काठमाडौँ: थोलेदेम्वा अल्ट्रा ट्रेल रेस (४२ किलोमिटर) को उपाधि पुरुष तर्फ सोलुखुम्बुका धावक सुमन कुलुङ र महिला तर्फ जुम्लाकी सानुमाया बुढाले हात पारेको छ । बिहीबार सम्पन्न दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५८ जना धावकलाई पछि पार्दै उपाधि हात पारेको हो । पर्यटकीय क्षेत्र पिके डाँडा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुने म्याराथनमा केन्या र इङल्याण्डका खेलाडीले समेत दौडमा सहभागिता जनाएको थियो । प्रतियोगितामा पुरुष तर्फ भोजपुरका तीर्थ तामाङ द्धितिय हुनु भएको थियो भने सोलुखुम्बुकै अर्जुन कुलुङ तृतीय हुनु भएको थियो । यता महिला तर्फ भने जुम्लाकै मञ्जु रावत द्धितिय र खोटाङकी प्रिया राई तृतीय हुनु भएको थियो । प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्यले स्थानीय विजेताका लागि समेत पुरस्कारको व्यवस्था गरिएको थियो उक्त प्रतियोगितामा पुरुष तर्फ त्रृति राई प्रथम, रवीन्द्र तामाङ द्धितिय र देवराज तामाङ तृतीय हुनु भएको थियो भने महिला तर्फ पदमकुमारी सुनुवार प्रथम, खिनुमाया भुजेल द्धितिय र अनिता सुनुवार तृतीय हुनु भएको थियो । ओखलढुङ्गा पर्यटन विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा खिजीदेम्वा गाउँपालिका ओखलढुङ्गा र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको थियो । पर्यटन गन्तव्यको प्रवर्द्धनसँगै साहसिक खेलबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यसँगै खेलाडी उत्पादन गर्न प्रतियोगिता वार्षिक रूपमा आयोजना गर्दै आएको स्थानीय एवं नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले जानकारी दिनुभयो । अल्ट्रा रेस पाँच हजार मिटरको उचाइ सम्म रहेको थियो । विजेता खेलाडीहरूलाई ७० हजार, ५५ हजार र ४५ हजार नगद सहित मोडेल, प्रमाणपत्रले सम्मानित गरिएको शेर्पाले जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ९ को रजिष्ट्रेसन फर्म खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फर्म भर्दा पछिसम्म फरक नपर्ने गरी भर्न/भराउन अनुरोध गरेको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृत/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमित शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनका लागि फारम भर्नुपर्ने छ । फर्म फागुन १९ देखि वैशाख १५ गते भित्र भर्नुपर्ने छ । ‘विद्यालयहरुले विद्यालयमा अध्धयनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे–नभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने ।’ परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी, धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउन गरेकाले अगाडि नै बोर्डले सचेत गराएको छ ।
गोरखा: गोरखाको लिगलिगमा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता ०७९ साल चैत्र ४ गते सञ्चालनमा आउने आयोजक संस्थाले जानकारी दिएको छ । लिगलिग भिलेज स्पोर्टस आयोजनामा हुन लागेको साइकल दौड ५३ किलो मिटरको रहेको अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए । नेपालकै ठुलो साइकल दौड मानिएको यो प्रतियोगितामा बिदेशीहरुको समेत सहभागीता हुने गरेको छ । दौड पालुङटार नगरपालिकाको लिगलिगमा रहेको राष्ट्रिय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर समापन हुने आयोजक संस्थाका सचिव प्रमिला राना मगर गुरुङले बताईन । दौड लिगलिगकोटबाट हर्मी भञ्ज्याङ–मकुन डाडाँ–आँपपिपल अस्पताल–बिरबारी–ओख्ले पुल हुदै लमजुङको राईनास–गरमबेशी हुदै पुनः गोरखाको चेपेघाट–हवाई ग्राउण्ड–तालपोखरी–ठाटीपोखरी–लुईटेल–बडडाडाँ–मैबल–बिजुली डाडाँहुदै पुनः लिगलिगकोट पुगेपछि दुरी समाप्त हुने सचिव गुरुङले जानकारी दिईन । प्रतियोगितालाई ३ फरक भागमा विभाजन गरेर आयोजना गरिएको छ । पुरुष कुलिन, पुरुष मास्टर र स्थानिय गरी ३ विधामा पुरस्कारको ब्यवस्था गरिएको कोषाध्यक्ष बिजय पाण्डेले बताए । पाण्डेका अनुसार पुरुष कुलिन तर्फ समूहका सहभागीहरु तर्फ प्रथमदेखी पाँचौ स्थानसम्मलाई ७५, ५०, ३०, १५ र ७ हजार ५०० रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तैगरी, पुरुष मास्टर समूहमा प्रर्थम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद प्रदान गरिने छ । भने स्थानिय तर्फ पालुङटार, गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका तथा लमजुङको राईनास र भानु नगरपालिका सहभागीहरु भने क्रमश प्रर्थम, द्वितिय र तृतिय हुनेलाई ।५, ३ र २ हजार नगद प्रदान गरिने भएको छ । गत बर्षको दौडमा २ जना विदेशी सहित ८५ जनाले सहभागीता जनाएकोमा यस बर्षको दौडमा १० जना विदेशी सहित १०० जनाले सहभागीता जनाउन सक्ने आयोजकले अनुमान गरेको छ । दौडलाई पालुङटार र गोरखा नगरपालिका साथै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले प्रायोजन गरेको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, गोरखाको सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिकाले सह–प्रायोजन गरेको छ । आयोजकले दौडमा सहभागी हुनका लागी प्रति ब्यत्ती १ हजार ५०० रुपैयाँ दस्तुर तोकेको छ । दौडको प्रर्बद्दक नेपाल पर्यटन बोड र प्राविधिक सहयोग नेपाल साइक्लिङ संघ र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।
काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्नुहुँदै मन्त्री शर्माले अर्थमन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क छाप्न निर्देशन दिनुभएको हो । एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले जानकारी दिनुभयो । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने पनि उहाँले बताउनुभयो । यो केन्द्रबाट सुरुमा अन्तःशुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समयपछि बैंक नोट छाप्ने योजना छ । केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्र कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा पुगेको जानकारी दिनुभयो । अब लगत्तै आवश्यक मुद्रण सामग्री ल्याउने र आवश्यक जनशक्तिलाई तालिम दिएर मुद्रण सुरु गर्ने मन्त्रालयको तयारी छ । प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट वार्षिक बाहिरिने रु. १० अर्ब जोगिने सरकारको अपेक्षा छ
काठमाडौं: जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथामा आधारित फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, जातीय असमानता, सामाजिक रंग र विद्रोहको सार प्रस्तुत गरिएको छ । विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका रहेको फिल्म आगमी चैत २४ गते रिलिज हुने तयारीमा छ । सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ चार वर्षअघि रिलिज भएको ‘प्रसाद’को दोस्रो शृंखला हो । फिल्ममा महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । फिल्मा सुशील पौडेलको कथा, मिलन श्रेष्ठको सम्पादन र राजनराज सिवाकोटीको संगीत छ ।
काठमाडौं : पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिकामा नयाँ रूट सार्वजनिक गरिएको छ । दोर्दीको नौथरसेराबाट सुरू गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राबबाट फेरि नौथरसेरा झर्ने ४ दिने ट्रेक गर्न सकिने छ । काठमाडौंबाट पोखराहुँदै दोर्दी गाउँपालिका पुग्न सकिनेछ । मानव वस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकलाई सहजका लागि पालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेल्टरको रुपमा विकसित गर्ने कार्य गरिरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । ‘यस गाउँपालिका अत्यन्त्यै सम्भावना भएको क्षेत्र हो । केही दिनको क्याम्पिङ ट्रेकका लागि अत्यन्तै उपयुक्त गन्तव्यको रुपमा यस गाउँपालिकाभित्र अनेकौं स्थानहरू छन्।’ अधिकारीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने । नौथर शेरा इलमपोखरी,लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर शेरापुग्ने ८ दिनको रूट छ । यस्तै, नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेसीसहर ११ दिनको ट्रेकिङ रुट रहेको बताइएको छ । तर,अहिलेलाई ४ दिने रुटलाई गाउँपालिकाले खुल्ला गरेका छ । यस रुटमा ट्रेकिङको क्रममा आवश्वक पर्ने पानी,हिँड्न उपयुक्त बाटोको प्रबन्ध गाउँपालिकाले गरेको छ । पर्यटनका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले ५९ लाख रुपैयाँ छुटाएको र आगामी वर्ष थप रकम व्यवस्था गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । लिपेको सिधै अगाडि देखिने मिमालचुलि हिमाल (७८८३ मि.) पनि दोर्दी गाउँपाकिकामा पर्दछ । हिमाल चड्ने सम्भावनाको खोजि गाउँपालिकाले गरिरहेको छ । लिपे लेकबाट नौटाँचे,दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाब निस्कन सकिन्छ । मानव वस्ती नभएकाले यो रूटमा मोटरबाटो छैन । जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनले हुने कुनै अवरोध हुँदैन । पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरीहुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोड्नका लागि अहिले काम भइरहेको बताइएको छ । इलमपोखरी–लिपे–दाम्राब छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको वार्मअप ट्रेकिङको रुपमा पनि जान सकिन्छ । यी रुटहरूमा ट्रेकिङ गर्दै गर्दा लालिगुराँसको जंगलै जंगल हिँड्न पाइन्छ । गुराँस फुल्ने समयमा विभिन्न रङ्गका गुराँसको जंगल छिचोल्नुको मजा बेग्लै हुन्छ । यहाँको रुटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहन्छ । पालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम यस पालिकाले गर्दै आइरहेको छ । यसो हुँदा सो रुटमा ट्रेकिङ गरिरहेका पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडिगोठलाई सेल्टर बनाएर बस्न सक्नेछन् । मोटरबाटो विस्तार हुने अवस्था नरहेकोले ट्रेकिङको अर्गानिक स्वाद लिन सकिने यी रुटहरु छोटो ट्रेकका लागि अत्यन्तै उत्तम रुट रहेको छ । यी रुटहरूबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठन दर्ता गराउँदै छन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए। यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुवेसी स्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ । मादी श्री आवासीय माध्यमिक विद्यालयका शिक्षक मनोज राउतले कानको जाली नै फुट्ने गरी कुटेका हुन् । राउतले कक्षा ६ मा पढ्ने १२ वर्षीय रोनिश पराजुलीलाई कुट्दा देब्रे कानको जाली फुटेर दुई वटा प्वाल परेको र कानभित्र रगत समेत जम्न पुगेको छ । राउतले आइतबार कक्षा ६ मा पढ्ने रोनिश पराजुलीले गल्ती गरेको भन्दै कानको जाली नै फुट्ने गरी पिट्नु भएको थियो । शिक्षक राउतले आफूले विद्यार्थी पराजुलीलाई पिटेको स्वीकार गर्नुभयो । रोनिशको आमा अर्पणा पराजुली छोरा घाइते भएपछि सुरुमा एपोलो हस्पिटल दमौली लागेको र अस्पतालले पोखरा रिफर गरेपछि मङ्गलवार गण्डकी मेडिकल कलेज लगेर जचाएका थिए । त्यसपछि विद्यालयले विश्वास नगरेपछि पुनः पोखराकै पार्कल्याण्ड हस्पिटलमा नाक, कान घाँटी विशेषज्ञ डाक्टर सुधीर गोपाल पराजुलीसँग परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कानको जालीमा दुई वटा प्वाल परेको र रगत समेत जमेको डाक्टरको रिर्पोटमा उल्लेख छ । कुट्ने शिक्षक माथी कारबाही गर्नुपर्ने माग राख्नु भएको छ । शारीरिक र मानसिक यातना दिएको स्थितिमा नकारात्मक असर परेर विगत पाँच दिन देखि विद्यालय जान नसकेकोको बालकका हजुरआमा नानीमाया अधिकारीले बताउनुभयो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङ घलेलमा गएराति ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घलेलबाट कालिमाटी जाँदै गरेको प्रदेश नम्बर १ (०२००३ त ९८३) नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय मनिराज राई र सहचालक २३ वर्षी सोनम राई घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार वि.कले जानकारी दिए । ट्याक्टर दुर्घटनाको जानकारी पाएपछि दुर्घटना स्थलबाट उद्धार गरी घाइतेलाई उपचार लागि गएराति नै पोखरा पठाइएको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम बहादुर गुरुङले जानकारी दिए । घाइते दुवै जनाको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।

