काठमाडौं: नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताउनुभएको छ। काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। नेपाली भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको उहाँको भनाइ छ। अध्यक्ष ओलीले नेपालीहरू बहादुरमात्रै नभई बुद्धिमानी पनि रहेको बताउनुभयो। उहाँले नेपालका पुर्खाहरू जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गर्नुभयो। उहाँले वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरूको बारेमा नेपालीहरूलाई बुझाउन आवश्यक रहेको बताउनुभयो। ओलीले नेपाल इतिहासमा पनि विद्वानहरूको भूमि भएको र भविष्यमा पनि विद्वानको भूमि हुने बताउनुभयो। उहाँले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भए पनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘नेपालीलाई बहादुर मात्रै भनिएको छ। तर बहादुर मात्रै होइन, नेपालीहरू विद्वान पनि छन्। हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन्। वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे। २६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए। पाणिनी अर्घाखाँचीका थिए। यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ। यो इतिहासमा पनि विद्वानको भूमि हो। भविष्यमा पनि विद्वानहरूको भूमि हुनेछ।’’ अध्यक्ष ओलीले नेपाल जस्तो पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले नेपाल ऐतिहासिक भूमि भएको बताउनुभयो।
काठमाडौं: बागमती नदी नेपालीहरूको आस्थाको केन्द्र हो । हिन्दुहरूका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता त्यत्तिकै छ । हिन्दुहरूको मात्रै नभई किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यकता र औचित्य हिन्दु समान छ । बागमती नदीको सभ्यता धेरै गर्विलो छ । बागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाइमा चासो नहुनु नै हो । ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको बागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन । पछिल्लो समय बागमती सरसफाइ अभियानसँगै बागमतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय नै छैन । ढल, फोहोर र दुर्गन्धपूर्ण बागमती नदी स्वच्छ, सफा र सुन्दर बागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै लागेर फोहोर नफाल्ने हो भने फेरि बागमती नदी छेउमा हरियाली र प्राकृतिक बास्नासहित बहनेछ । तर काठमाडौंवासी नै बागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्ने कुराबाट टाढा छन् । काठमाडौं उपत्यकाभित्र बागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौं बाहिरिने क्रममा पनि कालो बागमती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ । काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्वासीले बागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित बागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित सहरलाई गिज्याउँछ । काठमाडौं उत्तरबाहिनीस्थित बागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट बागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक बागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट बागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको बागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित सहरका अविकसित मानिसको सोचलाई दर्साउँछ । यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी सङ्घसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाइमा ध्यान दिने हो भने पक्कै पनि बागमतीले आफ्नो पुरानो लय समात्नेछ । न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका बागमती नदीका तस्बिरहरु ।
काठमाडौं: सामाजिक अभियान्ता बिमला योगी ‘राष्ट्रिय नारी सम्मान –२०७९’ बाट सम्मानित भएकी छिन् । घोराही उपमानगरपालिका वडा नम्बर १५ निवासी योगीलाई चन्द्रलोक प्रतिष्ठान काठमाडौँले सम्मान गरेको हो । २०४६ देखि महिला, बालबालिका र युवाहरुको व्यक्तीत्व विकाससँगै नेतृत्व विकासकालागी क्रियाशील रहेकी योगीको सेवाभावको उच्च मूल्यांकन गर्दै सम्मान गरेको प्रतिष्ठानले जनाएको छ । योगीमा सामाजिक कार्यक्रममा अत्यन्तै निष्ठा र समर्पणका भाव रहेको बुझाई प्रतिष्ठानको छ । २०२५ साल वैशाख २२ गते वुवा छविलाल योगी र आमा राधादेवी योगीको कोखबाट जमिएकी योगी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक हुन् । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको संस्थापक अध्यक्ष, महिला संघ दाङका संस्थापक अध्यक्ष भएर काम गरिसकेकी योगी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् । योगीको पहलमा हाल ६ सय बढी विपन्न, द्धन्दपीडित बालबालिकाहरुलाई निशुल्क शिक्षा लिइरहेका छन् । योगीले ग्रामीण क्षेत्रहरुमा लक्षित गरि व्यक्तिगत लगानीमा ‘बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरेकी छिन् । उनकैै पहलमा घोराहीमा हिंसा पीडित पुनस्र्थापना केन्द्र, कृषकहरुका लागि हरियो बजार सञ्चालनमा रहेका छन् । समाजशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी योगीले घोराही खानेपानी तथा सरसफाई संस्थाको संस्थापक, त्रिभुवन नगर जेसिजको सदस्य, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, घोराही रक्तसञ्चार केन्द्रको संस्थापक र गैरसरकारी संस्था महासंघ नेपालको संस्थापक भएर काम गरेको अनुभव छ । योगीलाई यसअघि दाङ महिला जेसीजबाट सम्मान, द रेयुकाई नेपालले समाजमा पुर्याएको महत्वपूर्ण सहयोगवापत सम्मान, घोराही खानेपानी तथा सरसफाई संस्थाले घोराही क्षेत्रमा शुद्ध खानेपानी पुर्याएवापत सम्मान, राष्ट्रिय सहकारी बैकले प्रदेश स्तरीय सफल सहकारी सञ्चालन गरे वापत सम्मान र विधवा महिला सरोकार केन्द्र दाङ द्धारा सिमान्तकृत तथा विधवा महिलाहरुको सामाजिक न्यायमा पहुँच तथा आर्थिक पुनःस्थापना गर्न पुर्याएको योगदान वापत सम्मान गरेको थियो । योगीले अस्टे«लिया, जापान, इन्डोनेशिया, भारत, बंगलादेश, फ्रान्स, फिलिपिन्स, मलेशिया, स्वीजरल्याण्ड, जर्मन, नेदरल्याण्ड लगायतका देश भ्रमण गरिसकेकी छन् ।
बाजुरा: बूढीगङ्गा नगरपालिका–१, अम्कोट बस्ती १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको छ। १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको अम्कोट बस्ती अहिलेसम्म कतै स्थानान्तरण हुन सकेको छैन। बस्ती स्थानान्तरण नहुँदा अम्कोटका १०६ घरपरिवार बाढीपहिरोको जोखिम भएकै ठाउँमै बसोबास गर्दै आएका छन्। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका स्थानीय पारु पाध्यायका अनुसार पहिरोले अम्कोटको गाउँ चिराचिरा पारेको छ। बर्खाको समय थोरै पानी परे पनि बग्न सुरु हुन्छ। आफूलाई सुरक्षित हुने कतै ठाउँ नभएपछि बर्खामा पनि यही घरमा बस्नुपर्ने सोच बनाएको पाध्यायले बताउनुभयो। बर्खा लाग्नेबित्तिकै गाउँको तल र माथि दुवैतिरबाट पहिरो बग्ने हुँदा कुनै रात घरसहित आफूलाई समेत बगाउँछ भन्ने डर लाग्ने उहाँले बताउनुभयो। वि.सं. २०६४ साउन २३ गते राति गाउँमाथिबाट आएको पहिरोले उहाँका श्रीमान्, दुई छोरा र एक छोरीसहित चार जनाको ज्यान लिएको थियो। सोही पहिरोमा परेर महादेव पाध्याय, लक्ष्मी पाध्याय र मङ्गल पाध्यायलगायतका पाँच जनाको मृत्यु भएको थियो। २०७६ असार र साउनमा आएको बाढीपहिरोले अम्कोटमै फेरि सात घरसहित सयौँ रोपनी जमिन बगाएको थियो। यसरी पटक–पटक अम्कोट बस्ती पहिरोको जोखिमा परेको भए पनि अहिलेसम्म त्यहाँका स्थानीयवासीलाई कतै पुनस्र्थापन गर्न नसकेको स्थानीय महादेव पाध्यायले बताउनुभयो। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका बाढीपहिरोपीडित महादेव पाध्यायले, गाउँ छोडेर कतै जाउँ भने आर्थिक अवस्था राम्रो नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “यतै बसौँ भने घरनजिक पहिरो आइसक्यो। पहिरोले उठ भने पनि अन्त जाने केही उपाय नभएपछि समस्याले यतै बास बस्नु परेको उहाँले बताउनुभयो। उहाँले बर्खा लागेपछि फेरि पहिरो बग्न सुरु हुने भएकाले कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो। बाढीपहिरोले यहाँका स्थानीयवासीको कमाई खाने अधिकांश जमिनसमेत बगरमा परिणत भएको छ। खेती गर्ने जमिनमा अहिले नदी बग्न थालेपछि उनीहरू भोको पेट पाल्नका लागि अहिले दैनिक मजदुरी गर्दै आएका छन्। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका दरिभाने नेपालीले भारतको कमाइले खेत किनिएको भए पनि त्यो खेत सबै नदीले बगर बनाएको बताउनुभयो। बस्ती व्यवस्थापनमा पाँच लाख जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले बाढीपहिरोबाट प्रभावित बनेका अम्कोटका १०६ परिवारका लागि बस्ती व्यवस्थापन कार्यक्रम एक वर्ष पहिले नै सुरु भएको बताएको छ। २०७८/७९ को आर्थिक वर्षमा नै अम्कोटका १०६ घरपरिवारको घरबास गर्ने गरेर बस्ती व्यवस्थापन कार्यक्रम सुरु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक पुष्कर खड्काले, बाढीपहिरो प्रभावित भएका अम्कोटका १०६ परिवारमध्ये ८५ परिवारलाई घरबासको व्यवस्थापन गर्ने गरेर पहिलो किस्ता रकमसमेत वितरण गरिसकेको बताउनुभयो। उहाँले बाढीपहिरोबाट प्रभावित भएका अम्कोटका स्थानीयवासीले घर निर्माणका लागि पहिलो किस्ता रकम बुझेर लिएको भए पनि घर निर्माण कार्य भने अझै पूरा गर्न नसकेको बताउनुभयो। स्थानीय प्राविधिकले दिएको लागत अनुमानअनुसार घर निर्माण नगरेकाले अहिले दोस्रो किस्ता रकम रोकिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो। बाढीपहिरो प्रभावितको बस्ती व्यवस्थापन गर्न स्थानीय सरकारले १५, प्रदेश सरकारले २० र सङ्घीय सरकारले ७० प्रतिशत रकम बेहोर्नुपर्ने हो । प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार ८५ घरपरिवारले पहिलो किस्ताबापत ७५ हजार रुपियाँ घर निर्माणका लागि लिएको भए पनि अहिलेसम्म १८ जनाले मात्र दोस्रो किस्ताका लागि कागजात पेस गरेको बताउनुभयो। अम्कोटका पीडित स्थानीयले भने सबै घरपरिवार १०६ रहेको र त्यसमध्ये ८५ जनाले मात्र पहिलो किस्ता रकम पाएका छन्। बाँकी २१ परिवारले अझै पहिलो किस्ता रकम नपाएको बताएका छन्। रकम पाएका ८५ परिवारमध्ये अधिकांशले घर निर्माण गरेको भए पनि रकम नदिएको अम्कोटका स्थानीय लक्ष्मीराम पाध्यायले बताउनुभयो। उहाँले प्राविधिकले नै दिएको डिजाइन लागत अनुमानका आधारमा घर निर्माण गरेको तर दोस्रो किस्ता रकम रोकिदिएको बताउनुभयो। प्राविधिकले दिएको डिजाइन र लागत अनुमानअनुसार घर निर्माण नगरेको देखिएपछि दोस्रो किस्ता रकम रोकिएको बूढीगङ्गा नगरपालिकाका सूचना अधिकारी विष्णु जोशीले बताउनुभयो। उहाँले अम्कोटका १०६ जना बाढीपहिरो पीडितमध्ये ८५ परिवारको कागजात पूरा भएकाले पहिलो किस्ता रकम आएको र बाँकी २१ परिवारको कागजात नमिलेकाले पहिलो किस्ता रकम नपाएको बताउनुभयो। रकम पाएकाले अम्कोटमा स्थायी रूपमा बसोबास भएको कागजात पेस गरेपछि उनीहरूले पनि घरबास लागि रकम पाउन सक्ने जोशीले बताउनुभयो।
पोखरा: त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी सङ्ख्या प्राप्त भएको बताएका छन् । उनका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आङ्गिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने मतदाता सङ्ख्या प्राप्त भएको छ । उनले त्रिचन्द्र क्याम्पसमा अझै निर्वाचन प्रक्रिया सुरु नभएकाले मतदाता सङ्ख्या यकिन नभएको बताए । उपत्यकाका २१ क्याम्पसमा ६६ हजार छ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार चार सय ३६ विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेका छन् । निर्देशक अधिकारीले सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा रहेको बताए । पिएन क्याम्पसमा १० हजार आठ सय ७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुने जनाइएको छ । पिएनपछि ठाकुरराम बहुमुखी क्याम्पसमा १० हजार दुई सय ६२ तथा बुटवलको बुटवल बहुमुखी क्याम्पसमा सात हजार एक सय नौ विद्यार्थी सहभागी हुँदैछन् । उपत्यका बाहिर सबभन्दा कम विद्यार्थी मतदाता चितवन इञ्जिनियरिङ क्याम्पस चितवनमा ७१ छन् । उपत्यकामा धेरै शङ्करदेव क्याम्पस यस्तै उपत्यकामा सबभन्दा बढी विद्यार्थी शङ्करदेव क्याम्पसमा छन् । शङ्करदेवमा आठ हजार चार सय ९० विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता छन् । शङ्करदेवपछि नेपाल कमर्स क्याम्पस मिनभवनमा आठ हजार एक सय ८८, पाटन संयुक्त क्याम्पसमा सात हजार छ सय नौ र पद्मकन्या बहुमुखी क्याम्पसमा पाँच हजार पाँच सय ९२ विद्यार्थी मतदाता छन् । त्रिविको केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९ मतदाता छन् । उपत्यकामा सबैभन्दा थोरै विद्यार्थी आयुर्वेद क्याम्पस कीर्तिपुरमा एक सय ५१ छन् । देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी मतदाता छन् । करिब एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचनको चहलपहल बढेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारलाई शुक्रबार मनोनयन पत्र वितरण गरिएको छ । आज बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
पोखरा: सुजुकी ब्राण्डका दुई नयाँ एसयूभि “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक गरिएको छ । नेपालका लागि सुजुकी ब्राण्डका चारपाङ्ग्रे गाडीको गण्डकी, धौलागिरीको आधिकारीक वितरक बतास ब्रदर्स प्रा.लिले शुक्रबार नयाँजबारस्थित सोरुममा पत्रकार सम्मेलन आयोजना गरी गाडीलाई सार्वजनिक गरेको हो । समारोहका प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ तथा विशेष अतिथि गण्डकी यातायात कार्यालयका प्रमुख डिल्लिराम रिजालले सार्वजनिक गरेका हुन् । कर्याक्रममा दुबै गाडीको मूल्य पनि सार्वजनिक गरिएको छ । शुभरम्भको अवसरमा गाडीहरुमा ३ लाख सम्मको छुटको व्यवस्था गरिएको छ । “द ग्राण्ड भिटारा” सुकुजीको एक बहुप्रतिष्ठित मोडेलको गाडी हो । यसमा आफ्नै क्राफ्टेड फुटुरिज्म डिजाईन ल्याङ्ग्वेजको प्रयोग गरिएको छ । यसको अरुभन्दा फरक बाहिरी लुक्स र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजिले यस एसयूभिको अफ रोड क्षमता उच्च रहेको छ । ग्राण्ड भिटारामा पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाईब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । पूरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्री हुने एसयूभि हो । यसमा अत्याधुनिक प्रविधि र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु राखिएको छ । यो स्पोर्टि एसयूभिले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाईन, शक्तिशाली पर्फरमेन्स, उन्नत सुरक्षाका सुविधा दिने कम्पनीले जनाएको छ । नयाँ ब्रेजामा हाई टेक सुविधाहरु रहेका छन् । यो गाढी शहर र बाहिरका सडकहरुका लागि उपयुक्त मानिएको छ । अहिलेको प्रतिष्पर्धि बजारमा एसयूभि सेग्मेन्टका यी दुई गाडीको उपस्थितिले अझैं मजबुत बनाउने कम्पनीको विश्वास रहेको छ । बतास ब्रदर्सका सिओओ राजेश रानाभाट तथा सुकुकी सेल्स म्यानेजर नवराज अधिकारीले पछिल्लो समयमा नेपाली बजारमा एसयूभिको माग उच्च रहेको बताए ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो । अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको उहाँले बताउनुभयो । उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
पोखरा: अपांगता स्वावलम्बन विकास संघ, इन्सेक गण्डकी, आईएनएफ र हुमेडिकाको आयोजनामा आज पोखरामा “पहुँचयुक्त शिक्षा अधिकार” विषयक सरोकारवालाहरुसंगको छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी शर्माले अपांगताको क्षेत्र महत्वपूर्ण र सामाजिक विषय भएकोले यस क्षेत्रमा भएका समस्यहरुको समाधान सामुहिक प्रयासले संभव भएको बताए । डा.शर्माले भने, एक पटक हामीले चाहेको जस्तो गरेर समाधान हन नसके पनि सुस्त रहेको कार्यान्वयनको पाटोलाई जागरिलो बनाउन नागरिक समाज तथा सरोकारवालाहरुको सहभागिताको खाँचा रहेको बताए । हामीले नीति तथा कार्यक्रम बनाउँछौं तर कार्यान्वयन उचित तवरले भईरहेको पाएका छैन । उनले भने, अब तपाईहरुले नीतिको ठेलि नै बोकेर कानून अनुसार पाउनु पर्ने सेवा, सुविधाहरु बिन कार्यान्वयन भनेर सोध्नु पर्यो । यसो भयो भने कार्यान्वयन गर्ने पक्ष सजग हुन्छ । उनले अब बनने शिक्षा ऐनले सामुदायिक तथा निजी क्षेत्रबीचको खाडललाई पूर्नेगरी आउनु पर्नेमा जोड दिए । उनले भने, अब हाम्रो शिक्षा ज्ञान दिलाउनका लागि नभई उत्पदान गर्ने खालको चाहिन्छ यसैलाई ध्यान दिएर हामी योजना बनाउँछौं । शिक्षा सचिव भोजराज न्यौपानेले शिक्षा सबैले पाउनु पर्ने र विभेदको अवश्था देखिन नहुने बताए । उनले घरैबाट सपांग वा अपांगता भएकाहरुको लागि समानताको वातावरण तयार गर्नुपर्ने बताए । उनले अपांगता भएकाहरुको लागि उनीहरुको विविधिकरणसंगै शिक्षा तथा मानसिक विकासका कार्यक्रम गर्न जरुरी भएको बताए । साथै उनले अपांगता भएका विद्यालयहरुमा जाने शिक्षकलाई त्यहाँ जाउँजाउँ लाग्ने बनाउने वातवरण बन्न आवश्यक भएकोमा जोड दिए । शैक्षिक तालिम केन्द्र गण्डकीका प्रमुख नेपालहरि रानाभाटले पेशागत विकासका लागि सहजिकरण हुने खालको सामग्री निर्माण गरिरहेको बताए । उनले अपांगता भएकाहरुको लागि आवश्यक सफ्टवेयर पद्धतीको विकास, विभिन्न तालिमहरु संचालन भईरहेको जानकारी दिए । उनले बहिरा, दृशिटबिहिन र अन्य अपांगता भएकाहरुको लागि छुट्टाछुट्टै तालिमको व्यवश्था भएको बताए । शिक्षा महाशाखाका प्रमुख टंक ढकालले कानूनमा भनिएजति हुन नसकेपनि केहि भएको बताए । सपांगका भन्दा अपांगता भएकाहरुको धेरै समस्याहरु छनु एकैपटक समाधान गर्न नसकिए पनि समाधानको बाटोमा जानुको विकद्यप पनि नभएको बताए । उनले अपांगता भएकाहरुको समस्या समाधानका लागि सबै मन्त्रालयहरुले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए । उनले भने, यो एउटैले गरेर हुँदैन, सबैको अपनत्व चाहिन्छ । उनले विभेदरहित वातारण निर्माणमा आफुहरु प्रतिवद्ध रहेको बताए । राष्टिय मानव अधिकार आयोग गण्डकीका अधिकृत खिमलाल सुवेदीले संविधानले, ऐन, नियम तथा नियमावलीहरुले शिक्षाको सुनिश्चितताको कुरा गरेको भएपनि सन्तुलन नदेखिएको बताए । उनले शिक्षाको अधिकारबाट कोहि पनि बिमुख हुन नहुनेमा जोड दिए । सबैको अधिकार बराबर हो । सुवेदीले भने, अपांगता भएका वा सपांग सबैलाई मर्यादित भएर बाँच्न पाउनु पर्ने अधिकार रहेको बताए । उनले अपांगता भएकाहरुलाई पहुँचमा विभेद कायम रहेकोले समानतामा जोड दिए । सुवेदीले अपांगतामैत्री सोंचको विकासमा जोड दिदै सबैको सहभागिता र सहयोग आवश्यक भएको बताए । उनले विद्यालयमा नियुक्त लिएर गएको शिक्षकलाई हाजिर नै गर्न नदिने कार्य गलत भएको बताए । गाउँपालिकाको तर्फबाट माछापुच्छ्रे गाउँपालिका शिक्ष विकास शाखाका प्रमुख सम्झना पोख्रेलले गाउँपालिकामा रहेका अपांगता भएका व्यक्तिहरुका समस्या समाधानका लागि काम गरिरहेको बताईन । उनले अपांगता पहिचानमा जोड दिदैं तथ्यांकलाई राख्ने गरिएको बताईन । कार्यक्रममा विभिन्न अपांगता भएका व्यक्ति, नागरिक समाज, गैरसरकारी संस्थाकाका पदाधिकारी, शिक्षक, शिक्षा, स्वास्थ्य तथा सामाजिक मन्त्रालय लगायतका सदस्यहरुले अपांगता भएकाहरु माथि विभेद कायमै रहेको बताए । उनीहरुले निर्माण तथा विकास क्षेत्रमा अपांगतामैत्री संरचनामा ध्यान नदिएको र व्यवहार पनि फरक हुने गरेको बताए । कार्यक्रममा राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज सुवेदीले “पहुँचयुक्त शिक्षा अधिकार” र सरोकारवालाहरुले सामना गर्नु परेका चुनौतीहरुको बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम माथि टिप्पणी गर्दै इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले अझैं पनि समाजमा अपांगतामैत्री वातावरण नभएको बताए । विभिन्न क्षेत्रको अवलोकनमा जाँदा घरबाटै उनीहरुलाई हेर्ने दृश्टिकोण नै फरक भएको र कतिले बोझको रुपमा लिएको पनि बताए । उनले नीति निर्माणमा सहभागिता तथा समावेसिता कम देखिएको, सिमित स्रोत साधन तथा प्रविधिमैत्री हुन नसकेको, शिक्षामा पर्याप्त लगानी हुन नसकेको बताए । खकुरेलले अझैं पनि पहिचानको समस्या रहेको, शिक्षामा लगानी, विभेदको अन्त्य, शिक्षकलाई तालिम तथा गाउँपालिकाले तथ्यांक राख्नुर्पेमा जोड दिए । जनप्रतिनिधिमा अधिकारको काम संघ संस्थाले गर्ने हो भन्ने बुझाई गलत भएको बताए । शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका अध्यक्ष बीना सिलवालले स्थानिय तहमा सबै प्रकारका अपांगता भएकाहरुको तथ्यांक हुनुपर्ने बताईन । उनले अझैं पनि जन्म दर्ता, परिचय पत्र, सम्पतीको हक, समान वितरण र मनोसामाजिक अपांगताका सवाल नउठेको बताईन । यसअघि नागरिक समाजका अगुवा, डिडा नेपालका सल्लाहकार विष्णु पौडेलले सहभागिहरुलाई स्वागत गर्दै अज्ञानताको कारण भेदभाव हुने गरेको बताए । अहिले घरैच्छिे डिग्रि पास गरेका भेटिए पनि विभेद हुने गरेको बताए । उनले शिक्षामा कायम रहेको विभेद हट्नुपर्ने र शिक्षा निःशुल्क हुनुपर्ने बताए । २०४६ सालको परिवर्तनपछि मा.वि तहसम्मको शिक्षा निःशुल्क भनिए पनि तीन दशकसम्म नारामै सिमित रहेको बताए । उनले शिक्षामा सुधार नभए सरकारी विद्यालय र विश्वविद्यालय झन् भताभुंग हुने चिन्ता व्यक्त गरे । कार्यक्रम अपांगता स्वावलम्बन विकास संघ, नेपालका अध्यक्ष दीपक तिमिल्सनाको अध्यक्षतामा भएको थियो । संचालन डिडा नेपालका सल्लाहकार गिरधारी सुवेदीले गरका थिए ।
बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो । पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङतर्फ रिफर गरिएकामा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताउनुभयो ।

