पोखरा: खेलकुदमा राज्यको लगानी न्युन छ । तर खेलसंग प्रेम गासेका खेलाडी तथा प्रशिक्षकहरुले अनेकौं तरिकाले खेल खेलाइरहेका हुन्छन् प्रशिक्षण दिइरहेका हुन्छन् । खेलकुदको सहर मानिने पोखरामा पोखरा रंगशाला बाहेक बाहिर त्यति खेल स्थलन छैनन् । भएका पनि प्रयोग गर्न निकै कठिन छ । त्यस्तै कठिनमा परेकी विमला नेपालीले अहिले अस्थाई प्रशिक्षण केन्द्रको स्थापना गरेकी छिन् । सितेरियो करातेँकी राष्ट्रिय खेलाडी विमला नेपालीले पोखरा ११ फुलबारीमा कराते सिकाउँदै आएकी छिन् । फुलवारीमा रहेको क्लब भवनको प्राङ्गणमा प्रशिक्षण दिदैँगर्दा केहि व्यक्तिका कारणले उक्त स्थल गुमाउन पुगेपछि उनले अर्को ठाउँ खोजिन उक्त ठाउँमा समेत प्रशिक्षण गर्ने वातावरण सिर्जना नभएपछि प्रशिक्षण नै नगराउने सोँच बनाइन् । करातेको प्रशिक्षण लिन आउने खेलाडीलाई नखेलाउने सोँच बनाएर बसेपछि खेलाडीले उनको घरकै आगनमा भएपनि प्रशिक्षण गराउन अनुरोध गरेपनि उनले केहि समय घर आगनमै प्रशिक्षण गराइन । तर खेलाडी बढ्न थालेपछि प्रशिक्षण स्थल सानो भयो । त्यसपछि उनले जग्गा खोजेर अस्थाई रुपमा प्रशिक्षण स्थल निमार्ण गरेकी छिन् । ‘खेलाडी आउने क्रम बढेपछि ठाउँको अभाव भयो । पहिला प्रशिक्षण गराइ राखेको ठाउँपनि दिन मानेनन् । वडालाई भनेको ९जनप्रतिनिधिहरुलाई० वास्ता गरेन’ उनले भनिन्,‘कतिसमय त घरमै सिकाए । घरको माथि प्रशिक्षण गराउँदापनि देखि सहेनन् । बच्चाहरुले प्रशिक्षण निकै राम्रो गरेका छन् । जसो तसो सहेर काम गरेको थिए तर अहिले अति भएर ठाउँ आफै खोजेर बनाए । यसमा मेरा गुरुहरुको पनि ठूलो हात छ ।’ प्रशिक्षण स्थल बनाउनका लागि समेत साना खेलाडीहरुले साथ दिएको विमलाको भनाइ छ । ‘प्रशिक्षण गराउनै नसक्ने स्थिति आएको थियो । म एक महिला खेलाडी भएकाले पनि कतिपय अवस्थामा मलाई गाह्रो थियो तर मेरा खेलाडी, परिवार र गुरुका कारणले यो सम्भव भएको छ’ उनले भनिन् । उक्त स्थानमा भोलिदेखी नै प्रशिक्षण हुने उनले बताइन् ।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले रंगै रंगहरुका पर्व फागु पूर्णिमा (होली) तथा थकाली समुदायको तोरन्ल पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मन्त्री गाहामगरले शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, ‘ नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक विशेषताहरुले सुसज्जित सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरुसँग आ–आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा छन् । जसले एक अर्का समुदायबीच आपसी सद्भाव बढाउदै आएको छ ।’ उहाँले एक समुदायले अर्काे समुदायको पहिचान र अस्तित्व स्वीकार्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, ‘असत्यमाथि सत्य र खराबमाथि असल विजय तथा रंगै रंगको पर्वका रुपमा मनाइने यस फागु पूर्णिमा (होली, फागुन २२, २३) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥याओस् भन्ने कामनासहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
बागलुङ: गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन । अहिले बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताको पहलमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पार्नका लागि प्रारम्भिक अध्ययन थालिएको छ । कालिका मन्दिर आउने भकुण्डेसम्म लैजाने र नजिकै रहेको भैरवस्थान मन्दिरको समेत दर्शन गराउने उद्देश्यले केबलकारको अवधारण ल्याइएको बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिनुभयो । “हामी प्रारम्भिक अध्ययनमै छौँ, अहिले प्राविधिकले पहिलो पटक यस स्थानको सर्वे गर्नुभएको छ, धेरै हिसाबले कालिका मन्दिर नजिकैबाट भकुण्डेसम्म केबलकार निर्माण गर्न सहज देखिएको छ, जुन अध्ययनले देखाएको प्राविधिकले जनाउनुभएको छ”, चोखालले भन्नुभयो । लामो पुल हेर्ने, कालिका मन्दिर दर्शन गर्ने र बागलुङ बजार घुम्न आएका पर्यटकलाई भकुण्डे पु¥याउने र भकुण्डेलाई एउटा सांस्कृतिक गाउँका रुपमा विकास गर्न सके केबलकार चल्ने सक्ने उहाँको भनाइ छ । यसका लागि बागलुङ नगरपालिकाले पहल तथा स्थानीय उद्यमीले साझेदारीमा गर्नुपर्ने उहाँले बताउनुभयो । केबलकार निर्माणका लागि भकुण्डेका स्थानीय, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङ नगरपालिका तथा पर्यटन व्यवसायीसँग पहिलो चरणमा छलफल सकारात्मक भएको कृष्ण केसीले जानकारी दिनुभयो । उहाँले स्थानीय पालिकाको समन्वयमा केबलकार निर्माण गर्नसके बागलुङको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भकुण्डे गाउँ घरबासका दृष्टिले चर्चित गाउँ हो जहाँ जिल्लाकै पहिलो घरबास अतिथि सत्कार घरबास स्थापना गरिएको थियो । भकुण्डे गाउँको बराह ताल, हीरा ताल, मुलाबारी भ्यू टावर, सास्कृतिक सङ्ग्रहालय र यहाँको घरबासमा पाइने स्थानीय परिकारको स्वादका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो भएकाले केबलकारको अवधारणा ल्याइएको छ । “हामीले हालै प्रारम्भिक अध्ययन गरेका छौँ, कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालन गर्न सकिने देखियो, लगानीसमेत निजी क्षेत्रले उठाउँछ, सुरुमा स्थानीय पालिकाले समझदारी गर्न प¥यो”, उहाँले भन्नुभयो । केबलकार निर्माणमा तत्काल डिपिआर बनाएर प्रक्रिया अगाडि बढाउन बागलुङ नगरपालिकाले तगारुकता देखाएको भन्दै उहाँले भकुण्डेमा पर्यटकीय विकास गर्न चालु आर्थिक वर्षमा रू २० लाख बजेट विनियोजन भएको बताउनुभयो । कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालनका लागि प्राविधिक हिसाबले सफल देखिएको केबलकार नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले बताउनुभयो । ढकालले एक हप्ता लगाएर गरेको प्राविधिक अध्ययनमा केबलकार सञ्चालन प्राविधिक र व्यावसायिकरुपमा दुवै रुपमा उचित देखिएको बताउनुभयो । अध्ययनले केबलकार निर्माणका लागि झण्डै रु एक अर्ब ५८ करोड लाग्ने देखाएको उहाँको भनाइ छ । केबलकारको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० बनाउनका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रङहरुको पर्व फागुपूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लहको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यी पर्वले नेपाली समाजलाई एक सूत्रमा बाँध्दै आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । “यस वर्षकोे फागुपूर्णिमा (होली पर्व) तथा तोरन्लह पर्वले नयाँ उमङ्ग एवं हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । नेपालका विभिन्न जात-जातिका आ-आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको सन्देशमा उल्लेख छ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताउनुभएको छ । फागुपूर्णिमा (होली)का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले भन्नुभयो, “यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको छ । सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली) पर्वले योगदान पु¥याउने विश्वास मैले लिएको छु ।” वसन्त ऋतुका अनेक रङ प्रतिविम्बित गर्ने पर्वका रूपमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेसका जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा विभिन्न रङ तथा अबिर खेल्दै खुशियालीपूर्वक फागुपूर्णिमा (होली) मनाउने परम्परा रहेको सन्देशमा उल्लेख छ । पर्वले सबै नेपालीमा खुसीका रङ छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । “नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो”, शुभकामना सन्देशमा भनिएको छ, “तसर्थ, फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास मैले लिएको छु ।” असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा ९होली० पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा)का अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा होली पर्व २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देशमा भनिएको छ, “नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।” देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने सन्देशमा उल्लेख छ । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्नसमेत अभिप्रेरित गर्ने सन्देशमा छ ।
काठमाडौं: फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिएन । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहजरूपमा हिँड्डुल गर्न सकेको कीर्तिपुरबाट पुतलीसडकमा निजी क्षेत्रमा काम गर्न आउनुभएकी मनिता महर्जनले बताउनुभयो । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । यस पर्वको उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ । फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ । फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ ।
पोखरा: पोखरा महानगरपालिका ५ मालेपाटन स्थित एक विद्यालयमा अध्ययनरत एक छात्रालाई सार्वजनिक स्थलमा दुर्व्यव्यवहार गर्न खोज्ने एक सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मालेपाटन स्थित एक विद्यालयमा अध्ययनरत छात्रालाई सवारी चालकले दुर्व्यव्यवहार गर्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको बैदाम प्रहरीले पुष्टि गरेको छ । छात्राले आफुलाई चालकले दुर्व्यव्यवहार गर्न खोजेको प्रहरीलाई खवर गरेपछि दुर्व्यव्यवहार गर्न खोज्ने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

