पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

पोखरा:   होटल संघ पोखरा नेपालले १८ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ ।  आगामी चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव सहायक हुने विश्वास गरिएको संयोजक सुवेदीले बताए । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास पनि उनले व्यक्त गरे । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दिने छ । फेवा तालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको विश्वास छ । विभिन्न उपसमितिहरुको गठनसँगै महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारीहरु अगाडि बढिसकेको संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले जानकारी दिए ।  महोत्सवका अवसरमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरुलाई समेटिने संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका अर्का सहसंयोजक गणेश पहारीले जानकारी दिए ।  महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने छ । महोत्सवको तयारीबारे जानकारी र प्रचारका कार्यक्रम छिटै सार्वजनिक गरिने संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज (आइतबार) भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो ।   आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता शेयर ३० हजार नौ सय तीन पटक खरिदबिक्री हुँदा रू. एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय बराबरको कारोबार भएको छ ।   आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ७३ दशमलव ३४ र उत्पादन समूहको उपसूचक एक सय ४२ दशमलव ४५ अङ्कले घटेको छ ।   आज बैंकिङ समूह १२ दशमलव ८, विकास बैंक समूह २९ दशमलव ४०, वित्त समूह २९ दशमलव ६९, होटल तथा पर्यटन समूह ६८ दशमलव १० र जलविद्युत् समूह ५३ दशमलव ४ अङ्कले घटेको छ ।   त्यस्तै, लगानी समूह एक दशमलव ८, लघुवित्त समूह ८८ दशमलव ९०, म्युचुअल फण्ड शून्य दशमलव ८, निर्जीवन बीमा समूह ६३ दशमलव ९५, व्यापार समूह सात दशमलव ८२ र अन्य समूह २७ दशमलव ७५ अङ्कले घटेको छ । आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।   आज सबैभन्दा धेरै हिमालय डिस्टिलरी लिमिटेडको रू. आठ करोड ४४ लाख १८ हजार चार सय ५२ बराबरको कारोबार भएको छ ।

गलेश्वर:  लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन ।   बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताउनुभयो । “खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्नसमेत ढिलाइ भएको छ”, उहाँले भन्नुभयो ।   गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन् । सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरूले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो “खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट छैन । यो वर्ष भोकमरी हुने सम्भावना बढेको छ ।”   खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका–५ का किसान डेकबहादुर बूढा बताउनुहुन्छ । खडेरीका कारण जनजीवन प्रभावित भएको उहाँको भनाइ छ । सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको उहाँले बताउनुभयो । हिमपात हुने समयमा पानी नपरेपछि बालीनाली हुर्कन नपाइ सक्दै गएको किसानको भनाइ छ ।   बर्खेबालीमध्येको मकैमा जङ्गली जनावरले क्षति पुर्‍याउँदा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ । हिउँदमा खडेरीका कारण उत्पादनमा कमी आउने तथा वर्षामा जङ्गली जनावरले क्षति पुर्‍याउने गरेको किसानहरू बत्ताउँछन् । यसरी उत्पादन घट्दै गएपछि खाद्यान्न आयातमा वृद्धि हुने उनीहरूको भनाइ छ ।   म्याग्दीमा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आएको छ । खेती गरिएकोमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ । एक हजार छ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।   खेतबारीमै सुक्न थाल्यो बाली   यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीन पटक हिमपात भएको थियो । यसवर्ष फागुन अन्तिमसातासम्म पनि  हिमपात र वर्षा हुन सकेको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् ।   सिँचाइको अभावले गहुँ, जौँलगायत हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका–२ लमसुङका पलु पुनले बताउनुभयो । “यो समयमा गत वर्ष तीन पटक हिमपात भएको थियो, तर यस वर्ष अहिलेसम्म हिमपात भएको छैन, गत असोजयता वर्षा समेत भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्”, उहाँले भन्नुभयो ।   खेतमा लगाएको गहुँ, जौसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताउनुभयो ।   हिमपातको प्रतीक्षामा किसान   यहाँका किसान सिँचाइका लागि हिमपात र वर्षाको पर्खाइमा छन् । हिमपात नहुँदा हिउँदे बालीमा सिँचाइको अभाव भएपछि अन्नबालीको उब्जनी घट्ने सम्भावना बढेको मुनाका किसान थमबहादुर घर्तीको भनाइ छ । समयमै हिउँ नपर्दा पानीका मूल सुक्ने, असिनापर्ने र त्यसले बालीनालीमा क्षति पुर्‍याउने भएकाले यहाँका किसान हिमपातको पर्खाइमा छन् ।   हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमालमा हिउँ पग्लिन थालेको छ । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । हिउँ पग्लिएपछि हिमाल नागिँदै गएका छन् । पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको स्थानीय बताउँछन् ।   हिउँ नपरेपछि धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रङ उडेझैँ फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जङ्गली फूलहरूमासमेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिनुभयो ।

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले सभ्य तरिकाले होली मनाउन आग्रह गरेको छ ।   हिन्दू धर्मावलम्बीहरुको ठुलो पर्व मध्यको एक फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सम्पूर्ण कास्कीबासीमा आग्रह गरको हो ।   कास्कीले आत्मियरुपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको छ । होली पर्वको नाममा अपराधिक क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ।   व्यक्तिको इच्छा विपरित रंग नदल्न, लोला नहान्न, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम नअसुल्न र सार्वजनिक स्थलमा हो–हल्ला नगर्न आग्रह गरेको छ ।   यदी कोही कसैले नियम उल्लघंन गरेमा कानूनबमोजिम कारबाही गरिने र कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं. १०० मा खबर गर्न समेत जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ ।  

काठमाडौं:  प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डसँग निजी क्षेत्रले बैंक ब्याजदर र डिजेलको मूल्य घटाउन माग गरेका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मुलुकको वर्तमान वित्तीय अवस्था र समाधानका उपायबारे प्रधानमन्त्रीले बोलाएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो माग राखेका हुन् ।   बैंकको ब्याजदर घटाउन र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटाएर लगानी मैत्री वातावरण बनाउन आग्रह गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले बताए ।   बैंक ब्याजदर महँगो हुँदा लगानीको वातावरण बिग्रिएको र त्यसलाई महँगो डिजेलले थप मलजल गरेकोबारे प्रधानमन्त्री प्रचण्डलाई अवगत गराइएको उनले बताए ।   ‘बजारमा वस्तुको माग छैन, माग नहुँदा बैंकको ऋण र ब्याजको चक्र बिग्रिएकोबारे प्रधानमन्त्रीलाई जानकारी गरायौं,’ अग्रवालले भने, ‘यसका लागि लगानीको वतावरण बनाउनु पर्छ । लगानीको वातावरण बनाउन बैंक ब्याजदर र डिजेलको मूल्य घटाउनु पर्छ ।’   अग्रवालकाअनुसार परिसंघले डिजेलको मूल्य लिटरमा १० रुपैयाँले घटाउन र बैंक ब्याजदर सरकारले परिस्थिती हेरेर काबुमा राख्न सुझाएको छ ।   छलफलमा प्रधानमन्त्री प्रचण्डले वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका थिए ।   प्रधनमन्त्री प्रचण्डले अध्यक्षता गरेको बैठकमा सरकारकोतर्फबाट मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका अधिकारीहरु सहभागी थिए ।   यस्तै निजी क्षेत्रकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरआर्फ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल लागयत बैठकमा सहभागी थिए ।

धनुषा: जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ ।   विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा दैनिक दुई पटक रेल सेवा सञ्चालनमा छन् । सो मार्गमा सञ्चालित दुईवटा रेल बजेट अभावका कारण बीमा नगरीकनै सञ्चालन गर्नुपरेको  नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रकम अपुग भएपछि बीमा गराउन सकिएको छैन ।”   दुवै रेलको बीमाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रू १५ लाख र गत आवमा रू ३० लाख विनियोजन गरिएको थियो । एउटा बोगिसहितको रेलको बीमाका लागि रू ९० लाख आवश्यक पर्छ । रकम अभाव भएपछि बीमा गर्न नसकिएको साहको भनाइ छ ।   “दुवै रेलको बीमाका लागि रू एक करोड ८० लाख आवश्यक पर्छ,” रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भन्नुभयो । बीमा नगरिए पनि रेल दुघर्टना भएर कोहीले ज्यान गुमाएमा उनीहरुका परिवारजनलाई  नेपाल रेल्वेको ऐनअनुसार प्रति व्यक्ति रू सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको उहाँले बताउनुभयो । झाले भन्नुभयो, “एकातिर यहाँका बीमा कम्पनी रेलको बीमा गर्न तयार छैनन् भने अर्कोतिर बीमा गर्न बजेट अभाव छ । यात्रुको मात्रै बीमा गर्ने प्रक्रिया जटिल भएकाले हालसम्म रेल र यात्रु दुवैको बीमा गराउन सकेका छैनौँ ।”   जयनगर–कुर्था रेल नेपाल रेल्वे कम्पनीले सञ्चालन गरे पनि हालसम्म दुवै रेल रेल्वे विभागको नाममा छन् । विभागले रेलको स्वामित्व कम्पनीलाई हस्तान्तरण नगरेको महाप्रबन्धक झाले जानकारी दिनुभयो । गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलले किचेर एक यात्रुको मृत्यु भएको थियो । रेल खुल्न लागेको समयमा टिकट नलिइ चढ्ने क्रममा लड्दा किचिएर धनुषाको नगराइन नगरपालिकाका पूर्ण सदाको ज्यान गएको थियो ।   उक्त घटनाको छानबिन गरी मृतकका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले कम्पनी दैनिक लाखौँ रुपियाँ घाटामा सञ्चालन भइरहेको, रेल तथा यात्रुको बीमा नभएको तथा मृतकले टिकट नलिएको कारण उल्लेख गर्दै क्षतिपूर्तिका लागि सिफारिस नगरेका कारण क्षतिपूर्ति दिइएको थिएन ।

काठमाण्डौ:  भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो। होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ । इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले बताउनुभयो । उहाँका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिन्छ । प्रहरीको १०० नम्बरमा फोन  गर्दा पैसा लाग्दैन । यो नम्बरमा गुनासो आउने बित्तिकै सम्बन्धित ठाउँमा प्रहरी पुग्ने उहाँले बताउनुभयो । यसैगरी होलीलाई लक्षित गरी भोलि ठाउँठाउँमा चेकपोइन्टहरु पनि राखिने छ । मोबाइल गस्ती बढाइने छ भने सादा पोसाकमा समेत प्रहरी खटिने छन् । ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले जानकारी दिनुभयो । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको हो । पछिल्ला केही वर्षदेखि होली पर्व संयमित तरिकाले मनाउने गरेको पाइन्छ । तर, पनि सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गर्न लागेको हो । होली पहाडी जिल्लामा भोलि र तराईमा पर्सि मनाइँदैछ । 

काठमाडौं : आइतबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ।    शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भइरहेको छ।    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५५ अमेरिकी डलर छ। 

काठमाडौं : अछाम जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ : ३५ बजे भूकम्प गएको हो।    केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। अछाम आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।   यसअगाडि आजै बिहान ८ :०३ बजे काभ्रेको नमोबुद्ध नगरपालिकाको दाप्चा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।