क्रोएसिया पठाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। काभ्रे रोशी गाउँपालिका-८का ४६ वर्षीय मेघलाल तामाङलाई प्रहरीले सोमबार काठमाडौं-३१ मिनभवनबाट पक्राउ गरेको हो। उनले तीन जनालाई क्रोएसिया जान प्रतिव्यक्ति ७ लाख लाग्ने बताएका थिए। त्यसरी मासिक एक लाख भन्दा धेरै तलब हुने भन्दै उनीहरूबाट १५ लाख ठगेको आरोप छ। रकम लिएर फरार भएका उनलाई प्रहरीले पक्राउ गरी कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताउनुभएको छ । विकृति र विसङ्गतिमाथि प्रहार गरेर गलत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु नेपाली सञ्चारमाध्यमको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले त्यसरी नै राम्रा कामका लागि प्रेरित गर्ने पाटो भने कमजोर भएकाले यसमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘नारी अनलाइन पत्रिका’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने बताउनुभयो । विभिन्न आन्दोलन र युद्धको परिणामस्वरूप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उहाँले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र होइन, एउटा समुदायकै विकासको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको र जुनसुकै क्षेत्रमा रहेका महिलाहरूले आफूलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभयो । समान जिम्मेवारी पाएका पुरुष र महिलाको आन्तरिक जिम्मेवारी फरक फरक हुने उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति समेत रहनुभएको मन्त्री शर्माले भन्नुभयो, ‘‘हिजो हामी जनयुद्धमा हुँदा पुरुषले बन्दुक मात्र बोके पुग्थ्यो तर महिलाले बन्दुक र बच्चा एकैसाथ बोक्नुपर्थ्यो, अहिले निकै माथिल्लो तहमा पुगेका महिलामा पनि सार्वजनिक र पारिवारिक जिम्मेवारी सँगसँगै बोकेको देखिन्छ ।’’ विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘‘यसमा सञ्चारमाध्यममा बढी ध्यान दिनुपर्छ, महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाहरूको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक छ ।’’ अर्को एक प्रसङ्गमा अहिलेसम्म अनलाइन मिडियालाई कानुनले चिन्ने अवस्था नभएकाले चाँडै नै आम सञ्चार ऐनमार्फत अनलाइनलाई पनि कानुनले सम्बोधन गर्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । त्यसका लागि आम सञ्चारकै क्षेत्रका विज्ञहरूको समिति बनाएर काम थालिएको पनि उहाँले जानकारी दिनुभयो । नीति कार्यक्रम र बजेट समय भएकाले सूचना र सञ्चारमा महिलालाई कसरी जोड्न सकिन्छ सुझाव दिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
काठमाडौं: निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा हुनुभएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान राष्ट्रपति भण्डारीलाई आँखीझ्याल उपहार दिएर बिदाइ गर्नुभएको छ । भण्डारी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको छ । २०७४ साल फागुन २९ गते भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा बन्नुभएकी उहाँ २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।
काठमाडौं : सुनको मूल्य बढ्ने क्रम जारी छ। अघिल्लो कारोबार दिन आइतबार १ हजार ७०० रुपैयाँले बढेको सुन सोमबार तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० पुगेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य समेत बढेको छ। आज चाँदी तोलामा १० रूपैयाँले बढ्दा प्रतितोला १ हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।
नयाँ दिल्ली : सन् २०२३ को ओस्कारमा भारतले दुईवटा अवार्ड पाएको छ । निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामा ओस्कार अवार्ड जितेको हो । 'नाटु-नातु' ओस्कार जित्ने पहिलो भारतीय प्रोडक्सनले बनाएको गीत हो। गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिँदै भने, ‘म सिकर्मीहरुको कुरा सुनेर हुर्केको मान्छेले आज ओस्कार जितेको छु ।' यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो। ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए ।
पोखरा: राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो छोरीको घरमा सर्ने भएकी छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै शीतलनिवास जाने तयारी छ । राष्ट्रपति भण्डारीका सचिवालयका अनुसार भण्डारीको घर बन्दै गरेकाले शीतलनिवासबाट केही समय छोरीको घरमा सर्ने तयारी गरेकी हुन् । भण्डारीका दुई छोरीहरु छन् । प्रथम राष्ट्रपति डा. रामवरण यादव झन्डै आठ वर्ष र राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो र तेस्रो कार्यकालका लागि सात वर्ष गरी १५ वर्ष राष्ट्र प्रमुखको दायित्वमा रहेकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथग्रहण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको कार्यभार समाल्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी हिजो (आइतबार) नै काठमाडौं पुगेका छन् । राष्ट्रपति भण्डारीलाई बिदाइ गर्ने भन्दै मुख्यमन्त्री अधिकारीलाई काठमाडौं निमन्त्रणा गरेको हो । नेकपा एमालेले भोलि उपराष्ट्रपतिको निर्वाचन केन्द्रित छलफल गर्ने भएकाले मुख्यमन्त्री अधिकारी काठमाडौं गएका हुन् ।
पोखरा: पोखरा महानगरपालिकाले सातौँ स्थापना दिवस मनाएको छ । पोखरा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिनुभयो । संविधानले महानगरपालिलाई आफ्ना लागि आवश्यक पर्ने नियम कानुन आफैले निर्माण गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ, नगरपालिकाले नीति बनाउन सक्छ, त्यो नीतिलाई कार्यान्वयन गर्न पाउँछ, प्रमुख गुरुङले भन्नुभयो, नगरपालिकाको कोष बढाउनका लागि कर लगाउने अधिकार पनि दिएको छ, त्यसकारण जनप्रतिनिधि जनताले दिएको जिम्मेवारीको स्मरण गर्दै छातीमा हात राखेर जनताको सेवामा समर्पित हुनुपर्छ ।” नागरिकहरूलाई सेवा दिने क्रममा दलीय स्वार्थको गन्ध आउनु नहुने भन्दै उहाँले निस्वार्थ भावका साथ सेवा दिनुपर्ने बताउनुभयो । नेतृत्वको चरित्रका विषयमा नागरिकहरू जानकार रहेको उल्लेख गर्दै प्रमुख गुरुङले सचेत हुनु आवश्यक रहेको बताउनुभयो । “जनताका सामु आफूले खाएको बाचा बिर्सनु हुँदैन, संविधान र जनताको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भनी खाएको कसम बिर्सनु हुँदैन, उहाँले भन्नुभयो, आफूले गरेको बाचा र कसम प्रति सदा सर्वदा सचेत रहने, होइन भने जनताले पछाडिबाट हेरिरहेका छन्, यी कुरालाई हामीले निर्माण गर्ने नीति नियम र जनसेवाका सन्दर्भमा विशेष ख्याल गर्नुपर्दछ ।” जनताको हित रक्षाका लागि कुनै प्रभावको अलमलमा परेर पछाडि फर्कने छुट जनप्रतिनिधिलाई नहुने उहाँले सुझाव दिनुभयो । स्थानीय सरकारका सामु जनताको अपेक्षा पुरा गर्न निकै चुनौतीपूर्ण रहेको बताउँदै उहाँले उपयुक्त योजनाको सफल कार्यान्वयन मार्फत जनअपेक्षा पुरा गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकार जनताको नजिकको सरकारका भएकाले पनि यसप्रति जनअपेक्षा निकै ठुलो रहेको प्रदेश प्रमुख गुरुङले स्मरण गराउनुभयो । संविधानको विरुद्धमा रहेका शक्तिहरूको चलखेल बढिरहेको उल्लेख गर्दै उहाँले जनताको भावना विपरीतका गतिविधिहरूलाई रोक्न सरकारको सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताउनुभयो । समारोहमा गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले महानगरपालिकाको समग्र भूगोलको समानुपातिक तथा सम न्यायिक विकासमा जोड दिनुभयो । “पोखरा महानगरपालिकालाई दायित्व सँगै पूर्वाधार निर्माणको जिम्मेवारी पनि थपिएको छ, मन्त्री गुरुङले भन्नुभयो, पछिल्लो पटक थपिएका ग्रामीण वडाहरूमा महानगरका आधारभूत पुर्वाधारहरुको कमी छ, त्यसको आवश्यकता परिपूर्तिका लागि सम न्यायिक विकास जरुरी छ ।” महानगरपालिकाले निर्माण गर्ने नीति तथा कार्यक्रममा यस प्रकारको दृष्टिकोण आवश्यक रहेको मन्त्री गुरुङले बताउनुभयो । महानगरको समुन्नतिको यात्रामा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उहाँले विश्वास दिलाउनु दिलाउनुभयो । पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले पोखरालाई जीवन्त र चलायमान सहरको रूपमा विकास गर्नु पर्ने बताउनुभयो । “पोखरा महानगरपालिकालाई जीवन्त सहरको रूपमा विकास गर्ने हामी सबैको सोच हो, विकास मात्र पर्याप्तता होइन, विकास मात्र साध्य होइन, संयोजक मुल्मीले भन्नुभयो, यो सहरलाई जीवन्त राख्नका लागि राजनीतिक रूपमा, आर्थिक रूपमा, सामाजिक रूपमा, सांस्कृतिक रूपमा अथवा हामी सबै हिसाबले चलायमान हुन जरुरी छ ।” अन्तर्राष्ट्रिय सहरका रूपमा विकसित हुँदै गरेको पोखराको विकासमा समस्या र चुनौतीहरू दुवै रहेको बताउँदै संयोजक मुल्मीले यसको सामनाका लागि एकीकृत प्रयासमा जोड दिनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बितेको नौ महिनामा थुप्रै स्मरणयोग्य कामहरू सम्पन्न गरिएको बताउनुभयो । पोखरा महानगरपालिकालाई समुन्नत बनाउने सन्दर्भमा पहिलो वर्षलाई आधार वर्षका रूपमा विकासका आधारहरू तय गरिएको उहाँले बताउनुभयो । यसको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू सहित आफूहरू लागि परेको प्रमुख आचार्यले बताउनुभयो । शिक्षा, स्वास्थ्य लगायतका आभार भूत विषयहरूलाई मसिनो गरी अगाडी बढाएको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं.२ का अध्यक्ष एवं नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानाङ्गले जनताका सामु गरिएका बाचाहरू पुरा गर्न आफुनहरु प्रतिबद्ध रहेको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं.१७ की अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिका कुमारी शाही योगीले समुन्नत महानगर निर्माणको अभियानमा हातेमालो गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । समारोहमा विभिन्न सम्मानहरू समेत प्रदान गरिएको छ । पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा वर्गीकरण कार्यमा विशेष सहयोग गर्ने नापी कार्यालय कास्कीका नापी अधिकृत ई.प्रदीप श्रेष्ठ, नापी अधिकृत ई.शोभा आचार्य, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने जिल्ला ट्राफिक प्रहर कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक प्रवीण आचार्य, गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउन सफल विक्रम खड्कालाई सम्मान गरिएको छ । यस्तै वातावरण संरक्षणका लागि महाअभियान कास्की, श्री पश्चिम पृतना हे.क्वा विजयपुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरा, श्री राईजिङ यूथ क्लब पोखरा २७, श्री भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लि., दीपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लि. लगायतलाई पोखरा महानगरपालिकाद्धारा सञ्चालित सरसफाइ अभियानहरूमा विशेष सहयोग गरे बापत कदर पत्र प्रदान गरिएको हो । महानगरपालिकाले नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सवका अवसरमा २६ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक समेत प्रदान गरेको छ । सो पदक प्राप्त गर्नेमा किरण प्रसाद कोइराला, माधव प्रसाद तिवारी, नानीबाबु ढकाल, लोकदर्शन कोइराला, कमला गुरुङ, सावित्री तिमिल्सीना, स्थाने स्वर ढुङ्गाना, देवी कुमारी गुरुङ, शेर बहादुर कुँवर, बुद्धिमान नेपाली, तीर्थ कुमारी अधिकारी, लक्ष्मीदेवी शर्मा, द्रोणबन्धु भुत्र्याल, सन्तबहादुर के.सी, तेज बहादुर थापा, रमेश पौडेल, यज्ञ बहादुर गायक, ध्रुव गायक, पूर्ण कामी, सो माया कामी, गणेश कुमारी श्रेष्ठ, सम्झना गायक, बालु जलारी, टिकामाया जलारी, सानो मसिनी दर्जी र भगवती गायक रहनुभएको छ । २६ जना कर्मचारीलाई दिर्घसेवा सम्मान, कडरिया वर्षकै सर्वोत्कृष्ट कर्मचारी घोषित महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया वर्षको सर्वोत्कृष्ट कर्मचारीबाट सम्मानित हुनु भएको छ । यस्तै नेत्रप्रसाद तिमिल्सीना, हर्क गायक, नरेन्द्रदेवी पौडेल, लक्षु गायक, रोशनी थापा मगर, पुरुषोत्तम थापा, शर्मिला भण्डारी, रवीन्द्र अधिकारी, लोक दर्शन कोइराला र प्रमोद गुरुङ वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित हुनुभएको छ । सर्वोत्कृष्ट कर्मचारी कडरियालाई नगद रु.२५ हजार र अन्यलाई नगद रु.१५ हजारका दरले सम्मान गरिएको हो । सो अवसरमा पोखरा महानगरपालिकाद्धारा प्रकाशित पोखरा दर्पण विशेष अङ्क समेत विमोचन गरिएको छ भने, होटेल ग्रान्डलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । यस अधि पोखराको मानवअधिकार चोक देखी पोखरा सभागृहसम्म प्रभात फेरी गरिएको थियो । महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाइ तथा कर्मचारी र जनप्रतिनिधि बिभ मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत गरिएको थियो ।
काठमाडौं: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि दिउँसो १ बजे शीतल निवासमा विशेष समारोहको आयोजना गर्दैछ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने जनाइएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको जानकारी दिनुभयो। उहाँका अनुसार उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका हुन् । उहाँले अवरुद्ध भएको क्याम्पसमा निर्वाचन प्रक्रिया थाल्न क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । “हामी यसपटक सबै क्याम्पसमा निर्वाचन गराउने छौँ”, उहाँले भन्नुभयो, “रोकिएको क्याम्पसमा विद्यार्थी सङ्गठनसँग वार्ता गरेर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छौँ ।” आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस, जनप्रशासन क्याम्पसमा रोकिएको निर्वाचन प्रक्रिया आजै सुरु गर्ने उहाँले जानकारी दिनुभयो । हिजो उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको हो । दुई क्याम्पसमा निर्विरोध खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले दुई क्याम्पसमा निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा बहुमुखी क्याम्पस गोरखा र धनकुटा बहुमुखी क्याम्पस धनकुटामा स्ववियुको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । यसपटकको स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट हुँदैछ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । आजै उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।

