक रुपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पार्नु भयो ।
काठमाडौँ: देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । मंगलबार केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरुले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका हुन् । उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंक विरुद्ध सडक संर्घषमा उत्रिएका छन् । देशभरका उद्योगी व्यवासायीहरुले राष्ट्र बैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महशुस गराउन ध्यानाकर्षण समेत गरेका छन् । विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरु आफ्ना पीडा पोख्नको लागि राष्ट्र बैंक आएको बताए । उनले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले अर्को ब्याजदर दिएको बताए । उनले यो विषयमा सरकारले तत्काल समाधान दिन आवश्यक रहेको बताए । उनले व्यवसायीहरुको व्यापार सुस्त भएको अवस्थाका उच्च ब्याज दिनसक्ने अवस्था नभएको बताए । उनले सरकारले व्यवसायीहरुसँग छलफल गरी समाधान गर्न आग्रह गरे । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरुको आन्दोलन निरन्तर चल्ने बताए । उनले प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल तत्काल गर्नुपर्ने बताए । उनले ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायित्व आवश्यक रहेको बताए । उनले अर्थतन्त्र एकदमै संकटमा रहेकाले व्यवसायीहरुले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न नसक्ने अवस्था नभएको बताए । त्यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायीहरु बैंक विरुद्ध सडक आन्दोलन गर्दा समेत नेपाल सरकार र सम्बन्धित निकायहरु समस्या समाधान गर्न गम्भिर नभएको आरोप लगाए । उनले पछिल्लो समय बैंकको चर्को ब्याजदर लगायत दादागिरीको कारण व्यवसायीहरु मर्कामा परेको बताए । उनले बैंकहरुले उद्योगी व्यवसायीहरुलाई सुकुम्वासी बनाउने काम गर्न लागेको बताए । विगत एक वर्षदेखि व्यवसायीहरू बैङ्कको ज्यादतीबिरुद्ध आन्दोलनमा रहेपनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रीय बैंक गर्न बाध्य भएको व्यवसायीहरुले बताए । आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघहरूसँग आबद्ध भएका वस्तुगत संघहरु आन्दोलनमा सहभागिता रहेको छ । आन्दोलनमा व्यवसायीहरुले बैंकिङ आतंक बन्द गर,ब्याजदरमा स्थिरता कायम गर,चालु पुँजीकर्जा मार्ग निर्देशन स्थगन गर,ब्याजदर हामीलाई चर्को भो,गरिखान गाह्रो भयो,उच्च सेवा शुल्क बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।
पोखरा: पोखराका व्यवसायीहरुले करको बक्यौता तिर्न अटेर गरेको पाइएको छ । आन्तरिक राजश्व कार्यालय पोखराका अनुसार व्यवसायीहरुले मूल्य अभिवृद्धि करको बक्यौता रकम नतिर्दा उनीहरुलाई थप भार परिरहेको जनाएको छ । निर्धारित समयमा कर नतिर्दा ऐन अनुसार त्यसको जरिवाना थपिँदै जान्छ । जरिवाना थपिँदै जाँदा सुरुमा निर्धारित भएको कर दूई गुणा बढी पुगेको राजश्वको तथ्यांक छ । व्यवसायीहरु निर्धारित समयमै कर तिर्न किन आनाकानी गर्छन् ? राजश्व कार्यालयको जवाफलाई मान्ने हो भने व्यवसायीहरुमा पछिल्लो समय अटेरी प्रवृत्ति बढिरहेको छ । सरकारले समयसमयमा कर उठाउन व्यवसायीहरुलाई सहुलियत दिएका कारण पनि उनीहरुले अटेर गरेका हुन् । लामो समयसम्म कर नतिरेका कम्पनीलाई सरकारले छूट दिने नजीर बसेपछि व्यवसायीहरु त्यस्तै अवसरको प्रतीक्षामा बस्ने गरेको समेत पाइएको छ । राजश्व कार्यालय पोखराले पछिल्लो समय सामाजिक सञ्जालमार्फत विवरण अद्यावधिक नगर्ने र कर नतिर्ने कम्पनीहरुको नाम सार्वजनिक गर्दै आएको छ । ‘उहाँहरुको नाम सार्वजकि गर्नुको उद्देश्य समयमै अपडेट होस् र कर बक्यौता भुक्तानी होस् भन्ने चाहना हो’ कार्यालयका कर अधिकृत गोपाल गिरी भन्छन् ‘तर ऐन, नियम पालना गर्ने काम भएको छैन ।’ राजश्वको भनाई मान्ने हो भने व्यवसायीले कानून नटेर्ने र स्किम आएपछि तिरौंला भन्ने मानसिकता हावी भएको छ । ‘केही व्यवसायी स्किमको पर्खाइमा छन् तर सँधै त्यो सम्भव छैन, अटेरी प्रवृत्ति बढेको छ ।’ पछिल्लो समय बक्यौता रकम तुरुन्त तिर्न राजश्वले जानकारी गराइसकेको भन्दै बेवास्ता गर्नेलाई आयकर ऐन – २०५२ अनुसार कार्वाही गरिने अधिकृत गिरीले जनाए । गिरिका अनुसार करको बक्यौता नतिर्नेमा पोखराका नाम चलेका व्यवसायीहरुकै संख्या अधिक छ । ऐन अनुसार ‘कर्जा असुली’ अन्तरगत कम्पनीको चल÷अचल सम्पत्ति कब्जा गर्ने, लिलाम बिक्री गर्ने देखि करदातालाई नेपाल बाहिर जान रोक लगाउनेलगायतका कारवाही उल्लेख छ । राजश्वले जनाएअनुसार १० करोड रुपैयाँको हाराहारीमा बक्यौता तिर्नुपर्ने कम्पनी पनि रहेका छन् । कर अधिकृत गिरी भन्छन् ‘फुलबारी रिसोर्टले तिर्नुपर्ने बक्यौता १० करोड रुपैयाँ बढी छ ।’ त्यस्तै, ५–७ करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने कम्पनी थुप्रै छन् । यतिधेरै बक्यौता रकम भने करमात्र हैन । व्यवसायीले समयमै कर नतिर्दा बक्यौता हुँदै त्यसको जरिवानासहित राशी दोब्बर भएको हो । यसअर्थमा कर बक्यौताको हिसाबकिताब मिटर ब्याजको रफ्तारमा कुद्ने गरेको छ । बक्यौताको जरिवाना मिटर ब्याजजस्तै चर्काे भएको स्वयं अधिकृत गिरी स्वीकार्छन् । गिरी भन्छन् ‘बक्यौताको १५ र जरिवाना १० जोड्दा २५ प्रतिशतले मिटर घुम्छ ।’ राजश्वले जनाए अनुसार मूल्य अभिवृद्धि करको बक्यौतापछि ब्याजदर निकै चर्काे छ । जति ढिलो हुँदै गयौं उत्ति चर्काे हुँदै जान्छ । फुलबारी रिसोर्टको हकमा कारोबार नभएको धेरै वर्ष बितिसकेको छ । तर सञ्चालनमा रहँदा उसले देखाएको हिसाबकिताब अनुसार कर तिर्न बाँकी छ । ब्यापार भएकाबेला लिएको नाफाको निश्चित अंश करस्वरुप नतिरेपछि त्यसको जरिवाना बढिरहेको छ । हाल निकालेको सूचनामा पनि निर्धारित समयसम्म कर तिर्न खबरदारी गरेको तर जरिवानाको मिटर घुमिरहेको राजश्वको भनाई छ । ‘व्यापार चलेको बेला हिसाब देखायो तर कर तिरेन, निर्धारित समयमा नतिरेपछि जरिवानाको मिटर चल्यो’ गिरीले भने । कास्कीमा ६५ हजार हाराहारीमा करदाता छन् जसले व्यावसायिक पान नम्बर लिएका छन् । कसले कति कमाई ग¥यो वा कसरी अडिट रिपोर्ट बनायो भन्ने जानकारी राख्न राजश्वलाई कठिन छ । प्रायः करदाताले आफुखुशी तयार पार्न लगाएको रिपोर्टलाई नै आधार मान्नु पर्ने राजश्वको बाध्यता छ । गिरीकैै अनुसार व्यवसायीले तयार पारेको ‘सेल्फ एसेसमेन्ट’लाई नै आधार मानिन्छ । त्यसो त राजश्वसँग अनुसन्धान शाखा र सम्बन्धित कर्मचारी पनि छन् । तर मुस्किलले वार्षिक १ हजारजनाको मात्रै छानबिन गर्नसक्ने राजश्वले जनाएको छ । ‘६४ हजार करदाताले जे विवरण बुझाए त्यही सदर गर्नुपर्ने बाध्यता छ’ अधिकृत गिरी निरिह सुनिए ।
काठमाण्डाै: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनुभयो । आज मङ्गलवारदेखि काठमाण्डाैमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मानव अधिकारको रक्षाका लागि लड्न पार्टी निकट मानव अधिकार एलाइन्सलाई निर्देशनसमेत दिनुभयो । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमानदार र समर्पित भएर लाग्न पनि एलाइन्सलाई सचेत गराउनुभयो । उहाँले भन्नु भयो, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिँदैन । त्यस कारण हाम्रो एलाइन्स मानव अधिकारप्रति समर्पित, इमानदार हुनुपर्दछ ।’ अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताउनुभयो । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले बुद्ध जन्मेको देशका मानिसहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुनेसमेत बताउनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यस कारण हामी हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन ।’ अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उल्लङ्घनकर्ताहरूले नै बढी मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।
काठमाडौं: अनलाइनमार्फत १५ लाख २० हजार रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्के हुनुुहुन्छ । अन्जलीले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इंगल्याण्डको नागरिक बताएको र नेपाल आएपछि विवाह गरी इंगल्याण्ड लैजाने प्रलोभन देखाएको प्रहरीले जनाएको । साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलाएको अनुसन्धानबाट देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ । त्यस्तै, कुरियर कार्यालयबाट पार्सल पाउनका लागि Anti-money laundering certificate, डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटकपटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अन्जलीलाई पक्राउ गरेको हो । अन्जलीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई चीन र जापानले बधाई दिएको छ। सोमबार शितलनिवासमा पौडेलले पदभार ग्रहण गरेपछि चीन र जापानले बधाई दिएका हुन्। नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत छन् सोङ्ले चीन सरकारका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्। यसैगरी जापानका प्रधानमन्त्रीले पनि राष्ट्रपति पौडेललाई बधाई दिएका छन्। नेपालस्थित जापान दूताबासमार्फत उनले जापान सरकारको नेपालसँग थप काम गर्न तत्पर रहेको जनाएका छन्। उनले नेपाल-र जापानबीच दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन र सहकार्य गर्ने उल्लेख गरेका छन्। गत मंसिरमा पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको थियो। सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान नेपालस्थित जापानीदुतावासले पौडेलकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको थियो।जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’पौडेलले पाएका थिए। विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए। पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गरेको थियो।
काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे जिज्ञासामा उहाँले सङ्घीयता कार्यान्वयनका धेरै राम्रा, केही पेचिला र केही नकारात्मक पक्ष भएको टिप्पणी गर्नुभयो । मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “संविधानको परिपालना भनेको पाठ पढाउने विषय होइन, पालना नै लोकतन्त्रको अनिवार्य सर्त हो । लोकतन्त्रको जेठासी र क्रान्तिकारी हुँ भन्नेबाटै पनि संविधान उलङ्घन भएको छ ।” दलको नीति, सिद्धान्त, विचार, पहिचान र चुनाव चिह्नसमेतलाई तिलाञ्जलि दिएर चुनावमा होमिनु भनेको अवसरवादलाई व्यापक र व्याप्त बनाउने कार्य भएको जनाउँदै मुख्यमन्त्री अधिकारीले यस्ता नकारात्मक पक्षलाई तुरुन्त सच्याउन आवश्यक रहेको बताउनुभयो । एक प्रसङ्गमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य अधिकारीले भन्नुभयो, “प्रदेशको औचित्यमाथि गम्भीर प्रश्न उठेका बेला तीन–तीन महिनामा सरकार फेर्ने हो भने यसको सान्दर्भिकतामाथि प्रश्न चिह्न खडा हुन्छ, यो दुर्भाग्यपूर्ण विषय हो । प्रदेश मन्त्रालयको सङ्ख्या घटाएर, मितव्ययी बनाएर तथा जनताको नजिकैको सरकारको अनुभूति दिलाएर यसको जवाफ दिन हामी खोजिरहेका छौँ ।” देशको स्वाधीनता र लोकतन्त्रमाथि प्रश्न चिह्न खडा गर्ने काम नेपाल र नेपालीलाई सह्य नहुने बताउँदै नेता अधिकारीले लामो सङ्घर्ष र बलिदानका उपलब्धिका रूपमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन तीन तहकै सरकारबीच समन्वय र सहकार्य तथा राजनीतिक दलका नेता एवं कार्यकर्तामा सुझबुझ र धैर्य आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “राजनीतिक प्रभावभन्दामाथि उठेर गण्डकी विश्वविद्यालय, त्यसको नीतिसँग सम्बन्धित प्रशिक्षण प्रतिष्ठान, जनशक्ति र आवश्यकता अनुसारको संरचना, प्रादेशिक अस्पताल निर्माणजस्ता प्रदेशका उपलब्धि र धेरै राम्रा पक्ष हुन् ।” प्रदेशले केन्द्रीय सरकारबाट खास गरी प्रहरी समायोजन तथा सङ्घीय निजामती ऐन र साझा अधिकारसम्बन्धी ऐन छिटो आओस् भनेर जोडबल गरिरहेको बताउँदै पूर्वस्वास्थ्य तथा जनसङ्ख्या अधिकारीले वित्तीय अधिकारलगायत विषयमा छिटो कानुन तर्जुमा नहुँदा ठूलो चुनौती खडा भइरहेको धारणा राख्नुभयो । प्रदेशको अग्रसरतामा निर्माणका लागि बोलपत्र आह्वान भई अघि बढिरहेका हजाराँै योजना सङ्घीय सरकारले आफ्नो मातहत लगेर प्रदेशलाई कमजोर तुल्याउन खोजेको आरोप लगाउँदै उहाँले स्रोतको सुनिश्चितता नभइ आयोजना अघि बढाउँदा समयमा प्रतिफल प्राप्त हुन कठिनाइ हुने धारणा राख्नुभयो । त्यसरी योजना अघि बढाउँदा प्रदेशको स्वअधिकार नहुने मात्र नभइ केन्द्रको छायामा मात्र सीमित हुन पुगेको बताउँदै मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “प्रदेश अहिले नाम मात्रको सरकारका रूपमा छ, ऊसँग न प्रहरी छ, न कानुन न त कर्मचारी नै ।” पोखरामा केही समयअघि भएको हवाईजहाज दुर्घटनाको उद्धारका लागि तत्काल परिचालन गर्न कर्मचारी र जनशक्ति नभएको घटना सुनाउँदै उहाँले भन्नुभयो, “प्रदेशका लागि चाहिने कानुनी व्यवस्था, जनशक्ति र भौतिक संरचनाकै अभाव छ ।” राज्य पुनःसंरचना र पूर्वाधार बनाउन पञ्चवर्षीय योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको बताउँदै मुख्यमन्त्री अधिकारीले विकास निर्माणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच दोहोरोपना नपरोस् भनी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरिसकिएको जानकारी दिनुभयो । “संविधानमा लेखिएका, व्यवहारमा देखिएका विषय जति नै उठान गरे पनि केन्द्रीकृत मानसिकताका कारण अपेक्षाकृत परिवर्तन हुनसकेको छैन । राष्ट्रहित र जनहित विपरीत अवसरवादलाई राजनीतिको सिद्धान्त बनाइन हुन्न”, पूर्वगृहमन्त्रीले भन्नुभयो । सामान्य छलफल र निर्णयबाट कतिपय विषय संवैधानिक अन्तरप्रदेश समन्वय परिषद्को बैठकले टुङ्ग्याउन सक्ने भए पनि लामो समयदेखि नबसेका कारण थाँती नै रहेको बताउँदै मुख्यमन्त्री अधिकारीले प्रहरी समायोजन, साझा अधिकार र निजामती ऐन नबनेसम्म सङ्घीयता कार्यान्वयन भएको अर्थ देखिन्न भन्नुभयो । उहाँले प्रदेशको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय सरकारले तत्काल जग्गा प्राप्ति ऐनमा संशोधन गरेर स्वामित्व र निक्र्योल गर्न सक्ने अधिकार स्थानीय तह र प्रदेशलाई दिन सङ्घीय सरकारसँग माग गर्नुभयो । मुख्यमन्त्री अधिकारीले संविधानले व्यवस्था गरेअनुरुप सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय, सहअस्तित्व र सम्बन्धका आधारमा कानुनी, संवैधानिक र अरू समस्यालाई तदअनुकूल सम्बोधन गरी अघि बढ्ने वातावरण बनाउन केन्द्रीय सरकार र राजनीतिक दललाई आह्वान पनि गर्नुभयो ।
काठमाडौँ: मंगलबार एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढ्दै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
गोरखा: गोरखामा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा आरुघाट गाउँपालिका १० गोरखाका मिनी ट्रकका चालक ४० वर्षिय उमेश श्रेष्ठ र मोटरसाइकलमा सवार दोलखाका ३२ वर्षिय विष्णु खड्का रहेका छन् । प्रहरीका अनुसार हिजो (सोमबार) दिउँसो करिब १ बजे गोरखा नगरपालिका ६ बिसौना मोडमा गोरखा बजार आउदै गरेको प्र.३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आएको बा ८६ प १७८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ट्रक र मोटरसाइकल सडकबाट करिब २० मिटर तल खसेको थियो । ‘ ट्रकको ओभरस्पिड देखिएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिएर सडक किनारमा रहेको सर्वसाधारणलाई पनि लतारेर लगेको देखिन्छ ।' घटनामा खटिएका एक प्रहरी अधिकृतले सुनगाभा न्यूजसँग भने । उनले सो दुर्घटनामा परी ६ जना घाइते भएको जानकारी दिए । हाल घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनबारे थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ ।

