पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गर्नुभएको छ ।      काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गर्नुभएको हो ।      महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताउनुभयो ।       महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । “पर्यटनमा मात्रै होइ, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिलाहरुले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरु (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो ।      यो उडानमार्फत पनि महिलाहरुले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गर्नुभयो ।      निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो ।       उहाँका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए ।      निगमको आजको दुबई–काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उडाउनुभएको थियो । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ ।      निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट हुनुहुन्छ ।

बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म 'पठान' ले नेपालबाट राम्रो कमाइ गरेको छ।   वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको छ। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ।    जनावरी २५ देखि प्रदर्शन भएको फिल्मले भारतमा अझै पनि राम्रो व्यापार गरिरहेको छ।    हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतबाट ५३६ करोड ७७ भारू कमाएको छ।   सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।   शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।

काठमाडौं : देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ।    कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ।    बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरूले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। उनले भने, 'लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन्। आउँछन् र खुरुखुरु जान सक्छन्।'    बिहानदेखि सेवा सुरु अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ। सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको उनले बताए।  सेवाग्राहीलाई बुझाउन नसकिएको १० बजेसम्म दुई सय जना लाममा बस्ने उनले बताए। प्रमुख कपालीले भने, 'ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ।'    कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ। त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए।    उनले भने, 'समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ।' कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन्। विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत रहेका छन्।    कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए।    सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ। उनले भने, '३ बजेपछि कार्यालय नै सुनसान हुन्छ।'   यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ। पहिले संघीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारअन्तर्गत गएको छ।    कार्यालयहरूले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ।

काठमाडौँ:  काठमाडौँ उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ ।  उक्त तथ्यांकअनुसार वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १ः३५ बजे काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २३४ यूएस आईक्यूआई छ ।    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । आईक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।    वातावरण विभागका अनुसार यो समाचार तयार पर्दासम्म बुधवार रत्नपार्कको यूएस आईक्यूआई १७३, भक्तपुरको २०७,  कीर्तिपुरको १८१  र नारायणीको २४२  देखिएको छ । आईक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा ९ गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम–२।५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौँमा यो मात्रा ४६ पुगेको पाइएको हो ।    यसअघि आइक्यूएयरले आफ्नो वेभसाईटमा प्रकाशित ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौँ सन् २०२१ मा विश्वको छैटौँ प्रदूषित राजधानी बनेको थियो। आइक्यू एयरले नेपाल प्रदूषित मुलुकको १० औँ स्थानमा राखेको थियो। पहिलोमा बंगलादेश छ । दक्षिण एसियामा नेपाल छैटौँ प्रदूषित मुलुकमा परेको छ ।    वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ ले पिएम–२.५ को मात्रा २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । हिउँदमा काठमाडौँ र तराईका सहरमा यो मात्रा तीन सयदेखि चार सयसम्म पुग्ने अनुमान वातावरण विभागको छ। वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार काठमाडौँमा यस वर्ष हिउँदमा पानी धेरै नपरेकाले पनि मौसम धमिलो वा तुवाँलो देखिएको हो। उनले भने, ‘यो अझै केही दिन लम्बिने देखिन्छ। गर्मी सुरु भएपछि तराईमा प्रदूषणको तह झन् बढ्ने देखिन्छ ।’

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छ ।   मन्त्री शर्माले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक न्याय, समानतामूलक राष्ट्र निर्माण गर्ने कार्यमा सम्बद्ध सबैको ध्यान पुग्न जरुरी रहेको बताउनुभएको छ ।   तीव्र गतिमा भएको प्रविधिको विकासले महिलाको जीवनयापन सहज बनाएको भए पनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै उहाँले प्रविधिमा पहुँच विस्तार गरी महिलाको सुरक्षा, सम्मान र रोजगारीमा विशेष व्यवस्थासहित न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माणको यात्रामा प्रतिबद्ध हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।    “राज्यको हरेक तहमा महिलाको प्रतिनिधित्व सुनिश्चितता, मातृ मृत्युदरमा उल्लेखनीय सुधार, कूल साक्षरता दर र औसत आयुमा वृद्धि तथा आर्थिक सशक्तीकरणका सूचकहरूमा आएको सकारात्मक परिवर्तनले महिलाको सुधारोन्मुख अवस्था झल्काउँदछ । संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरू व्यवहारतः कार्यान्वयन हुन नसक्नु हाम्रो चुनौती हुन् । नेपालमा सञ्चालित विभिन्न सङ्घर्ष, आन्दोलन, विद्रोह, युद्धबाट प्राप्त उपलब्धि र महिलाका पक्षमा भएका अधिकारलाई कार्यान्वयन गर्दै हाम्रो समाजमा रहेको राजनीतिक अधिकार, चेतना तथा विद्यमान विकृतिद्वारा थोपारिएको कुप्रचलनबीचको अन्तर्विरोधको समाधान आजको आवश्यकता हो”, सञ्चारमन्त्री शर्माद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ ।    महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक, र राजनीतिक, अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने शहीहरूप्रति श्रद्धान्जलि अर्पण गर्दै सञ्चारमन्त्री शर्माले यस अवसरमा सम्पूर्ण महिला, दिदीबहिनी, तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पोखरा:  आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका विद्यालयहरु तयारीमा जुटिरहेको बेला पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी समूह भने अदालत जाने तयारी गरिरहेको छ ।  स्वतन्त्र विद्यार्थी समूह (स्वविस)ले चुनावमा सहभागी हुन नाम दर्ता गरेपछि निर्वाचन समितिले आफुखुशी नाम परिवर्तन गरिदिएको भन्दै अदालतको ढोका ढक्ढक्याउन जान लागेको बताएको छ । समितिले नाम परिवर्तन गरी पृथ्वी विद्यार्थी मन्च राखिदिएको भन्दै स्वविसका सभापति दिप्सन गुरुङ्ले यसमा असहमति रहेको जनाएका छन् ।  स्ववियु निर्वाचनको लागि १९ गते स्वविसले नाम दर्ता गरेको र क्रम संख्या ‘९’ पाएको गुरुङले बताए ।  ‘निर्वाचन समितिले आफ्नो मनोमानी गरेको छ, कानुनी प्रक्रिया पुर्याएर  दर्ता गरेका हौ’ संयोजक गुरुङ् भन्छन् ‘हामिमाथि अन्याय भएको छ, निर्वाचन समितिले न्याय दिएन भने अदालत जानेछौँ ।’ २५ गतेसम्म निर्वाचन समितिले कानुनी प्रकृयाअनुसार निर्णय नलिएमा रिटको प्रकृयामा जाने गुरुङको चेतावनी छ । ‘यथाशीघ्र उक्त नामावली सूचिलाई सच्याउँदै पुनः संगठनको नाम प्रकाशित गर्न आग्रह गर्दछौँ, अन्यथा अदालत गुहार्न बाध्य हुनेछौं’ गुरुङले भने ।  नामै परिवर्तन गरेर दर्ता सूची प्रकाशन गर्नु निर्देशिकाको विपरित भएको स्वतन्त्र विद्यार्थी समूहका कोषध्यक्ष अभिषेक विष्टले बताए ।    ‘सत्यको जित अवश्य हुनेछ,’ विष्टले भने, ‘निर्देशिका विपरितको उक्त कार्यको हामि सशक्त प्रतिकार गर्ने छौं ।’   

गत माघ २९ गते तनहुँबाट बिरामी लिएर आएको बा १३ च २६६२ नम्बरको पजेरो जीप पोखराको महेन्द्रपुलको बारमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट बच्यो ।  उक्त दुर्घटनामा चालक सकुशल रहे । ३ पैदलयात्री घाइते भए । उपचारपछि सबै ठिकठाक छन् । तर  क्षतिग्रस्त पुलको बार अझै मर्मत गरिएको छैन । जसबाट पैदलयात्री र सवारीचालकमा जोखिम बढेको छ ।  दुर्घटनाको २५ दिनपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक शिव पाठकलाई ‘पुलको बार कहिले मर्मत हुन्छ ?’ भन्ने प्रश्नमा उनले भने ‘पुलमा बार राख्ने जिम्मेवारी सम्बन्धित सवारीधनीकै हो ।’ पाठकले यसो भनिरहँदा ठ्याक्कै मर्मतको मिति भने तोक्न सकेनन् । ‘थप दुर्घटना नहोस् भनेर हाललाई अस्थायी फलामे बार राखेका छौं’ पाठकले भने । ‘गाडीको ठक्करले पुलको बारमा क्षति भएपछि तत्काललाई फलामको बार राखिएको छ, पाठकले भने, ‘सवारीले धनीले नै पुलको मर्मत गर्नुपर्ने भएकाले क्षति भएको स्थानमा अस्थाई रुपमा फलामको बार राखेका हौं ।’ उनले पुलको मर्मत गरेपछि सम्बन्धित सवारी धनिलाई सवारी फिर्ता गर्ने बताए । ‘दुर्घटनापछि सवारी र सवारी चालकको कागजपत्र कार्यालयमा राखेका छौं’ पाठक भन्छन्, ‘पुलको मर्मत सम्बन्धित व्यक्तिले गरेपछि मात्र कागजपत्र र सवारी फिर्ता गछौं ।’ यता सडक डिभिजन कार्यालय पोखराले पनि जसले क्षति पु¥याएको हो उसले पुलको मर्मत गर्नुपर्ने बताएको छ ।  ‘नेपाल सरकारको संरचनामा जसले क्षति पु¥याउँछ उसले नै क्षतिपूर्ति व्यहोर्नुपर्ने हुन्छ’, डिभिजनका एक कर्मचारीले भने, ‘गाडीको ठक्करबाट पुलको बारमा क्षतिमा पुगेको सूचना पाएका छौ तर ट्राफिक कार्यालयबाट क्षति पु¥याउने सवारीलाई सम्पर्कमा ल्याएको छैन ।’  सडक डिभिजन कार्यालयका पोखराका सूचना अधिकारी उज्वल शर्माले  भन्छन् ‘क्षतिको विवरण निकालेर लाग्ने खर्च सवारी धनीले तिर्नुपर्छ वा मर्मत गरिदिनु पर्छ ।’ त्यसपश्चात् मात्र सवारीसाधन फिर्ता दिइने शर्माले बताए ।  उक्त गाडी डाक्टर चन्द्रबहादर थापाले चलाएका थिए । अटो गियरको पजेरो स्टार्ट गर्ने बित्तिकै हुइँकिएर पुलको बारमा ठोक्किन पुगेको थियो ।    

काठमाडौं: नेपालले अतिकम विकसित राष्ट्र (एलडीसी) को ‘कोअर्डिनेसन व्युरो’को अध्यक्षको जिम्मेवारी पाएको छ । कतारको राजधानी दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई कोअर्डिनेसन व्युरोको नेतृत्व प्रदान गरेको हो । एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारी औपचारिक हस्तान्तरण हुनेछ ।   मार्च ५ देखि दोहामा सुरु भएको उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् ।   सम्मेलनमा दाता वा साझेदारहरूले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्नेबारे ठोस आवाज उठाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्ठित राष्ट्रहरूले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारीक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्गले सोच्नुपर्नेमा सम्मेलनले जोड दिएको पनि श्रेष्ठले जानकारी दिए ।   सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्याएको थियो । त्यसका लागि संयुक्त राष्ट्रसंघ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले सघाउनुपर्ने नेपालको जोड थियो । सम्मेलनको पहिलो चरणमा पारित ‘दोहा प्रोग्राम अफ एक्सन’ले पनि यिनै मुद्दाहरूको कार्यान्वयनमा विशेष जोड दिएको मन्त्री श्रेष्ठले बताए ।   सम्मेलनको क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, विभिन्न देशका नेता एवम् पदाधिकारीसँग उपप्रधानमन्त्री श्रेष्ठले छलफल गरेका थिए । त्यसक्रममा अबको नेतृत्वका रूपमा नेपालले अतिकम विकसित वा गरिब राष्ट्रहरूलाई सबैको हितका निम्ति गोलबन्द गर्ने विश्वास निर्माण गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।  

दैलेख: दैलेखको राकम कर्णाली र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ। २०६७ मा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो। २०६७ मा ठेक्का भई २०७१ पुस मसान्तसम्म सम्पन्न गर्ने गरी १३ करोड १३ लाखमा पुल निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता भएपछि निर्माण कम्पनीले दैलेख क्षेत्रमा पर्ने पिल्लर मात्र उठाएर बेपत्ता भएको थियो।    कुमार श्रेष्ठ निर्माण सेवा काठमाडौँका प्रभु गिरीले १२ वर्षअघि निर्माण कार्य सुरु गरेको भए पनि बीचमा पुलको प्राविधिक स्टिमेटका कारण पुल निर्माण कार्य लम्बिएको बताउनुभयो। उहाँले सुरुमा वेल डिजाइन रहेको पुल अहिले पाइल डिजाइनमा पास गरेपछि निर्माण सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “आगामी एक वर्षभित्र पुल निर्माण कार्यले पूर्णता पाउँछ।” उहाँका अनुसार पुल निर्माणका लागि दैलेखतर्फबाट एउटा पिल्लर हालेर सुरु गरिएको थियो। अछाम भागबाट पिल्लर हाल्दा ढुङ्गा लागेपछि कम्पनीले निर्माण कार्य रोकी पुलको डिजाइन स्टिमेट परिवर्तन गरिएको थियो।    त्यसपछि बल्ल निर्माण कार्य सुरु गरिएको कम्पनीका प्रतिनिधि गिरीले बताउनुभयो। उहाँका अनुसार अघिल्लो वर्ष एउटा पिल्लर हालेको र अर्को वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। १२ वर्षअघि १३ करोड १३ लाखमा सम्झौता भएको थियो। अहिले पनि त्यही लागतमा निर्माण गर्नुपर्ने समस्याका कारण आफूहरूलाई काम गर्न चुनौती थपिएको उहाँको भनाइ छ।    आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले पुल निर्माण कार्य छिटोभन्दा छिटो सक्न कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो। उहाँले नागरिकले समेत आफूहरूलाई कहिले पुल बन्छ भन्ने प्रश्न बारम्बार सोध्ने गरेको समेत बताउनुभयो। पुल निर्माण सम्पन्न भए दैलेखको पश्चिम क्षेत्रको नयाँ सहरको बजारबाट सुदूरपश्चिम प्रदेशको अछामको उत्तरी क्षेत्रलगायतका विभिन्न जिल्लामा यातायात सहज हुनेछ।